logo
२०८१ मंसिर ९ आईतवार



सन्त्रासमै न्युजिल्यान्ड भ्रमण

शनिवार |


सन्त्रासमै न्युजिल्यान्ड भ्रमण


प्रदीप्नराज पन्त

पर्यटकका लागि न्युजिल्यान्ड स्वर्गीय आनन्द दिनेखालको छ भन्ने सुनेको थिएँ । हुन पनि रमाइलो थियो न्युजिल्यान्ड । प्रमुख सहरहरूमात्रै होइन, गाउँ पनि फोटोजेनिक थियो । हरेक मोडमा हरेक घुम्तीमा जुनसुकै कोणबाट तस्बिर लिँदा पनि सबै तस्बिर सुन्दर देखिन्थ्यो । साँच्चै मनमोहक । प्रशान्त महासागर र तासमेनिया समुद्रबीचको कुक स्टेटले छुट्याएको दुई ठूला द्वीप दक्षिण र उत्तर तथा अन्य स–साना धेरै टापुहरूको देश हो न्युजिल्यान्ड । अत्यन्त शान्त सुन्दर न्युजिल्यान्ड नेपालभन्दा फरकचाहिँ समुद्रको नै हो । अन्य डाँडाकाँडाचाहिँ झन्डै नेपालमा जस्तै ।
नेपालभन्दा सात घण्टा अगाडि दिनको सुरुवात हुुने न्युजिल्यान्ड विविध कारणले नेपालसँग गहिरो सम्बन्ध पनि राख्छ । न्युजिल्यान्डका एडमन्ड हिलारी, तेन्जिङ नोर्गेका साथसाथ सगरमाथामा पहिलो पाइला टेक्ने मानव हुनुहुन्थ्यो । न्युजिल्यान्डको पाँच डलरको नोटमा एडमन्ड हिलारीको चित्र अङ्कित छ । हिलारी न्युजिल्यान्डमा अत्यन्त लोकप्रिय र सम्मानित हुनुहँुदोरहेछ । यसैले पनि होला न्युजिल्यान्डको ठूलो व्यापारिक सहर अकल्यान्ड घुमिसक्दा पनि एडमन्डको गाउँ नपुगुन्जेल खल्लो भइरह्यो । हिलारीको घरलाई दर्शन गरेपछि भने अकल्यान्ड घुमेको पूर्णता भएजस्तो लाग्यो । त्यहाँ रहँदा मैले केही न्युजिल्यान्डका नागरिकसँग भलाकुसारी गर्ने मौका पाएँ र एउटा अचम्म के लाग्यो भने कसैकसैले त साँच्चै एडमन्डले सगरमाथा चढेकै हो भनेरसमेत सोधे । न्युजिल्यान्डका केही मानिस हिलारीले सगरमाथा नचढी उनका सहयोगी शेर्पाले मात्र चढेको र नामका लागि हिलारीले झुट बोलेको भनेरसमेत सोच्दारहेछन् तर मैले हिलारीले सगरमाथा चढेको र नेपालको साथसाथ पर्वतारोहणको दुनियाँमा अहिले पनि उहाँको नाम सम्मान र इज्जतसाथ लिइन्छ भनेर उनीहरूलाई सम्झाउने कोसिस गरेँ ।

न्युजिल्यान्डमा पहिलो नेपाली
न्युजिल्यान्ड आउने म दोस्रो व्यक्ति हुँ भनेर स्वघोषणा गरेका एक दुईजना नेपालीमूलका न्युजिल्यान्डका नागरिकसँग पनि भेट भयो । उनीहरूले शताब्दी पुरुष सत्यमोहन जोशी ६६ वर्षअघि न्युजिल्यान्ड आएको भन्नेचाहिँ सुनेका रहेछन् तर दोस्रो नेपाली आफँै या आफ्नै पिता भएको भनेर प्रमाणित गर्न भरमग्दुर प्रयास गरेका थिए । तर, न्युजिल्यान्डमा नेपाली पदचाप धेरै पहिले पुगिसकेको अनुमान लगाउन सकिने आधारहरू पनि छन् ।
न्युजिल्यान्डमा बेलायती साम्राज्य हुँदा राजनीतिक कारणले केही मानिसलाई न्युजिल्यान्ड पठाउने गरिन्थ्यो र त्यही समयदेखि नै नेपाली पनि न्युजिल्यान्ड गएका थिए भन्ने पनि गरिन्छ । अहिले न्युजिल्यान्डमा झन्डै सय वर्षअघिदेखि नै आएका लामा, गुरुङहरू पनि भेट्टाउन सकिन्छ र उनीहरू आफू नेपाली हुन सक्ने तर भारतबाट आएको भन्दारहेछन् । उनीहरू अहिले पनि केही नेपाली लवज प्रयोग गर्दारहेछन् । लामा, गुरुङहरू जहाँबाट जता गएका भए पनि पहिले नेपाली नै थिए भन्ने अनुमान गर्नु सामान्य नै हुन जान्छ । अकल्यान्डका केही नेपालीमूलका मानिसलाई भेटेपछि नेपाली न्युजिल्यान्डमा सय वर्षअघि नै पुगेका थिए भन्ने प्रमाण खोजिरहनुपर्दैन । यसैले करिब पचास वर्षअघि मात्र पाइला टेकेका मानिस नै न्युजिल्यान्ड टेक्ने दोस्रो नेपाली हुनै सक्दैन । हुन त त्यसरी दावा गर्ने मानिस अहिले न्युजिल्यान्डमा स्थापित भइसकेका र यो नियात्राकारसँग भेट्दा उनीहरूले जो नेपाली अकल्यान्डमा आए पनि दुःख पर्दा आफैँकहाँ आउने कुरा बताए तर मसँग चाहिँ संयोगले भेट भएको थियो, यस्तै नेपालीको जमघट हुने ठाउँमा । यसको साथै ६७ वर्षअघि सर एडमन्ड हिलारीको सगरमाथा आरोहणपछि थुप्रै नेपाली न्युजिल्यान्डमा गएका थिए । जेहोस् नेपालीका लागि न्युजिल्यान्ड करिब पचास वर्षअघि सहज गन्तव्य थिएन भन्नेचाहिँ सत्यमोहन जोशीको न्युजिल्यान्ड भ्रमणबारे लेखिएको लेखबाट अनुमान गर्न सकिन्छ ।

न्युजिल्यान्डमा नेपालको सम्झना
अकल्यान्डबाट म राजधानी वेलिङ्टनचाहिँ टे«ेनमा गएको थिएँ । हवाईमार्गबाट ३४ देखि ४३ डलरमा यात्रा गर्न सकिने र ४५ मिनेटको सहज यात्रा हुने भए पनि मैले टे«नमा ८७ डलर खर्चनु र दस घण्टाको यात्रा तय गर्नुको मुख्य कारणचाहिँ म न्युजिल्यान्डलाई गहिरिएर हेर्न चाहन्थेँ । अकल्यान्डबाट वेलिङ्टन जानु भनेको उत्तरी द्वीपको एक छेउबाट अर्को छेउमा पुग्नु नै हो । बीचमा हरियाली थियो तर त्योभन्दा धेरैचाहिँ कतै नाङ्गा, कतै हरिया डाँडाकाँडा र डाँडाभरि भेडा चरिरहेको दृश्य मनमोहक थियो । पशुपालनमा अग्रणी छ– न्युजिल्यान्ड । यहाँ न त ठूला कारखाना, मोटरलगायत विद्युतीय उपकरण तथा सूचना प्रविधिको खासै उल्लेख गर्न मिल्ने उद्योग नभएको भए पनि वार्षिक प्रतिव्यक्ति आम्दानी झन्डै ३५ हजार डलर हुनुको मुख्य कारण पर्यटन र पशुपालन नै रहेछ । नेपालमा पनि पर्यटन र पशुपालन दुवैको सम्भावना प्रचुर मात्रामा छ । न्युजिल्यान्ड घुमेपछि नेपालमा पनि पर्यटन र पशुपालनलाई लक्ष्य बनाउने हो भने पनि देश धनी बन्न सक्छ भन्ने ठम्याउन समय लाग्दैन ।
न्युजिल्यान्डमा किबी फलको खेती पनि देख्न पाइयो । नेपाली ठूलो सङ्ख्यामा यहाँ कार्यरत रहेछन् । जसरी तसरी न्युजिल्यान्ड पुग्ने त्यसपछि किबी फल टिप्ने लेखपढ नभएका नेपालीको रोजाइको काम हुँदोरहेछ । फलमात्र होइन, अर्को चरा पनि हुन्छ, जसलाई पनि किबी नै भनिन्छ र असाध्यै सुधो हुन्छ । फल पनि चरा पनि प्रशस्त पाइने भएर हो कि यहाँ मानिस आपूmलाई किबी भनेर पनि चिनाउँछन् । जब विदेशीहरू न्युजिल्यान्डमा गैरकानुनी हुन पुग्छन् तब किबी खेती भएको ठाउँमा र भेडीगोठमा भेट हुन पुग्छन् भन्ने गरिन्छ । सबै गैरकानुनी नहोलान् तर किबी खेती गरिने ठाउँमा अधिकांश नेपाली पनि देखियो । ठ्याक्कै नियम नै त होइन तर मलाई के लाग्यो भने भेडा चराउनेलगायत गाउँमा गएर काम गर्ने हो भने न्युजिल्यान्डमा आप्रवास नियम पालन गर्नैपर्दैन जस्तो लाग्यो । वर्षौं एउटै गाउँमा बसेर सहर आएपछि मात्र निर्वासनमा पर्दारहेछन् मानिस । दुई वर्षअघिसम्म ज्यादै उदार देखिएको न्युजिल्यान्डमा अहिलेचाहिँ आप्रवास नियम अलि कडा बनाएको रहेछ । गाउँगाउँमा प्रहरी पुगेर गैरकानुनी मानिसलाई निर्वासित गर्न थालिएको रहेछ ।
न्युजिल्यान्डको अर्को आश्चर्य के लाग्यो भने वेलिङ्टनको समुद्रीकिनारमा, सडकमा कहिलेकाहीँ आममानिसजस्तै भ्रमण गर्दै गरेका प्रधानमन्त्री र अन्य मन्त्री पनि भेटिँदारहेछन् । सबै राजनेता र जनता एकैठाउँमा बसेर त्यो पनि सडकमै उभिएर यहाँ जुन सौहार्दतासाथ वार्तालाप भएको देखियो, त्यसले त अझै हामी पछाडि त छैनौँ भन्ने सोच्नसमेत बाध्य बनायो । अङ्गे्रजी भाषामा प्रधानमन्त्री होस् या कुकुर सबैलाई ‘यु’ भनेर सम्बोधन गरिन्छ । उनीहरूलाई कसैले अशिष्ट भने पनि कसैले महान् प्रजातान्त्रिक पनि भन्छन् । नेपालमा नाट्य शिरोमणि बालकृष्ण समले पनि खाइस्योस्, लाइस्योस्जस्ता शब्द अव्यावहारिक र सामन्ती भन्नुभएको छ र सबै नेपालीलाई तपाईं भनेर सम्बोधन गर्न उपयुक्त हुन्छ भनेर सुझाउनुभएको थियो । व्यवहार प्रजातान्त्रिक भएन भने व्यवस्था बदलिएको अनभूति हँुदैन ।

जलक्रीडा
मलाई नदी ठूला ताल र समुद्र हेर्दा अद्भुत आनन्द आउँछ । न्युजिल्यान्डमा पनि वेलिङ्टनबाट क्वीन्स टाउनमा जाँदा झन्डै चार घण्टा जलप्रवाहमा आनन्द लिने शौभाग्य प्राप्त भयो । जहाँसम्म नजर दौडाउँथँे पानी–पानी । त्यो दिन मौसम अत्यन्त सुखद थियो । समुद्र अत्यन्त शान्तप्रवाह, आमाको काखजस्तै । अथाह जलप्रवाह भएको भए पनि मलाई कता–कता आफ्नै दरौँदीजस्तो लाग्यो । बालककालमा दिनभरि म दरौँदीकिनारमै हुन्थेँ र कहिलेकाहीँ रात्रिमा समेत छेबेटार बजारको पहराको ठूलो ढुङ्गामा बसेर दराँैदीको अस्खलित प्रवाहलाई हेर्दथेँ । जब यो नदीमा बाढी आउँथ्यो यसको चुल्ठोले आकाश छुन खोज्थ्यो । प्रयाणशानको साथ अघि बढ्दै गरेको दरौँदी वर्षात्मा समर सेनाजस्तै हुन्थिन् तैपनि म स्कुल छुट्टी हुनासाथ बेपर्वाह पौडी खेल्न जान्थेँ । त्यो दिन समुद्रमा थुप्रै डुङ्गा या यस्तै ‘वाटरट्याक्सी’मा बसेर मानिस विहार गरेको देखेर मलाई पनि पौडी खेल्ने इच्छा जागृत भयो तर त्यो त्यतिखेर सम्भव भएन । पछि वेलिङ्टनको डेजवेजमा गएर पहिलोचोटि समुद्रमा पौडी खेलेँ । यो जलक्रीडा सम्भवतः मेरो जीवनको एक अविस्मरणीय क्षण नै हुन्छ होला । पानीमा जति तैरिएको भए पनि समुद्रमा खुट्टा राख्नासाथ एकछिन त डरै लाग्यो तर टाढा–टाढासम्म बालकहरूसमेत तैरिएको देखेर म पनि ढुक्क भएर साहसका साथ समुद्रमा पौडी खेलेँ, मन रमायो र आफूले ज्यादै महान् काम गरेकोजस्तो भ्रान्ति पनि भयो । साँच्चै सुरक्षित तरिकाले समुद्रको जलक्रीडा निकै आनन्ददायी हुँदोरहेछ र न्युजिल्यान्ड जलक्रीडाका लागि सबैभन्दा उपयुक्त ठाउँ पनि रहेछ ।

कोरोना त्रास
न्युजिल्यान्ड कोरोनाबाट खासै प्रभावित भएको थिएन हाम्रो यात्रा अवधिभर । यसैले लोकप्रिय पर्यटकीय गन्तव्यहरूमा भीडभाड कम थिएन । तर, कोरोनाको त्रासले मास्क लगाएर हिँडेका पर्यटक देखिन्थ्यो । आम्दानीको ठूलो हिस्सा पर्यटनले ओगट्ने यस देशले हालसालै विदेशी पर्यटकलाई स्वागत नगर्नेमात्र भनेन अनावश्यक यात्रा नगर्नू र कथम् कदाचित आए पनि १४ दिनसम्म स्वनिगरानीमा रहनुपर्ने र नियम पालना नगरे जरिवानासहित देशनिकाला गर्ने सूचना जारी ग¥यो । न्युजिल्यान्डमा मात्र होइन, सम्भवतः संसारभरि नै पर्यटन अहिले निरस बनेको छ । मानिस अत्तालिएका छन् । कसैले टाढाबाट हाच्छयूँ गर्दासमेत मानिस डराएको देखियो । वेलिङ्टनमा रहँदा म धेरैपटक संसद् भवन गएको छु र वेलिङ्टन आउने पर्यटक एकचोटि यहाँ आउने गर्छन् । मौरीको घारजस्तै आकारमा यो संसद् भवन बनाइएको छ र यसलाई ‘बिहाइभ्स’ भवन पनि भनिँदोरहेछ । अहिले यो प्राङ्गणमा पनि खास चहलपहल देखिँदैन भने न्युजिल्यान्डका अति व्यस्त रहने क्वीन्स टाउनमा जाँदासमेत पर्यटकको मौसम नै नभएजस्तो अनकन्टार ठाउँमा पुगेकोजस्तो महसुस भयो । अहिले जो यात्रामा देशबाहिर छन्, तिनीहरू सबैले चाहेजति सुखानभूति बटुल्ने सम्भावना कमै छ । आफ्नै देशमा फर्किएपछि या अन्य देशमा जहाँ जान परे पनि १४ दिनको स्वनिगरानीमा बस्न पर्ने झन्झट र दोस्रो यात्रामा भएको अत्यन्त कठोर परिस्थितिलगायत एयरलाइन्सले मिनेट–मिनेटमा फेर्ने गरेको समयतालिकाले गर्दा पर्यटन अति खल्लो हुन पुगेको छ । ज्यादै भीड हुने पर्यटकीय स्थलमा अब जान पनि सकिन्न । पर्यटनका लागि कोरोना सन्त्रास बनेर आयो र अहिलेचाहिँ स्वर्गीय आनन्द दिने गन्तव्य नै किन नहोस्, घरमै सुरक्षित तरिकाले बस्नुको विकल्प नभएको देखिन्छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?