यात्राकाक्रममा आपूmले देखेको दृश्य, समाज र मान्छेहरूको व्यवहारलाई नियात्राका माध्यमबाट पाठकहरूकै अनुभूति बनाइदिने नियात्राकार हुनुहुन्छ युवराज नयाँघरे । दुई दशकदेखि नेपाली निबन्ध र नियात्रा लेखनमा सक्रिय नयाँघरेको पछिल्लो नियात्रा कृति ‘तनक्खा’ बजारमा आएको छ । म्यानमार (बर्मा) को यात्रामा देखिएका विषयलाई नियात्राकारले यसमा समेट्ने प्रयास गर्नुभएको छ ।
तनक्खामा देख्न सकिन्छ— नयाँघरेले निबन्धको निजात्मकतालाई पनि आफ्नो यात्रामा हिँडाउनुभएको छ । नभने जस्तो गरेर भन्न खोज्नु अनि नहिँडाए जस्तो गरेर पाठकलाई पनि आपूmसँगै हिँडेको अनुभूति गराउनु उहाँको विशेषता हो । ‘तनक्खा’भित्र समेटिएका एक्काइसवटै नियात्रामा नयाँघरेले अनुभूतिको संरचनालाई यसरी समेट्नुभएको छ कि हरेक पाठकले यो कृति पढ्दा म नै म्यानमारको यात्रा गर्दैछु र यहाँको समाज, संस्कृति र त्यहाँको पर्यावरणको रसानुभूतिमा डुबिरहेको छु भन्ने अनुभव गर्छन् ।
पाठकलाई कौतूहलतामा डुबाइदिँदै आपूmसँगै यात्रामा निस्किएका सहयात्रीसँगको कुराकानीलाई पनि कथात्मक पाराले प्रस्तुत गर्न सिपालु नयाँघरे दृश्यात्मक अनुभूतिका शिल्पी देखिनुहुन्छ । के होला तनक्खा ? यस प्रश्नको उत्तर पाठकले चौथो क्रममा रहेको ‘बाह्र घण्टे बाटो’ शीर्षकको नियात्रामा पाउँछन् । वास्तवमा तनक्खा शब्दले म्यानमारको मौलिक संस्कृतिलाई जीवन्त राखेको छ । म्यानमारका नारीहरूले बिहान उठ्नेबित्तिकै कपाल कोरेर अनुहारमा तनक्खा लगाउने चलन छ । तनक्खा दलेर घरमा बस्दा शुभ हुने मान्यता यहाँ छ । एक प्रकारको चन्दनजस्तो काठ घोटेर बनाइने तनक्खाले अनुहार उज्यालो पार्नुका साथै घामको कडा रापबाट जोगाउँछ भन्ने मान्यता पनि छ ।
लेखक मात्रै म्यानमार पुग्नुभएको छैन, हामी पाठक पनि म्यानमारका मान्छेसँग कुरा गरिरहेका छौँ भन्ने अनुभूत गर्न सकिन्छ । म्यानमारको दोस्रो ठूलो सहर मान्डलेमा पचासौँ हजार नेपालीको बसोबास भएको तथ्य लेखकले प्रस्तुत गर्नुभएको छ । म्यानमालीहरूको राष्ट्रिय खाना बाँसमा पकाइएको गिलो भात र चामलको चाउमिन हो जसलाई उनीहरू ‘लपेतोक’ भन्छन् । म्यानमारमा केटाकेटी दुवैले लुङ्गी लगाउने र त्यो लुङ्गी नै उनीहरूको राष्ट्रिय पोसाक हो भन्ने कुरालाई पुस्तकमा देखाइएको छ । यसैगरी गोरखालीहरूको विवाहको सिको गरेर उनीहरू पनि बाजा बजाउँदै दुलही लिन जान्छन् भन्ने सन्दर्भ पढ्दा नेपाली र म्यानमालीहरूको सम्बन्ध कति नजिक रहेछ भन्ने बुझ्न सकिन्छ ।
नयाँघरे नियात्रामा नदी हुनुभएको छ, पोखरी होइन । बगेर नियात्राको लय समात्नु उहाँको विशेषता हो । तनक्खाभित्र समेटिएका सबै नियात्रामा म्यानमाली जीवन र जगत्को सशक्त रिपोर्टिङ गरिएको छ । आपूm पुगेको नयाँ ठाउँको परिवेशलाई आफ्नो पकडमा राखेर त्यहाँको परिवेशसँग प्रतिक्रिया गर्नु उहाँको नियात्रा लेखनको अर्को विशेषता हो । म्यानमारको टाउँजी सहरको सम्पूर्ण विवरणले त्यहाँका संस्कृति र चाडबाडसँग परिचित हुने मौका लेखकले दिनुभएको छ ।
म्यानमारको समाज र संस्कृतिलाई राम्ररी बुझ्ने आधार नै हो यो तनक्खा । आमा विधवा भइन् भने सन्तानलाई विहार पठाइदिने र विधवाले बिहे गरिहाल्ने, टुहुरा छोराछोरीको पालनपोषण विहारले गर्ने चलन छ यहाँ । म्यान्मारका चैत्य, विहार र गुम्बालाई समाजको अभिभावकीय संस्थाका रूपमा मानिएको प्रसङ्गलाई पनि लेखकले प्रस्तुत गर्नुभएको छ ।
कृतिका नियात्रामा कतै समाज र संस्कृतिका कुरा समेटिएका छन् भने कतै मानव संवेदनाका विषय पनि आएका छन् । सन् १९४७ को जुलाई १९ का दिन याङ्गुनमा भएको भयानक घटनाले हरेक पाठकलाई संवेदनाको पल्लो फालमा पु¥याइदिन्छ । त्यसै गरेर ‘बेनाम वीरता’ शीर्षकको नियात्रामा लेखक गोरखालीको चिहान हेर्न पुग्नुभएको छ । ‘अउक्क्यान वार सिमेट्री’ मा पुगेर चार हजार बलिदानी सेनाको सम्झनामा जति लेखक भावुक हुनुभएको छ, त्यति नै भावुक यो पढ्ने पाठक पनि हुन्छन् । चार हजार शिलापत्रमा ठूलो सङ्ख्यामा नेपालीको नाम, थर, पद र उमेर टाँसिएको दृश्यले त्यहाँ पुग्ने जो कोही मान्छे पनि भावुक बन्छ । लेखकले एउटा प्रश्न छोड्नुभएको छ यो नियात्रामा यसरी— वीरता किन बेनाम भएको गोरखालीको ? लेखकले आफ्नो यात्राको अन्त्यमा भन्नुभएको छ— ‘मैले उखान फेरेँ— बर्मा गए आफ्ना खोज्दै, नेपाल गए बिराना चिन्दै । नेपाल पढ्ने होइन, पुज्ने नेपाली भेटेँ म्यानमारमा मैले ।’
बर्मेली समाज र संस्कृति बुझ्ने प्रतिविम्बका रूपमा तनक्खालाई मूल्याङ्कन गर्न सकिन्छ । नयाँघरे नियात्रामा इमानदार अभिव्यक्तिसँगै पाठकलाई सँगै हिँडाउन सक्ने क्षमता भएका लेखक हुनुहुन्छ । तनक्खाभित्रका नियात्रा पढ्दा हरेक पाठकले म पनि बर्मेली समाज र संस्कृतिसँग रमाइरहेछु भन्ने समानधर्मिताको अनुभूति गर्न सक्छन् । पाठकहरूको मनोविज्ञानलाई बुझेर लेखकले म्यानमारमा बोलिने अप्ठ्यारा शब्दलाई पनि सजिलो पाराले प्रस्तुत गरिदिनुभएको छ । नेपाली साहित्य बजारमा आएको यो तनक्खा पठनीय कृतिका रूपमा छ ।
महेश क्षितिज