विजय कट्टेल ‘छहरा’
मलाई सिर्जना विनाको जीवन र सुवास विनाको फूल उस्तै लाग्छ । कागजको फूलमा सुवास हुँदैन । प्रेमभाव र गहिराइको सतह यसमा पटक्कै पाइँदैन । बास्नाले भरिएका सुन्दर फूल र मन छुने गीतहरू मलाई उस्तै लाग्छ । असल गीतले मानिसको मनलाई छुन्छ र लोभ्याउँछ । वास्तविक फूलले आँखालाई लोभ्याउँछ र आनन्द प्रदान गर्छ । पगाल्न सक्नु यिनीहरुको धर्म हो । जसरी पनि पगालेर छोड्छ । यस्ता तरङ्गले भरिएका रसिला, भरिला र आकर्षक तत्वले मनलाई पगालेर आनन्द प्रदान गर्ने शक्तिलाई गीत भनिन्छ । असल गीत मुटुको भेट्नामा गएर बस्दारहेछन् र सधैँसधैँ मनलाई पगालेर भावनाको देशमा सदासर्वदा राज गर्दारहेछन् ।
कर्णप्रिय र मन छुने गीतले मानिसका पीर व्यथा, वेदना र पीडालाई दूर गराउँछ । असल गीतले सधैँ मानिसको मन र मुटुसँग नाता जोड्छ । उकाली ओराली भञ्ज्याङ चौतारी जताततै स्वतःस्फुर्त रूपमा सुवास फैलाउँछ । हिमाल, पहाड र तराई जस्तोसुकै भूगोलमा पनि यस्ता गीत तरङ्गित भइरहन्छन् । मानवका लागि मात्र होइन, यस्ता गीतले सम्पूर्ण प्राणी जगतलाई नै आल्हादित तुल्याउँछन् । उदासी मनमा उमङ्गको सञ्चार भरेर छमछमी नचाउँछन् भने निदाएको मान्छेलाई ब्युँझाउँछन् र कर्मशील बनाउँछन् ।
गीत सङ्गीत भनेको भोजन अनुसारको स्वाद र समय अनुसारको राग हो । दुःखसुखमा सहभागी भई हर्षमा उत्साह भरिदिने गीतभित्र संसार छ । यसले समय, परिस्थिति, वातावरण र परिवेश अनुसार आफूलाई प्रस्तुत गर्छ । मानिस फरक फरक होलान्, तथापि ग्रहण गर्ने मन एउटै हो । भाषा फरक होलान् तर स्वीकार गर्ने पन एउटै हो । सीप, शैली र लय फरक होलान् त्यसको मर्म र मिठास दिने वस्तु एउटै हो । जुनसुकै जाति, भाषा र संस्कृतिका मानिस किन नहुन् हेर्ने आँखा एउटै हो ।
गीत सङ्गीत तरल वस्तु हो । यसले आफ्नो आकार आफैँ लिन्छ । जस्तो ठाउँमा पनि सजिलै पस्न र बस्न सक्ने गीत सङ्गीतलाई आलिसान महलको जरुरत कहिल्यै पर्दैन । चोखो र पवित्र मनले ग्रहण गरिदिए पुग्छ । खुला दिलमा प्रफुल्लित हुँदै स्वतन्त्रताको उडान भर्ने गीतभित्र मधुरसको स्वाद हुन्छ । जसलाई हृदयले रसास्वादन गरिरहेको हुन्छ । न त आसनमा फरक छ नत शासनमा फरक छ । सानो, ठूलो, धनी, गरिब सवैलाई समान आदरभाव प्रकट गर्ने गीत सङ्गीत मानव जीवनका लागी एउटा सुन्दर बगैँचा हो । जुन बगैँचामा गीतसङ्गीत फूलजस्तै फुलिरहेका हुन्छन् र सुवास छरिरहेका हुन्छन् । यिनै गीत हाम्रा पहिचान र चिनारी हुन् ।
हाम्रा गाउँघर र कुना कन्दरामा लुकेर बसेका गीत सङ्गीतलाई अझै हामीले खोजी गर्न सकिरहेका छैनौँ । सयौँ लोक भाका र लोक सुसेली अहिले पनि उठ्न सकिरहेको अवस्थामा छैनन् । कला र गलाको धनी यो हाम्रो मुलुकमा ईश्वरीय अनुकम्पाको खानी सर्वत्र छ । यो शक्तिलाई सबैसामु प्रस्तुत गर्ने हो भने हाम्रो आन्तरिक र बाह्य पर्यटन दुवैलाई अझ ठूलो टेवा पुग्न गई हाम्रो संस्कृतिको धरोहर अझै माथि चुलिनेछ ।
हाम्रो संस्कार र संस्कृतिले हाम्रा अतिथिको मनलाई लोभ्याउन सक्नुपर्छ । रीतिरिवाज कलाकौशल, भाषा, धर्म, चाडबाड समेटिएका गीतसङ्गीतले उनीहरूको मनलाई पगाल्न सक्नुपर्छ । हाम्रा प्राकृतिक सम्पदा आफैँमा गीत बनेर पोखिएका छन् । चाँदीजस्तै टल्किने हिमाल र हिमाली पाखामा रातै फुलेका लालीगुराँस हेरेर रमाउने हाम्रो मन, ताल र झरना हेरेर त्यसै मन्त्रमुग्ध हुन्छ । हाम्रा पाहुना पनि यसैमा रमाउँछन् । डाँफे मुनाल र मयूरको नाच देखेर नरमाउने मन कसको होला र ? कलकल बग्ने नदीनाला, हरिया वनजङ्गलभित्र खेल्ने हात्ती, गैँडा, कस्तुरी, मृग र त्यसैभित्र रहेका विचित्र जनावर र जडीबुटी, यी सारा हाम्रा गीत हुन् । हाम्रा लोकबाजासँगै रमाएको हाम्रोपन आफ्नै छ, मन आफ्नै छ । खानपान रहनसहन मीठो बोलीवचन आदिले पनि हामी अतिथिलाई स्वागत गर्न सक्छौँ । यी सबै हाम्रा गीतसङ्गीतभित्र समेटिएका छन् । हर्ष र उमङ्गले हामी पर्यटकलाई अतिथिदेवो भव मानेर सम्मान गर्न सक्छौँ । यही शैली र संस्कारको माध्यमले हामी हाम्रो देशको पहिचानलाई विश्वसामु सजिलै सुपरिचित गराउन सक्छौँ ।
देशको शासनव्यवस्थाले नयाँ रूप धारण गरेजस्तै पर्यटकका लागि हामीले नयाँ नयाँ शैली र सोचको विकास गराउन सक्नुपर्छ । सम्मान, सद्भाव र सत्कारले गाँसिएको पे्रमभाव समुद्रभन्दा गहिरो र सगरमाथा भन्दा उँचो हुन्छ । हाम्रा अतिथिको आतिथ्यले यसैमा पूर्णता प्राप्त गर्छ । गीत सर्जकहरूले पनि यस्ता भावनालाई समेट्न सक्नुपर्छ । छाडा र छिचिमिरे आयु भएका गीतले हाम्रो अस्तित्वलाई नै समाप्त पारिदिन्छन् । यस्ता क्षणिक र अर्थहीन गीतले हाम्रो पहिचान बिगारिदिन बेर लाउँदैनन् । यथार्थको धरातलमा टेकेर भावनाको खेती गर्ने सर्जकहरूलाई राज्यले प्रोत्साहन र उत्साह प्रदान गर्न सक्नुपर्छ । उनीहरूको भावनामा चोट पर्न दिनुहँुदैन । गीतसङ्गीत र पर्यटकबीचको हाम्रो नाता सदियौँदेखि अजर र अमर भएको छ । हाम्रा यी खुशीका पल वर्णन गरेर नत कहिल्यै सकिन्छन्, न त गाएर सकिन्छन् । रोधी, झ्याउरे, मारुनी, लैबरी, बालुन र खैँजडी जस्ता गीत सङ्गीत र भजन हाम्रा मौलिक सम्पत्ति हुन् । पर्व विशेषमा गाइने देउसी, भैलो तथा तीज, उँधौली, उँभौली र धाननाच जस्ता पर्वले पर्यटकलाई आकर्षित गरेको छ । हामी यसैगरी कला, साहित्य र संस्कृतिको जगेर्ना गर्दै आन्तरिक र बाह्य पर्यटन प्रवर्धनको विकासमा अगाडि बढ्न सिकौँ यसैमा हाम्रो कल्याण छ ।