logo
२०८१ बैशाख १२ बुधवार



उच्चकोटिका लघुकथा

शनिवार |


उच्चकोटिका लघुकथा


लघुकथाकार रवीन्द्र तिमसेनाको नयाँ लघुकथासङ्ग्रह ‘आवरण’ बजारमा आएको छ । यस सङ्ग्रहमा पचासवटा लघुकथा छन् । लघुकथाका परिधिभित्र रहेर लेखिएका उच्चकोटिका सिर्जना पनि हुन् यी । उहाँका लघुकथाले सुरुदेखि अन्तिमसम्म पाठकको कौतूहललाई कायम गरेर चोटिलो प्रहार गर्न सक्ने क्षमता राख्छ । उहाँको यो पहिलो कृति हो ।
सङ्ग्रहभित्रका पात्र, परिवेश, घटना हाम्रै समाजमा देखिएका, सुनिएका र भोगिएका छन् । मान्छेका प्रवृत्ति र उसले बिर्संदै गएको आफ्नो धरातल तथा हराइरहेको मानवीय संवेदनालाई पनि यस सङ्ग्रहले आफ्नो विषय बनाएको छ । त्यसैले मानिसका बानीव्यहोरा र चरित्र बुझ्न आवरणका लघुकथा उत्कृष्ट छन् भन्नु कुनै अतिशयोक्ति नहोला । परम्परालाई निरन्तरता दिनुभन्दा पनि देखावटीका लागि मानिस क्रियाशील भइरहेको यथार्थ यहाँ प्रस्तुत लघुकथाले उजागर गरेको छ । जस्तो कि जिन्दगीभर टोपी नलगाउने मान्छे टोपी दिवसको दिनमा टोपी लगाएर सेल्फी खिचेर फेसबुकमा पोस्ट गरेर लाइक र कमेन्टको लोभ राख्छ । यो वास्तवमा देखावटी नै हो र सामाजिक सञ्जालको दुरुपयोग पनि । यस्ता कुराले हामीलाई लोभ्याइरहेको हुन्छ । देख्नलाई यस्ता कुरा सानो लागे पनि यसले समाजमा नराम्रो प्रभाव पारिरहेको हुन्छ । सानोतिनो लाग्ने तर समाजमा गहिरोसँग प्रभाव पारेका यस्ता विषयलाई तिमसेनाले लघुकथामार्फत चोटिलो प्रहार गर्नुभएको छ ।
आमाबाको सम्पत्ति पाएपछि सन्तान हराउने, मायाप्रेम सबै पैसामा बिक्ने, वर्तमान नेपाली राजनीतिक परिवेशले निम्त्याएको विकृति, क्रान्तिकारी भएकाहरूको क्रान्तिकारिता, गरिबीले निन्त्याएको दुःख, बेरोजगारीको पीडाले भोग्नुपरेको विछोड र त्यसको परिणाम, नेपाली साहित्यमा देखापरेको विकृति, हतारमा गरेका कार्यले पछुताउनुपर्ने बाध्यता, नेपालीको हराउँदै गएको मौलिकता र सहरिया भइटोपलेका नवधनाढ्यको फुर्तीलगायत थुप्रै विकृति र विसङ्गति लघुकथाका विषय बनेका छन् ।
तिमसेनाकोे पहिलो कृति भए पनि यहाँ समावेश लघुकथा खारिएका, माझिएका र टलक्क टल्किएका छन् । थोरै लेखेर पनि गुणस्तरमा ध्यान दिन सकिए कृतिको महŒव बढ्छ । यस तथ्यलाई लघुकथाकारले मनन गर्नुभएको देखिन्छ । हुन त तिमसेनाकोे मौलिक कृतिका रूपमा यो पहिलो भए पनि अनुवाद र सम्पादन कर्ममा उहाँ निरन्तर लागिरहनुभएको छ । अक्षरकर्मको बगैँचामा रमाउँदै गर्दा तिमसेनाका आँखाले देखेको, भोगेको आजको परिवेश, आजका मानिसको प्रवृत्ति र भोगाइको मुहारचित्रको स्वरूप हो– आवरण लघुकथासङ्ग्रह । वर्तमान राजनीतिप्रति असन्तोष, मानिसको मानिसप्रति हराउँदै गएको विश्वास, बढ्दै गएको विलासी जीवनले मान्छेको अस्तित्वमाथि सङ्कट थपिएको भन्दै उहाँले विभिन्न लघुकथामार्पmत चिन्ता पनि व्यक्त गर्नुभएको छ । विदेशी संस्कतिको नक्कलले आफ्नो संस्कृति जोगाउन हम्मे पर्दै गएको यथार्थ पनि कतिपय लघुकथाले प्रस्ट पारेको छ । जीवन र जगतमा अन्तर्निहित विकृति, विसङ्गति, द्वैध चरित्र, मानवीय मूल्य–मान्यतामा देखिएका अपचलन राजनीतिक र सामाजिक विडम्बनालाई पनि आवरणले समेटेको छ ।
आशावादी भएर समाजका विकृतिलाई निर्मूल पारेर एउटा सुन्दर समाज निर्माण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि यी कथा सक्षम छन् । स्रष्टा एउटा समाजको द्रष्टा पनि भएकाले ऊ यो समाजबाट अलग हुन सक्दैन । यही समाजमा रहेका सङ्गत विसङ्गत सबै कुरासँग पाँैठाजोरी खेल्नु नै पर्छ । कोही यसलाई बुझेर पनि बुझपचाउँछन् । तर, एउटा सर्जकले यी सबै कुरालाई लेखाजोखा गरिरहेको हुन्छ । समाजका नराम्रा कुरालाई निर्मूल पार्ने प्रयत्न गरिरहेको हुन्छ, साहित्यका विविध विधामार्फत । यसले गर्दा एउटा लेखकको दृष्टि आममानिसको भन्दा पृथक हुन्छ । यो तथ्यलाई लघुकथाकार तिमसेनाले आवरण लघुकथासङ्ग्रहमार्पmत पुष्टि गर्नुभएको छ ।
छविरमण सिलवाल  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?