logo
२०८१ मंसिर ९ आईतवार



‘फाउल प्ले’ दर्शक पनि कलाकार !

शनिवार |


‘फाउल प्ले’ दर्शक पनि कलाकार !


डा. गोविन्दसिंह रावत


प्राचीनकालमा उत्सव आदि मनाउँदा खुलामञ्चमा देवीदेवताको वीरताको कथामा आधारित नृत्य–संवाद (नाटक) प्रस्तुत हुने गथ्र्यो । पूर्वमा ‘इन्द्रध्वज’ जात्रा र पश्चिममा ‘मे पोल’ नामक उत्सवमा यस्ता नाटकीय प्रस्तुति हुन्थे । यस्ता उत्सवमा वीर गाथाहरू मञ्चित हुन्थे र यही वीर गाथाहरूमा वीरताका कुरालाई नृत्य, गायन एवम् संवादका माध्यमबाट प्रस्तुत गरिन्थ्यो । यही परम्परालाई नाटकको प्रारम्भिक रूप मानिन्छ । पूर्वीय नाट्याचार्य भरतमुनिका मतमा नाट्यकलामा चारै वेदको संयोग हुन्छ । यही कारण यसमा धर्म, अर्थ, काम, शान्ति, युद्ध, क्रीडा, हास्य सबै समावेश भएको हुन्छ । त्यसैले नाटकको सर्वोत्तम उपयोग नैतिक विकास र समाज कल्याणमा हुन्छ । अनि यसैका आधारमा नाटकको रचना गरिन्छ ।
रङ्गमञ्चको इतिहास अवलोकन गर्दा नेपालमा लिच्छिविकाल (४५०–७५० ईशापूर्व) देखि सुरु भएको ‘इन्द्रध्वज’ जात्राको सम्बन्ध अभिनय कलासँग जोडिएको छ । त्यस्तै इतिहासकार हेरोडोटसले ईशापूर्व ४५० तिर इजिप्ट (मिश्र) मा सैतानलाई धपाउन धार्मिक अनुष्ठानअनुरूप मन्दिरभित्र अभिनयात्मक प्रस्तुतिहरू गर्ने चलन रहेको चर्चा गरेका छन् । इजिप्टमा जस्तै नेपालमा पनि ईशापूर्व ४५० ताकादेखि नै नाटकको जन्म धार्मिक मान्यताअनुसार भएको पाइन्छ । यसरी नाटक विधा बिस्तारै समाजका लागि मनोरञ्जनको एक अनिवार्य माध्यम बन्दै गएको देखिन्छ । नाटकको समकक्षी भएर सन् १८९५ मा चलचित्रको जन्म भएको थियो । अनि चलचित्रकै विकल्प बनेर सन् १९२० मा टेलिभिजनको थालनी भयो । तर, मनोरञ्जनका यी तीन माध्यममा समयानुरूप प्रविधिको विकाससँगै प्रस्तुतिमा विविधता ल्याउँदै दर्शकको रुचिअनुरूप विकास हुँदै गएको पाइन्छ । मनोरञ्जनका यी तीनै माध्यमले दर्शकलाई आफूतर्फ आकर्षित गर्न नयाँ प्रयोग र प्रस्तुतिहरू अँगालिरहेका छन् ।
चलचित्र र टेलिभिजनसँगै नाटकले पनि दर्शकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने उपायको खोजीमा आफ्नो प्रस्तुति नयाँ बनाउँदै लगेको छ । आज दर्शक मनोरञ्जनका लागि पैसा खर्च गर्न तयार छन् । तर, दर्शकलाई आकर्षित गरेर तान्न सक्ने खुबी कला प्रस्तोताहरूमा पनि हुनु जरुरी छ । २०३९ साल भदौ २० गते त्रिभुवन विश्वविद्यालयको कोरोनेसन गार्डेनमा सर्वनामबाट पहिलोपटक खुला आकाशमा नाटक मञ्चन गरेका थियौँ । प्रयोगका रूपमा ‘हामी वसन्त खोजिरहेछौँ’ र ‘समाप्त असमाप्त’ दुई नाटक मञ्चन गरिएको थियो । मुलुकको तत्कालीन अवस्थाप्रति अप्रत्यक्ष व्यङ्ग्य गरिएकाले ‘हामी वसन्त खोजिरहेछौँ’ सडक नाटकलाई धेरैले मन पराए । यस नाटकलाई नेपालका विभिन्न सहरमा मञ्चन गरियो । यही नाटकबाट आधुनिक सडक नाटकको थालनी पनि भयो । समाजमा जनचेतना अभिवृद्धि गर्ने हतियार सडक नाटक बनेपछि यसका प्रस्तोता पनि बढ्दै गए । सडक नाटकको विशेषता भनेको कुनै पनि बेला, कुनै पनि ठाउँमा आफैँ दर्शक खोज्दै पुग्ने र दर्शकलाई समेत पात्र बनाएर नाटक मञ्चन गर्नु हो । त्यसैले थोरै समयावधिमै सडक नाटकले व्यापकता पाएको थियो । सडक नाटकमा हामी (कलाकार) दर्शकलाई पनि पात्रका रूपमा उपस्थित गराएर संवाद सम्प्रेषण गर्ने गथ्र्यौं । त्यसैले यसलाई सहभागितामूलक नाटक पनि भनिएको हो ।
नेपालमा निदाइसकेको रङ्गमञ्चलाई मनबहादुर मुखियाले ‘अनि देउराली रुन्छ’ नाटकबाट व्युँझाइदिएका थिए भने सर्वनामले २०३८ सालमा प्रयोगात्मक नाटकका माध्यमबाट दर्शकलाई नाटक हेर्न काउकुती लगाइदिएको थियो । त्यस्तै सर्वनामले सडक नाटकका माध्यमबाट नाटकलाई दर्शक भएको ठाउँसम्म पु¥याइदिएको थियो भने सुनिल पोखरेलले ‘गुरुकुल’को स्थापना गरेर दर्शकलाई प्रेक्षागृहभित्र गएर नाटक हेर्ने बानी बसालिदिनुभएको थियो । आज नयाँ–नयाँ रङ्गमञ्चले, नयाँ–नयाँ प्रयोगका प्रस्तुतिले दर्शकलाई झनै आकर्षित गरिरहेको छ । सर्वनाममा नाटक गर्दा कहिल्यै आर्थिक लाभका लागि गरिएन तर आज रङ्गमञ्चको प्रस्तुतिमा लगानीको बेग्लै हिसाब रहने गर्छ । यस्तै क्यानडामा सशुल्क प्रस्तुत गरिने एउटा नौलो नाटकबारे यहाँ चर्चा गरिन्छ । सन् १८८७ देखि टोरन्टोको ‘मिस्टरिओसली योर्स इन्क’ नामक कम्पनीले यहाँका पाँचतारे होटलको कुनै एउटा प्रेक्षागृहमा रात्रिको भोजनसँगै सहभागितामूलक नाटक प्रस्तुत गर्दै आएको छ । विशेषगरेर कसैको जन्मदिन मनाउँदै रात्रिभोजसँगै नाटकको आनन्द लिन सक्ने वातावरण त्यहाँ बनाइएको हुन्छ । नाटकको विशेषता भनेको रात्रिभोज गर्दै कसैको हत्याको अनुसन्धानक्रममा दर्शकको सहभागिता (इन्टरेक्टिव मर्डर डाइनिङ) त्यहाँ देख्न पाइन्छ । यो प्रस्तुतिले मनोरञ्जनसँगै आजको व्यस्त र थकित दैनिकीबाट तपाईंलाई एउटा बेग्लै आनन्द दिन्छ । यसको परिकल्पनाकारले आफ्नो पारिवारिक सहभागितामा यसको थालनी गरेका थिए । ‘फाउल प्ले’ नामबाट यस नाटकलाई चिनिन्छ । प्रायः जन्मदिन मनाउनेक्रममा परिवार तथा साथीसङ्गीसँग बसेर दर्शकहरूले यस नाटकबाट मनोरञ्जन लिने गर्छन् । होटलमा तपाईंको आगमन भएपछि हल्का पेय पदार्थ र केही खाजाको सेवन गर्दै गरेको अवस्थामा कलाकारहरू तपाईंको टेबलमा आएर सेवा प्रदान गर्छन् । ती कलाकारले रात्रिभोजका लागि उपस्थित दर्शकसँग कुरा गरेर आफ्नो परिचय दिँदै जान्छन् । तपाईं खानाका परिकारको आनन्द लिँदै जानुहुन्छ । अचानक तपाईंसँग कुरा गरेकामध्येबाट एकजनाको हत्या भएको जानकारी गराइन्छ । हत्याको अनुसन्धान सुरु हुने भएकाले तहकिकातका लागि तपाईंहरू सबैलाई आ–आफ्नो ठाउँबाट नउठ्न अनुरोध गरिन्छ । अनि कारबाही सुरु हुन्छ । कारबाहीसँगै तपाईं पनि नाटकको पात्र बन्न पुग्नुहुन्छ । एकजना सरकारी जासुस आएर तपाईंहरूसँग प्रश्नोत्तर गर्न थाल्छ । रात्रिभोजमा उपस्थित सबै दर्शकहरूसँग सोधपुछ गरिन्छ । होटलको परिचारिका भएर आएकालाई पनि कोठा नछोड्न आदेश दिइन्छ ।
भोजनको मजासँगै हत्याको सबुत प्रमाणको खोजीको अनुसन्धानमा पनि तपार्इं लाग्नुभएको हुन्छ । तपाईंले जासुसलाई पनि सहयोग गर्नुपर्छ । तपाईंले देखेको र परिचय भएको मानिसजस्तै हत्याराको खोजी भइरहेको हुन्छ । तपाईं आफैँ पनि हत्याराको खोजीमा हुनुहुन्छ । तर जसलाई जासुसले हत्याराको आरोप लगाउँछ, ऊ आफ्नो बचाउमा हत्या भएको समयमा तपाईंसँग रहेको बताउँछ । जासुसले उक्त समयमा ऊ (आरोपी) तपार्इंसँग रहेको थियो वा थिएन भन्नेबारे तपार्इंसँग अनुसन्धान गर्न थाल्छ । आरोप तपाईंमाथि पनि लाग्ने भएकाले समाधान गर्ने मौका तपाईंले पनि पाउनुहुन्छ । एकदमै मनोरञ्जनात्मक शैलीमा कलाकारहरूको अभिनयबाट अनुसन्धान रहस्यमय बन्दै जान्छ भने कौतूहल पनि बढ्दै जान थाल्छ । तपाईं खानाको मजा पनि लिँदै जानुहुन्छ । जन्मदिनको खुसियाली पनि मनाउँदै जानुहुन्छ । सँगसँगै नाटकको पात्र भएर हत्याको अनुसन्धानमा उपस्थिति पनि जनाउनुहुन्छ ।
नाटकको प्रस्तुतिमा तपाईंको सम्पर्क हलिउडका कुनै प्रसिद्ध व्यक्तिसँग हुन्छ । अनि तपाईंलाई उनको जन्मदिनको भोजमा निम्त्याइएको हुन्छ । (वा तपाईंको जन्मदिन पनि परेको हुन सक्छ) केही सयमपछि उनी कोठाबाट बाहिर जान्छन् । अनि अचानक कोठाभित्रको वातावरण नै बदलिन्छ । होटलको कोठामा उनको हत्या भएको खबर आउँछ । खबरसँगै जासुस पनि आउछँन् । अनि अनुसन्धान सुरु हुन्छ । यसरी तपार्इं पनि हत्याको रहस्यको समाधान गर्ने नाटकको पात्र भएर मनोरञ्जन लिन थाल्नुहुन्छ ।
लगभग साढे दुई घण्टाको यो रात्रिभोजनसहितको हत्याको रहस्यको मञ्चनमा सहभागिता जनाउन तपार्इंले प्रतिव्यक्ति १६३ क्यानेडियन डलर तिर्नुपर्छ । यसका लागि अग्रिम बुकिङ गर्नुपर्छ । दर्शकअनुसार मञ्च र बस्ने व्यवस्था मिलाइएको हुन्छ । प्रत्येक टेबलमा चारदेखि छजना दर्शक बसेका हुन्छन् । टेबलमा सबैको नाम राखिएको हुन्छ । तपाईं आएपछि एक–अर्कासँग परिचित हुँदै जानुहुन्छ । अनि रहस्यमय नाटकको पात्र बनेर रात्रिभोजसँगै आनन्द लिँदै जानुहुन्छ ।
वर्षमा एकै दिन भए पनि तपार्इं आफ्नो वा आफन्तको जन्मदिन मनाउँदै एउटा बेग्लैप्रकारको आनन्द यस नाटकबाट लिन पाउनुहुन्छ । यस नाटकमा सहभागी हुन र हेर्न मानिसको भीड लाग्छ । नाटकको यो नौलो प्रस्तुति उत्तर अमेरिकासहित युरोपेली मुलुकमा पनि विस्तार हुँदै गएको छ । नाटकले एकातिर दर्शकलाई एउटा बेग्लै आनन्द दिएको हुन्छ भने अर्कातिर नाटकसँग आबद्ध रङ्गकर्मीलाई आर्थिक रूपमा सहयोग पनि गरिरहेको हुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?