logo
२०८१ मंसिर ९ आईतवार



काँडामा हाँसेको जिन्दगी

शनिवार |


काँडामा हाँसेको जिन्दगी


माधव काफ्ले


विशेषतः गीत, गजल र कवितामार्फत आफ्नो सिद्धहस्त लेखन प्रमाणित गरी स्थापित हुन सक्षम कालीप्रसाद रिजाल नेपाली साहित्यका अग्ला प्रतिभा हुनुहुन्छ । कविता विधामा नै साधना गरेर आफ्नो छुट्टै परिचय बनाउन सफल स्वनामधन्य वाणीसाधक रिजालका गीत, कविता सङ्ग्रहका थुप्रै पुस्तक प्रकाशित छन् । उहाँको जीवन कविताका लागि नै भएको र जीवनभर उहाँ त्यसैमा समर्पित भएर साधना गरिरहनुभयो । पछिल्लो समयमा आएर उहाँको ‘काँडामा हाँसेको जिन्दगी’ नामक संस्मरणात्मक आत्मकथा प्रकाशित भएको छ ।
आत्मकथा लेखनको अस्वस्थ प्रतिस्पर्धाको अघोरी प्रवृत्तिले नेपाली साहित्यलाई खग्रास हुने गरी गाँजिरहेको अहिलेको अवस्थामा प्रस्तुत सङ्ग्रहले सबैखाले प्रतिस्पर्धीलाई किनारामै छोडी बेलगाम दौडने काम मात्र गरेको छैन, आत्मकथाको मानक मूल्य र उचाइलाई उज्यालो दिशातर्फ डो¥याउँदै छुट्टै तर स्तुत्य स्तर कायम पनि गरेको छ । जीवनानुभूतिका संवेद्य रागलाई काव्यात्मक र कलात्मक किसिमले प्रस्तुत गर्नु नै उहाँको सफल गद्य लेखनको नमुना बनेको छ ।
प्राक्कथनदेखि लिएर परिशिष्टसम्म जम्मा चौध शीर्षकमा विभाजित गरिएको छ यस कृतिलाई । कृतज्ञता, प्राक्कथन र सम्झनाको सरिता बाहेक शीर्षकैपिच्छे पनि विभिन्न उपशीर्षक राखी आफ्नो कथनलाई अझ संवेद्य र सुरुचिपूर्ण बनाउने काम उहाँले गर्नुभएको छ । यसले लेखनको विश्वसनीयता र पठनका लागि मिठास भर्ने काम गरेको छ । पुख्र्यौली पृष्ठभूमि अन्तर्गतको परिच्छेद चार खण्ड समावेश गरिएको छ । यहाँ पुख्र्यौली पृष्ठभूमि, वंश परम्परा, आफ्नो जन्म र भौगोलिक परिवेशका साथै आर्थिक उन्नतितर्फ चालिएका पाइलाका पदचापलाई प्रष्ट्याउने काम गरेका छन् । छ खण्डमा विभाजन गरिएको बाल्यकालमा धरान नयाँ बजारबाट सुरु गरेर एउटा घटनाले ल्याएको मोडमा बिसाइएको छ । धरान हुँदै विराटनगर, मातृप्रेम, गृहत्याग, आमाको अवसान, अध्ययनका अधवेस्रा उहापोह लगायतका चर्चा, परिचर्चा समावेश गरिएका छन् । यहाँसम्मका संस्मरणहरू अलि बाङ्गा र बोझिला किसिमका छन् ।
काठमाडौँ पुगेपछि भने लेखकले आफ्नो क्षमता र शिल्प सौन्दर्यको तेजाबी शक्ति देखाएका छन् । साहित्यिक अभिरुचि र कविता लेखनको छनक सुरुवाती दिनबाट नै गरे पनि काठमाडौँ पुगेपछि यो घनीभूत भएर पैmलिन थाल्छ । बनारससँगको सिधा सम्पर्क सूत्रलाई हठात् त्यागेर राजधानी पस्ने र त्यहीँ सिर्जनाको जग हाल्ने उहाँको दृढ इच्छाशक्तिले कालान्तरमा उहाँलाई त्यो मुकाममा पु¥याउँछ, जहाँ थोरै मान्छे पुगेका हुन्छन् । अग्रजहरूको मायास्नेह, समकालीनहरूको प्रशंसा, अनुजहरूको आदरको परिधिभित्र मौलाउँदै गएको उहाँको साहित्य यात्रा दिग्दिगान्तरसम्म पुगेर मग्मगाउन थाल्छ । बनारसदेखि धनकुटा शीर्षकमा विवाह प्रसङ्गबाट सुरुवात गरी आफ्नो रुचिको विषय, स्नातकोत्तर अध्ययन र तत्पश्चात् धनकुटा प्राध्यापनका प्रसङ्ग छन् । जागिर उहाँको बाध्यता भए पनि उहाँको अन्तर्यमा कविताको ज्योति धपक्क बलेको हुनाले उहाँलाई राजधानी मोहले तान्दै लान्छ र अध्यापनबाट पाल्पामा भूमिसुधार अधिकारी हुँदै सूचना विभाग, सिंहदरबार, राजदरबार, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद हुँदै जहाँ जहाँ घुमे पनि त्यसको केन्द्रमा कविता नै रहेको र आफू त्यसै अनुकूल वातावरण निर्माण गर्न अग्रसर रहेको कुरा उहाँले स्पष्ट रूपमा निःसङ्कोच उल्लेख गर्नुभएको छ ।
बहुदलीय व्यवस्थाप्रति आस्थावान् भएका कारण राज्यसत्ताबाट पटकपटक तिरस्कृत र उपेक्षित हुन पुगेको मान्छेलाई बहुदलीय सरकारले बहाल पुर्जी लिएकै घडीमा प्रशासनिक सेवामा पु¥याएको योगदानको कदर गर्दै उहाँलाई लोप्पा खुवाएर पुरस्कृत गरेको मार्मिक घटना निकै मर्मस्पर्शी किसिमले गरिएको छ । कतिमा अनाहक आफू निचोरिएको, चुसिएको, च्यातिएको, लघारिएको, उपेक्षित हुन पुगेका आला घटनाका नीला सुम्लाहरू पनि देखिन्छन् । संस्मरणलाई विश्वसनीय तुल्याउन उहाँले कुनै किसिमका अतिरञ्जित फुलबुट्टा भर्नुभएको छैन । लेखकीय इमानदारीलाई उहाँले अक्षरशः पालना गर्नुभएको छ । ठूला र सफल लेखक हुनुको सङ्केत पनि हो यो । यति सानो पातोमा सबै कुरा गर्न सम्भव नभए पनि यति निर्धक्क भन्न सकिन्छ भनेर यस कृतिले उदाहरण प्रस्तुत गरेको छ । कृति पठनीय मात्र होइन, आत्मवृत्तान्त लेख्न खोज्नेहरूका लागि गाइड बुकसरह नै लाग्छ । साँच्चै नै काँडामाथि फुलेको जिन्दगीजस्तै विषाद, क्षोभ, गुनासो र खुसी फुलाएर मसक्क हाँसेको छ कृति ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?