मुकेश मल्ल
चारैतिर कोरना भाइरसको त्रासको माहोल छ । काठमाडौँमात्र होइन नेपालभरि, अझ भनौँ विश्वभरि नै । यस्तोबेला कलाबारे चर्चा उठाउने काम गर्नुपर्दा केही असजिलो त छ । तर, यस्तै बेला पनि काठमाडौँ र मोफसलमा साना–ठूला कलाका कार्यक्रम त भइरहेका छन् । भर्खरै झापामा एउटा सानो कलाबारे छलफल कार्यक्रम सकेर आइयो । काँकडभिट्टामा पनि स–साना केटाकेटी सिर्जना गर्दै गरेको परिदृश्य, केटाकेटी र बाबुआमाको पनि कलामाथि जागेको विश्वास चाखलाग्दो देखियो । धेरै टाढाटाढाबाट कलामाथि छलफल गर्न आएका कलाकारको झुन्ड देख्दा अब त बाहिर पनि कला जाग्न थालेछ भन्ने पनि लाग्यो ।
छितेन शेर्पा, कलाकार पनि पत्रकार पनि अनि कला कार्यक्रमा सक्रिय भएर लागेका युवा कलाकार । निकै जाँगर र जोश बोकेको कलाकार । उहाँले भन्नुभयो, ‘दाइ आउनोस् न कार्यक्रम त जसरी भए पनि गरिहालिन्छ नि । अनि हामीले निधो ग¥यौँ । कलाकार, साहित्यकार र कलामा इच्छुक व्यक्तिहरूलाई मात्र बोलाउने र कलालाई भित्तामा देखाएर चर्चा परिचर्चा गर्ने । रिडर झापाले चारआलीको सानो चिटिक्क परेको कोठामा हरेक शनिबार यस्तै कार्यक्रम राख्ने गर्दोरहेछ । यही सानो कोठालाई जमघटको केन्द्रबिन्दु बनाएर देही आर्ट काँकरभिट्टाले गएका धेरै वर्षदेखि कलाका विविध कार्यक्रम गर्दै आइरहेको रहेछ । कहिले साहित्यको, कहिले सङ्गीतको र कहिले कलाको, बेला–बेला राजनीतिक सवालहरू र कहिले विकासका मुद्दाहरूमा पनि छलफल हुँदोरहेछ ।
विश्वकै सन्दर्भमा पनि सन् १९१६ ताका युरोपमा दादा आन्दोलनमा सम्भवतः पहिलोपटक कलाकार, साहित्यकार सङ्गीतका सर्जक एकैठाउँमा उभिएर अनौठो कला प्रदर्शन गरिएको थियो । नेपालमा चाहिँ सन् २००३ पछि हरेक विधाका सर्जकले तत्कालीन अवस्थालाई यसरी नै मनको भाव र विचारलाई अति नौलो ढङ्गले पोखिरहेका छन् । झापाका सबैजसो कलाकारहरू व्यक्तिचित्र र दृश्यचित्रमा रमाएको देखियो । नेपाली समसामयिक कलामा सन् १९६० ताका भावाव्यक्तिका साथ व्यक्तिचित्रको प्रवेश गर्ने, प्रयोग र अभ्यास गर्ने कलाकारमा लैनसिह वाङ्देल, उत्तम नेपाली र मनुजबाबु मिश्र मानिन्छन् । यथार्थ, व्यक्तिचित्र बनाउनेमा चाहिँ अमर चित्रकार, विजय थापा, के–के कर्मचार्य, आईबी मल्ल आदि मानिन्छन् । यसअघि भने तेजबहादुर चित्रकार, चन्द्रमानसिँह मास्के । अझ अगाडि दीर्घमान चित्रकारहरू व्यक्तिचित्र बनाउने मास्टर कलाकार थिए । प्रभाववादी जलरङ्गी दृश्यचित्रमा भने रामानन्द जोशीले एक किसिमले आन्दोलनकै रूपमा सन् १९६४ मा यसप्रकारको कलाको सिर्जना र दृश्यचित्रको कार्यशाला आदि गरेको देखिन्छ ।
कोरना भाइरस र स्थानीय सरकारले पनि ठूलो भेला गर्न रोक लगाइराखेको अवस्था छ । यस्तो भए पनि झापाको यस कार्यक्रममा ‘पावर प्वाइन्ट’मा नेपाली चित्रकला, मूर्तिकला र विदेशका कलालाई ठूलो पर्दामा देखाउँदा साँच्चिकै दर्शक, पाठक निकै नै रमाए । नेपाली आधुनिक कला १९६० मा शुभारम्भ भएको र सन् २००३ मा उत्तरआधुनिक कलाको शुभारम्भ भएको प्रसङ्ग उठाउँदै चर्चा गरियो । सहभागीले थुप्रै प्रश्न गर्दा र जवाफ दिँदै गर्दा डेढ घण्टाको समय लम्बिएर झन्डै चार घण्टा पुगेछ ।
एक महिनाअगाडि मात्र अलि वर मोरङको पथरीमा यसैप्रकारको कार्यक्रम भएको थियो । यहाँचाहिँ सरोजा खड्गी सक्रिय कलाकारका रूपमा लागिपर्नुभएकी रहिछन् । खड्की अहिले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सभासद् पनि हुनुहुन्छ । उहाँ राम्रो महिला चित्रकार त हुनुहुन्छ नै, सिरामिकका (माटाका) कलात्मक भाडाकँुडा बनाएर कलाको अर्को पाटोमा समेत काम गरिरहनुभएको छ । त्यहाँ पनि हरेक शनिबार यस्तैप्रकारले कला, साहित्य र सङ्गीतको कार्यक्रम राख्ने चलन रहेछ । यसले नेपालको पूर्वी भेगमा कला चेतना जागेको स्पष्ट अनुभूति भयो । ‘एभरेष्ट आर्ट फ्युजन’ संस्थामार्फत भएको यो कार्यक्रममा यसबेला पनि ठूलो पर्दामा नेपालमै प्रयास र अभ्यास भइरहेको ‘इन्स्टलेसन’, ‘पर्फमेन्स’ कलाहरू र आधुनिक कलाका विविध चित्रहरू ठूलो पर्दामा देखाउँदै कुरा गर्दा कलाकारमात्र होइन सङ्गीतकार, साहित्यकारहरू पनि आधुनिक कलाबाट आनन्दित भएको मैले महसुस गरँे । यसपछि सङ्गीत–साहित्यको सर्जक–सम्मान, विराटनगरदेखि काँकरभिट्टासम्मका कलाकारको भीड समग्रमा मेलाजस्ता भयो ।
यहीबेला विराटनगरमा पनि यसैप्रकारको छलफल कार्यक्रम भएको थियो । यहाँचाहिँ कलाकार र विशेषगरेर ‘इन्टेरियल डेकोरेसन’मा संलग्न कीर्ति उपाध्याय अहिले सक्रिय भएर लागिरहनुभएको रहेछ । उहाँले ‘भोग इन्टेरियर’ भन्ने संस्था खोली यसैबाट कलाका कार्यक्रम गर्दै आउनुभएको रहेछ । उहाँ चित्र पनि बनाउनुहुन्छ । त्योभन्दा पनि विराटनगरमा ‘इन्टेरियर डेकोरेसन’मा विधिवत कक्षा लिएर यस विधाका कलाकार तयार गर्दै धेरै वर्षदेखि सक्रिया भइरहनुभएको रहेछ । विशेषगरेर हस्तकलामा उहाँको काम उल्लेखनीय छ । चार घण्टाका लागि कक्षा कोठा नै बन्द गरेर यो अन्तक्र्रियाको कार्यक्रम हुनुले पनि त्यहाँको कलामाथिको जिज्ञासा र चाख कति रहेछ भनेर बुभ्mन सकिन्छ । भिन्नै किसिमको कलामाथिको चाख, कलाको परिभाषा, वास्तुकला, लोककला, हस्तकला वा समग्रमा कलाबारे र यसैमा मिसाएर आधुनिक र उत्तर आधुनिक कलाबारे छलफल गर्ने जमर्कोले वातावरण नै कलामय बनेको थियो ।
एक महिनाजति अगाडि होला, गैँडाकोटमा पनि यसैप्रकारको साहित्यकार कलाकारलाई बोलाएर कलाको अन्तत्र्रिmया भएको थियो । यहाँ त अझ ठूलो जमघट नै भएको थियो । यो जमघटमा चितवन भेगका सबैजसो वरिष्ठ कलाकार, साहित्यकार, प्राध्यापक सहभागी भएका थिए । कार्यक्रममा कला र साहित्यमाथि एक–अर्कामा परेको प्रभाव, प्रकृति र शैली आदिबारे विचार, विमर्श र चिन्तनमनन भयो । चराको लोेभलाग्दा आकारमूलक चित्रहरू भावनासाथ बनाउन यस भेगका कलाकारको विशेषता नै रहेछ । यहाँ सहभागी कलाकार भीम शर्माले हालैमात्रै काठमाडौँमै आएर आफ्नो एकल कला प्रदर्शन पनि गर्नुभएको थियो । उहाँले सामुदायिक विकासमा पनि धेरै काम गरिरहनुभएको छ । उहाँको हामी कलाकार र कलावती आर्ट काउन्सिल भन्ने संस्था पनि छ ।
यसैगरी, बुटवलमा र तिलोत्तमा नगरपालिका (भैरहवा) मा पनि यसैप्रकारको कार्यक्रम भएको थियो । बुटवलमा यम थापा र बुद्ध चौधरी, जो राम्रा मूर्तिकार पनि हुनुहुन्छ र चित्रकार यम गोल्डी त्यहाँ सक्रिय भएर लाग्नुभएको रहेछ । यम थापा र बुद्ध चौधरी त ललित कला प्रज्ञाप्रतिष्ठानका सभासद् पनि हुनुहुन्छ । होटेलकै ठूलो हलमा खाटमाथि नै बसेर भए पनि भित्तामा देखाइएको चित्र, मूर्तिबारे चर्चा भयो । कार्यक्रम भएको साँझ झन्डै बुटवलदेखि आधा घण्टा पर रहेको तिलोत्तमा नगरमा भएको साहित्यकारहरूको भेलामा पनि कालबारे चर्चा भयो ।
मोफसलका यस्ता कार्यक्रम सम्भवतः काठमाडौँमा हुने गरेको कलाको कार्यक्रमभन्दा अब्बल रहेको महसुस भयो । आ–आफ्नै कला संस्थाहरू खोली स्थानीयस्तरमा कला सिर्जना गरिएको देख्दा अब राष्ट्रिय कार्यक्रममा पनि यस्ता कलाकारहरूलाई समावेश गराउनुपर्ने देखिन्छ ।