logo
२०८१ मंसिर ९ आईतवार



बालुवाका घाँसे बुच्का

शनिवार |


बालुवाका घाँसे बुच्का


दामोदर पुडासैनी ‘किशोर’

विश्वको ठूलो आश्चर्य र चमत्कारपूर्ण कार्यको उपज स्वेज नहर । लालसागर र भूमध्यसागरबीचको १६३ किलोमिटर भू–भाग काटेर युरोप र अफ्रिकाको ढोकाका रूपमा जीवन्त दुई महादेशबीचमा बडेमाको यो नहर बनाउनु कम चुनौतीपूर्ण काम होइन । एसिया, अफ्रिका र युरोपको वाणिज्य व्यापार र संस्कृति आदान–प्रदान गर्न अभूतपूर्व सहयोग मिलेकोमात्र होइन, स्वेजले संसारलाई नै सिर्जनाको नवीनतामा डो¥यायो । हुत्तिँदै दूतावास छिरेका हाइतमले भर्खर जन्मिएका बच्चालाई बिरालोले एकठाउँमा कोचेझैँ कारभित्र हुले हामीलाई ।
कार १२० किलोमिटर प्रतिघण्टाको गतिमा हुइँकियो । कायरो सहर सकिएपछि फुस्रो सिन्दुर फिँजाएझैँ मरुभूमि भेटियो । मरुभूमिमा पनि कुनै न कुनै सिर्जनशील काम कोरिरहेका छन् इजिप्टेलीहरू । कतै बस्ती छन् त कतै कृषि फार्म । जहाँ गए पनि साह्रै फराकिला सडकहरू । दुईतिर दुई पङ्तिबीचमा त्यति नै बराबरको रूखबिरुवा र बगैँचायुक्त खाली जग्गा । सडकबाट जहाँ पुगे पनि हरियाली क्षेत्रमै हिँडेको भान पर्ने । सडकका किनार र बस्ती–बस्तीमा राताम्मे छोडा पाकिरहेका, मरुभूमिको बीचमा प्रकृतिले जन्माएको मीठो अमृत ।
मरुभूमिवरिपरिको सौन्दर्यपान गर्दै दिनको ११ः४५ बजे इस्मालिया सहरमा पुग्यौँ । लालसागरको छेउमा स्वेज नहरसँगै टाँसिएको इस्मालिया सहरको सौन्दर्य बयान गरिसाध्य छैन । पर्याप्त पानीको उपलब्धताले जताततै हरियाली । आँप, लिची र केराका विशाल फार्महरू । ‘इजिप्टको सबैभन्दा ठूलो आँपको फार्म यहीँ पर्छ,’ हाइतमले इस्मालियाको महŒवको घुम्टो खोल्नुभयो । फल फलिरहेका जैतुन वृक्षको लहरले हरियाली र फल एकैपटक बाँडेको भेटियो । ‘इजिप्टेलीहरू पनि जैतुन नै भन्छौँ,’ हाइतमले भन्नुभयो । उखरमाउलो गर्मीमा गुलमोहर फुलिरहेका सडकका किनार हिँड्दा मलाई चितवनको भरतपुर वा मकवानपुरको हेटौँडा बजार वा नेपालगन्जको फुलटेक्रा बजार घुमिरहेको भान परिरह्योे ।
स्वेज नहरमा प्रवेश गर्न हाइतमले टिकट किन्नुभयो । नहरको किनारमा सिरसिर हावा चलिरहेको थियो । हावामा छिल्लिँदै छालले किनारहरूलाई म्वाई खाँदै थियो । जहाजहरू लालसागरबाट भूमध्यसागरतर्फ जाँदै थिए । पहाड आकारका जहाजहरू क्षितिजबाट बिस्तारै हामी नजिक आउँथे र क्रमशः नदेखिनेगरी अर्को दिशामा बिलाउँथे । जहाजलाई पृष्ठभूमिमा पारेर जति तस्बिरहरू खिचे पनि मन सन्तृष्ट नहुने ।
स्वेज नहरको किनारमा बेगमबेली, खजुर र गाढा हरियालीयुक्त फल र फूलहरूको बगैँचा छ । बीचबीचमा बस्ने आरामदायी कुर्सीहरू छन् । ‘म त स्वेज नहरमा पौडन्छु केहीबेर,’ मैले समुद्रसामु मन थाम्न सकिनँ । ‘तपार्इं पौडने भए म पनि यो मौका चुकाउँदिनँ,’ उद्धवजी पनि कस्सिनुभयो । दुवैजना स्वेज किनारमा डुबुल्किन थाल्यौँ । अरू धेरै पौडीबाज पनि त्यसको मज्जा लिइरहेका थिए । समुद्रमा पौडँदा म आफैँ समुद्र बनेजस्तो ठान्छु । छालहरूले पटक–पटक किनारतिर हुत्याइदिँदा शरीरमा उमङ्गको विद्युत् फैलिने । ‘सायद धेरै गहिरोतिर नआऊ भन्ने चेतावनी थियो, त्यो समुद्रको । डुब्दा पानी निलिने । साह्रै नुनिलो पानी, मानौँ नुनको ढिक्का चपाएजस्तो । हामीहरू पौडीको मज्जा लिइरहेथ्यौँँ । जहाजहरूको एक क्षितिजबाट उदाउने र अर्को क्षितिजबाट अस्ताउनेक्रम जारी थियो । ‘ढिला भयो, तपार्इंहरूलाई बिथोल्न परेकोमा मलाई माफ गर्नुहोस्,’ किनारबाट नहर नियाल्दै गर्नुभएका हाइतमको आवाज थियो । हामी किनारस्थित रेस्टुरेन्टको स्नानगृहमा पस्यौँ र समुद्री नुन पखाल्यौँ । दिउँसो २ बजे इस्मालियाबाट साइनाइतर्फ अघि बढ्यौँ । साइनाइ र इस्मालियाबीचको भूमिलाई काटेर स्वेज नहर बनाइएको छ । एकैपटक धेरै ट्रक र सवारीसाधन बोक्ने फेरीमा हाम्रो कार पनि कोचियो । फेरीले कारसहित हामीलाई इस्मालियाबाट साइनाइकिनारमा पु¥याइदियो ।
साइनाइ पूरै मरुभूमि थियो । बीचबीचमा केही घर र स–साना फलफूल फार्म थिए । करिब छब्बीस मिनेट साइनाइ घुमेपछि हाम्रो कार पूर्वतिरको बाटोबाट स्वेज नहरतिरै मोडियो । इस्मालिया र साइनाइलाई मुवारक शान्ति पुलले एकै अँगालोमा आबद्ध गरिरहेको भेटियो । सन् १९९८ मा सुरु गरी २००१ मा जापान सरकारको सहयोगमा निर्माण सम्पन्न भएको यो पुलले जापान–इजिप्ट मित्रता पुलको पहिचान पनि बोकेको छ । पुलबाट हेर्दा स्वेज नहर र त्यसमा चलिरहेका जहाजको लहर एक्वारियमको माथितिर एकैलहरमा पौडिरहेका माछाझैँ लाग्थ्यो । पुलमा तस्बिर खिच्न तयार भएका थियौँ हामी । टुप्लुक्क एउटा सुरक्षाकर्मी आइपुगे । ‘तस्बिर खिच्न मनाही छ,’ उनले अरबी भाषामा बोल्दै हामीलाई सङ्केत गरे । मैले उनलाई अँगालो मारेँ । उनी दङ्ग परे । यही मौकामा हामीहरूले तस्बिर लियौँ । तपार्इं पनि हामीसँगै तस्बिर खिच्ने,’ मैले सोधेँ । उनले तस्बिर लिन मानेनन् तर हाँसिरहे । तस्बिर खिच्न रोकेनन् पनि । ‘सुक्रान (धन्यवाद),’ मैले बोलेँ । उनले हाँसेर बिदाइ गरे । हामी पुल पार गर्दै पुनः इस्लामिया क्षेत्रमा प्रवेश ग¥यौँ ।
इस्मालिया विश्वविद्यालय क्षेत्र हुँदै कायरोतर्फ हुँइकिँदै थियौँ । ‘खाना खाने होइन, भोक लाग्यो बेस्सरी,’ प्रस्ताव राखेँ । तीन मित्रहरूबाट करतल ध्वनिका साथ सहमति । हाइतमले इजिप्टेली खाना खाने रेस्टुरेन्टमा लैजानुभयो । खाना खाइयो । यहाँको साउजी साँच्चै गधा हो,’ हाइतमले भन्नुभयो । ‘साँच्चै गधा,’ मैले आश्चर्य मान्दै सोधेँ । ‘कसरी ?’ मैले थपेँ । ‘होइन साह्रै राम्रो मान्छेलाई इजिप्टेली भाषामा गधा भनिन्छ,’ अजुजले प्रस्ट पार्नुभयो । ‘तर, हाम्रो देशमा त बुद्धि नभएको र मूर्खलाई गधा भनेर गाली गरिन्छ ।’ मैले आफ्नो भाषाको अर्थ प्रस्ट्याएँ । ‘साँच्चै हो र ?’ अजुज हाँस्नुभयो । हामी सबै मरीमरी हाँस्यौँ । एउटै शब्दले पनि कस्तो विपरीत असर पार्छ, फरक–फरक समाजमा । म मुस्कुराएँ ।
साँझ कायरो सहर नजिक पुग्दा बालुवाबीचका घाँसे बुच्काहरू धूलोसँगै मुस्कुराइरहेका थिए । भेडा र उँटका खुरहरूले उडाएको धूलोले मरुभूमिभर घुर्मैलो रङ्ग फैलिरहेथ्यो । त्यो रङ्गमा सूर्यले आफ्ना किरणहरू घुसाउँथ्यो र धूलीरङ्गको मादकतामा लोलाउँथ्यो । घाँसे बुच्का, भेडा र उँटहरूले मान्छेलाई जिन्दगीमा निर्भीक भएर बाँच्न सिकाइरहेथे । शुष्कता, खस्रोपन र खाली पनि जिन्दगीको मज्जा हुनसक्छ, कहिलेकाहीँ । रित्तो हुँदाहुँदै पनि मरुभूभि कसैका लागि आश्रय बनिरहेछ । नाङ्गो मरुभूमि नाङ्गै ओढ्छ आकाश, घामले सेकिए अझ तातो बनिदिन्छ मरुभूमि, रातमा अरू शीतल र शालीन बनेर उभिन्छ मरुभूमि । जाँगरिला मान्छेका लागि मरुभूमि पनि फलफूल र अन्नका मणि बन्छ । जाँगर नहुनेका अगाडि मरुभूमि आगो बनेर अरिङ्गाल ओकल्छ । त्यसैले इलमीका लागि सहस्र घाम, बेइलमीका लागि परमधाम हो– मरुभूमि ।
मरुभूमिमा मन नचाउँदानचाउँदै हाम्रो कार कायरोको कोष्ठभित्र कोचियो । इजिप्टको इज्जत झल्कने चीजबिज किनेर उपहारको हार सजाउने मन उठ्यो एकाएक । साथीहरूसँग पनि मतो मिल्यो । हाइतमले हाम्रो हितका लागि गाडी हुँइक्याए कायरोको प्रसिद्ध बजार खानखलीतिर । खिच्रीमिच्रीदेखि खासी सामानहरू पाइने पसलहरूको खाँबोझैँ उभिएको छ– खानखली बजार । कुनाकुना चाहर्दा खासै नौला सामानहरू भेटिएन । नेपालमै पाइने सामानहरू खानखलीदेखि सोहोर्नुलाई राम्रो शुद्धि मान्ने कुरा पनि भएन । बरु पुराना पसलनै बेस हाइतमले हाम्रो हितका कुरा कोरल्नुभयो । वायुवेगमा बाहिरिनेबित्तिकै खितिति हाँसेर स्वागत गरे बूढा पुराना पसलहरूले । साँघुरो गल्ली झिलिमिली बनेर झकिझकाउ थियो खानखली पुरानो बजार । हामी चारजनाले चियाउन नपाउँदै खानखलीका चौबीसजत्तिका पसलेहरूको मुखमा पानी पलायो । ‘पिरामिड...’ एउटा फेटाधारी अधबैँसे पसलबाट बाहिरिरँदै कुर्लियो । उसका पसलभरि फरक आकार र रङ्गका पिरामिड ग्राहकको खोजीमा ध्यानमग्न थिए । ‘क्यामेल (उँट)’ पारिपट्टिबाट अर्को पिलन्धरे चिच्यायो । इन्द्रचोकको चुरा पसलजस्तो साना–साना कवलका असङ्ख्य पसलहरू सल्बलाए । बल्ल एकैठाउँमा धेरै कुराको ठम्याई हुने भो मनमा आशाको फूल मग्मगायो ।
पिरामिड पुनर्जन्मको पालुवामात्र होइन, घाम, हुरी र हन्डर थेगेर आफ्नोपनमा सधैँ अडिग रहन सक्ने प्रतीक पनि हो । मेरो दर्शन जनार्दनजीलाई ठिकै लागेछ क्यारे । दुईवटा पिरामिड कोचिहाल्नुभयो झोलामा । मोल मिलाउन भने कम माथा पञ्चिसी परेन । धेरैबेर चारजनाले पापड पेलेपछि पन्ध्र इजिप्टेली पाउन्डको पिरामिड पल्टियो । खानखलीलाई खासा माने पनि त्यही बसिरहन समयले के मान्थ्यो । घचेट्यो नाइलको घाटतिर ।
‘रातको नाइल त सुहागरातकी दुलही नै हुन् नि,’ दिउँसो हाइतमले मेरो कवि हृदयलाई उक्साएका थिए । साथीहरूलाई मैले मनाएँ नाइलको नम्रतामा मितेरी लगाउन । गिजा र कायरो सहर छ्याङ्ग व्युँझिए बिजुलीबत्तीको सहारामा । रात १०ः३० बजे नाइल नदीको किनारमाथिको जहाजलाई हाम्रा पाइलाले स्पर्श गरे । एउटा टिकटले जहाजभित्र बेली नृत्य हेर्न र खाना मन माफिकले पक्याउन पाइने । नाइल क्रुज नाम दिइएको नाइल सयरले शिरदेखि पाइलासम्म सौन्दर्यापानुभूति गराउने ।
नाइल नदी उमङ्गले मातिँदा जहाज नाइल नदीसँग जिस्किन थाल्यो । एकातिरबाट गिजा र अर्कोतिरबाट कायरो सहरका गगनचुम्वी महलहरू धपक्क बलेका बत्तीका गहना पहिरेर नाइल नदीमा नुहाउन प्रवेश गरिसकेका थिए । क्षण–क्षणमा मसिना छालहरू देखापर्थे र तिनमा वरिपरिका बत्तीका प्रतिविम्ब चलमलाउँथे । इजिप्टेली शैलीको पोसाक पहिरेका सङ्गीतकारहरू सङ्गीतका सुरहरू तरङ्गित गराइरहेका थिए । प्रहृष्ट मुद्राकी एउटा चाँदनी पारदर्शी गुलावी पल्लाहरू हल्लाउँदै मञ्चमा मर्किन थालिन् । यौवनको रङ्गले तिनका अङ्ग–अङ्गबाट निस्केको आगोले सम्पूर्ण दर्शकलाई शीतल बनायो, सञ्चो बनायो । उनका बहुनग्न शरीरका प्रत्येक कोष फिरफिरेझैँ चलिरहेथे । उनको नृत्यमा गीत, सङ्गीत र कविता उर्लिरहेथे । ‘यो त नाइलकी अप्सरा रै’छ,’ एक मित्रले मुख मिठ्याउनुभयो । अप्सराका ओठ र नितम्ब त अरू नर्तकीसरह नै चल्थे तर नाइटो प्रदेश भने बेग्लै र बिछट्टै छरितो ढङ्गले बत्तिए । तिनको शरीरभरको छाल नाइटो प्रदेशमा केन्द्रित हुन्थ्यो र विचित्रको लहर फैलिन्थ्यो । जहाज बाहिर नाइल नदी र चन्द्रमा चीँ मुसी चीँ खेलिरहेथे, भित्र नाइटो नचाउने बेली नृत्यले हरेक मान्छेमा सुख र शान्तिको हरक फैलिरहेथ्यो । नीलो नाइलले नग्न मुहार बोकेर शालीन नृत्य छ¥यो । जूनेली रातसँग मिसिएर नाइलका भुल्काभुल्कामा लहरिँदा नर्तकी अर्की नाइल बनिन् । नाइल र नर्तकी दुवै अनन्त भोका र अलौकिक तृप्त बनेर बहिरहे ।
रूपसी अध्याय नसकिँदै अर्को धम्मरघुसले नाचमा आफ्नो चर्तिकला देखाउन थाल्यो । कालो, रातो, पहेँलो, नीलो रङ्गको तह–तह कपडा पहिरेर तह–तह घुमाउँदै नाच्न सक्ने रमाइलो नाच पनि परम्परागत इजिप्टेली शैलीको थियो । एउटी नृत्याङ्गना दर्शकलाई स्पर्श गर्लिन्झैँ नाच्दै छरिइन् । तर, जहाज नाइलको बीचमा सुस्त गतिमा चलिरहेको थियो । जहाजको माथिल्लो भागको संसार अझ बेग्लै थियो । सहर अग्लिँदै ज्योतिको जङ्गल फैलाउँदै थियो, नद फैलिँदै ज्योति र लहरको सङ्गम बनिरहेथ्यो । म पुलकित थिएँ, नाइलको निर्वस्त्रतामा कायरो र गिजाका चम्किला अवयवहरू डुबुल्की मारिरहेको देखेर । नाच हेर्दाहेर्दै मन नदीजस्तै फैलन खोज्यो र सिर्जनाको खम्बा बन्न खोज्यो । साथमा कागज थिएन । रेष्टुरेन्टकै नेप्किनमा एउटा कविता लेखेँ । रातको १२ः३५ बजे नाइल । चन्द्रमा शीतल बनेर सग्बगाइरहेथे । मैले नाइललाई केही अञ्जुलीमा उचालेंँ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?