मुनीन्द्ररत्न बज्राचार्य
जन्मेपछि सबै मर्नुपर्छ । योे धु्रवसत्य कुरा हो । जतिसुकै चमत्कार गरे पनि विज्ञानले मृत्युलाई पन्छाउन सकेको छैन । विज्ञानले मृत्युलाई केही परमात्र धकेलेकोे छ । तर, मृत्युबाट बच्न विज्ञानकोे पनि सामथ्र्य छैन । मृत्यु के हो त ? जीवनका सम्पूर्ण सक्रियता भङ्ग हुनु नै मुत्यु हो । पृथ्वी, जल, तेज, वायु, आकाश पञ्चमहाभूतबाट मानव शरीर बनेको हुन्छ । यी तŒवलाई मानव शरीरले समर्पण गर्नु नै मृत्यु हो । मृत्युपछि मानिसको अन्त्येष्टिक्रिया गरिन्छ । यो संस्कार मोक्ष र पुनर्जन्मसँग सम्बन्धित छ । मृत्यु मुक्ति हो भने, यो परमात्माको र आत्माको मिलन पनि हो । मृत्युपछि मनुष्यले शरण लिने ठाउँं मसानघाट हो । मरेपछि शवलाई घाट(श्मशान)मा लैजाने चलन छ । हिन्दुहरू शवलाई सेतो कपडाले बाँधेर बाँसमा राखेर दाहसंस्कारका लागि घाट लैजान्छन् । नेवार समुदायमा भने मान्द्रोले बेरेर चारजनाले बोकेर घाट लैजाने चलन छ । मृत्यु संस्कार राम्रो होस् भन्ने सबैकोे चाहना हुन्छ । मृत्युपछि पनि शान्ति पाओस्, सुगति होस् भन्ने परिवारको पनि चाहनो हुन्छ । यदि मृत्यु नराम्रो भए दुर्गतिमा परिने र मृत्यु हुने अवस्थामा राम्रो चित्त भएमा मृत्युउपरान्तको अवस्था पनि राम्रो हुने भनिन्छ । भगवान् गौतम बुद्धले पनि द्वादशाङ्ग प्रतीत्य समुत्पादको पछिल्ला अवस्थालाई जरा मरण भन्नुभएको छ । पञ्चस्कन्ध छोड्नु मृत्यु भनिएको छ । यसैले मृत्यु भएपछि बौद्ध धर्मावलम्बीहरू तुुषिता भुवनवास होस् भन्ने कामना गर्छन् ।
नेपालमा सबै जातिमा मुत्यु संस्कार गर्दा शास्त्रोक्त विधिअनुसार गर्ने चलन छ । मानिस मरेपछि आफ्नो जातीय परम्पराअनुसार मृत्यु संस्कार गरिन्छ । पुरोहितबाटै मृत्यु संस्कार विधि गराइन्छ । विशेषगरेर हिन्दु र बौद्ध धर्म मान्नेहरूको बाहुल्य छ नेपालमा । यी दुई वर्गमा अधिकांशले शवलाई घाटमा लगेर जलाउने चलन छ । जलाउन ब्राह्मण, क्षेत्रीहरू पशुपति लैजान्छन् । नेवारहरूमा पनि श्रेष्ठ, कर्माचार्य, राजभण्डारी, जोशी र द्यो ब्राह्मणहरू मिश्र, राजोपाध्याय खलकका जातिले शवलाई पशुपति लैजाने पम्परा छ ।
काठमाडौँ उपत्यकाका नेवार जातिको संस्कृति विविधताले भरिएको छ । नेवारहरू सामाजिक सङ्गठन (गुठी) बाट आफ्नो जन्मदेखि मृत्युसम्मका संस्कार गर्ने गर्छन् । उनीहरू गुठीबाटै सम्पूर्ण मृत्यु कार्य गर्छन् । यसका लागि विभिन्न किसिमका गुठी स्थापना गरिएको हुन्छ । जस्तो सनागुठी, सीगुठी, बिचाःगुठी आदि हुन् । सनागुठी जातीय मलामीहरूको सङ्गठन हो । जातअनुसार आकार र आन्तरिक सङ्गठन भने सनागुठीको फरक–फरक छन् । सनागुठीमा मलामी जाने खर्च गुठीको आयस्रोतबाटै चलाइन्छ । सीगुठीले शवलाई घाट लिएर जाने र जलाउने काम गर्छ । पहिले–पहिले शव जलाउन कार्य ‘ग्वँ’ले गर्थे । शव जलाउने कार्य गर्ने भएकाले ‘ग्वँ’ले दस्तुरस्वरूप बर्सेनि अन्न र नगद घरघरबाट पाउँथे । उनीहरूले नै कसैको घरमा कोही मृत्यु भएमा शवलाई घाटमा लगेर जलाउने कामदेखि अस्थि निकाल्ने र खरानी खोलामा बगाउने कामसम्म गरिदिन्थे । तर, अचेल ‘ग्वँ’ले यो काम गर्दैनन् । उनीहरूले अन्य पेसा अँगालिसकेका छन् । अहिले सम्पूर्ण काम सीगुठी र सनागुठीका सदस्यले नै गर्छन् । सीगुठीका गुठियारको मृत्यु भएको अवस्थामा शव लैजाने काममा उपस्थिति नभएमा जरिवाना (बँ) लिने चलन छ । सीगुठीको चलनले नेवारहरूमा परिवारका सदस्यको देहान्त हुँदा सहयोग गर्ने मानिसको कुनै कमी हुँदैन ।
नेवार जातिमा कपाली, कुशले, जोगीहरूको मृत्यु संस्कार अलि फरक छ । कपाली, कुशले जाति मन्त्रसिद्धि गर्न सक्ने तान्त्रिक वर्गमा पर्छन् । त्यसैले यिनीहरूको मृत्यु संस्कारमा शवलाई जलाइँदैन । ध्यान मुद्रामा बसिरहेझैँ अर्थात् पद्मासनामा राखी गाड्ने चलन छ । कनफट्टा जोगीहरूले चाहिँ चक्रबिन्दु विद्या लिएका हुन्छन् । यो विद्या लिएकालाई पनि जालाइँदैन । त्यसैले यिनीहरूको मृत्यु संस्कारमा शवलाई गाड्ने परम्परा छ । कपालीहरूको समाधिस्थल स्वयम्भूको उत्तर दिशामा छ । कोही बौद्ध लामाहरूमा मृतकको अन्तिम संस्कार कसरी गर्ने भन्ने छुट्टै निर्णय हुन्छ । जस्तो अग्निदाह, जमिनमा गाड्ने, पानीमा बगाउने र जङ्गलमा छोड्ने वा चराचुरुङ्गीलाई ख्वाउने के गर्ने भनेर निर्णय गरिन्छ । पूर्वी पहाडको बौद्ध बस्तीमा शवलाई घाटमा नलगी पहाडको टुप्पामा लगी धुप बाली त्यहीँबाट खोलामा फालिदिइन्छ । केही हिमाली भेगका बोन जातिमा शवलाई टुक्रा–टुक्रा पारी चराचुरुङ्गीहरूलाई ख्वाउने चलन छ ।
घाटको अवस्था
परापूर्वकालदेखि नै काठमाडौँ उपत्यका विशिष्ट सभ्यता र संस्कृतिले भरिएको ठाउँ हो । यहाँं नदीछेउछाउ प्रशस्त घाटहरू रहेका छन् । यीमध्ये प्रसिद्ध घाटहरू पशुपति आर्यघाट, पचलीघाट, शङ्खमोल, पञ्चायनी, करवीर (कर्णदीप), इन्द्रायणी, कङ्ग, टङ्केश्वरी आदि हुन् । उपत्यकामा आ–आफ्नो बस्तीमा कोही मर्दा पायक पर्ने स्थानको घाटमा लग्ने गरिन्छ । हरेक बस्तीको नदीछेउमा घाट छन् । जस्तो कीर्तिपुर, टोखा, साँखु, चाँगुनारायण तथा विभिन्न बस्तीको नदीछेउमा घाट छन् । स्वयम्भू डाँडामुनिको उत्तर दिशामा तामाङ, गुरुङ जातिका घाट छन् । पूर्व दिशातिर मुसलमानहरूको लास गाड्ने चिहान पनि छ । तर, कतिपय स्थानका चिहान लोप पनि भइसकेका छन् । अचेल कतिपय स्थानका घाट तथा चिहान फोहोर फाल्ने, मलमूत्र त्याग गर्ने ठाउँ बनेका छन् । मानवको यो कार्यले मसानघाट भग्नावशेषमा परिणत हुँदै छन् । पशुपतिजस्तो पवित्र ठाउँमा रहेको आर्यघाटमै शौचालय मिसिन गई दुर्गन्धित भएको जनगुनासो छ । काठमाडाँै उपत्यकामा जनसङ्ख्याको निरन्तर वृद्धि, असङ्ख्य घरहरूको निर्माण, कलकारखानाको स्थापनाले वातावरणीय प्रदूषण आदि कारणले नदीको जलाधार क्षेत्रहरू सुक्खा हुँदै गइरहेको छ । अधिकांश खोलानाला सुुकेर बेहाल भएका छन् । घाटछेउ रहेको नदीमा पानी नभएर मृत्यु शøयामा जल अर्पण गर्नसमेत कठिन छ । शोभाभगवती, कङ्केश्वरी, लखुतीर्थ, शङ्खमोल, टेकु दोभानका घाटमा यही समस्या छ । पवित्र नदीको जल अर्पण गर्नुपर्नेमा बोतलको पानी, जारको पानी चढाउनुपर्ने बाध्यता छ । नदी वरपर सुकुम्वासी र आप्रवासीको जगजगीले हजाराँै वर्ष पुरानो चिहान र घाटलाई पनि बाँकी राखेको छैन । उल्टै घाटमा मुर्दा पोल्न नदिएर आक्रमण भएका घटना सार्वजनिक हुन थालेका छन् । सार्वजनिक जग्गा मिचेर घरटहरा बन्न थालेपछि हजारौँ वर्षअघिदेखिको घाटमा शव जलाउन पाउने अवस्था पनि यतिखेर छैन । आफू पनि मर्नुपर्छ भन्ने भावना सबैमा भइदिए यसरी घाटसमेत हस्तक्षेप हुँदैनथ्यो होला । घर पहिले कि घाट पहिले सोच्नुपर्ने हो । कि त चिहानका लागि नयाँ स्थानमा व्यवस्था गरिदिनुपथ्र्यो । तर, यतातिर कसैको ध्यान गएको पाइँदैन । यस्तो अवस्था नआओस् भनी सबै चेतनशील हुनु जरुरी छ ।
हरेक मानिसको जीवन घाटमा पुगेर अन्त्य हुन्छ । यसैले यस्ता घाटको संरक्षण हुन जरुरी छ । कोही धार्मिक चित्त भएकाले सामूहिक रूपमा आ–आफ्नो जातिको घाटलाई व्यवस्थित गरेका छन् । यसको उदाहरणका रूपमा उदास जातिको घाटलाई लिन सकिन्छ । उदास जातिको कर्णदीप घाटलाई निकै व्यवस्थित बनाइएको छ । यस घाटमा मुर्दा जलाउनका लागि तमाम साधनहरू उपलब्ध छन् । ग्यास, पानी, काठ चिर्ने सामान, पराल, बत्ती, शौचालय आदि व्यवस्थाले मुर्दा जलाउन सुविधा मिलेको छ । यस्तो सुविधा अन्य घाटमा पनि व्यवस्थित गर्न सकेको भए सबैलाई सुविधा मिल्ने थियो । व्यक्तिले मात्र होइन, आ–आफ्नो क्षेत्रमा रहेको घाटको संरक्षण तथा उचित प्रबन्ध स्थानीय निकायले गर्न जरुरी छ ।
जन्मेपछि मृत्यु अवश्यम्भावी छ । यसैले मृतकलाई विशेष संस्कार विधि पु¥याई बिदा गर्नु जीवितहरूको कत्र्तव्य हो । तर, काठमाडौँ उपत्यकामा जनसङ्ख्या वृद्धिको अनुपातमा मृत्यु संस्कार गर्ने घाट अपुग देखिन्छ । वनजङ्गलको फँडानीले शव जलाउन दाउराको पनि अभाव छ । यसकारण शव जलाउन नयाँ प्रविधिको व्यवस्था गर्नुपर्ने अवस्था छ । हुन त पशुपतिमा विद्युत्ले शव जलाउने व्यवस्था गरिएको छ । २०७२ साल वैशाख १२ गतेको महाभूकम्पले हजारौँ मानिसको मृत्यु हुँदा शव जलाउन घाटको अभाव भएको थियो । शव जलाउन धेरै समय कुर्नुपर्ने अवस्था आएको थियो । कुनै पनि बेला यस्तो अवस्था नआउला भन्न सकिँदैन । हुन त यस्तो स्थिति नआओस् भनेर कामना गरौँ ।