नारायण तिवारी
म कवि होइन तर मलाई कविता मनपथ्र्यो । त्यसैले थाहा पाएसम्म कविता वाचन कार्यक्रमहरूमा जाने गर्दथेँ । त्यसो त कविताकर्म नभए पनि म कविता बेच्ने दोकाने थिएँ । अर्थात् मेरो किताब दोकान थियो । त्यसैले पनि होला, मलाई साहित्यिक वृत्तमा प्रायः सबैले चिन्थे ।
एकपल्ट एकजना कविभाइले फोन गरेर कविता सुन्न बोलाए । भाइले भनेका थिए– “दाइ, तपाईं त कविताको पारखी । आउनुहोस् है, आज मेरो एकल कविता वाचन छ ।” म कार्यक्रममा थिएँ । कविभाइ एकएक गर्दै कविता वाचन गरिरहेका थिए । उनी बीचबीचमा भूमिका पनि बा(ँधिरहन्थे– “यति धेरै मान्यजनका माझमा म कविता पाठ गरिरहेको छु, खुशी छु । डर पनि लागिरहेको छ !” फेरि, बीचमा भूमिका बोल्थे– “यहाँ देखिरहेको छु, राजेशदाइलाई, शेखर सरलाई, सुदीप सरलाई....!”
उनी बीचबीचमा कार्यक्रममा उपस्थित ‘दाजु’, ‘सर’ आदि गण्यमान्यको नाम लिइरहेका थिए । म उनको बोलीचालीको दाइ वा दाजु थिएँ । मलाई फोन गरेरै बोलाएका थिए तर मेरो नाम लिइरहेका थिएनन् । पहिले त विस्तारै ताली पड्काइरहेथेँ । पछि, पड्काउन छोडेँ । कवितापिच्छे उनी केही न केही भूमिका बोल्थे । उपस्थित व्यक्तिहरूलाई नाम लिँदै ‘गरिमामय उपस्थिति’, ‘धन्य छु’ आदि भन्दै जान्थे । अहँ, मेरो नाम तैपनि लिइरहेका थिएनन् । मेरो अनुहार मैले आफैँ नदेखे पनि तम्तमाइलो हुँदै थियो । म महसुस गरिरहेको थिएँ । सात÷आठ कविता सुनेपछि मेरो मुखबाट फुस्फुस् निस्कियो– “क्या झूर कविता !”
अलिक जोडले नै बोलिएछ कि, साथै उपस्थित ‘राजेश दाइ’ नामक व्यक्तिले घुरेर मलाई हेरे । मेरो दायाँतिर ‘राजेशदाइ’ र बायाँतिर ‘शेखरसर’ दुवैको नाम कविभाइको मुखारविन्दबाट निस्किसकेको थियो ।
अचानक दसौँ कवितातिर पुग्दा कविभाइले भने– “कत्तिलाई नाम लिन छुटाएँ । मलाई माफी दिनुहोला । म देखिरहेको छु राजेशदाइ र शेखरसरको बीचमा नरेशदाइलाई । उहाँ कविताको एकदमै पारखी हुनुहुन्छ । असल पाठक हुनुहुन्छ । असल श्रोता हुनुहुन्छ । श्रद्धेय हुनुहुन्छ....।”
उनी के के बोलिरहेका थिए । म ढक्क भएर फुल्दै, आनन्दित भइरहेको थिएँ ।
त्यसपछि जो कविता वाचन गरे, मैले बीचबीचमा नै ताली पिट्न थालेँ । कविता सकिएर कविभाइले अन्त्यमा ‘धन्यवाद’ भन्दा कुर्सी नै बोकुँलाझैँ गरी उफ्रिएर मैले भनेँ– “वाह, क्या कविता ! उत्कृष्ट कविता ! यस्तो पो हुन्छ कविता...!