रमेश भट्टराई ‘सहृदयी’
‘बूढा के हो सुर्ती खाएजस्तो छ त, हात गन्हाउँछ त हँ ?’ अफिसबाट घर आइपुग्नासाथ श्रीमतीले शङ्काको झटारोले प्रहार गरिन् । म पनि के कम भनिदिएँ, ‘आजभोलिको जमानामा जाँड–रक्सी, चुरोट, यसो माछामासु नखाने साधुका कोही साथीभाइ हुन्छन् त ? यसो ठूलाबडाका छेउमा बस्दा यसो एक खिली खैनी बाँडिखायो भने जागिरसागिरका बारेमा कुरा गर्न पाइन्छ । गफ गर्ने, मनका कुरा खोल्ने ठाउँ पाइन्छ ! सम्बन्ध गहिरो हुन्छ क्या !’
‘नचाहिने कुरा गर्नुहुन्छ, जागिरका लागि भनेर कोही कुलतमा फस्छ र ! बरु जागिरै किन चाहियो ?,’ श्रीमतीको आवाजमा आक्रोशको आभा देखिन्थ्यो । वास्तवमा यो मेरो मजाकमात्र थियो । हाँसोमजाकमात्र ।
भोलिपल्ट अफिस जान बाटामा जाँदै गर्दा एकजना परिचित भेटिए । बिहानै नुहाइ–धुवाइ, कपालमा चट्ट तेल लगाइएको, कोरिएको, दाह्री काटिइएको, सुन्दर व्यक्तित्वको झलक स्पष्टै देखिन्छ । ‘ओहो ! सर गुडमर्निङ !’ तर, जम्लाहात थियो । हात जोडेपछि त ‘नमस्कार’ भन्नुपर्ने होइन ? म सोचमा परेँ अनि मैले भनेँ, ‘नमस्कार !’
हँसिलो मान्छे । छोटो भेटको गफैगफमा उनले गोजीबाट सुर्तीको प्याकेट निकाले । जसको खोलमा अङ्कित चित्र अनि सुर्ती निर्माण व्यवसायमा गज्जबको विरोधाभास झल्किन्छ । म अर्को सोचमा थिएँ । उनले आफ्नो दायाँ हातको बूढीऔँला र चोरी औँलाले अलिकति सुर्तीलाई च्यापेर बायाँ हातमा राखे । साथमा अलिकति चुना मिसाए । गफ र काम दुवै एकसाथ । एकछिन चोरी औँलाले मज्जाले माडेपछि मेरो अघि धूलो पर्ला कि भनेर अर्कापट्टि हात तन्काए । दायाँ हातको पन्जाले फ्याट–फ्याट धूलो उडाए । दुई औँलाले ओठमा खैनी च्याप्दै मात्र के थिए । अर्का एकजना मित्र टुप्लुक्क आइपुगे । उनले त्यही जुठो आफ्नो दायाँ हातलाई यसो टक्टक्याएर ती नव आगन्तुकतिर तेस्र्याए । त्यसपछि मैले पनि नवआगन्तुकतिर हात लम्काउनैप¥यो । थाहा भयो, अब मेरो हात पनि उत्तिकै सुर्तीको दुर्गन्धले दुर्गन्धित भएछ ।
अफिसतिर लम्कँदै गर्दाको अवस्थादेखिका विभिन्न घटनाले जिस्क्याउँदै गर्दा अर्का सहकर्मीका कोठा नजिकै पुगियो । मित्रले माथिल्लो तलाको बार्दलीबाट सँगै जान इसारा गरेपछि सहमति जनाउँदै उनकैतिर लुसुक्क पसेँ । उनी यसो मुढामा बसेर हतारहतार मोजा लाएर जुत्ता पोलिस गर्दै रहेछन् । म ठ्याक्क पुगेँ । उनले सप्रेम मोजा लगाएर जुत्ता पोलिस गर्दैगर्दाको आफ्नो हातलाई निहुरेरै मतिर तेस्र्याएपछि मैले ‘नाइँ फोहोर छ’ भन्न सक्ने अवस्था पनि भएन ।
अफिस परिसरका हावा, वातावरण सबैले हाई–हेलो गर्दै थिए । तिनलेचाहिँ हात पसारेनन् । तिनका हातमा सिँगानका पाप्रा थिएनन् । बाटामा जति साथी भेटिन्थे, हामी दुवैजना उत्तिकै खुसियालीमा हात मिलाउँदै अघि स¥यौँ । कोही गुट्खा, पान मुखमा राखेर बोल्दै गर्दा हात टक्टक्याएर त कोही यसो पाइन्टमा पुछेर हात मिलाउने गर्थे । बाटोको धूलोले पाइन्टलाई धुलाम्मे बनाएकाले हामीले धूलो टक्टक्याउँदैमात्र के थियौँ अर्का अनन्य मित्रले हातको इसारामा हात स्पर्शको अपेक्षा गरिसकेका रहेछन् । साथैमा अर्कामित्र आफू कानमा फोनतिर तल्लीन भई कुरामा मग्न भए पनि अलिकति हाँसेर उतैको कुरामा समर्थन थप्दै आफ्नो हातलाई चाहिँ मतिर नै लम्क्याइरहेका थिए । एकैछिनमा एउटा फोन नम्बर टिप्नुपर्ने भएछ । कान र कुममा मोबाइल च्यापेर बोल्दै गर्दा अर्का उनका मित्र आइपुगेछन् । नम्बर टिप्दै गर्दा हात खाली नभएर सायद– उनले कलम समातेका दुई औँला तिनीतिर सारे । उनले हात मिलाएको विधि पु¥याए । म निरुत्तरित । सोचमग्न थिएँ ।
बाटाभरिका मित्रसँग कतै हात उठाउने, मिलाउने त कतै हातका इसारामा मुखमा खिस्स हाँसेको देखेर नेपालमा जति मौलिक खुसी भएको देश अरू छैन झैँ लाग्यो । अचानक फलासे नामका मित्र बाटामा टुप्लुक्क भेट भए । एउटा हातमा केही सामानसहित झोला झुन्ड्याएका उनी अर्को हातमा मोबाइल च्याप्दै गर्दा चार औँलाको सहारामा मोबाइल थमाएर दुई औँलाले मलाई हातको स्पर्श गरिदिए । म सोचमा परेँ, अब दुई औँला दिऊँ कि पुरै पन्जाले हात मिलाऊँ ? यत्तिकैमा अर्का मित्र चर्पीबाट बाहिर निस्किए । हात चिसो रहेछ, यसो आफ्नो हातको नारी मतिर थमाउँदै भने, ‘मेरो हात चिसो छ ।’ त्यहाँ पनि विधि पुग्यो । कति कठोर नियम । हातचाहिँ मिलाउनै पर्ने रे !
पशुपतितिर जाने काम प¥यो । कोही प्रणाम, कोही शिव ! शिव !! कोही नमस्ते, राधे–राधे इत्यादि । कोही हात मिलाउँथे त कोही टाउका माथि राखेर हात जोड्थे भने कोही शिर नमाएर निहुरिन्थे । त्यो दृश्य पनि गज्जबकै भयो ।
मलाई चासो भयो । के हो नमस्ते कि नमस्कार ? अनि किन हाम्रा मान्छे नमस्कार गर्दारहेछन् ? सायद तिनलाई पहिल्यै थाहा थियो कि त ! सायद कोरोना भाइरसको जगजगीको नरसंहारको पूर्वानुमान हुँदो हो । रमाइलो होली पर्वमा भेला हुने भीडमा डराउनुपर्ने कत्रो भय ! आखिर ‘ह्यान्डसेक’, ‘हग’, ‘किस’भन्दा उत्तम रहेछ नमस्कार । आहा ! अलिकति शिर निहुराएर, प्रेम र सद्भावको मीठो अभिवादन । दुवै हात जोडिएको । शानदार । सायद विदेशतिर झुन्ड्याउने सामग्री धेरै बोक्नुपरेकाले एउटा हात खाली हुँदा हात मिलाउने शैली चम्क्यो होला अनि नेपालतिर लम्क्यो होला । हामी त अचानक नमस्कार शैलीको पारखी बनौँ–बनौँ लाग्यो ।
अचानक एक मित्र भेटिए । मैले भनेँ– नमस्कार । उनले भने– अरे, साथी–साथीमा पनि यत्रो औपचारिकता किन ? आफ्नो नाक कोट्याउँदै गरेको हात लगत्तै मतिर तेस्र्याए । म अकमक्क परेँ । अनि म के ठूलो भइटोपल्ने त ! हाम्रा अध्यात्मले एक आत्माले अर्को आत्मालाई प्रणाम गर्ने अर्थबोध गराए । हामीलाई यो पुरातनवादी र रूढीवादी लाग्यो । हामी आज आधुनिकताको बडप्पनमा जिउन चाहन्छौँ । हामीलाई नमस्ते भन्दै गर्दा होस् या हात मिलाउँदै गर्दा पनि हातै मिलाउने आदत बसिसक्यो । हामी बडो बडप्पनमा नाकका पोहोरा पैmलाउँछौँ । ‘मसँग फलाना....नेताले पनि हात मिलाएका छन् !’
आफ्नोपन छोड्नुहुँदैन भन्ने बुद्धि हामी सबैमा छ, जान्दछौँ पनि तर अर्काको पद्धति अपनाउँदा मपाईंत्व छाँट्न पाउने अर्को भूत पनि चढेकै छ । यही भूतले खर्लप्प खाँदा हामी अर्काकोलाई राम्रो भन्छौँ अनि जन्मदिन होइन ‘बर्थ डे’ मनाउँछौँ । केक काट्छौँ तर मन्दिरमा, घरमा आम(ाबाबालाई सम्झने काम होओस्, अहँ मान्दैनौँ । ‘पुरानो सिस्टम हुन्छ, नि’ भन्नेहरूको निष्कर्षपश्चात् मद्यपान गर्ने होटलको कोठो चुनिन्छ ।
वेदसम्म पुगेर नमस्ते र नमस्कारलाई खोतल्दा
‘नमस्ते रुद्रमन्वय.....’ भन्ने मन्त्रसम्म पुग्न सकिने रहेछ ।
‘नमस्कार’लाई पनि ‘नमः आकार’का रूपमा बोध गरिँदोरहेछ । तर, देवदेवीको स्तुति, अभिवादनमा चाहिँ हात मिलाउने साहस गरेका रहेनछौँ । तर, आफूभन्दा उपरका मानिससँग अभिभावदन गर्न नजान्ने असभ्य संस्कारको रोगबाट हामी आज त निकै बिरामी भइसक्यौँ । अब यी आदर्श गफ पनि हुनलाई हुटिट्याउँले आकाश छाँट्ने कुरा भइदेलान् भन्ने पीडाले पनि सताउँछ । अनि नमस्कारलाई पनि धर्म र आर्य समाजको पहिचान भनेर आफ्नोपनबाट गलहत्याएर अर्काको अँगाल्दा अलिकति पनि चिसो मान्दैनौँ । आफ्नोलाई घृणा र पराईको अन्धानुकरण गर्दै छौँ, घातक कर्म हो भनेर जान्दाजान्दै पनि अँगाल्दै छौँ, छोड्नुपर्छ भन्दाभन्दै पनि बोकेर हिँडिरहेका छौँ । अनि, अर्काकोमा गएर भाँडा माझ्छौँ तर घरको कोठेबारी खन्न लाज हुन्छ हामीलाई ।
ताप्लेजुङका लिम्बू मित्रसँगको भेटमा मलाई ‘सेवारो’ सुन्ने रहर थियो तर उनले अनायासै भनिदिए– ‘गुड आफ्टरनुन साथी ।’ अनि पसारे उनको हात मतिर । आखिर मैलेमात्र चाहेर भयो र ? लोकले अर्कैको थिति चोरिसक्यो । त्यसमै रत्तिइसक्यो हजुर ।
त्यसो भए आफ्नो गरिमा फाल्नुलाई सभ्यता र परिवर्तन भन्ने त ? नेताजीले नोकरलाई नमस्कार गरे भने, हात मिलाए भने उनको इज्जत घट्छ । त्यसैले उनी आफूसरहका सँग मात्र हात मिलाउँछन् क्यार । आफूउपरकासँग अलि वरबाट लम्केर थोरै निहुरेर हात मिलाउने रहेछन् । वामपन्थीहरू पन्जालाई बेस्सरी कस्दै झट्कारेर हात मिलाउँछन्, समाजवादी दम्भ राखेर हात मिलाउँछन् । कसैलाई ‘कमरेड’, कसैलाई ‘जय नेपाल !’ सायद आ–आफ्नै पेवा शब्दजस्ता । सबैका आ–आफ्नै जे–जस्ता ढाँचा भए पनि हात मिलाउने संस्कारचाहिँ साझा नै हो । कसैद्वारा नअप(नाइएको भन्ने छँदै छैन ।
तर, अनायास एकजना विदेशीले आएर भनून्, ‘होइन, अब नमस्कार गर ।’ त्यसपछि हामी उसको कुरालाई पक्कै वाह ! वाह ! भन्ने छौँ । हामीलाई सात्विक र सत्य विचार हो भन्ने भाव भित्री हृदयबाट एक्कासि पलाउँछ । बाहिरचाहिँ विरोध भित्री समर्थनको युद्ध गर्ने सङ्क्रमणका रोगी हामी । तब त संसारले जे गर्छ, त्यही गर्ने अन्धो अठोट हुन्छ ।
जब श्रद्धा हुन्छ तब त नमस्कार हुन्छ । आफूभन्दा पाका, अग्रज, उच्च ओहोदाका या त विपरीत लिङ्गीलाई प्रायः नमस्कार गरिने रहेछ । त्यसो भन्दै गर्दा यो खानदानी संस्कार पनि त रहेछ, जसले ठूला–ठूला सभा वा भेटमा प्रयोग गर्छन् तर सर्वहारा वर्गको पनि हो किनकि सामान्य मान्छेले हात मिलाउँदैन, नमस्कार नै गर्छ । नमस्कार त समावेशी पनि पो रहेछ ।
अफिसबाट घर फर्कंदै गर्दा एकजना युवा विद्यार्थी मलाई देखेपछि अर्कातिर फर्केर यसो छेलिँदै तर्कन चाहेको देखेँ । मैले बुभेmँ– उनले मसँग हात मिलाउन मिल्दैन थियो क्यारे । म ठूलो उनी साना मान्छेमा त नमस्कार गर्ने आदतै छैन । अनि त उनले त नमस्कार गर्नुभन्दा भाग्नुलाई ठूलो हो भनेर किन नमानून् । यो वर्गको अर्कै लहर छ । महिलासँग पनि यसो हात मिलाए स्पर्श गर्ने भाव होला क्यार ! हुँदा–हुँदा कुम जोडेर, ओठ जोडेर अरू के–के हो– केवल कुइरो रङ हुने र अङ्ग्रेजी बोल्नेले गरेको सिको गर्ने सोचका हामी आधुनिक भइटोपल्ने मान्छे न रहेछौँ । अझ पहिला त भेट्दामात्र नमस्कार हुन्थ्यो, अहिले छुट्दा पनि हात पसार्नै पर्ने बाध्यता छ । भाषणमा पनि नमस्कार या नमस्ते राम्रो हुन्थ्यो होला तर अहिले त ‘गुड मर्निङ’ भन्यो अनि फेरि घडी हे¥यो । ‘ओहो ! ‘आफ्टरनुन’ भइसकेछ सरी है ।’ –सच्याउनुपर्ने भयो । आखिर नमस्कार या त नमस्तेका लागि त समयको यत्रो घेराबन्दी रहेनछ त ।
नमस्कार र नमस्ते दुवै हाम्रा संस्कारयुक्त शब्द रहेछन् । एकजना ‘नमस्ते’ अभियानका अभियन्ता रामकृष्ण चालिसेसँग त्रिमिा भेट भयो । मैले पनि हात पसारेँ तर उहाँले मलाई नमस्कारको प्रत्युत्तर दिनुभयो । मलाई गर्व लाग्यो– खडेरीमा एउटा कुवा भेटेको अनुभूति भयो । त्यसो भए, नमस्ते गर्नु चाकडी गर्नु हो ? सानाले ठूलालाई अभिभावदन गर्छन् । सावधानीपूर्वक संस्कारयुक्त प्रणाम गर्छन् तर प्रत्युत्तर आउँछ ः एउटा हात बल्लतल्ल यसो कुमभन्दा माथितिर उठाइदिन्छन् । संस्कार । नमस्ते संस्कार । नमस्ते संस्कृति मार्नेलाई नमस्ते । अनि हाम्रो लोकलाई किन यति धेरै बोझिलो, झन्झटिलो, गहु्रँगो भयो हाम्रो संस्कृति ? पीडा हुनुपर्ने होइन र ! अनि माया लागेर आउँछ– हे सत्यवादी, सुन्दर नमस्कार ! अब तिमी
‘बिचरा नमस्कार !’ तिमी कति तिरस्कृत भएछौ किनकि तिमी त धार्मिक गणनाभित्र सूचीकृत भइदियौ नि त है ! विडम्बना ! तर कारोनाले तिम्रो वजन ह्वात्तै बढाइदिएको छ ।