देवा अधिकारी
ल्यापटपमा गुगल खोलेर नाति मग्न हुँदै संसारभरिको जानकारी राख्दै थियो । छेउमा सिकिस्त हजुरआमा स्याँ—स्याँ गर्दै बिछ्यौनामा पल्टिरहेकी थिइन् । बेलाबेलामा ऊ हजुरआमासँग बोल्दै गरे पनि सम्पूर्ण ध्यान ल्यापटपतर्फ थियो । “थाहा छ हजुरआमा ? पृथ्वीको उपल्लो छेउको अमेरिका पनि पल्लो कोठाभन्दा नजिक भएको छ आजको दुनियाँमा । त्यहाँ हुने हरेक खबरहरू यहीँ बसी–बसी सेकेन्डभित्र थाहा पाउन सकिन्छ । तपाईंहरूको पालामा जस्तो हो र ? पल्लो गाउँको खबर पनि बासी भइसकेपछि थाहा पाउने” हजुरआमालाई आजको दुनियाँदारी सम्झाउँदै थियो नाति ।
करिब एक घन्टापछि ऊ गुगल संसारबाट बाहिर निस्कियो । हजुरआमा स्याँ–स्याँ गर्न छाडेर अप्ठ्यारो गरी सुती सकिछन् । उसले हजुरआमाको सुताइ सहज बनाउन खोज्दा कुनै हलचल नदेखेर झस्कँदै हजुरआमा– हजुरआमा भन्दै चिच्यायो । छेउमै फेसबुक चलाएर बसिरहेकी बुहारी पनि मोबाइल खाटमा हुत्याउँदै आमा–आमा भन्दै छोरोसँगै चिच्याउन थालिन् ।