logo
२०८१ मंसिर ८ शनिवार



सन्न्यासीको विकास मोह

शनिवार |


सन्न्यासीको विकास मोह


वसन्त पराजुली

स्वामी केशवानन्द गिरीको वास्तविक नाम केशरीप्रसाद ढकाल हो । धादिङको बेसरी गाउँपालिका घर भएका ६५ वर्षीय केशवानन्दले चार वर्षअघि देवघाटमा आएर सन्न्यास ग्रहण गर्नुभयो । अहिले उहाँ देवघाटकै गलेश्वर आश्रममा सञ्चालित सदावर्त अन्नभण्डारमा स्वंयसेवक भई काम गरिरहनुभएको छ । सदावर्त अन्नभण्डारले देवघाट आउने जो कोहीलाई निःशुल्क खाना खुवाउँछ । “अहिले म सदावर्त अन्नभण्डारमा काम गरिरहेको छु”, उहाँले भन्नुभयो, “घरभरि परिवार छन् । एक छोरा र पाँच छोरी छन् । घरमा बस्न मन लागेन अनि देवघाट आएँ ।” देवघाट आएपछि आफूलाई घर फर्कन मन नलागेको र सन्न्यास दीक्षा लिएको उहाँले जनाउनुभयो ।
“गुरु (गलेश्वर आश्रमका पीठाधीश स्वामी आत्मानन्द गिरी) ले सन्यास दीक्षा लिन्छौ भन्नुभयो, मैले हुन्छ भनेँ । २०७२ सालको शिवरात्रिका दिन थियो, मैले सन्न्यास दीक्षा लिएको दिन ।” भन्न नचाहँदा नचाहँदै पनि विगतका आफ्ना कहानी उहाँले यसरी सम्झनुभयो, “म काठको काम गर्ने मिस्त्री हुँ । काम गर्न सकुन्जेल परिवार राम्रै थियो । जब म घरमै लडेर थला परेँ छोराबुहारीले पनि हेलाँ गर्न थाले । सधैँ वचन लगाउन थाले । वचन सहन नसकेपछि बुढाबुढी खोलामा हेलिन भनेर घरबाट निस्कियौँ तर संयोगले देवघाट आएछौँ । अनि यहीँ बस्ने मौका मिल्यो ।” केशरीप्रसादकी श्रीमती चन्द्रकुमारी ढकालले पनि श्रीमान्सँगै एकै दिन सन्न्यास दीक्षा लिनुभएको हो । सन्न्यास दीक्षा लिएपछि चन्दे्रशानन्द नाम कायम गराइएकी चन्द्रकुमारी र उहाँका श्रीमान्को अहिले देवघाटमा कुटी भने फरक छन् । कहिलेकाहीँ श्रीमती आएर आफ्नो हेरविचार र सरसफाइ भने गरिरहने केशवानन्द बताउनुहुन्छ । “कहिलेकाहीँ आउँछिन् । मेरो कुटीको सरसफाइ गरेर आफ्नै कुटीमा फर्किन्छिन्”, उहाँले लजाउँदै भन्नुभयो ।
सानै छँदा बुबाको निधनपछि नुवाकोट तारकेश्वर गाउँपालिकाका रघुनाथ रिमाल अध्ययनकै लागि देवघाट आउनुभयो । ११ वर्षकै उमेरमा देवघाट आउनुभएका रिमाल यतै अहिले संस्कृतमा शास्त्री अध्ययन गर्दै हुनुहुन्छ । हाल २४ वर्ष पुग्नुभएका रिमालले आफ्नो नाम ब्रह्मचारी शान्तानन्द राख्नुभएको छ । उहाँ पनि अविवाहित उमेरमै सन्न्यास दीक्षा लिनुहुने तयारी गरिरहनुभएको छ । “सांसारिक जीवन मन परेन अब आध्यात्मिक जीवन बाँच्ने निर्णय गरेको छु”, उहाँले भन्नुभयो, “पढ्दापढ्दै विद्यालयबाटै ब्रह्मचर्य उमेरमै सन्न्यास दीक्षा लिने इच्छा भयो ।” धार्मिक क्षेत्र देवघाटमा अहिले सयभन्दा बढी सन्न्यासी छन् । यद्यपि देवघाटमै रहेका ठूला आश्रमले विगत डेढ दशक यता तीन सयभन्दा बढीलाई सन्न्यास दीक्षा दिइसकेका छन् । सन्न्यास दीक्षा लिएर अन्यत्र जाने भएकाले पनि यो सङ्ख्या अहिले कम भएको हो । विशेष गरी शिवरात्रि, अक्षयतृतीया र श्रीपञ्चमीका अवसरमा देवघाटका आश्रमले सन्न्यास दीक्षा दिने गर्छन् । शङ्कराचार्य पद्धति अनुसार सन्न्यास दीक्षा दिइने गरिएको गलेश्वर आश्रमका शर्मानन्द गिरीले जानकारी दिनुभयो ।
“धार्मिक परम्परा अनुसार आफ्नो किरिया आफैँ गरेर सन्न्यास दीक्षा लिने हो”, स्वामी शर्मानन्दले थप्नुभयो, “सन्न्यास दीक्षा लिनेले पहिला पितृका लागि श्राद्ध गर्छन् । अनि देवीदेवतालाई सम्झिएर पूजा गर्छन् । अन्त्यमा विधिपूर्वक ‘विरज होमन’ गर्दै आफ्नै आत्मश्राद्ध गर्छन् र सन्न्यास दीक्षा लिन्छन् ।” मान्छेमा हुने लोभ, क्रोध, मोह आदि त्याग गर्ने प्रतिबद्धता जनाउने विधिलाई ‘विरज होमन’ भनिन्छ ।
सन्न्यासी बन्नु पनि त मानवको अन्तिम जीवन हो । धर्ममा पनि कुनै मानिस जन्मिएपछि पच्चीस वर्षसम्म ब्रह्मचर्यमा बस्नु, त्यसपछिका पच्चीस वर्ष अर्थात् ५० वर्ष उमेर हुँदासम्म गृहस्थ जीवन अनि पचहत्तर वर्ष उमेर पुग्दासम्म वानप्रस्थ जीवन र त्यसपछि सन्न्यास जीवन भनी व्याख्या गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश स्वामी महामण्डलेश्वर आत्मनन्द गिरी सन्न्यास दीक्षा लिन सजिलो तर पूरा गर्न गाह्रो भएको बताउनुहुन्छ । “सन्न्यास ग्रहण गर्नु आत्मशुद्धिको बाटो अपनाउनु हो तर यसलाई पालना गरी राख्नु गाह्रो विषय हो”, उहाँले भन्नुभयो, “लोभ, मोह, क्रोध आदि त्याग गरेर ईश्वरीय शक्ति बाँच्न गाह्रो विषय हो ।” उसो त कतिपय मानिस सन्न्यास ग्रहण गरेर पनि पुनः घरवारमै फर्किएका उदाहरण पनि छन् ।
वैराग्य जागेपछि मान्छेले सन्न्यास जीवन जिउने निर्णय गर्छ । परिवार वा समाजले के भन्छ भनेर सन्न्यास ग्रहण गर्न मान्छेलाई यो बेला रोकिँदैन । अझै दामोदर कुण्डबाट आएकी त्रिशूली र मुक्तिनाथ हुँदै आएकी कालिगण्डकी नदीको सङ्गम भएका कारण पनि देवघाटको बेनी धार्मिक रूपमा महŒवपूर्ण मानिन्छ । यहाँ आफ्नो जीवन त्याग गर्ने उद्देश्यका साथ कल्पवासमा आउनेको सङ्ख्या पनि बढ्दो छ । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवप्रसाद पौडेल भन्नुहुन्छ, “जीवनको उत्तराद्र्धमा सन्न्यासी बनेर गृहस्थी त्यागेकाले आफ्नो जीवन त पालेका छन् नै शिक्षा, स्वास्थ्य र निःशुल्क खाना खुवाएर समाजलाई नै नेतृत्व गरिरहेका छन् ।”

समाज सेवामा सन्न्यासी
‘काम गर्न गाह्रो भएर जोगी भइयो । जोगी भएको भोलिपल्ट भोकै रहियो’ भन्ने उखान हाम्रो समाजमा प्रचलित छ तर देवघाटका सन्न्यासीका लागि यो उखान लागू हुँदैन । उनीहरू विकास निर्माणमा सहयोगी बनिरहेका छन् । भिक्षा आफू मात्रै खाँदैनन् देवघाट आउने जो कोहीलाई निःशुल्क भोजन गराएरै फर्काउँछन् । “गलेश्वर आश्रमले सदावर्त अन्नभण्डार सञ्चालन गरेको छ । हरिहर आश्रम र महेश सन्न्यास आश्रममा पनि आउने जो कोही भक्तजन भोको पेट लिएर फर्कनुपर्दैन”, देवघाटका स्थानीय शिक्षक केशव काफ्लेले भन्नुभयो । यी तीनवटै आश्रम सन्न्यासीले चलाएका हुन् ।
गलेश्वर आश्रमले सदावर्त अन्नभण्डारका अतिरिक्त कल्पवाससहितको वृद्धवृद्धा आवास गृह, वृद्धाश्रम, धर्मशाला, अस्पताल, गुरुकुल विद्यालय आदि सञ्चालन गरेको छ । महेश सन्न्यास आश्रम र हरिहर आश्रमले पनि निःशुल्क संस्कृत शिक्षा दिँदै आएका छन् ।
“देवघाटमा रहेका आश्रमले जोगी सन्न्यासीको भिक्षा, दानदातव्य रकमवाट भोजन मात्रै हाइन शिक्षा, स्वास्थ्य र आवासको व्यवस्थासमेत निःशुल्क गराएका छन्”, देवघाट क्षेत्र विकास समितीका अध्यक्ष शिवप्रसाद पौडेल भन्नुहुन्छ, “देवघाटको विकासमा यहाँका सन्न्यासीको भूमिका अतुलनीय छ ।” हरिहर आश्रमको विद्यापीठमा १५० जना र स्व. स्वामी रामानन्द गिरीले स्थापना गर्नुभएको महेश सन्न्यास आश्रमको विद्यापीठमा २५० जना, गलेश्वर आश्रमको विद्यापीठमा १५० जना विद्यार्थी अहिले पनि अध्ययनरत छन् । संस्कृत विश्वविद्यालयसँग सम्बन्ध लिएर सञ्चालनमा ल्याइएका यी विद्यापीठले संस्कृतका साथै समयसापेक्ष अङ्ग्रेजी र कम्प्युटरमा पनि विद्यार्थीलाई अध्ययन गराइरहेका छन् । यहाँ कक्षा ६ देखि आचार्य अर्थात् स्नातकोत्तर तहसम्मको पढाइ हुने गरेको छ ।
महेश सन्न्यास आश्रमका प्राध्यापक डा. गुरूप्रसाद सुवेदी देवघाटका सन्न्यासीले सरकारले गर्न नसकेको काम गरिरहेको तर्क गर्नुहुन्छ । “घर व्यवहार र परिवार छाडेर सन्न्यास ग्रहण गरेका योगी विरक्त भएर हिँड्छन् भन्ने जुन मान्यता छ, देवघाटमा यसको ठीक विपरीत कार्य भइरहेको छ”, सुवेदीले भन्नुभयो, “यहाँका सन्न्यासी देवघाटको संरक्षण र विकास कसरी गर्न सकिन्छ भनेर जुटेका छन् ।”
उहाँका अनुसार देवघाट धामको पहिचान गलेश्वर बाबा (ईश्वरानन्द ब्रह्मचारी ) ले गर्नुभएको हो । वि.सं. १९९२ मा गलेश्वर आश्रम स्थापना गरेर देवघाटको संरक्षण र प्रवर्धनमा उहाँ लाग्नुभयो । गलेश्वर बाबापछि आएका योगी सन्न्यासीले यसको विकास गरे । देवघाटमा विद्यालय, खानेपानी, सडक जस्ता विकासका पूर्वाधार पनि यिनै योगी सन्न्यासीको पहलमा भएको देखिन्छ । तनहूँको देवघाटतर्फ विशेष तिन आश्रमको योगदान भए जस्तै चितवनतर्फ शिक्षा र पूर्वाधार विकासमा स्वामी डिल्लीराम बाबा (दण्डी स्वामी ) को पहल बढी छ । गलेश्वर आश्रमले भने विकासको फड्को मार्न लागेको वर्तमान पीठाधीश आत्मानन्द गिरीकै समयमा हो । महेश सन्न्यास आश्रमले सञ्चालन गरेको गुरुकुल स्वामी रामानन्द गिरी र हरिहर सन्न्यास आश्रमको विद्यापीठ स्वामी परमानन्द सरस्वतीले स्थापना गर्नुभएको हो । अहिले हरिहर आश्रमका पीठाधीश स्वामी ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरी हुनुहुन्छ । विकासका काम गर्नका लागि बजेटको व्यवस्था भने उनीहरूले नै देश विदेशमा गरेका प्रवचन र भिक्षामार्फत उठेका दानदातव्य नै हो । “विकास निर्माण र पूर्वाधारको विकासबाहेक एउटा गलेश्वर आश्रमको मात्रै खर्च महिनामा १० लाख रुपियाँभन्दा बढी छ । यस्ता ठूला आश्रम देवघाटमा तीनवटा छन्” प्राध्यापक गुरूप्रसाद सुवेदीले भन्नुभयो, “गृहस्थ नै त्यागेका योगी सन्न्यासीप्रति सर्वसाधारणको पनि विश्वास बढी भयो र विकास निर्माणका लागि दान सहयोग र भिक्षाबाटै बजेटको पनि व्यवस्था हुँदै गयो ।” सरकारले देवघाटको विकासका लागि देवघाट क्षेत्र विकास समिति गठन गरेको छ । विकास समितिले गर्न नसकेका पूर्वाधार विकासका काम यहाँका योगी सन्न्यासीले गरिरहेका छन् । देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टङ्कप्रसाद पौडेल सन्न्यासीको पहलको प्रशंसा गर्दै अब विकास समिति र आश्रमको साझा एजेण्डा देवघाटको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा लाग्नुपर्ने धारणा राख्नुहुन्छ ।

धार्मिक पर्यटन
देवघाट धार्मिक रूपमा देशविदेशमै परिचित स्थान हो । यहाँ माघेसङ्क्रान्तिका दिन स्नान गरे मोक्ष भइन्छ भन्ने विश्वास छ । पछिल्लो समय साउनको सोमबार पनि यहाँ भक्तजनको भीड लाग्छ । त्रिशूली र कालीगण्डकीको बेनी, सीता भासिएको गुफा, धार्मिक पार्क, पाञ्चायन मन्दिर, गलेश्वर आश्रम यहाँका रमणीय धार्मिक स्थल हुन् । यहाँको धार्मिक पर्यटनको विकासमा सन्न्यासीको भूमिका प्रशंसनीय मानिन्छ । स्वामी रामानन्द गिरीले स्थापना गर्नुभएको महेश आश्रम र संस्कृत गुरुकुल, स्वामी आत्मानन्द गिरीको गलेश्वर आश्रम र त्यहाँ सञ्चालित संस्कृत गुरुकुल मठमन्दिर, धर्माथा अस्पताल, वृद्धाश्रम, स्वामी सरस्वती महाराजले स्थापना गर्नुभएको हरिहर आश्रम र त्यहाँ रहेको संस्कृत गुरुकुल आदि जो कोही पर्यटकका लागि आकर्षक मान्न सकिन्छ । अझै ८ करोड रुपियाँ लागतमा निर्मित गलेश्वर आश्रमको नर्वदेश्वर पाञ्चायन महादेव मन्दिर देशकै सय पर्यटकीय गन्तव्य सूचीमा परेपछि यहाँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुगेको बताइन्छ । देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल भन्नुहुन्छ, “देवघाटमा जोगी सन्न्यासी छन् त विकासले फड्को मारेको छ । यही विकास हेर्नकै लागि पर्यटक झुम्मिएका छन् ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?