डा. चन्द्र गिरी
विदेश जाने निर्णय गरेकै दिनदेखि केही वर्ष विदेश बसेर नेपाल फर्कने चाहना हरेक नेपालीले बोकेको हुन्छ । विदेशमा खुट्टा टेकेपछि त झन् नेपाल फर्कने चाहना बढेर आउँछ । तर यथार्थ के छ भने, केही अपवाद छोडेर कोही पनि स्वदेश फर्किंदैनन् । केही साथीहरूले ‘नेपाल फर्कौं महाअभियान’ सुरु गर्ने भने पनि यो समयसापेक्ष छैन । निकट भविष्यमा यो अभियान सफल हुने कुनै छाँटकाँट पनि देखिँदैन । विकल्प के छ त ? देशको माया बोकेर हिँडिरहेका र अनेकौँ कारणले देश फर्कन नसक्ने नेपाली मुटुहरूले अब विदेशमै बसेर भए पनि देश बनाउन सहयोग गर्ने बेला भने आएको छ ।देश फर्कौं अभियान निकट भविष्यमा सफल हुने सम्भावना किन छैन त ? कारण अनेकौँ छन् । मुख्यतया विदेश बसिसकेपछि, जानी वा नजानी, हामी बदलिसकेका हुन्छौँ, हाम्रो सोचाइ बदलिसकेको हुन्छ, अनि हामीले छोडेको नेपाल पनि बदलिसकेको हुन्छ ।
बदलिँदो परिवेश
नयाँ देश, अनि नयाँ परिवेशमा पुग्नासाथ भाषा, भेषभूषा, संस्कृति, खाना, चालचलन, सोच्ने तरिका, काम गर्ने तरिका आदि छिटोभन्दा छिटो सिक्नुपर्ने हुन्छ । यिनै कुरा सिक्ने होडबाजीमा थाहै नपाई हामी अर्कै मान्छे बनिसकेका हुन्छौँ । सुरुका एक÷दुई वर्ष बेस्सरी दुःख पनि पाइन्छ । यहीक्रममा धेरै कुरा सिकिन्छ । घरमा कहिल्यै खाना नपकाएका छोराछोरीले खाना पकाउन सिक्छन् । आफू स्वतन्त्र भएर बस्न सिक्छन् । आर्थिक रूपमा सबल भइन्छ । विदेशी खाना खाँदाखाँदा स्वाद पनि बदलिन्छ । हिजो असनको भीडमा ठेलमठेल गरेर हिँडिएकै हो । केही वर्षपछि नेपाल फर्कंदा त्यही भीड उकुसमुकुस लाग्न थाल्छ । साधारणतया विदेशमा त्यस्तो भीडभाड हुँदैन, भए पनि सबैले केही दूरी राखेरमात्र हिँड्छन् । काँकडभिट्टादेखि विराटनगरसम्म जाने बसमा झुन्डिएर वा छतमा बसेर यात्रा गरिएकै हो । त्यसैगरी काठमाडौँको प्रदूषणमा बसिएकै हो, विदेशबाट फर्केपछि त्यो बसयात्रा र प्रदूषण पचाउन अलि गाह्रो हुन सक्छ । ट्राफिक र ट्राफिक नियम पालन देख्दा पनि अलि असजिलो लाग्न थाल्छ । पहिले काठमाडौँमा गाडी हाँकेर हिँड्ने मान्छे बीस वर्षपछि फर्केर जाँदा गाडी हाँक्ने हिम्मत गर्दैन । यी सब कुरा केही हप्तापछि त बानी परिहाल्छ ।
अरू धेरै कुरा झन् राम्रो भएका छन् । आफ्नो परिवार, आफन्त, छिमेकी र साथीभाइसँगको भेटघाट र घुमाइमा अझ रमाइलो भएको छ । सबै मिलेर देश तथा विदेश घुम्ने प्रथा बढेको छ । चाडपर्व, बिहे, तीर्थ, सेकुवा पसल, मःम पसल आदि सम्झँदामात्र नेपाल फर्कौं–फर्कौंजस्तो लाग्छ । स्कुल, कलेजमा खाएका र गरेका कुराको खुब सम्झना आउँछ । यीमध्ये धेरै कुरा, पहिलेभन्दा राम्रा भएका छन् । राजनीति, जागिर अथवा व्यापार गर्ने कुरामा केही सुधार आए पनि, अझै धेरै कुरा सुधार हुन बाँकी नै छ । स्वदेश फर्कने कि नफर्कने ? यो प्रश्न हरेक प्रवासी नेपालीले सोचिरहन्छन् । साथीभाइसँगको जमघटमा, परिवारसँगको घर सल्लाहमा, जागिरमा, अनि आफू एक्लै हुँदा बेलाबेला मनमनै यो प्रश्न उठिहाल्छ । नयाँ ठाउँमा थलो गाड्न कठिन भइरहँदा, नेपाली माटो, आफन्तहरू, साथीभाइ, चाडपर्व, खानपिन, मन्दिर, सङ्गीत, आदि इत्यादिको झल्झल्ती सम्झना आउने नै भयो । विदेश आएर मैले गल्ती त गरिनँ ? भन्ने प्रश्न उठ्छ, बारम्बार उठ्छ ।
झोला बोकेर श्रीमती र एक छोरीसँग नेपालबाट लामो यात्रा गरेर क्यानडाको टोरोन्टो पुगेका एक मित्र, आफ्नो नयाँ अपार्टमेन्ट छिर्नुअघि पार्किङ लटमा भन्नुहुन्थ्यो, ‘बेकार क्यानाडा आएजस्तो छ, श्रीमतीले जोड गरिन्, नाइँ भन्न सकिनँ, मलाई त फर्कन मन लागिसक्यो ।’ सान्त्वना दिँदै मैले भनेको थिएँ ‘नआत्तिनुस् सब ठीक हुन्छ’ अठार वर्षपछि आज उहाँ क्यानडामा रमाएरै बसेको सुनेको छु । डीभी परेर, अमेरिकाको साउथ डकोटा राज्यमा आउनुभएका अर्का मित्र भन्नुहुन्थ्यो, ‘दाइ म त पाँच वर्ष काम गरेर, पैसा कमाएर नेपाल फर्कने हो ।’ मैले भनेँ, ‘पाँच वर्षपछि कुरा गरौँला ।’ छोरा नेपालमै छोडेर आएका ती जोडी पाँच वर्षपछि नेपाल फर्केनन् । समय निकै बितेछ । १५ वर्षको अन्तरालपछि केही दिनअघि मात्र फोनमा कुरा भयो, उहाँ नर्थ कारोलिनामा घर किनेर दुई छोरा र श्रीमतीसँग व्यवस्थित रूपमा बस्नुभएको रहेछ । मेरो एउटा साथीको साथीसँग जापानको राजधानी टोकियोको नेपाली रेस्टुरेन्टमा जम्काभेट हुँदा भन्नुहुन्थ्यो रे, ‘पाँच करोड कमाउने हो अनि नेपाल फर्कने ।’ उहाँ गरिमामय मोनोबुसी छात्रवृत्तिमा जापानमा विद्यावारिधि गर्दै हुनुहुन्थ्यो । श्रीमती र उहाँले मिहिनेत गरेर पाँच करोड पनि कमाउनुभयो, नेपाल फर्कनुभयो, नेपालको एक इन्जिनियरिङ कलेजको प्राध्यापकको जागिर पनि पाउनुभयो तर १७ दिनमा राजीनामा दिएर अस्ट्रेलियातिर लाग्नुभयो ।
थाइल्यान्ड बस्दा एउटा कार्यक्रममा एउटा साथीले भन्नुभयो, ‘मैले नेपालको पातपतिङ्गर, झारपात, उकालीओराली, साइँलीमाइलीलाई खुबै मिस गरेको छु, म त नेपाल फर्कने हो ।’ एक वर्षपछि उहाँ पनि न्युजिल्यान्डको भिसा लिएर उतै विलिन हुनुभयो । विरक्त लाग्ने नेपाली राजनीति देखेर नेपाल फर्केर राजनीतिमा होम्मिनुप¥यो भन्ने अर्का मित्र पनि फर्केर जान सक्नुभएको छैन । यी त केही उदाहरणमात्र हुन् ।
केही वर्षअघि इन्टरनेटमा भएको एउटा सर्वेमा दक्षिण एसियाली मूलका तर संसारभरि छरिएर बसेका ‘प्रोफेसनल’हरूलाई सोधिएको थियो, ‘तपाईंलाई अहिले जति नै तलब दिएमा आफ्नो देश फर्कनुहुन्छ कि हुँदैन ?’ धेरैले फर्कन्छु भनेका थिए । पैसामात्र त सबै कुरा होइन होला तर देशको अर्थतन्त्रले मुख्य भूमिका खेल्छ नै । विदेशमा सिकेको ज्ञान नेपालमा कत्तिको उपयोग हुन्छ, फर्केर काम गर्न सकिन्छ कि सकिँदैन ? कानुनी हैसियत के हुन्छ ? पुराना साथीहरू त माथिल्लो ओहोदामा पुगिसकेका छन्, मैले तलैबाट सुरु गर्न सक्छु कि सक्दिनँ भन्ने कुराले पनि महŒव राख्छ ।
स्वदेश फर्कने कति ?
यस शताब्दीको सुरुमा १० मा एक चिनियाँ विद्यार्थी चीन फर्केर जान्थे । सन् २०१७ को तथ्याङ्कअनुसार १० मा आठ चिनियाँ विद्यार्थी देश फर्केर जान थाले । यस्तो हुनुका कारण अर्थतन्त्र नै हो । संसारको दोस्रो धनी देश बन्न पुगेको चीन आज विश्वमा छरिएर रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काउन भरमग्दुर प्रयास गरिरहेको छ । चीनको श्रम बजार राम्रो भएको छ, फर्किएर आएका नागरिकलाई सकेसम्म राम्रो नीतिगत र कानुनी सुविधा चीनले दिएको छ । संयुक्त राष्ट्रसङ्घले गरेको एक सर्वेक्षणअनुसार गैरआवासीय भारतीयको सङ्ख्या संसारमा सबैभन्दा ठूलो छ । सन् २०१५ मा १६ करोड भारतीय विदेशमा बसेका थिए । ती भारतीय पनि बिस्तारै स्वदेश फर्किन लागेका छन् । देश फर्कने प्रचलन चीनमा जस्तै भारतमा पनि बढ्दो छ ।
देशको अर्थतन्त्र, फर्केर आएकालाई, सरल कानुनी सुविधा र अमेरिकालगायत देशको कडा अध्यागमन नीतिले पनि देश फर्कन प्रोत्साहित गरेको छ । नेपालको हकमा गएकामध्ये अहिले १५ प्रतिशतमात्र फर्किने अनुमान गरिएको छ । यो प्रतिशत बढ्ने सम्भावना छ तर केही समय भने पक्कै लाग्छ ।
नफर्किने कारण
घर, गाडी, जागिरलगायत सुख–सुविधा र बलियो आर्थिक अवस्थाको कारणले विदेश गएकाहरू स्वदेश फर्किंदैनन् । छोराछोरीको शिक्षा, श्रीमती फर्कन नमान्ने आदि कारण पनि छन् । विदेशमा बस्दै गएपछि त्यहीँ बस्नका लागि कागजपत्र (जस्तै ग्रीनकार्ड) बनाउन थालिन्छ । यसका लागि वर्षौं लाग्छ । यो बेला नेपाल फर्कन पनि गाह्रो हुन सक्छ । शरणार्थीमा निवेदन दिइएको छ भने त नेपाल फर्कनै पाइन्न । एक÷दुई वर्षपछि फर्कने भन्दाभन्दै दशक बितेको पत्तै हुँदैन । विदेशमा सायद व्यस्त भएर होला, समय बितेको पत्तो नै हुँदैन । छोराछोरीलाई कलेज पठाएर नेपाल फर्कन्छु भन्नेहरू अथवा नातिनातिनीको मायाले फर्किन सकेको छैन भन्नेहरू पनि प्रशस्त भेटिन्छन् । बूढाबूढी भएका आमाबाबुको स्याहार गर्न अब म चाँडै नेपाल फर्कन्छु भन्दा भन्दै बाबुआमा स्वर्गवास भइसकेका हुन्छन् ।
केही वर्ष अघिसम्म विदेश छोडेर नेपाल आउनेलाई यसको बुद्धि बिग्रेछ भनिन्थ्यो तर आज त्यो अलि बदिलएको छ । धेरै आमाबाबु पनि आफ्ना छोराछोरी फर्के हुन्थ्यो भन्न थाल्नुभएको छ । थोरै भए पनि दुईदिने जिन्दगी रमाएर बिताउँ भन्ने भावना पनि प्रखर हुन थालेको छ– धेरै परिवारमा । छोराछोरीको विदेशको दुःख देखेर अनि नेपालमा पनि पहिलेभन्दा अहिले धेरै कुरामा सुधार आएकाले सोच बदलिएको होला ।
केही महानुभावले ६ महिना नेपाल, ६ महिना विदेश बस्ने पनि सोच्नुभएको छ । सोचेजस्तो कहाँ हुन्छ र ? आफू अवकाशप्राप्त हुँदा ६५–७० वर्ष काटिसकेको हुन्छ । आफूले चिनेका साथीभाइ नेपालमा भन्दा विदेशमा नै बढी हुन्छन् । बीसौँ वर्ष विदेशमा बसिसकेपछि साथीभाइ र समाजप्रति लगाव बन्ने नै भयो । नेपालका पुराना साथी पनि आ–आफ्नै बाटो लागिसकेका हुन्छन् । कतिलाई त आफन्त र साथीभाइसँग के कुरा गर्ने भन्ने समस्या पर्न सक्छ वा कुरा नमिल्न सक्छ । त्यो उमेरमा विदेशमा पाइने सामाजिक सुरक्षा र उपचारको पनि खाँचो पर्छ । पछि–पछि त लामो जहाजको यात्रा गर्न नसकेर विदेशमै बस्न बाध्य हुनुपर्छ । विदेश गएको मान्छे नेपालमा बसेको भए, विदेश जान पनि सकिएन भनेर गुनासो गथ्र्यो, विदेश गएको मान्छे त्यहाँ गएर ठीक गरेँ कि गरिनँ भनेर जिन्दगीभर सोच्छ ।
सहयोग गर्ने कि !
निकट भविष्यमा देश फर्कने सम्भावना कम देखिएपछि, देश बनाउन अझ धेरै सहयोग पो गर्ने हो कि ? आफ्नो गाउँको स्कुलमा छात्रवृत्ति अथवा कम्प्युटर दिनेदेखि, नेपालमा पर्ने आपतविपतसम्ममा सहयोग हुँदै आएको छ । २०७२ सालको भुइँचालोमा देखिएको सहयोग उदाहरणीय नै छ । बाढी र पहिरो आउँदा, शीतलहर पर्दा बिरामीलाई उपचार गर्ने खर्च पनि मन खोलेर दिने गरेका छन् । केही साथीहरूले विकासको काममा लगानी पनि गर्दै आउनुभएको छ ।
देशमा उपयुक्त, व्यवस्थित, र विश्वासिलो वातावरण भएमा यस्तो सहयोग बढ्ने सम्भावना छ । सन् २०१५ मा अमेरिकाका धेरै सङ्घ–संस्थाले उठाएको पैसा नेपालमा कसलाई पठाउने भन्ने वादविवाद भएको थियो । नेपाल सरकारलाई दिने कि नदिने ? दियो भने पैसाको सही उपयोग हुन्छ कि हुँदैन ? भन्ने प्रश्न उठेका थिए । गैरसरकारी संस्थालाई पनि कसलाई विश्वास गर्ने कसलाई विश्वास नगर्ने भन्ने सङ्कट आएको थियो । व्यवस्थित र विश्वसनीय सङ्घ–संस्था वा सरकारी निकायले उपयुक्त वातावरण एवम् सरल नियम र प्रकिया बनाएमा मन खोलेर आर्थिक सहयोग गर्न इच्छुक महानुभावको कमी छैन ।
आर्थिक सहयोगमात्र होइन कि आफूले जानेको सीप र कला पनि देशलाई दिन पाए हुन्थ्यो भन्नेहरू पनि प्रशस्तै हुनुहुन्छ । नेपाल गएको बेलामा नेपाललाई चाहिएको जनशक्ति आधा वा एक दिन दिन सके पनि धेरै ठ्ूलो सहयोग हुन सक्छ । विदेशमा बसेर पनि धेरै सहयोग गर्न सकिन्छ । सहयोग दिन इच्छुक हुँदाहुँदै पनि, कहाँ कसलाई के चाहिएको छ, अनि कसलाई कसरी सम्पर्क गर्ने भन्ने समस्या आउँछ । नेपालमा चाहिएको आवश्यकता र विदेशमा भएको नेपालीको विशेषज्ञताबीच तालमेल हुनु जरुरी छ । यस्तो सहयोग राजनीतिक, सामाजिक, साँस्कृतिक, धार्मिकलगायत व्यापार अनि विज्ञान प्रविधि आदि क्षेत्रमा पनि गर्न सकिन्छ । मैले जीवनमा खुब मिहिनेत गरेँ, सफल पनि भएँ, आफ्ना लागि गरेँ, आफ्नो परिवार र आफन्तका लागि गरेँ, अब देश र समाजका लागि केही गर्नुपर्छ भन्ने अनुभूतिले ओतप्रोत नेपालीले विदेशमा बसेर पनि नेपालको विकासमा होस्टेमा हैँसे लगाउन सक्छन् । देश फर्केर सिङ्गो देश नै बदल्छु भन्ने भावना बोक्दाबोक्दै उमेर ढल्केको पत्तो नै हुँदैन, त्यसैले समय छँदै देश बनाउन सहयोग गरौँ, सहयोग गर्ने वातावारण बनाऊँ ।