logo
२०८१ मंसिर ९ आईतवार



साहसिक खेल

शनिवार |


साहसिक खेल



गोविन्द मरासिनी

आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो । यस्ता साहसिक खेलले पर्यटकलाई लोभ्याइरहेका छन् । तर विश्वव्यापी बनेको कोरोना भाइरसका कारण नेपालमा सञ्चालित यस्ता खेल सञ्चालन गर्ने व्यवसायी पनि समस्यामा छन् । पर्यटकको चहलपहल नहुँदा यी खेल यतिखेर ओइलाएर बसेका छन् । कोरोना नियन्त्रणमा आउनासाथ यसले पनि आफ्नो गति निश्चय नै समात्नेछ । नेपालमा यस्ता साहसिक खेल कुन कुन र कहाँ कहाँ खेलाइन्छ त ?

बन्जी जम्प
सिन्धुपाल्चोकको भोटेकोशी र पोखरामा बन्जी जम्प सञ्चालित छ । भोटेकोशीमा सञ्चालित बन्जीको उचाइ १६५ मिटर र पोखराको ६५ मिटर अग्लो छ । भोटेकोशीमा रहेको ‘द लास्ट रिसोर्ट’ ले बन्जीसँगै स्वीङ पनि सञ्चालन गर्दै आएको छ । भोटेकोशीमा बन्जी र स्वीङ खेल्नका लागि विदेशीका लागि ९२ डलर र नेपालीका लागि ६ हजार ३ सय रुपियाँ तिर्नुपर्ने हुन्छ । त्यसमा फोटो भिडियो लिनका लागि भने विदेशीले २५ सय र नेपालीले १८ सय रुपियाँ अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै पोखरामा हाइग्राउण्ड एडभेन्चर प्रालिले सञ्चालन गरेको बन्जी जम्पका लागि नेपालीका लागि ४ हजार र विदेशीका लागि ७ हजार ५ सय रुपियाँ शुल्क तोकिएको छ । पोखरा र भोटेकोशीबाहेक गण्डकी प्रदेशको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परीक्षण भइसकेको छ । यो बन्जीको उचाइ २२५ मिटर अग्लो छ । मकाउमा रहेको विश्वकै सबैभन्दा अग्लो बञ्जीको उचाइ २३५ मिटर छ ।

क्यानोनिङ
नेपालमा हाल व्यावसायिक रूपमा विकसित हुँदै गएको अर्को साहसिक खेल क्यानोनिङ हो । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भएको छ । यो खेल युरोप र अमेरिकामा निकै लोकप्रिय छ । पहाडी र हिमाली भेगमा प्रशस्त मात्रामा रहेका झरना र खोलाको छाँगाका कारण नेपालमा पनि यो खेल खेल्न सकिन्छ । चिप्लिने, हाम्फाल्ने, पौडिने र झर्ने यस खेलका मुख्य विशेषता हुन् । ज्यानको बाजी लगाएर गरिने यो कठिन र जोखिमपूर्ण खेल हो । भोटेकोशी नदी, सुनकोशी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यानोनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारिको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५ हजार २१५ मिटर उचाइको लुगा खोलाको छाँगो क्यान्योनिङका लागि विश्वकै सबैभन्दा उचाइको मानिन्छ । लमजुङमा पर्ने मस्र्याङ्दी उपत्यका छेउछाउका खोला र झरनामा क्यानोनिङप्रेमी पर्यटक हुरुक्कै हुन्छन् । लमजुङको सदरमुकाम बेँसीसहरबाट छोटो सडक र पदयात्रापछि पुगिने भुलभुले, कविन्द्र, चिप्ला, तातोपानी, रेन्दु, स्याँगे, जगत, च्याम्चे ताल र साचुप झरना साहसिक एवं व्यावसायिक खेलाडीले बढी रुचाउँछन् । क्यानोनिङ गर्नका लागि फरक स्थानमा फरक दर कायम गरिएको छ । जसमा विदेशी पर्यटकका लागि करिब ८÷९ हजार देखि १२÷१४ हजारसम्म र नेपालीका लागि ७ हजारदेखि १० हजार रुपियाँ सम्म पर्छ । स्याङ्जाको एलादी सुन्तलाबारी घरबास नजिकै र तनहुँको छाब्दीवराह नजिकैको क्यानोनिङ पनि पर्यटकको रोजाइमा परेको छ ।

प्याराग्लाइडिङ
नेपालमा पर्यटक आकर्षण हुने अर्को प्रमुख साहसिक खेल प्याराग्लाइडिङ हो । गण्डकी प्रदेशको राजधानी पोखरामा हाल व्यावसायिक रूपले प्याराग्लाइडिङ सञ्चालनमा छ । पोखराको सराङकोटको डाँडाबाट उडान शुरु भएर फेवाताल नजिकै यसको अवतरण हुन्छ । हाल पोखराबाहेक स्याङ्जा, पाल्पा, ललितपुरको गोदावरी, काठमाडौँको शङ्खरापुर, धरान, इलाम, सङ्खुवासभा, सुर्खेत, तनहुँको बन्दिपुरलगायत स्थानमा पाराग्लाइडिङ सञ्चालनमा छ । स्याङ्जाको भीरकोट स्वरेक मैदानमा सन् २०१८ मा सञ्चालित अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिताले नेपालको नाम विश्वमै उँचो भएको थियो । प्रतियोगितामा २० देशका प्याराग्लाइडिङ पाइलट सहभागी थिए । अन्य स्थानमा प्याराग्लाइडिङ सञ्चालनमा रहे पनि पर्यटकका लागि प्रमुख गन्तव्य भने पोखरा नै छ । पोखरामा प्याराग्लाइडिङ गर्न नेपालीका लागि २५ मिनेटको ८ हजार, ५० मिनेटको ११ हजार र विदेशीका लागि क्रम ः २५ मिनेटको १० हजार र ५० मिनेटको १५ हजार रुपियाँ तोकिएको छ ।

जीप फ्लाइङ
जीप फ्लाइङका लागि पनि महìवपूर्ण स्थान पोखरा नै हो तर हालसालै काठमाडौँबाट नजिकै धुलिखेलमा सञ्चालित नयाँ जीप फ्लाइङले पनि धेरैको ध्यान त्यसतर्फ तानेको छ । पोखराको सराङकोट डाँडाबाट सेतो हिमाल र हरियाली जङ्गलको अवलोकन गर्दै हेम्जासम्म १५ सय मिटरको उचाइबाट १ दशमलव ८ किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ । ९० सेकेण्डमा दूरी पूरा हुने यस खेलका लागि नेपालीले ४ हजार ५ सय र विदेशीले ८ हजार ५ सय रुपियाँ तिर्नुपर्छ ।
यस्तै, धुलिखेलमा सञ्चालित ११ सय मिटर लामो जिप फ्लाइङ समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट सुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । धुलिखेलमा नेपालीका लागि २ हजार ५ सय रुपियाँ तोकिएको छ । सुपर म्यानको ३५ सय रुपियाँ र टेन्डमको ४५ सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । यस्तै सार्क देशका नागरिकका लागि क्रमशः ३० डलर, ४० डलर र ५० डलर र अन्य देशका नागरिकका लागि क्रमशः ३५ डलर, ४५ डलर र ६० डलर तोकिएको छ ।


रक क्लाइम्बिङ
यो खेल खेल्दा अग्लो पहरामा डोरीको सहायताले उक्लने र झर्ने गरिन्छ । यसो गर्दा हात र खुट्टाले बल लगाउनुपर्छ । वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ र आइस क्लाइम्बिङ गरी ३ प्रकारका क्लाइम्बिङ हुन्छ । सहर केन्द्रित गरिनेलाई वाल क्लाइम्बिङ, नेपालका प्रायः सबैजसो ठाउँमा गरिनेलाई रक क्लाइम्बिङ र ठूला–ठूला हिमालमा गरिनेलाई आइस क्लाइम्बिङ भनिन्छ । सिन्धुपाल्चोकको भोटेकोशी, लमजुङको पर्यटकीय गाउँ पुरानकोट, भक्तपुरको नगरकोट, ललितपुरको हात्तीवन, काठमाडौँको नागार्जुन, तनहुँको विमलनगर, पोखरामा हलनचोक नजिकै, सगरमाथा जाने बाटो खुम्बु, सोलुखुम्बुको थामे, इलामलगायत स्थानमा यो खेल सञ्चालित छ । खेलका लागि आवश्यक सामग्रीसहित एकजनाको करिब १० देखि १५ हजारसम्म खर्च लाग्छ ।
स्कि
प्रायः युरोप मुलुकतिर हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल हो स्कि । हिउँले ढाकिएको डाँडा अथवा अग्लो भागबाट खुट्टामा लगाइएको सुरक्षित बुटमा अड्काइएका पातामा चढेर ओरालोतर्फ झरेर रमाइलो गरी यो खेल खेल्न सकिन्छ । अब यो खेल उकालोमा समेत खेल्न मिल्ने गरी नेपाली युवाले देशमै पहिलोपटक ‘स्कि लिफ्ट’ सुरु गरिसकेका छन् । लाङटाङ क्षेत्रको क्यानजिङ गुम्बा आसपास, याला पिक, गोसाइँकुण्ड, कालिञ्चोक, अन्नपूर्ण बेस क्याम्प, थोरङ्ला पास मिरा पिक, एभरेस्ट कालापत्थर, मनास्लु बेस क्याम्प, धवलागिरि बेस क्याम्प यस खेलका लागि उपयुक्त स्थान मानिन्छ । नेपालमा स्कि गाइड नेपाल नामक एजेन्सीले विशेषतः डोल्पा पुथा हिउँचुली, मेरापिक, मुस्ताङ, भृकुटी पिक र दामोदर पिण्ड नजिक स्कि सञ्चालित छन् । यो खेलका लागि फरक–फरक स्थानमा फरक दर कायम छ । जसमा डोल्पा पुथा हिउँचुली ३० दिनको प्याकेजको ७ हजार ५ सय डलर, मेरापिकमा २१ दिनको ४ हजार ५ सय डलर र आइसल्याण्ड पिक क्लाइम्बिङमा १७ दिनको ३ हजार ५ सय डलर तोकिएको छ । यस खेलका लागि नेपालीले शुल्क तिर्नुपर्दैन । नेपालीलाई तालिम दिने उद्देश्यले यसरी निःशुल्क गरिएको र हालसम्म ५० जनाले तालिम लिइसकेको सरोकारवालाले जनाएका छन् । स्कि तीन किसिमका हुन्छन् । हिउँमा खेलिनेलाई आइस स्कि, घाँसे मैदानमा खेलिनेलाई ग्रास स्कि र पानीमा खेलिनेलाई वाटर स्कि भनिन्छ ।

हट एअर बेलुन
पर्यटकीय नगरी पोखरामा एक वर्षअगाडि सुरु गरिएको ‘हट एअर बेलुन’ प्रति पर्यटक आकर्षित छन् । पाइलटसहित ९ सिट भएको ठूलो बेलुनमा हावा भरेर ग्यासबाट तातो हावा भरेर उडाउने गरिन्छ । मौसम अनुसार २ देखि ३ हजार फिटसम्म उचाइमा यसको उडान हुने गर्दछ । नेपालमै पहिलोपटक सञ्चालनमा ल्याइएको यस खेलका लागि २ प्रकारको प्याकेजको व्यवथा छ । जसमा एक घण्टाका लागि नेपालीलाई ११ हजार, विदेशीलाई १५० डलर र आधा घण्टाका लागि नेपालीका लागि ९ हजार र विदेशीका लागि १२० डलर तिर्नुपर्छ ।

¥याफ्टिङ वा कायाकिङ
साहसिक खेलमा रमाउनेहरूका लागि ¥याफ्टिङ वा कायाकिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । ¥याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुङ्गा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । ¥याफ्टिङका लागि अहिलेसम्म नेपालका १६ वटा नदी खुला गरिएका छन् । सुनकोशी, मस्र्याङ्दी, भोटेकोशी, त्रिशूली, कर्णाली, सेती, भेरी, राप्ती, कालीगण्डकी, सेतीलगायत नदीमा ¥याफ्टिङको मजा लिन सकिन्छ । पर्यटकको रोजाइ अनुसार फरक फरक प्याकेजमा फरक फरक दर यो खेलमा कायम गरिएको हुन्छ ।

माउन्टेन बाइकिङ÷साइक्लिङ
हिमाल वा पहाडमा साइकल कुदाउने यो खेलप्रति विस्तारै पर्यटक आकर्षित हुँदैछन् । सबैले यो खेल खेल्न सक्छन् । अरू साहसिक खेल जस्तो यो खेल त्यति महँगो पनि छैन । रुचिअनुसार र स्थानअनुसार फरक फरक दर यो खेलमा कायम गरिएको छ । काठमाडौँ, पोखरा, चितवन, धरानलगायत क्षेत्रमा साइक्लिङको ‘क्रेज’ छ भने हिमाली भेगमा यो खेल खेल्दा उत्तिकै रमाइलो हुन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?