logo
२०८१ मंसिर ९ आईतवार



सय वर्षीय वृद्धको साहस

शनिवार |


सय वर्षीय वृद्धको साहस


एकजना वृद्ध, जो सहारा नभई उभिन पनि सक्नुहुन्न । तर, उहाँले आधा किलोमिटरजति हिँडेर ३१ लाख अमेरिकी डलर सङ्कलन गर्नुभयो भन्दा सबै छक्क पर्छन् होला । हो, त्यसैले उहाँको साहसको प्रशंसा अहिले विश्वव्यापी भइरहेको छ । ९९ वर्षीय यी वृद्धले आगामी अप्रिल ३० मा आफ्नो १००औँ जन्मदिन मनाउनका लागि एक हजार पाउन्ड उठाउने योजनाबमोजिम आफू बसेको घरको बगैँचाको एक सय फन्को मार्ने योजना बनाउनुभएको थियो । उहाँले २५ मिटर लामो त्यो बगँैचालाई सय फन्को पनि मार्नुभयो तर यो योजना उहाँले सोचेभन्दा नितान्त भिन्न भयो । उहाँको सम्मानमा यति धेरै रकम उठ्यो कि सबैजना चकित भए ।
बेलायतका एक पूर्वसिपाहीले गरेको यो साहसिक घटनाले अहिले विश्वभर चर्चा पाएको छ । उहाँको नाम क्याप्टेन टम मुर हो । उहाँ हाल उत्तरी बेलायतको योर्कसायरमा बस्दै आउनुभएको छ । यो घटना गत हप्ता बिहीबार बिहानको हो । आफू १०० वर्ष पुग्न लागेको उपलक्ष्यमा आफ्नो बगैँचालाई वाकरको सहायताले एक सय फन्को मारेर एक हजार पाउन्ड चन्दा सङ्कलन गरेर आफ्नो उपचारमा संलग्न बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका नर्सलगायत कर्मचारीलाई दिने योजना बनाउनुभएको थियो । तर, अनपेक्षित रुपमा उहाँको यो प्रयास र साहसलाई देखेर मानिस यति भावुक भए कि चन्दा नदिईकन बस्नै सकेनन् । करिब सात लाख मानिसले उहाँको यो प्रयासमा साथ दिए र आइतबारसम्ममा करिब ३१ लाख अमेरिकी डलरबराबरको राशि सङ्कलन भयो । उहाँको यो साहसलाई प्रधानमन्त्री वोरिस जोन्सनमात्र होइन, राजकुमार ह्यारीलगायत उच्च पदाधिकारीहरूले खुलेर प्रशंसा गरेका छन् । राजकुमार ह्यारीले उहाँलाई बधाइ दिँदै एक उत्कृष्ट कार्य गरेकोमा नाइटिङ्गेलको उपाधिले आगामी हप्ता सम्मान गरिने जानकारी दिनुभयो भने प्रधानमन्त्री जोन्सनका प्रवक्ताले उहाँलाई जनताको मुटु छोएका व्यक्ति भनेर सम्मान व्यक्त गर्नुभयो । उहाँले सङ्कलन गरेको यो रकम राष्ट्रिय स्वास्थ्य सेवाका विभिन्न एक सय ५० वटा च्यारिटीमा हस्तान्तरण गरिने जनाइएको छ । जसले कोरोना रोकथाममा अग्रपङ्तिमा रहेर कार्य गर्ने नर्स तथा डाक्टरहरुलाई सहयोग हुनेछ । यस्तो होला भन्ने कहिल्यै नसोचेको मन्तव्य दिँदै सन्चारकर्मीहरूसँग उहाँले भन्नुभयो, ‘म सञ्चै छु, तपाईंहरू पनि सञ्चै हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु ।’ बेलायतमा यति धेरै रकम एकै व्यक्तिले उठाएको यो पहिलो अवसर भएको जनाइएको छ । धेरै–धेरै बधाइ क्याप्टेर मुर ।
मुर द्वितीय विश्वयुद्धका योर्कसायर रेजिमेन्टका क्याप्टेन हुनुहुन्छ । उहाँको विशेषज्ञता भनेको सिभिल इन्जिनियरिङ हो । उहाँको छातीभरि विभूषण तथा पदक छन् । दोस्रो विश्वयुद्धका बेला उहाँले बर्मा तथा भारतमा पनि आफ्नो सेवा दिनुभएको थियो ।

कृष्णराज खनाल
स्रोत : सीएनएन  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?