logo
२०८१ मंसिर ९ आईतवार



आवरणको मौलिकता

शनिवार |


आवरणको मौलिकता


टीकाराम रेग्मीको पहिलो लघुकथा सङ्ग्रह ‘विपर्यास’ २०७१ सालमा नै अध्ययन गरेकी थिएँ । फेसबुकको लघुकथा कुनोमा पनि उहाँका फुटकर कथा पढ्दै आइरहेकी थिएँ । उसो त उहाँले २०७४ साल भदौमा प्रकाशन गर्नुभएको ‘अनुनाद’ नामको यात्रानिबन्ध कृति पनि उत्तिकै अभिरुचिपूर्वक पढेकी थिएँ । यस कृतिमा व्यक्त भएको मीठो भाषिक सीपले म लपक्कै तानिएकी थिएँ । यही कृतिको अध्ययनबाट उहाँ एक दर्जनभन्दा बढी शैक्षिक पुस्तकका लेखक हुनुभएको थाहा पाएँ । अङ्ग्रेजी साहित्यमा पनि उहाँको गहिरो लगाव रहेछ । उहाँको कर्मथलो पनि चितवन रहेछ । हाल उहाँ स्वतन्त्र लेखन र अध्ययनमा निर्लिप्त हुनुभएको कुरा उहाँको पछिल्लो कृति ‘आवरण’बाट थाहा पाउन सकिन्छ । आवरण लघुकथा सङ्ग्रह हो ।
सुन्दर आवरणमा सजिएको कृतिको नाम पनि ‘आवरण’ नै सुन्दा यो कृति समाजको ऐनाको पर्याय रहेको कुरा मैले अनुमान गरेँ । साहित्यलाई समाजको ऐना भनिन्छ । नभन्दै कृति अध्ययनपछि थाहा भयो, कृतिभित्र समाजका विविध विषयवस्तु उनिएका ७१ वटा लघुकथा सङ्ग्रहित रहेछन् । समाजका शिक्षाप्रणाली, मानवीय संवेदना, भ्रष्टाचार, सामाजिक विकृति एवं राजनीतिक अस्थिरताका अनेक आयामलाई कथामा उनिएको छ । अत्यन्तै चोटिलो ढङ्गले कथामा प्रहार गरिएको छ । उदाहरणका लागि हामी केही पङ्क्ति हेर्न सक्छौँ ।
‘यस्तो हाँडीघोप्टेको नाम पनि
विश्वमित्र ?’ बाबुले मुख फाल्यो । तेरो त बुद्धि नै छैन कान्छा । यसको चरित्र राम्रो भएको भए त जे राखे पनि हुन्थ्यो नि नाम । यसमा जब बन्धुत्वको भावना नै छैन । कम्तीमा यसलाई नाममात्रको खोल भए पनि ओडाइदियौँ भने पहिलो चरणमा यसलाई भेट्नेहरूको यसप्रतिको धारणा त फरक पर्नेछ नि !
(आवरण पृष्ठ १४)
बेलुका बाबु आउनासाथ ठूली छोरीले भनी, पापा अब त हामी पनि नेपालाँ बसेर आफ्नै भाषा र संस्कृति सिक्ने है ?
लाटी तिमीहरू त अङ्ग्रेजीमा पोख्त भएर विश्वबजारमा बिक्नुपरेन ? यो त मेरो लागि पो हो त, ऊ मुसुक्क हाँस्यो । (मेरो लागि, पृष्ठ ८५)
सरोज भोलिपल्ट बिहानै उठ्यो, नुवाईधुवाई ग¥यो, गेरुवा रङको वस्त्र लगाएर बाहिर निक्लिँदै थियो, बाबुले सोध्यो, के कपडा लगाएको सरोज ? अनि कहाँ जान लागेको होस् अहिले ?
बुबा, हजुरको लागि पढी सिध्याएँ अब मेरो लागि पढ्न जान लागेको, उसले बाबुको जवाफको प्रतीक्षा गरेन ।
(सपना, पृष्ठ ११३)
माथिका उदाहरणमा भएजस्तै थुप्रै कथा अत्यन्त मर्मस्पर्शी छन् । विभिन्न विम्ब र प्रतीकको प्रयोग गरेर कथा चोटिला बनाइएको छ । विविध विषयवस्तु पहिचान गरेर समाजका अधिक पाटाहरूको चित्रण गर्नु पनि कथाकारको अर्को विशेषता देखिन्छ । लघुकथाले दिने सटीकता यस सङ्ग्रहका अधिक कथामा भेट्न सकिन्छ । दैनन्दिन जीवनमा मानिसले भोग्ने गरेका आरोहअवरोहको सजीव चित्रण पनि कथामा भेट्न सकिन्छ । यो कृति अध्ययन गर्दा मेहनती र गहन स्रष्टाका रूपमा कथाकारलाई लिन सकिन्छ । समाजका भए गरेका असामान्य गतिविधिलाई लेखकीय आँखाले हेरी लघुकथाको सिर्जना गर्ने काममा उहाँ सिपालु देखिनुभएको छ, सङ्ग्रहका हरेक कथा मौलिक रहेको भेट्न सकिन्छ । समाजलाई मार्गनिर्देश गर्न जुन कलमको सहारा साहित्यकारहरूले लिने गर्छन् त्यो कसीमा लघुकथाकारले आपूmलाई सफल रूपमा उभ्याएका छन् । निश्चित समयावधिभित्र प्रकाशन गर्नुपर्ने हतारोको कारण केही छिटपुट वर्णविन्यासगत त्रुटि र प्राविधिक त्रुटि पुस्तकमा छन् अन्यथा पुस्तक अत्यन्त सुन्दर छ । आगामी दिनमा अझै सुन्दर कृतिहरू प्रकाशन होऊन् भन्ने शुभेच्छा कथाकारलाई दिन चाहन्छु ।
प्रभा बराल 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?