logo
२०८१ मंसिर ९ आईतवार



अमेरिकन आइडलमा नेपाली तारा

शनिवार |


अमेरिकन आइडलमा नेपाली तारा



गीत–सङ्गीतलाई जीवनको सुख–दुःखको आधार बनाएर हिँड्ने अनगिन्ती साधक विश्वका हरेक कुनामा भेटिन्छन् । कसैको गीत–सङ्गीतले विश्वलाई नै आकर्षित गर्न सफल हुन्छ भने कोही यसै हराएर जान्छन्, पानीको फोकाजस्तै । तर, जसले श्रोता र दर्शकको मन जित्छ ऊ लाखौँमा एक हुन्छ, यस्तै लाखौँमध्ये एक बन्ने प्रयासमा हुनुहन्छ अर्थर गन अर्थात् दिवेस पोखरेल ।
नेपाली भूमिका यी २१ वर्षीय युवाले अहिले विश्वविख्यात सङ्गीतकर्मीको मन जितिरहनुभएको छ, आफ्नो सुमधुर स्वरमार्फत । छ वर्षअघि उच्च अध्ययनका लागि काठमाडौँबाट अमेरिका पुग्नुभएका पोखरेल यतिबेला अमेरिकन आइडलको १८औँ संस्करणको उत्कृष्ट बीसभित्र पुग्न सफल हुनुभएको छ, सयौँ प्रतिस्पर्धीलाई पछि पार्दै । गीत–सङ्गीत क्षेत्रमा पोखरेलको यो सफलता कुनै पनि नेपालीले अमेरिकामा पाएको सम्भवतः पहिलो हुन सक्छ । त्यसो त यस्ता ‘रियालिटी शो’मार्फत अन्य नेपाली युवा तथा बालबालिकाले आफ्नो क्षमता नदेखाएका होइनन् । छिमेकी भारतमा भएका विभिन्न ‘रियालिटी शो’मा नेपाल र नेपालीमूलका उनीहरूले विश्वकै दोस्रो ठूलो चलचित्र उद्योग बलिउडका चर्चित कलाकारको मनमात्र जितेका छैनन्, ताज नै आफ्नो पोल्टामा पारेका छन् । डान्स इन्डिया डान्समा नेपाली बालिका तेरिया मगरले उपाधिमात्र जित्नुभयो भने नेपालीमूलका प्रशान्त तामाङले इन्डियन आइडल नै हात पार्नुभयो । यसैगरी, सारेगामा सङ्गीत ‘रियालिटी शो’मा उपाधि नै नजिते पनि नेपाली बालगायक प्रितम आचार्य र आयुष केसीले दर्शक र निर्णायकको मन जित्न सफल हुनुभयो । उहाँहरू क्रमशः तेस्रो र चौथो हुनुभएको थियो ।
यसैगरी, आफ्नो गायन कला प्रदर्शन गरेर उपाधि जित्ने दाउमा हुनुहुन्छ पोखरेल पनि । सन् २०२० फेबु्रअरी १६ देखि अमेरिकन टेलिभिजन एबीसीबाट प्रसारण भएको अमेरिकन आइडलको पहिलो चरणमा उहाँले बव ड्यालनको ‘गर्ल फ्रम दी नर्थ कन्ट्री’ गाएर निर्णायकलाई प्रभावित बनाउनुभएको थियो । त्यसपछि उहाँले क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यु इभर सिन दी रेन’ गाउनुभएको थियो । उत्कृष्ट बीसमा पर्नुअघि चर्चित गायक बब मार्लेको क्लासिकल गीत गाएर उहाँले अन्य प्रतिस्पर्धीलाई खतराको घण्टी बजाइदिनुभएको छ । अमेरिकन आइडलका निर्णायक लाइनल रिची, केट पेरी र लुक ब्रायनले पोखरेललाई भविष्यको चम्किलो तारामात्र भन्नुभएन उपाधि चुम्ने दाबेदारका रूपमा समेत चित्रित गर्नुभयो । पोखरेलको गीतबाट प्रभावित भएर ब्रायनले त डेट्रोएट सहरमा हुने एक खुला कन्सर्टमा आफूसँगै गाउन प्रस्तावसमेत गर्नुभयो । यतिमात्र होइन, विचिटाको द विचिटा इगल अनलाइनले त दिवेश अमेरिकी आइडलमा छनोट भएकोमा समाचार बनाएको छ । अमेरिकास्थित अनलाइन ‘हेभी’ले निर्णायक मध्येका एक ब्रायनलाई उद्धृृत गर्दै दिवेश अमेरिकन आइडलकै अहिलेसम्मका सबैभन्दा ठूला स्टार बन्न सक्ने लेखेको छ ।
सानैदेखि गीत–सङ्गीतप्रति रुचि राख्ने पोखरेल पछिल्लो दुई वर्षदेखि सङ्गीत क्षेत्रमा विशेष सक्रिय हुनुभएको थियो । उहाँको गीतिएल्बम ‘ग्रहण’ सन् २०१९ मा सार्वजनिक भएको थियो । गायक पोखरेलले न्यानो घर, समुद्रपारि, कर्णाली, मन, प्रलय ए, प्रलय बीलगायत गीत गाउनुभएको छ । पोखरेलको ‘अर्थर गन’ नामक आफ्नै युट्युब च्यानल छ । जहाँ उहाँले यस्ता कैयौँ नेपाली र अङ्ग्रेजी गीत पोस्ट गर्नुभएको छ । अमेरिकन आइडलमा अडिसन दिएलगत्तै उहाँका सब्स्क्राइबर ह्वात्तै बढेका छन् । देश–विदेशमा गरी दुई लाख ३८ हजारको सङ्ख्यामा उहाँका सब्स्क्राइबर रहेका छन् । आफ्नै युट्युबमा आफैँले गाएर पोस्ट गरेको ‘ह्याब यु इभर सिन दी रेन’ गीत २३ लाखले हेरेका छन् । पपशैलीका गीत गाउन रुचाउने पोखरेलले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताउनुभएको थियो । आफ्नी दिदीलाई पछ्याउँदै उहाँ कन्सासको विचिटा सहरमा पुग्नुभएको थियो । विचिटामा हुँदा उहाँले त्यहाँको कफीसपमा गिटार बजाएर गीत गाउनुहुन्थ्यो । यतिमात्र होइन, अमेरिकाका विभिन्न स्थानमा जाँदा त्यहाँका गल्लीमा उहाँले गीत गाउनुभएको थियो । नेपालमा हुँदा अमेरिकन आइडल टेलिभिजनमा नहेरेको तर अनलाइनबाट जानकारी लिएको पोखरेलले बताउनुभएको छ । आफू अमेरिका आएपछि अमेरिकन आइडलमा भाग लिने कुनै योजना नबनाएको बताउने पोखरेलले सङ्गीत क्षेत्रका धेरै साथीहरूले कर गरेपछि मात्र यसमा सहभागी भएको बताउनुभएको छ । सङ्गीतका बारेमा धेरै सिक्न बाँकी रहेको बताउने पोखरेलले अमेरिकन आइडल कुनै पनि सङ्गीतप्रेमीका लागि ठूलो ‘प्लेटफर्म’ हुने बताउनुहुन्छ । आफ्नो स्टेज नाम ‘अर्थर गन’ बारे प्रस्ट्याउँदै उहाँ भन्नुहुन्छ, ‘१९औँ शताब्दीका फ्रान्सेली साहित्यकार अर्थर रिमबाउड, जो आधुनिक साहित्यबाट प्रभावित हुनुुहुन्थ्यो, उहाँको नाम स्टेज नामका लागि उपयुक्त हुने सोचेँ । गन शब्द रमाइलोका लागि छानेको हुँ ।’ उत्कृष्ट २० जनाको नाम घोषणा भएसँगै अमेरिकन आइडलले विश्वभरि कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि कार्यक्रम निर्माण केही समयका लागि रोकेको छ ।
करुण अर्याल
एजेन्सीको सहयोगमा  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?