logo
२०८१ मंसिर ९ आईतवार



आगम घरको पीर

शनिवार |


आगम घरको पीर


पुष्पराज जोशी


उमेर ८६ वर्ष पुग्यो । सात वर्षदेखि बजाएका खिँ, धिमे, पछिमा, धा, न्याय्खिँ, भुस्या आदि बाजा बजाउने उत्साह अहिले पनि उस्तै । बाजा मात्र होइन, सात घण्टासम्म लगातार नाचिने नाचका मुद्रा र तीनका गीत पनि मस्तिष्कमा ताजै । तीन पुस्तालाई बाजाका धुन, गीतका फाँकी र नाचका मुद्रा सिकाइसक्नु भयो । यी तीन पुस्ता परिवारका मात्र छैनन्, वरपरका पनि प्रशस्तै छन् । देवी नाच (दी प्याखँ) का नाइके गुरु इन्द्र महर्जनका चिनारी हुन् यी । दैत्य नाच पनि भनिने देवी नाच इन्द्रजात्राका अवसरमा काठमाडौँ किलागलका ज्यापू समुदायले देखाउने नाच हो ।
किलागलका ज्यापू समुदाय अहिले किलागलमा मात्र सीमित छैनन् । वरपर विभिन्न ठाउँमा छरिएका छन् । नाइके गुरु इन्द्र पनि यतिबेला डल्लु आवासमा बनेको नयाँ घरमा बस्नुहुन्छ । पुर्खाको थातथलो भएकाले ८६ वर्षको उमेरमा पनि उहाँ किलागल र डल्लु आवास दैनिक ओहोरदोहोर गरिरहनुहुन्छ । उहाँको ज्यान पुराना घरको चालचलन र राखनधरनमा अभ्यस्त छ तर समयअनुसारको आधुनिक बङ्गलामा बस्नैप¥यो । ‘बिनाबी’ भनेर उक्लिनुपर्ने पुरानो घर नै भए पनि त्यसमा आफ्नोपनको जुन सुगन्ध हुन्छ, त्यो आधुनिक बङ्गलाले कहाँ दिनसक्छ र ! उमेरले जीर्ण बनाएको शरीर लिएर किलागल र डल्लु आवास गर्दा कहिलेकाहीँ यस्तै सोच पनि आउँदो हो उहाँलाई । तर छोरानाति सबै नयाँ घरमा बस्ने भएपछि यो उमेरमा परिवारसँग टाढिएर बस्न कहाँ सकिन्छ र ! ढल्किँदो उमेरमा आधुनिक घरको चलनमा अभ्यस्त हुन उहाँलाई जति कठिन हुन्छ, त्योभन्दा कठिन बाबुबाजेको थातथलो किलागल र देवी नाचलाई बिर्सनु ।
देवी नाच देशकै विशिष्ट र मौलिक नाच त हो तर आधुनिक जीवनशैली र आर्थिक समस्याले यसलाई पनि पिरोलेको छ । झन् थाहा पाएदेखि प्रयोगमा आइरहेको किलागलको गल्लीभित्र रहेको देवी नाचको आगम घर (आगं छेँ) व्यक्तिका नाममा भएपछि नाइके गुरु इन्द्रलाई यसको भविष्य के होला भनेर चिन्तित तुल्यायो । एक किसिमले मानवले भगवान्को चिन्ता गरे जस्तै ।
नेवारी लवजमा इन्द्र भन्नुहुन्छ– ‘मैले मात्र होइन, बाबुबाजेको पालादेखि त्यो घर देवी नाचको आगम घरको रूपमा प्रयोग गरिन्थ्यो ।’ हुन पनि हो अहिले जस्तो पहिले जग्गा र घरको स्वामित्व खोजिँदैनथ्यो । कसैले राख्दा पनि राख्दैनथ्यो । धार्मिक र सामाजिक कार्यमा मेरो र तेरो भन्ने जमाना त्यो थिएन । तेरो र मेरो नभनीकन देवी नाचको कार्य हुँदै आएको थियो तर अहिले त्यो समय रहेन । जग्गा र घर भन्ने कुरो अमूल्य भयो । अनि तेरो मेरो चल्न थाल्यो । देवी नाचको आगम घर पनि २०३६ सालमा व्यक्तिको नाममा लालपुर्जा बनेपछि यसका गुठियारहरूलाई खल्लो तुल्यायो ।
गुठियारहरू भेला भए । आगम घर देवी नाचको आफ्नै बनाउन २०७० सालदेखि कम्मर कसे तर आर्थिक जोहो गर्ने कसरी ? काठमाडौँको भित्री सहरमा रहेको घर किन्न सजिलो थिएन । चन्दा उठाएरै किन्नका लागि गुठियारहरू तयार भए । देवी नाच (दी प्याखँ) प्रवर्धन तथा संरक्षण समिति नै बनाइयो । सक्नेले लाख दिए नसक्नेले हजार । चिनेजानेका इष्टमित्रसँग भगवान्का लागि भनेर हारगुहार मागियो । मनकारी दाताले आफूले सकेको दिए तर यता भनेजति पैसो पुग्दैन । उता घरको मूल्य समयअनुसार बढ्दो छ । बढेको मूल्यमा आगम घर किन्न मान्छे ओहोरदोहोर गरिरहँदा र टोलमा कुराकानी हँुदा नाइके गुरु इन्द्रको बुढेसकालको मन छियाछिया हुन्थ्यो । आगम घर किन्न गुठियारहरूले आर्थिक स्रोत जुटाउने काम त गरिरहेकै थिए । नाइके गुरु इन्द्रले पनि भगवान्सँग पुकारे । घर आफ्नो भएपछि किलागलको गणेश, कुमार, नाट्येश्वर मन्दिर, मुड्खु भञ्ज्याङको देवी र गोरखाको मनकामना देवीलाई समय्बजी चढाउँछु ।
पाँच वर्षसम्म चन्दा उठाउँदा पनि रकम पुगेन । केही गुठियारले यो घर किन्नका लागि आफ्नो जग्गा नै बन्धकी राखेर ऋण दिए । समितिले ऋण काढेरै पैसा जुटायो । आगम घर किनेरै छाडे । घर किन्न एक करोड ८५ लाख रुपियाँ लाग्यो । पचास लाख रुपियाँ चन्दा उठेको थियो । ऋणको ब्याज तथा साँवा तिर्न समितिका सदस्यहरू यतिबेला विभिन्न सरकारी कार्यालय तथा मनकारीकहाँ चन्दा उठाउन धाउँदैछन् । आगम घर जीर्ण भएकाले हाल यसलाई भत्काइएको छ । नयाँ आगम घर ठड्याउनु पनि समिति सदस्यहरूलाई फेरि अर्को चुनौती थपिएको छ तर यस कार्यका लागि काठमाडौँ महानगरपालिकाले सहयोग गर्ने भएको छ । देवी नाचका संयोजक नातिकाजी महर्जन भन्नुहुन्छ– ‘काठमाडौँ महानगरपालिका र समितिबीच यसका लागि सम्झौताको तयारी भइरहेको छ । यही फागुन १९ गते नयाँ भवन निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रम छ ।’
आगम घर भनेको गुप्त घर हो । यहाँ देवी नाचका सातजना देवगण र पुजारीबाहेक अरू कोही पनि जानुहुँदैन । गुठियारहरू पनि आफ्नो पूजासामान पुजारीलाई दिएर पूजा गराउँछन् । श्रावण शुक्ल चौथीका दिन तान्त्रिक विधिअनुसार यहाँ प्रथम पूजा गरी नाइके गुरु इन्द्र महर्जनसहित सहायक गुरुहरुले इन्द्रजात्राका लागि नाच सिकाउन सुरु गर्छन् । एक महिनासम्म नाच र बाजा सिकाएपछि भाद्र शुक्ल चौथीका दिन दोस्रो पूजा गरिन्छ । यसै दिन राति आगम घरभित्र तान्त्रिकविधि अनुसार कर्माचार्यद्वारा पूजापाठ गरी देवता जगाइन्छ र फेटा बाँधी मुकुन्डो मात्र लगाएर यो नाच सर्वप्रथम किलागल टोलको विज्यापु ननी (चोक) स्थित डबलीमा नचाइन्छ । यहाँ सात दिनसम्म प्रत्येक दिन बेलुकी यो नाच प्रदर्शन गरिन्छ । यसरी यहाँ यो नाच निस्कनु भनेको इन्द्रजात्रा आउन लागेको सङ्केत पनि हो । यसपछि भाद्र शुक्ल अष्टमीका दिन तेस्रो पूजा गरिन्छ । यस दिन सम्पूर्ण बाजा तथा मुकुन्डोको पूजा गरिन्छ । किलागल टोलको केन्द्रमा रहेको डबलीमा पनि नाच प्रदर्शन गरिन्छ । यस प्रदर्शनपछि सार्वजनिक स्थलमा नाच प्रदर्शन गर्न बाटो खुल्छ र इन्द्रजात्राको अवसरमा जैसीदेवलको डबली, वसन्तपुरको महादेव–पार्वती मन्दिर अगाडिको डबली, कालभैरव अगाडिको डबली, बाङ्गेमुढाको डबली, इन्द्रचोकको डबली र अन्तिम दिन किलागलको डबलीमा यो नाच प्रदर्शन गरिन्छ । नाचको सुरुवात कहिलेदेखि भयो भन्ने सन्दर्भमा गीतमा रहेको ‘गुणकर राजा’ शब्दले गुणकामदेवको पालादेखि चलेको अनुमान गरिएको नाचका वाद्यगुरु राजा महर्जनको भनाइ छ ।
नाइके गुरु इन्द्रको उमेरले त नेटो काट्यो तर पुर्खाले चलाउँदै आएको देवी नाचको निरन्तरता र संरक्षणका लागि उहाँको अठोट अभैm १६ वर्षकै छ । देवी नाचमा प्रयोग हुने बाजा, नाच, नाचका मुद्रा, भेषभूषाको ज्ञान उहाँको जत्ति अरू कसैमा छैन । २०३३ सालदेखि यो नाचको नाइके भएर उहाँले नै चलाइरहनुभएको छ । कुनै भेषभूषा खरिद गर्नु परोस् कि वा कुनै व्यक्ति नाचका लागि अनुपस्थित होस्, यस कार्यमा उहाँ आफैँ अगाडि सरिहाल्नुहुन्छ । अब त आगम घर देवी नाचकै स्वामित्वमा आयो पहिले जस्तो चिन्ता र पीर उहाँमा छैन तर यो चिन्ता उहाँमा आधा मात्रै घटेको छ । उहाँ भन्नुहुन्छ– ‘नयाँ भवन बन्नुप¥यो । एउटा तलामा देवताको पूजा गर्नुप¥यो । अर्को तलामा नाच सिकाउनुप¥यो । अर्को तलामा भोज खानुप¥यो, अनि पो खुसी लाग्छ ।’ देवताको पालाको इन्द्रलाई स्वर्गको पीर थियो तर अहिलेका इन्द्रलाई आगम घरको । पुर्खाको नासो, नेवारी संस्कृतिको धरोहर देवी नाच र यसको आगम घर जोगाउन अहोरात्र खटिने नाइके गुरु इन्द्रसहित सबै धन्यवादका पात्र बनेका छन् यतिबेला ।
तस्बिर ः नातिकाजी महर्जन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?