सीताराम कट्टेल ‘धुर्मुस’ चर्चित हास्यकलाकार । कलाकारितासँगै उहाँ समाजसेवामा पनि समर्पित हुनुहुन्छ । कालाकारिता र समाजसेवाबाहेक उहाँ अर्को जिम्मेवारीमा पनि व्यस्त हुनुहुन्छ । मुक्तिनाथ विकास बैङ्क, सालिमार सिमेन्ट, जगशक्ति गोल्ड छड, नेपाल लाइफ इन्स्योरेन्स र मगमग तयारी चाउचाउको उहाँ सद्भावना दूत (ब्रान्ड एम्बेसडर) पनि हो । धुर्मुस र उहाँकी कलाकार श्रीमती कुञ्जना घिमिरे ‘सुन्तली’लाई यी कम्पनीको प्रवद्र्धन, डिलर बैठक, टीभीसी बनाउन, विभिन्न कार्यक्रममा भाग लिन, अडियो जिङ्गल र फोटोसुटमा पनि भ्याइनभ्याइ छ ।
यति धेरै जिम्मेवारी ? व्यवस्थापनचाहिँ कसरी ? धुर्मुस भन्नुहुन्छ, ‘समय मिलाएर गर्छु । त्यसमाथि हामी सद्भावना दूत भएको कम्पनीले वार्षिक कार्यक्रम दिनुहुन्छ । त्यहीअनुसार मिलाउँछौँ ।’ हास्य टेलिशृङ्खला ‘जिरेखुर्सानी’ हुँदै पछिल्लो समय ठूलो पर्दाका चलचित्र ‘६ एकान ६’, ‘वडा नम्बर ६’, ‘छक्कापञ्जा’, ‘छ माया छपक्कै’ तथा हास्यटेलिभिजन कार्यक्रम ‘मुन्द्रे कमेडी क्लब’बाट चर्चामा रहेका नेपाली सिनेमाका अर्का हास्यकलाकार जितु नेपाललाई पनि देश–विदेशमा आयोजना हुने विभिन्न कार्यक्रमका अलावा ‘सद्भावना दूत’को जिम्मेवारी पनि पूरा गर्नु छ ।
सानिमा इन्स्योरेन्स, कृषि विकास बैङ्क र रोयल सुजको सद्भावना दूत रहनुभएका नेपाललाई कम्पनी÷संस्थाका नयाँ उत्पादन, विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमका साथै विज्ञापनमा खेल्न, कार्यक्रममा गएर ग्राहकलाई हँसाइदिन समय छुट्याउनुपर्छ ।
जितु र धुर्मुसको के कुरा चर्चितमात्र होइन, उदाउँदै गरेका ‘सेलिब्रेटी’लाई विभिन्न संस्थाले आफ्नो उत्पादन वा सेवाको सद्भावना दूत बनाउने प्रचलन पछिल्लो समय ह्वात्तै बढेको छ । गायकगायिका, चर्चित कलाकार, मोडल, खेलाडी र समाजका प्रतिष्ठित तथा प्रबुद्ध व्यक्तित्वलाई सद्भावना दूतका रूपमा उभ्याएर आफ्नो व्यापार प्रवद्र्धन गर्ने प्रचलन बढ्दो छ ।
चर्चित र धेरैजनाको मनमा बस्न सफल यस्ता व्यक्तित्वहरूबाट व्यापार प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास उद्योगी÷व्यवसायीको छ । उत्पादन वा सेवाको बजार प्रवद्र्धन गर्ने उद्देश्यले सद्भावना दूत बनाउने गरेको पनि व्यवसायीहरू बताउँछन् । कलाकारहरूलाई आमउपभोक्ताले सजिलै विश्वास गर्छन् । कम्पनी आफैँले गर्ने विज्ञापनभन्दा सद्भावना दूतबाट गर्दा धेरै फरक पर्ने भएकाले उपभोक्तासमक्ष आफ्नो उत्पादन वा सेवा पु¥याउन र प्रवद्र्धन गर्न सहज हुन्छ । फेरि नेपाली चलचित्रमा उदाउँदै गरेका कलाकारले खेलेका विज्ञापन बजारमा आउँदा त्यसको प्रभाव व्यापार प्रवद्र्धनमा मात्र नभई, कलाकारको कलाकारिता प्रवद्र्धनमा पनि सहयोग पुगेको छ ।
नेपालको सन्दर्भमा सद्भावना दूतको परिभाषा भने अझै मिलेको छैन । भारतलगायत मुलुकमा सद्भावना दूत भइसकेपछि त्यसको समयसीमा हुन्छ, सर्तहरू हुन्छन्, जिम्मेवारी र पारिश्रमिक पनि हुन्छ तर नेपालमा त्यस्तो छैन । सद्भावना दूत घोषणा ग¥यो, अनि वर्षौंसम्म सम्पर्क नहुने अवस्था पनि छ । यसको मुख्य कारण हाम्रो बजार ठूलो नहुनुले पनि हो ।
नेपाली सिनेमाका महानायक राजेश हमालले दर्जनौँ उत्पादनमा सद्भावना दूतका रूपमा आफूलाई प्रस्तुत गरिसक्नुभएको छ । महजोडी अर्थात् वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि आधा दर्जनभन्दा बढी वस्तु तथा सेवामा आफूहरूलाई प्रस्तुत गरिसक्नुभएको छ । सद्भावना दूतकै लहरमा आउने अन्य कलाकारहरूमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, नीर शाह तथा अन्य पछिल्लो पुस्ताका धेरै छन् । चर्चित व्यक्तित्वहरूको क्यारिकेचरबाटै नेपाली हास्यविधामा निकै छाएका कलाकार मनोज गजुरेलको पनि सद्भावना दूतमा पनि उपस्थिति छ ।
सेलिबे्रटी मुलुकका गहना हुन् भन्ने कुरालाई सम्मान गर्दै सद्भावना दूत बनाउने गरेको व्यवसायीहरू बताउँछन् । हलमा गएर एउटा सिनेमा कतिले हेर्लान् र त्यसमा अभिनय गर्ने कलाकारलाई कतिले चिन्लान् तर त्यही सिनेमामा अभिनय गर्ने कलाकारलाई विज्ञापनमा खेलाइयो भने उसलाई चिन्ने सङ्ख्याको कुनै लेखाजोखा नै हुँदैन । त्यसैले सद्भावना दूत भएर विज्ञापनमा खेल्नुको रमाइलो छुट्टै हुन्छ । जब आफू संलग्न भएको सिर्जना टेलिभिजन, रेडियो, पत्रपत्रिका र सहरका ठुल्ठूला होर्डिङ बोर्डमा देख्न र सुन्न थालिन्छ, त्यसबेलाको आनन्द अतुलनीय पनि हुन्छ । यो आनन्द कुनै चलचित्र वा म्युजिक भिडियोले प्रदान गर्न सक्दैन । एउटा आमाले आफ्नो सन्तानको पहिलो दर्शन गर्दा, वैज्ञानिकले कुनै रहस्यको अनावरण गर्दा र डाक्टरले बिरामीलाई स्वस्थ बनाएपछि पाउने आनन्दजस्तै । कलाकारहरूलाई नै सद्भावना दूत बनाउनुमा कम्पनीहरूले उनीहरूको सार्वजनिक व्यक्तित्वबाट आफ्नो उत्पादनको बजार हिस्सा बढाउनु नै हो । सिनेमाका पर्दामा कलाकारहरूलाई बारम्बार हेर्ने गरेका दर्शकहरू त यस्ता विज्ञापनबाट प्रभावित हुन्छन् नै । सिनेमा नै नहेर्नेहरूले पनि फलानो विज्ञापनमा त फलानो ‘हिरो’ वा ‘हिरोइन’ पो खेलेको रहेछ भनेर चर्चा हुने हुनाले यसबाट कम्पनी र सद्भावना दूत दुवैको हातमा लड्डु पर्ने गर्छ ।
बलेको आगो सबैले ताप्छन् भन्ने उखानको आसय जस्तै कलाकारहरू आफ्नो कलाकारितामा विश्वस्त देखिँदैनन् । कलाकारितासँगै जोडिएका तिनका ‘हाइफाइ’ सधैँ नरहन सक्छ । त्यसैले उनीहरू अरू वैकल्पिक काममा पनि लागेका हुन्छन् । यो वैकल्पिक काममध्ये धेरै कलाकारको काम सद्भावना दूत हुनु पनि हो । अहिले कलाकारितामा प्रवेश गर्ने र यसमै जम्न चाहनेले पनि विज्ञापनमा मोडलिङलाई नै प्रवेशद्वारका रूपमा लिने गर्छन् ।
पारिश्रमिक नभनौँ
सद्भावना दूतको पारिश्रमिक पनि राम्रै होला नि भन्ने जिज्ञासामा धुर्मुसको जवाफ छ, ‘पारिश्रमिक त नभनौँ होला, एउटा कम्पनी र अर्को कम्पनीको केही समझदारी भएको हुन्छ, यो कुरा गोप्य नै राखौँ । पारिश्रमिकबाट सन्तोषजनक छौँ । अहिले हामी टिकेकै यही सद्भावना दूतको पारिश्रमिकले हो । हामीलाई हिँड्न, डुल्न पुगेको छ । त्यही भएरै समाजसेवामा लाग्न पाइएको छ ।’
यही सवालमा नेपालको भनाइ छ, ‘ट्वाक्कै त नभनौँ, यसले आर्थिक रूपमा राम्रै भएको छ । यो कुरा सहमतिबाट तय भएको हुन्छ । मेरा लागि यति नै पारिश्रमिक हुनुपर्छ, नत्र हुँदैन भनेर बस्ने अवस्था छैन ।’
कुनै उत्पादनको सद्भावना दूत भएपछि जनमानसमा आफूलाई तल्लो तहसम्म चिनाउने राम्रो अवसरका रूपमा विज्ञापनलाई लिइन्छ । प्रतिस्पर्धाको अहिलेको जमानामा त्यही भाग पनि अर्कोले उछिट्याइदेला भन्ने कुरालाई मनन गरेर काम गर्नुपर्ने अवस्था छ ।
बलिउडका ‘बिग बी’ अर्थात् अमिताभ बच्चनका डाबर, इमामी, गुजरात टुरिजम, पोलियो क्याम्पियन, जेन मोबाइलगायत ब्रान्डको विज्ञापन जति चर्चित छन्, त्यसको आम्दानीको पाटो पनि उत्तिकै शक्तिशाली छ । महिलाहरूका लागि लक्षित साडीको १५ सेकेन्डको एक विज्ञापनमा खेलेबापत पाँच करोड भारू पारिश्रमिक लिएकी भारतीय नायिका विद्या बालनको यहाँ कुनै किसिमको तुलना हुन सक्दैन । बलिउडकै आमिर खानको भिभो मोबाइल, अक्षय कुमारको डलर क्लब भेस्ट, लेभिज, एलजी, माइक्रोम्याक्सलगायतका ब्रान्डमा दिइने गरेको पारिश्रमिकको पनि तुलना हुन सक्दैन यहाँ । भारतमात्रै होइन, विकसित मुलुकहरूमा विज्ञापन खेल्नु वा सद्भावना दूत बन्नु राम्रो पारिश्रमिक पाइने क्षेत्र हुन् । त्यहाँ विज्ञापन स्थापितमात्र होइन, अपरिहार्य भइसकेको छ । एक–एक वर्षको सम्झौतादेखि विभिन्नखाले सर्त र नियमबाट बाँधिएका हुन्छन्, त्यहाँका सद्भावना दूत । त्यसको तुलनामा यहाँ विज्ञापन व्यवसायमा त्यस्तो कुनै सर्त र नियम हुँदैन । यहाँ त एकपटक विज्ञापनमा अभिनय गरेपछि प्रायः वर्षौंसम्म चल्ने गर्छ । तर यसले दुवै पक्षलाई घाटा नहुने व्यवसायीहरूको दाबी छ । यद्यपि, पछिल्लो समय धेरै कम्पनी सर्त र नियमबाट बाँधिन थालेका छन् ।
बजार नै यति सानो छ कि यहाँका व्यवसायीले विदेशी विज्ञापनमा जस्तो करोडौँका महँगा अवसर दिन सक्दैनन् । आर्थिक रूपमा धेरै ठूलो रकममा पारिश्रमिक प्रदान गर्न नसक्ने भए पनि गुनासो गर्ने ठाउँ पनि नदिएको व्यवसायीहरूको भनाइ छ । कुनै एउटा ब्रान्डको सद्भावना दूत बनेपछि प्रतिस्पर्धी ब्रान्डमा यो काम गर्न नपाइने व्यवस्था छ । सद्भावना दूत बनिसकेपछि त्यसका ग्राहकमाझ सोही ब्रान्डको प्रवद्र्धनात्मक कार्यमा सघाउनेदेखि नयाँ उत्पादनबारे पनि काम गनुपर्ने हुन्छ ।
सार्वजनिक संस्था पनि के कम ?
सद्भावना दूतको लहरमा निजी कम्पनी या संस्थामात्र होइनन्, सार्वजनिक संस्था पनि उभिन थालेका छन् । अझ भनौँ सद्भावना दूतमार्फत व्यवसायको प्रवद्र्धनको ‘मास्टर प्लान’ उनीहरूले पनि बुझेका छन् । सोमबारमात्रै मुलुककै जेठो बैङ्क नेपाल बैङ्कले सद्भावना दूतको आवश्यकता महसुस गर्दै युवा वैज्ञानिक एवम् राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष डा. महावीर पुनलाई नियुक्त गरेको छ । नयाँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई सद्भावना दूत नियुक्त गर्न पाउनु बैङ्ककै लागि गर्वको विषय भएको बताउनुहुन्छ बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी ।
यस्तै राष्ट्रिय वाणिज्य बैङ्क पनि विगत केही वर्षदेखि यही दौडमा छ । अघिल्लो वर्ष २०१८ की मिस नेपाल शृङ्खला खतिवडालाई सद्भावना दूत बनाएको यो बैङ्कले यस वर्ष २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठलाई बनाएको छ । देशभर रहेको बैङ्कको ठूलो नेटवर्क र सेवाप्रवाहमा बैङ्कले लिएको प्रतिस्पर्धी सेवाप्रवाहमा युवा पुस्तालाई समेट्नुुका साथै वित्तीय साक्षरता र बैङ्कको व्यवसाय वृद्धिका लागि सद्भावना दूतको नियुक्तिले सघाउ पुगेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको अनुभव छ ।
कृषि विकास बैङ्क पनि यो दौडमै छ । देशभर आफ्नो नेटवर्कमार्फत सामान्य किसानदेखि व्यवसायीसम्मका वर्गलाई सेवा प्रदान गरिरहेको बैङ्कले अघिल्ला वर्षमा हाँस्यकलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई सद्भावना दूत नियुक्त गरेको थियो । बैङ्कको सेवालाई जनस्तरसम्म सञ्चार गराउन सद्भावना दूत बनाउने गरिएको जनाउँदै बैङ्कले यो वर्षचाहिँ हास्यकलाकार जितु नेपाललाई बनाएको छ । यता नेपाल टेलिकमले पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई केही दिन अगाडि सद्भावना दूत बनाएको छ ।
कस्ता विज्ञापनमा अभिनय गर्ने ?
विज्ञापनले हाम्रो जीवनशैलीमा सकारात्मक र नकारात्मक परिवर्तन ल्याउन ठूलो भूमिका खेलेको हुन्छ । यसरी हरेक विज्ञापनमा कलाकार अझ त्यसमा पनि सर्वसाधारणको मनले आदर्श ठानेका व्यक्तिको अभिनयले सन्देशलाई प्रभावकारी बनाउँछ ।
सञ्चारमाध्यमको प्रचुरता र विज्ञापनको प्रभावले हाम्रो बानीबेहोरादेखि व्यवसायसम्म परिवर्तन भइरहेका छन् । विज्ञापनकै कारण हाम्रो परम्परागत खाजा आज फास्टफुड र जङ्कफुडमा बदलिएको छ । विद्यार्थीलगायत गाउँघरमा काम गर्ने खेतालासमेत मकै, भटमास, रोटी, चिउरालाई लत्याएर फास्टफुड र जङ्कफुड अझ त्यसमा पनि चाउचाउजस्ता कुरामा रमाउन थालेका छन् । स्वास्थ्यका दृष्टिले यस्ता खाजा खानु कति उपयुक्त होला ? यो सोचनीय विषय भएको छ । पम्परागत खाजा जति स्वास्थ्य अनुकूल हुन्छन्, त्यति विभिन्न रसायन, अजिनोमोटो मिसाइएका खाद्य सामग्रीले हाम्रो शरीरलाई हानि पु¥याइरहेका हुन्छन् । पछिल्लो समय प्रतिष्ठित व्यक्तिले जङ्क फुड, मदिरा या यस्तै कुराको विज्ञापनमा खेलेको विषयलाई अब कसरी हेर्ने ? सेलिब्रेटी÷कलाकारहरूले जस्तो पायो त्यस्तै विज्ञापनमा प्रस्तुत भइदिँदा उनीहरूका ‘फ्यान’हरूले के सिक्ने भन्ने प्रश्न पनि उठेकोे छ । यसतर्फ संंवेदनशील भएर सोच्ने बेला आएको छ । विज्ञापनले इमानदारी र सत्यता बोक्नु जरूरी छ । समाजिक, साँस्कृतिक एवम् धार्मिक विश्वासमा खलल पु¥याउनुहुँँदैन । महिला तथा बालबालिका एवम् समाजका निम्नवर्गप्रति पनि संवेदनशील हुनुपर्छ ।