logo
२०८१ मंसिर ९ आईतवार



साहुखर्कका खीरबाजे

शनिवार |


साहुखर्कका खीरबाजे



हिक्मतसिंह ठकुरी

डडेल्धुरा, गन्यापधुरा गाउँपालिका–१, साहुखर्कमा एउटा सानो कटेरोमा खीर पसल छ । खीर पसलका साहुजी हुनुहुन्छ– ६८ वर्षीय शेरबहादुर देउवा । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्रीसँग उहाँको नाम र जिल्ला मिल्छ तर गाउँठाउँदेखि काठमाडौँसम्म उहाँ खीरबाजेका रूपमा प्रख्यात हुनुहुन्छ । उहाँले ३१ वर्षदेखि यो व्यवसाय गर्दै आउनुभएको छ । खीरबाजेले अहिले १० वटा भैँसी पाल्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘आफ्नो घरको मात्र कहाँ हो र, पूरै गाउँका भैँसीको दूध सङ्कलन गरेर खीर बनाउँछु । दिनमा ८० लिटरजतिको खीर र चिया यात्रुलाई खुवाउँछु ।’ खीरबाजे यस क्षेत्रमै उदाहरणीय व्यवसायीका रूपमा स्थापित हुनुहुन्छ ।

ग्राहक भुतुक्कै
‘तपाईं कता ? बाजेको खीर पसल यता’ खीरबाजेको होटेलको नाम यसरी टाँगिएको छ । झुस्स दाह्री र चाउरी परेका गाला लिएर होटेलमा चौबीसै घण्टा खीर बनाउन व्यस्त खीरबाजेको होटेल दिनरात खुल्छ । होटेलका ग्राहक यात्रु नै हुन् । रातको समयमा यात्रा गर्नेले पनि खीर र चियाको स्वाद लिन पाउँछन् । खीर खान पुग्नेहरू उहाँको विगत कोट्याउँदै खीर खाने गर्छन् । खीरबाजे पनि आफ्ना ग्राहकलाई खुसी बनाउँदै मीठो चिया र भैँसीको दूधको खीर खुवाउनुहुन्छ । खीरको मोहले ग्राहकलाई यतिसम्म तानेको छ कि राजमार्गमा यात्रा गर्ने जोकोहीको रोजाइ यो होटेल बनेको छ । खीरबाजेलाई होटेल चलाउन घरपरिवारको साथ सहयोग त छँदै छ, थप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले, दूधका नयाँ परिकार बनाउनदेखि आधुनिक रूपमा भैँसी पालनसम्म सहयोग गरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख खडक शाहले बताउनुभयो । खीरबाजेको यो होटेलसँगै थोरै खेतबारी छन् । खेतबारीको आम्दानीले पनि घरखर्च जुटाउन मद्दत पुगेको छ । उहाँ आफूले सञ्चालन गरेको खीर होटेल र आफ्नो दैनिकीमा पूर्ण सन्तुष्ट हुनुहुन्छ ।

खीर बेचेर धानिएको परिवार
खीर र चियाको आम्दानीले श्रीमती, छोरा र नातिनातिना गरी १० जनाको परिवार धानिएको छ । खीरको मोहले दुनियाँलाई यतिसम्म तानेको छ, उहाँको होटेल अगाडि सधैँ दुई–चारवटा गाडी रोकिएकै हुन्छन् । उहाँको सिको गरी अहिले साहुखर्कमा नै दर्जनभन्दा बढी खीर होटेल खोलिएका छन् । तर, सबैको मन खीरबाजेको होटेलमै गएकाले अधिकांश होटेल बन्द हुने अवस्थामा पुगेका छन् । उहाँको चर्चा सुदूरपश्चिम प्रदेशमा मात्रै छैन, सङ्घीय राजधानीसम्म छ । उहाँले खुसी हुँदै भन्नुभयो, ‘पूर्वप्रधानमन्त्री देउवामात्र होइन, मन्त्री, प्रशासक, कर्मचारीसमेत यहाँ आएर खीर खाएर जानुहुन्छ ।’

सभापति देउवासँगको सम्झना
नेपाली काँगे्रसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको नाम खीरबाजेसँग संयोगले मिलेकोमात्र छैन, उहाँहरू बालसखा पनि हुनुहुन्छ । सभापति देउवासँग गाउँमा बाल्यकालमा गोठालो जाने गरेको यतिबेला खीरबाजे सम्झनुहुन्छ । ‘साना थियौँ, सँगै गोठालो जान्थ्यौँ, म बाख्रा हराए रुन्थेँ, उहाँ रुनु हुन्नथ्यो । अहिले त उहाँ देशको चारपटक प्रधानमन्त्री भइसक्नुभयो,’ उहाँले भन्नुभयो । सभापति देउवा आफ्नै जिल्लामा पनि वर्षमा एक÷दुईपटक मात्र आउनुहुन्छ । यहाँ आउँदा धेरैजसो मेरो पसलमा पनि आउने गरेको उहाँ बताउनुहुन्छ ।
गाउँ छाडेपछि तराई झरेको र तराईमा बस्ने घर ऐलानीमा परेपछि पुनः पहाड उक्लिएर सडकको किनारमै तीनवटा भैँसी पालेर खीर बनाउने काम सुरु गरेको उहाँ सम्झनुहुन्छ । यो व्यवसाय सुरु गर्दा खीरबाजेले कञ्चनपुरको वाणी गुलरियामा गएर भैँसी पाल्न सुरु गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘सभापति देउवाका बुवाले भैँसी पाल्न गोठ बनाउनुभयो । मेरो बुवाले पनि बनाउनुभयो । केही समयपछि सरकारले त्यहाँबाट हामीलाई उठायो । अनि मेरो परिवार पहाडतिर फर्केर आएको हो ।’

काठमाडौँ एकपटक पुग्नुभयो
खीरबाजे अहिलेसम्म एकपटक मात्र काठमाडौँ पुग्नुभएको छ । उहाँको काठमाडाँै जाने रहर त थिएन । २०७३ साल वैशाख १३ गते खीर पसलमा आगलागी भयो । आगलागीका कारण होटेल पूर्ण रूपमा जलेर नष्ट भयो । केही नगद र सामान पनि जल्यो । जिल्ला प्रशासन कार्यालय र अन्य विभिन्न निकायलाई सहयोगका लागि गुहार माग्नुभयो । यही गुहार माग्नेक्रममा उहाँ काठमाडौँसम्म पुग्नुभएको थियो । त्यतिबेला जिल्ला प्रशासन कार्यालय डडेल्धुराले केही राहत दिएको थियो,’ खीरबाजेले निन्याउरो अनुहार लगाउँदै भन्नुभयो, ‘जसको ठूलो आस गरेर काठमाडौँ गएको थिएँ, त्यसबाट भने सहयोग पाइनँ । राजधानीको यात्रा भने फलदायी बनेन ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?