नरेन्द्रमान श्रेष्ठ
नेपाली चलचित्रको व्यापार गत वर्ष अर्थात् २०७६ सालमा अघिल्ला वर्षभन्दा माथि उठ्न सकेन । यो वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शन भए । यो सङ्ख्या विगतका वर्षभन्दा झन्डै आधा हो । २०७५ सालमा सयवटा जति चलचित्र प्रदर्शन भएका थिए । त्यसो त कतिपयले कोरोेना भाइरसका कारण चलचित्रको प्रदर्शनमा कमी आएको भनेर पनि भन्लान् । तर, वर्षको अन्तिमतिर मात्र कोरोना भाइरसका कारणले चलचित्रहरू प्रदर्शन नभएका हुन् । २०७६ सालको पहिलो चलचित्रका रूपमा ‘कालो वर्ष’ वैशाख १३ गते र अन्तिम चलचित्रका रूपमा ‘धूलो’ फागुन १६ गते प्रदर्शन भयो । विगतका वर्षमा जस्तै यो वर्ष पनि एक दर्जन चलचित्रले मात्र सफलता हात पारे । आधा दर्जन चलचित्रले मात्र नाफा कमाउन सके भने आधा दर्जन चलचित्रले आफ्नो लगानीसम्म उठाए । बाँकी चलचित्रका लगानीकर्ताले घाटा बेहोर्नुपरेको भनाइ चलचित्र बजारमा यतिखेर सुन्न पाइन्छ ।
गत वर्ष प्रदर्शन भएका चलचित्रमध्ये कमाउने चलचित्रमा हास्यकलाकारको समूहले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’, ‘कबब्डी कबब्डी’ ‘जात्रैजात्रा’, ‘दाल भात तरकारी’, ‘आमा’ आदि छन् । ‘छ माया छपक्कै’, ‘जात्रैजात्रा’ र ‘कबब्डी कबब्डी’ले ५१ दिन मनायो । ‘आमा’ चलचित्र पाँचौँ हप्तामा चलिरहँदा कोरोना भाइरसका कारणले प्रदर्शन रोकियो । दीपेन्द्र के खनालले निर्देशन गर्नुभएको चलचित्र ‘आमा’ अरू चलचित्रभन्दा अलि कम लागतमा बनेको हो । यसले राम्रो व्यापार गरिरहेको थियो । आफूलाई सामाजिक अभियन्ता भन्न रुचाउनुहुने हास्यकलाकार सीताराम कट्टेलले निर्माण गरेको ‘सेन्टी भाइरस’लाई पनि कोरोना भाइरसले खाइदियो । २ करोड ५० लाखको बजेटमा निर्माण भएको यो चलचित्र व्यापारको हिसाबले सफल हुन पाएन ।
यसैगरी चर्चित कलाकार, निर्माता तथा निर्देशक अशोक शर्माको ‘रातो टीका निधारमा’ले पनि राम्रो व्यापार गर्न सकेन । भोजपुरी चलचि(त्रबाट नेपाली चलचित्रमा प्रवेश गर्नुभएका नायक विराज भट्टले निर्माण निर्देशन गरेको र नेपाल सुन्दरी निकिता चण्डकले पहिलोपटक नायिकामा अभिनय गर्नुभएको चलचित्र ‘साङलो’ व्यापारको हिसाबले असफल नै रह्यो ।
विगतमा भन्दा पछिल्लो समयमा नयाँ–नयाँ कलाकारको प्रवेशका साथै चलचित्र निर्माणक्रम पनि यस क्षेत्रमा बढिरहेको छ । चलचित्रको लगानी पनि बढ्दै छ । तर, लगानी बढेअनुसार बजार भने बढेको पाइँदैन । २०२१ सालबाट चलचित्र निर्माण सुरु भएको थियो । नेपालमा बनेको पहिलो नेपाली चलचित्र आमा हो । चलचित्र निर्माणको इतिहास हेर्ने हो भने आधा शताब्दी भइसक्यो तर यसको बजार भने समयअनुरूप बढ्न सकेको छैन । नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजार लिन र चलचित्रकर्मीहरू पनि विदेशी प्रभावबाट मुक्त हुन सकिरहेका छैनन् ।
त्यसो त अहिलेका दर्शकहरू पनि ‘चुजी’ भइसकेका छन् । विगतमा जस्तो नेपाली चलचित्र भनेपछि आँखा चिम्लेर हेर्ने दर्शक छैनन् । तर, कति(पय निर्माणकर्ता दर्शकको रुचिलाई भन्दा विदेशी चलचित्रको नक्कल गरी चलचित्र निर्माणको ध्याउन्नमा छन् । दर्शकको रुचि र चाहनालाई ध्यान नदिई यसरी चलचित्र बनाउँदा लगानीकर्ता डुब्नु आश्चर्यको विषय होइन । अहिलेका दर्शक केही नयाँपन, केही आफ्नोपन र भरपूर मनोरञ्जन खोज्छन् । चलचित्र भनेको मनोरञ्जनात्मक हुनुपर्छ भन्ने अधिकांश दर्शकको भनाइ पनि छ । चलचित्रमा आफ्नै परिवेश, आफ्नै गाउँठाउँको विषयलाई समेटेर मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत भएको चलचित्र दर्शकको रोजाइमा पनि पर्ने गरेको छ । तर, यहाँ चलचित्रको निर्माण केवल चलचित्रका लागि मात्रै हुने गरेको छ । त्यसले समाजलाई केही न केही दिनुपर्ने सन्देश त अझ कता हो कता ? कतिपय लगानीकर्ता कला क्षेत्रको आफ्नो रहर पूरा गर्न र आफन्तलाई प्रवेश गराउन चलचित्र बनाइरहेको पनि पाउँछौँ । यदि रहरमात्रै पूरा गर्न चलचित्र बनाउने हो भने कसरी राम्रा चलचित्र बन्छन् भनेर विश्वास गर्ने ? चलचित्र र चलचित्रको बजारलाई हचुवाका रूपमा लिनुहुँदैन । यसलाई आफ्नो पेशा वा व्यवसाय बनाइ स्तरीय चलचित्र निर्माणमा ध्यान दिनुपर्छ । अनि मात्र व्यावसायिक चलचित्र बन्ने छन् । अन्तर्राष्ट्रिय बजारमा पनि यसले पखेटा पैmलाउने मौका पाउनेछ ।