कृष्ण बजगाईं
जापानको राजधानी टोकियोमा बिहानैदेखि झम्झम् पानी परिरहेको थियो । आकाशतिर हेर्दा पानी रोकिने कुनै लक्षण देखिएन । पानीको पर्वाह नगरी प्रा. रामकुमार पाँडे, आलोक चालिसे र मैले यात्रा जारी राख्ने निर्णय ग¥यौँ । हातेछाता बोकेर आसाकुसातिर लाग्यौँ ।
टोकियोको सडकमा लम्किरहेका थियौँ । वरिपरि देखिए गगनचुम्बी भवनका ताँती । एकछिनपछि पुराना ढाँचाका स–साना भवन, बुद्ध मन्दिर, मूल सडकमा जोड्ने ससाना गल्लीहरू आउन थाले । छोटो दूरीमा देखिएका ती दृश्यले आधुनिक सहरबाट फड्को मारेर प्राचीन सहरमा पाइला राखेजस्तो अनुभूति दिलायो ।
हामी आसाकुसा पुगिसकेका थियौँ । टोकियोमा अवस्थित आसाकुसा दोस्रो विश्व युद्ध अगाडिसम्म मनोरञ्जनको केन्द्र थियो । त्यसले करिब दुई सय वर्षसम्म यौन बजार र काबुकी थिएटरका लागि प्रसिद्धि कमाएको थियो । अहिले मनोरञ्जनका आधुनिक साधन सिनेमा, थिएटर, भिडियो गेम, मेड क्याफे आदिले तिनलाई विस्थापित गरिदिए । तर पनि आसाकुसाको लोकप्रियतामा कमी आएको छैन ।
‘अहो, मान्छेले तान्ने रिक्सा !’ दुई हातले रिक्सा तानेर मूल सडकमा दौडिरहेको जापानी युवा देखेर फ्याट्ट बोलिहालेँ । प्राचीन टोकियोको झलक दिने आसाकुसामा हिँडिरहेका मेरा पाइला त्यस अद्भुत दृश्य देख्दा अचानक रोकिए । रक्सा घिसार्दै गरेको युवक निकै पर पुगिसकेको थियो । हामी मूलसडक पार गरेर सेन्सोजी मन्दिरतर्फ लाग्यौँ । सेन्सोजी प्राचीन टोकियोमा अवस्थित सबैभन्दा महŒवपूर्ण र प्राचीन बुद्ध मन्दिर हो । त्यो मन्दिर बौद्ध धर्मको तेंदई सम्प्रदायसँग जोडिएको छ । संसारमा सबैभन्दा धेरै दर्शनार्थी र अवलोकनकर्ता आउने मन्दिरका रूपमा त्यसले नाम कमाएको छ । प्रख्यात बुद्ध मन्दिरको दर्शन गर्न म हतारिरहेको थिएँ ।
मन्दिरसम्म पुग्न जापानी शैलीमा बनाइएको विशाल द्वारबाट प्रवेश गर्नुपर्दथ्यो । एक हजार वर्षपहिले बनाइएको कामिनारिमोन नामक द्वार अगाडि उभिएर चारैतिर दृष्टि दौडाएँ । थन्डर गेट भनिने यस द्वारको बीचमा रातो रङको विशाल लालटिन झुन्डिएको थियो । द्वारको दुवैतर्फ डरलाग्दा अनुहार भएको ठुल्ठूला मूर्ति थिए । दाहिने पट्टिको मूर्ति सिन्तो धर्मका वायु देवता ‘फुजिन’ र देब्रेपट्टि आँधी, तुफान र चट्याङका देवता ‘राइजिन’को मूर्ति थियो । ती देवताले मन्दिरको सुरक्षा गर्ने कुरामा जापानी विश्वास गर्छन् । बुद्ध मन्दिरलाई सिन्तो धर्मका देवताबाट सुरक्षा प्रदान गरिएको देख्न पाउँदा अनौठो लाग्यो । विशाल द्वार पार गरेपछि दुईतिर एकै आकार र बनोटका जापानी परम्परागत पसल लहरै देखिए । नाकामिजे सडकमा रहेका ती पसल फर्केर आउँदा हेर्ने सल्लाह भयो । त्यहाँबाट हिँडेर होजोमोन नामक दुईतले ठूलो द्वार अगाडि पुग्यौँ । त्यसलाई पार गरेपछि सेन्सोजी मन्दिर देखियो । त्यहाँ पुगेपछि पवित्र स्थलमा प्रवेश गरेको अनुभूति भयो । कुन शक्तिले हो अघिसम्म चञ्चल रहेको मेरो मन शान्त भयो ।
मन्दिरमा दर्शन गर्न जानुअघि शरीर पवित्र पार्नुपर्ने जापानी परम्परा छ । हाम्रो चलनअनुसार मन्दिरमा दर्शन गर्न घरमै नुहाएर गए पुग्छ । तर जापानमा त्यतिले पुग्दैन । जापानी परम्पराअनुसार सबैभन्दा पहिले मन्दिरको अगाडि राखिएको पानीबाट हात धोएपछि मुख कुल्ला गरेर पवित्र हुनुपर्दछ ।
‘ऊ शिव भगवान् !’ पाँडे सरले एउटा मूर्ति देखाउँदै भने । पाँडे सरले ठट्यौलीपारामा भनेको पूर्णकदको मूर्ति झट्ट हेर्दा उभिएका शिव भगवान्जस्तो देखिन्थ्यो । त्यो अरू नै कुनै मूर्ति थियो । त्यस मूर्तिको वरिपरि रहेका आठवटा ड्रागनको मुखबाट अटुट रूपमा पानी झरिरहेको थियो । त्यही पानीले शरीर पवित्र बनाउनुपर्दथ्यो । त्यहाँ राखिएको काठको डाडुमा ड्रागनको मुखबाट खलल बगिरहेको पानी थापेर हात धोएँ । मुख कुल्ला गरेँ । जापानी चलनअनुसार बल्ल शरीर पवित्र भयो । त्यसपछि हामी मन्दिरको ठीक अगाडि रहेको विशाल धुपदानी अगाडि पुग्यौँ ।
जापानमा पानीले मात्र होइन, अगरबत्तीबाट निस्केको धूवाँबाट पनि पवित्र हुने चलन छ । हिन्दु परम्पराअनुसार मन्दिरमा धुप बाल्नु भनेको भगवान्लाई खुसी पार्नुहोला भनेर मैले बुझेको छु । तर जापानीले मन्दिरमा धुप बाल्नाका कारण दर्शन गर्न जानुअघि आफ्नो शरीरलाई पवित्र बनाउनका लागि रहेछ भन्ने कुरा त्यहाँ पुगेर थाहा पाएँ । धुपदानीमा हामीले अगरबत्ती बाल्नै परेन । कसैले बालेर छाडेको धुपबाट पवित्र धूवाँ माथि उडिरहेको थियो । उडिरहेको धूवाँलाई हातले हल्लाउँदै आफूतिर लगाएँ । शरीर र चित्त दुवै शुद्धि भएको ठानेँ । घुमन्ते यात्री बनेर मन्दिर प्रवेश गरेको थिएँ । शरीर पवित्र भइसकेपछि आफूलाई पक्का तीर्थयात्रीमा रूपान्तरित भएको महसुस भयो ।
हामी सेन्सोजी मन्दिरको दर्शन गर्न माथि उक्लियौँ । मन्दिरको आकषर्ण भनेको नै ठूलो हल हो । त्यसलाई ‘कान्नोन्दो हल’ भनिन्छ । त्यस हलभित्र सुनौलो रङको कान्नोन बोधिसत्वको मूर्ति राखिएको थियो । मेरा आँखामा मूर्तिको उज्यालो आएर बस्यो । ती बोधिसत्वलाई कोटीकोटी प्रणाम गरेँ । घरपरिवार र विश्व शान्तिका लागि प्रार्थाना गरेँ ।
मन्दिरभित्र राखिएको झन्डै चौध सय वर्ष पुरानो बोधिसत्वको मूर्तिलाई माझीले नदीमा फेलापारेका थिए । मन्दिरपरिसरमा देब्रेपट्टि रहेको बडेमानको सूचनापाटीमा ती माझी दाजुभाइको चित्रकथा पढेको थिएँ । मैले पढेका र सुनेका अनेकन कथाहरू सम्झँदै मन्दिरबाट बाहिरिएँ । सेन्सोजी मन्दिर दोस्रो विश्वयुद्धमा अमेरिकी सेनाको बमबारीका कारण नष्ट भएको थियो । मन्दिरलाई पुरानै शैलीमा पुनःनिर्माण गरेका कारण त्यसमा प्राचीनताको झझल्को देख्न पाएँ । पहिले सेन्सोजी मन्दिर सर्वसाधारणका लागि प्रवेश निषेध थियो । दोस्रो विश्वयुद्धपश्चात्मात्र सार्वजनिक रूपमा सबैका लागि खुला गरिएको हो ।
सेन्सोजी मन्दिरको देब्रेपट्टि रहेका अन्य स–साना मन्दिर र मूर्तिको दर्शन गर्ने सल्लाह भयो । तर त्यहाँ पुग्न सानो पुल तर्नुपर्दथ्यो । नदीमाथि बनाइएको पुल होला भनेको त ‘कोइ’ नामक सानो पोखरीमाथि बनाइएको पुल पो रहेछ । एकछिन् सोही पुलमा उभिएँ । र तल पानीमा आफ्नै प्रतिविम्ब खोज्न थालेँ । पोखरीको पानीमा माछा पो देखिए ।
हिँड्दै जाँदा सन्जासमा नामक सिन्तो मन्दिर र डेम्पोइन नामक बुद्ध मन्दिरमा पुग्यौँ । ती मन्दिर दर्शनार्थीको प्रतीक्षामा बसेजस्ता चकमन्न थिए । बगैँचाको एकछेउमा पलेँटी मारेर बसेका ध्यानमग्न कान्जियन बोसात्चु नामक दयालु बुद्धको मूर्ति अगाडि रहेका दर्शनार्थीसँग मिसिएँ । जापानीहरू ती बुद्धले विभिन्न पीडामा रहेका मानिसका दुःख मेटाउने, आनन्द दिने र भक्तजनहरूको प्रार्थना सुन्ने कुरामा विश्वास गर्छन् । मैले पनि ती बुद्धको अगाडि दुई हात जोडेर आनन्द प्राप्ति होस् भन्दै याचना गरेँ ।
‘फुदो–म्यु’ नामक सानो मन्दिरछेउमा पुग्दा झस्किएँ । ती भगवान्ले सही बाटोमो हिँड्न नसक्नेलाई उचित मार्गनिर्देशन गर्ने विश्वास गरिँदोरहेछ । उनीसँग एउटामात्र प्रार्थना गर्नुपर्दछ । ती भगवान् आफ्ना क्रोधित अभिव्यक्तिका लागि प्रसिद्ध रहेछन् । उक्त कुरा थाहा पाएपछि डरले कुनै वर नमागी फटाफट हिँडेँ ।
अगाडि बढ्नेक्रममा देखिएका भाग्यका देवता रहेको दाइकोक्युटेन मन्दिर र आगो तथा चोरीबाट बचाउने तनुकी देवतालाई नमन गरेँ । अठ्चालीस मिटर अग्लो पाँचतले प्यागोडासामुन्ने पुगेर टाउको ठाडो पारेर हेर्न थालेँ । बौद्ध धर्मअनुसार त्यस प्यागोडाको हरेक तलाले ब्रह्माण्डको पाँच तŒव आकाश, वायु, आगो, पानी र जमिनको प्रतिनिधित्व गर्दछ । प्यागोडाको सबैभन्दा माथिल्लो तलामा श्रीलङ्काबाट उपहारस्वरूप प्राप्त भगवान् बुद्धको हाड प्रतिष्ठापित गरिएको छ । भगवान् बुद्धलाई सम्झँदै त्यस प्यागोडालाई झुकेर नमन गरेँ । सेन्सोजी मन्दिरपरिसरलाई असङ्ख्य बुद्ध र सिन्तो धर्मका भगवान् तथा बोधिसत्वको निवासका रूपमा लिइन्छ । हामी हतारिएका यात्री थियौँ । दिउँसो अन्यत्र पनि कार्यक्रम तय भएकाले समयको उर्दीअनुसार दौडिरहेका थियौँ । छोटो समयमा पनि त्यस देवस्थलका सबै मन्दिर र देवताको दर्शन गरिसकेका थियौँ । सेन्सोजी मन्दिरपरिसर बुद्ध र सिन्तो धर्मको सङ्गमस्थलका रूपमा पाएँ । त्यहाँको परिदृश्यले जापानकै प्रतिनिधित्व गर्दछ । जापानका केही ठाउँमा बौद्ध र सिन्तो मन्दिरसँगै देख्न पाइन्छ । जापानमा सिन्तो र बुद्ध धर्मावलम्बीहरू उतिसाह्रो छोइछिटो गर्दैनन् । सेन्सोजी मन्दिरपरिसरका भगवान्, बोधिसत्व र विभिन्न मन्दिरको दर्शन गरेर मनमा अपार शान्ति र आनन्द आएको थियो ।
हामी तीनैजनाले मन्दिरपरिसरमा रहेको नाकामिजे सडकमा पाइला राख्यौँ । करिब दुई सय मिटर लम्बाइ भएको त्यस सडकमा रहेका पारम्परिक दोकानमा खेलौना, हस्तकलाका सामग्री, जापानी हातेपङ्खा, किमोनो, परम्परागत मिठाइ, पीठोबाट तत्कालै बनाइएको ताजा नुडल्स, सुसी, टेम्पुरा, विभिन्न व्यञ्जन आदि बेच्न राखिएका थिए ।
बिहान मन्दिरमा क्षेत्रमा प्रवेश गर्नुअघि नाकामिजे सडकमा खासै भीड देखिएको थिएन । फर्केर आउँदा भीड बढिसकेको थियो । त्यस भीडमा सल्बलाइरहेका गुडियाजस्ता जापानी सुन्दरी र किमोनो लगाएका युवतीले मेरो ध्यान तानिरहेका थिए । काँडाबीच फुलेका फूलजस्तै ती सुन्दरीहरूले भिडमा सुन्दरता थपेका थिए । ‘यहाँ किमोनो भाडामा पनि पाइन्छ । मानिसले भाडाको किमोनो लगाएर मन्दिरको दर्शन गर्ने र वरपर घुम्ने गर्छन्,’ सामुन्नेको किमोनो गर्लतर्फ इशारा गर्दै आलोकले भने ।
‘भाडा कति पर्दछ ?’ मैले जिज्ञासा राखेँ ।
उनको उत्तरले मैले जिब्रो टोकेँ ।
‘आम्मै, एकछिन किमोनो लगाएको पैसाले त नेपालमा दामीखालको एकजोर नयाँ सुट पो आउने
रहेछ !’ सेन्सोजी मन्दिरबाट बाहिरिँदै गर्दा मैले भनेँ ।
हामी मूलसडकको पेटीबाट हिँडिरहेका थियौँ । त्यहाँ पनि धेरै भीड थियो । हाम्रो अगाडि किमोनो लगाएका तीनजना जापानी सुन्दरी क्याटवाकमा थिए । हामी तीन भाइ पछि–पछि पाइला सार्दै थियौँ । दृश्य यस्तो देखिन्थ्यो कि मानौँ हामी किमोनो गर्ललाई नै पछ्याइरहेका थियौँ ।