सुकृत नेपाल
कोभिड–१९ (कोरोना भाइरस)का कारण विश्वभरका चलचित्र प्रभावित हुँदा नेपाली चलचित्र पनि यसबाट अछुत रहन सकेन । केही हप्ताअघि चलचित्र निर्माता सङ्घले विज्ञप्तिमार्फत चलचित्र छायाङ्कन रोक्न निर्देशन दिएको थियो । जसले चलचित्र, चलचित्रकर्मी, निर्देशक, निर्माता, हल सञ्चालक, चलचित्र वितरकलगायतलाई धेरै नै असर पारेको छ ।
आफ्नो चलचित्रको प्रदर्शन मिति तोकेका केही निर्माता÷निर्देशकले बाध्य भएर मिति सार्नुपरेको छ । अब दर्शक नै हलमा नआएपछि चलचित्र कसका लागि चलाउने भन्दै हुनुहुन्थ्यो चलचित्र ‘नीरफूल’का निर्देशक फुलमान बल । आगामी चैत ७ गतेलाई प्रदर्शन मिति ‘लक’ गरेको चलचित्र ‘नीरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ । कोरोना त्रासकै कारण चलचित्र पछि सार्नुपरेको निर्देशक बलले बताउनुभयो । अब चलचित्र प्रदर्शन कहिले त भन्ने प्रश्न गर्दा, उहाँले त्यो त कोरोनाले बताउने भन्नुभयो ।
प्रदर्शन हुनेमात्र होइन, प्रदर्शन भइरहेका चलचित्र हेर्न हलहरूमा जाने दर्शकको सङ्ख्या पनि दिनप्रतिदिन कम भइरहेको छ । नेपालमा कोरोनाको सङ्क्रमण नदेखिए पनि त्यसको त्रासको प्रभाव आममानिसमा धेरै नै छ र सचेत हुनु पनि जरुरी छ । नेपाली चलचित्र क्षेत्र विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसको त्रासमा छ । चलचित्रकर्मीहरूले आफ्नो समयमा वा भनौँ पूर्वनिर्धारित समयमा चलचित्र प्रदर्शन गर्न सकिरहेका छैनन् । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा थुप्रै चलचित्रले पछि सरिरहेका छन् ।
कलाकार दयाहाङ राई, कोरोनाले चलचित्र क्षेत्रलाई केही मात्रामा अवश्य प्रभाव पारेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सरकारले गरेको काम हो यो । राम्रैका लागि गरेको होला । आफू अहिले चलचित्र दुई नम्बरीको सुटिङमा व्यस्त रहेको र कोरोना प्रभावबाट बच्न आफैँ पनि सचेत रहनुपर्ने उहाँको भनाइ थियो । विश्व स्वास्थ्य सङ्गठनले नै कोरोना भाइरस विश्वव्यापी महामारी भएको घोषणा गरेपछि यसले झन् सचेत हुनु जरुरी भएको उहाँको भनाइ थियो ।
केही दिनअगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको छ । दर्शकको स्वास्थ्यभन्दा ठूलो केही नभएको बताउनुहुन्छ निर्देशक सुदर्शन थापा । उहाँ भन्नुहुन्छ, ‘हामीले चलचित्र बनाउने भनेको दर्शकका लागि हो । हाम्रा लागि दर्शकको स्वास्थ्य सबैभन्दा ठूलो कुरा हो । हामीले अनिश्चितकालका चलचित्र सारेका हौँ । कोरोनाको डर र त्रास कम हुँदै गएपछि चलचित्र प्रदर्शन गरिन्छ होला ।
नायिका पूजा शर्मा कोरोनाको जोखिम न्यूनीकरणका लागि फिल्म प्रदर्शन रोक्नुपर्ने तर्क गर्नुहुन्छ । ‘कोरोनाको त्रासले अहिले हलमा दर्शक जान डराएका छन् । हलमा दर्शक नहुँदाको घाटा निर्मातालाई हुन्छ । अहिले चलचित्रको प्रदर्शन रोक्नु नै बुद्धिमानी हुन्छजस्तो मलाई लाग्छ,’ उहाँले भन्नुभयो ।
नेपालमा चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’को व्यापारलाई कोरोनाको त्रासले छाडेन । ‘चलचित्र एउटा आफ्नै हिसाबले आफ्नै ढङ्गबाट चलिरहेको थियो । तर, त्यही समय सरकारले ठूलो भीडभाड, सभा, समारोह नगर्नु र नजानु भनेर उर्दी जारी ग¥यो ।
विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिमपूर्ण क्षेत्रमा नेपाललाई पनि राखेपछि हलमा चलचित्र हेर्न जान डराएका हुन भन्दै हुनुहुन्थ्यो कलाकार सीताराम कट्टेल (धुर्मुस) । उहाँले भन्नुभयो, ‘मलाई धेरै दर्शकले कोरोनाको त्रासका कारण चाहेर पनि चलचित्र हेर्न जान नसकेको गुनासो सुनाउनुभएको छ । दर्शकको स्वास्थ्यको हिसाबले हेर्ने हो भने यो एक तरिकाले ठीक पनि हो । तर, निर्माता र कलाकारको हिसाबले हेर्दा यसले हामीलाई ठूलो घाटा गराउँछ ।’
कोरोनाकाकै कारण चलचित्र ‘आमा’ले पनि केही कठिनाइ भोग्नुप¥यो । चलचित्रले प्रदर्शनको दोस्रो हप्ता झन्डै तीन गुणा बढी ग्रस कलेक्सन गरेको तर आइतबार ८५ देखि ९० प्रतिशत कम भएको निर्देशक दीपेन्द्र के खनालले बताउनुभयो । ‘जब सोमबारबाट कोरोनाको समाचार धेरै आउन थाल्यो, त्यसपछि चलचित्रको व्यापार पनि तल झर्न थाल्यो,’ निर्देशक खनालले भन्नुभयो, ‘चलचित्रको समीक्षा राम्रो आइरहेको छ । जति पनि दर्शकले चलचित्र हेर्नुभयो सबैले राम्रो भनिरहनुभएको छ । कहिल्यै चलचित्र हेर्न नआउने दर्शक आइरहेका छन् । तर, अहिले कोरोनाको त्रासकै कारण चलचित्र हेर्न आउन दर्शक डराइनुभएको छ ।’
चैत २१ गतेदेखि प्रदर्शनमा आउने भनिएको ‘लक्का जवान’ का निर्देशक शिवहरि पौडेल आफ्नो चलचित्रको प्रदर्शनको मिति ‘पर्ख र हेर’ को अवस्थामा रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,
‘चलचित्र सार्ने मनस्थिति छैन । केही दिन हेरौँ । अन्य चलचित्रहरू सर्दै गयो भने हामी पनि सार्ने छौँ ।’ केही दिनमा समय परिस्थिति राम्रै देखिए प्रचार–प्रसारलाई तीव्र पार्दै पूर्वनिर्धारित मितिमै चलचित्र प्रदर्शन गर्ने पौडेलको सोच छ ।
यस्तै चलचित्र ‘प्रेमगीत–३’ का निर्माता तथा निर्देशक सन्तोष सेन प्रदर्शन मिति सार्नेबारे सोची नसकेको बताउनुहुन्छ । चैत २८ गतेलाई ‘प्रेमगीत–३’ को प्रदर्शन मिति तोकिएको छ । उहाँले भन्नुभयो, ‘कोरोना समस्या लम्बिँदै गयो, त्रास बढ्यो भने त्यसको प्रभावलाई हेरेर निर्णय गर्छु ।’ दर्शकलाई असर पर्ने किसिमले भने चलचित्र प्रदर्शनमा नल्याउने सेनले बताउनुभयो । अहिले अन्य निर्माताहरू पनि चलचित्र प्रदर्शन गर्ने कुरामा अन्योलमा देखिन्छन् ।
मानिसको भीड हुने ठाउँ भएकाले चलचित्र हल बन्द गर्नुपर्ने भनेर चर्चा पनि बाहिर चल्न थालेको छ । तर, हल सञ्चालकहरू नेपालमा हालसम्म कोरोना भाइरस नदेखिएकाले हलमा जान डराइहाल्नुपर्ने स्थिति नरहेको दाबी गर्छन् । कोरोनाको त्रास देखिए पनि चलचित्र हेर्न आउने दर्शकको सङ्ख्यामा खासै असर नपरेको हल सञ्चालकहरू दाबी गर्नुहुन्छ । बलिउड, हलिउड र नेपाली चलचित्र उद्योगमा पनि यसको असर सुरू भएको छ । नेपाली चलचित्र हलमा सुरक्षा सतर्कता अपनाउँदै दर्शकका लागि सेनेटाइजर, ह्यान्ड वासको व्यवस्था गरिएको छ ।
गोपीकृष्ण हलका सञ्चालक निरक पौडेलले कोरोनाको प्रभाव चलचित्र हलमा खासै नदेखिएको दाबी गर्नुभयो । उहाँले कोरोनाका कारण चलचित्र घाटामा गएको हल्ला सुनिन्छ तर सबैतिर यस्तो छैन । हाम्रो हलमा दर्शकको उपस्थिति राम्रै छ । उहाँले हालको सुरक्षामा ध्यान दिँदै मास्क र सेनेटाइजर भने दर्शकलाई उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दर्शक कोरोनाबारे आफैँ पनि सचेत हुनुपर्छ ।’
यता कमलादीस्थित क्युज सिनेमाजका प्रबन्ध निर्देशक राकेश श्रेष्ठ कोरोनाले भन्दा पनि चलचित्र प्रदर्शनमा नआएपछि हललाई गाह्रो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कोरोनाको प्रभाव ५ देखि १० प्रतिशत अवश्य नै परेको छ । नेपाली चलचित्रहरूको मिति सर्नाले पनि केही घाटा अवश्य भएको छ ।’
सरकारले औपचारिक रूपमा सभा–सम्मेलन नगर्न, अत्यावश्यक नभई घरबाट बाहिर नजानसमेत नागरिकलाई आग्रह गरेको छ । यता, चलचित्र सङ्घका अध्यक्ष मधुसूदन प्रधानले हलमा दर्शकको चाप कम नभएको दाबी गर्नुभयो । उहाँले हलमा सचेतनाका सूचना प्रसारण गर्ने, मास्क प्रयोग गर्न अनुरोध गर्ने, हल सफा राख्न र कीटाणुरहित बनाउन पहल गर्ने बताउनुभयो । उहाँले यदि हल नै बन्द गर्नुपर्ने अवस्था आए नेपाली चलचित्रलाई ठूलो क्षति हुने पनि बताउनुभयो ।
नेपालका झन्डै १ सय ५० को हाराहारीमा हल सञ्चालनमा छन् । नेपाल चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहालले कोरोना सचेतनाका लागि सरकारसँग सहकार्य गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘दर्शकलाई त्रासभन्दा पनि सचेतनाका कुराहरू बुझाउनु जरुरी छ ।’
कोरोना त्रासले चीन, जापान, दक्षिण कोरिया, इटालीलगायत देशका हजारौँ सिनेमाहल बन्द भइसकेका छन् । जसकारण हलिउडका चलचित्रको मिति पनि पर सारिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि हलमा दर्शक कम हुन थालेका हल सञ्चालकहरूको ठम्याइ छ ।
त्यसो त नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पारिवारिक जमघट, मेला, महोत्सव, जात्रापर्वजस्ता कार्यक्रमबाट टाढा रहन र केही समय यस्ता जमघट नगर्न अनुरोध गरिरहेको छ । नेपाल सरकारले विज्ञप्ति नै जारी गरेर चलचित्रहरूको छायाङ्कन रोक्न अनुरोध गरेको थियो । चलचित्र भवन पनि मानिस भेला हुने ठाउँ हो र हालसम्म हल बन्द भएको छैन । तर, यस्तै अवस्था रहन हो भने हलहरूमा आर्थिक मन्दी छाउने र हल नै बन्द गर्नुपर्ने अवस्था नआउला पनि भन्न सकिन्न । जतिसुकै आर्थिक मन्दी छाए पनि आममानिसको स्वास्थ्यभन्दा ठूलो कुरोचाहिँ अहिलेको अवस्थामा केही हुन्न ।