विवश वस्ती
आकाश छ्याङ्गै उघ्रिएको छ । मनमायाको मन भने रत्तिभर उघ्रिएको छैन । बादलको बाक्लो पर्दाले छोपेको छ उनको सुन्दर क्षितिजलाई । साँझसम्म त सञ्चै थियो उनलाई । तर प्रथम प्रहर बित्न–बित्न लागेपछि भने उनी एकाएक बिसञ्चो भइन् । पेट दुखेर फत्र्याक–फत्र्याक परिन् । दुख्न पनि असह्य रूपले दुख्न थाल्यो उनको पेट ।
उठेर बत्ती बालिन् । चारैतिर चकमन्नता मात्र पसारिएको थियो । कहीँकतै पनि चालचुल थिएन । उनको स्वर दबिएको थियो । पीडामिश्रित । ‘अलि बढी नै कस्नुप¥यो, पटुकीले...।’ उनले सोचिन् र पेट कस्न थालिन् पटुकीले । पहिला–पहिला पनि तल्लो पेट दुख्दा उनी यस्तैगरी कस्थिन् पटुकी । कताकता हलुका र क्षणिक राहत प्राप्त भएको महसुस गर्थिन् । आज पनि त्यसै गरिन् । पीडाको तह घटाउने उपाय अपनाइन् ।
‘एकपटक देखाउनुस् न, दिदी । गाममै शिविर आएको छ । रोग पालेर बस्नुभन्दा त डक्टरलाई देखाउनु ठीक हो नि ।’ पहिला–पहिला असाध्यै पेट दुख्दा शुभचिन्तकहरूले यस्तो आग्रह नबिसाएका होइनन् उनीसामु ।
‘का“ देखाउनु यस्तो कुरा ?’ उनी हच्किने गर्थिन् र आफ्नो रोग लुकाउ“दै भन्ने गर्थिन्, ‘मेरो मात्रै होइन । यस्तो समस्या गाउ“का धेरै दिदी–बहिनीका छन् । कसरी भन्ने यस्तो कुरा अरूलाई ? समाजले थाहा पाए भने के भन्छ ? परिवारले थाहा पाए भने के भन्छ ? हुन्न । बरु मरु“ला तर कतै पनि कसैलाई पनि थाहा दिन्न म ।’ मनमाया दृढ देखिन्थिन्, ‘यो त ग्रामीण भेगका सबै कामकाजी महिलाका समस्या हुन्...।’
‘त्यसैले त मैले भनेकी नि । एकपटक डक्टरलाई देखाउनुस् । धेरै महिलाले यो रोगबाट मुक्ति पाएका छन् ।’ कसै–कसैले सुझावको पोका फुकाउँथे तर मनमाया भने मौन बस्थिन् । मनमायाले आफ्नो रोग लुकाइरहिन् ।
आज त झनै च्याप्यो, उनलाई । घोप्टो परेर, पेट दबाएर सुतिन् । उज्यालो भइसकेछ । पूर्ण उज्यालोमा ब्यु“झिएको सम्भवतः प्रथमपटक नै हो यो उनको जीवनमा । नभए अन्तिम प्रहरको मध्यतिर उठ्ने र घरधन्दा भ्याउने गर्थिन् । यस्तै नित्य चर्यामा अभ्यस्त भइसकेकी थिइन् उनी ।
‘आमा, उठ्ने बेला भएन ?’ सानी छोरीले झक्झक्याएपछि उनले आ“खा खोलिन् ।
हो, पूरै उज्यालो भइसकेको रहेछ ।
००
मनमायाको शरीर बोझिलो थियो । रातभरिको अनिँदो र निरन्तर पेटको दुःखाइले उनको आँखा कताकता सुन्निएको प्रतीत हुन्थ्यो । यद्यपि शरीरबाट स्फूर्तिका अंशहरू गायब भए पनि उनले मनमनै सोचिन्, ‘हैन, आज जङ्गल जानैपर्छ । जतिसुकै कष्ट भए पनि जङ्गल नगई हुँदैन । भोलिको हटियामा टुसा लगेर बेचिएन भने नुन–भुटुनको जोहो गर्न सकिँदैन ।’
मनमाया तेजिलो देखिइन् । डोको ठीक पारिन् । एउटा प्लास्टिकभरि हिजै भुटेर राखेको मकै, भटमास राखिन् र छोरीलाई अह्राउँदै भनिन्, ‘भैँसीलाई कुटमिरो काटेर हालिदे है । दिउँसो घाम लागेपछि सिँगारी बाख्रीलाई घाममा सारिदिनू ।’ नजिकैको गोठनिर बाँधिराखेको बाख्रा र भर्खरै जन्मिएका दुईटा पाठातिर नजर पु¥याउँदै प्रफुल्ल भइन् । नवजात पाठालाई हेरेपछि रातभरिको पीडालाई उनले निमेषभरमै भुल्न पुगिन् ।
‘ठीक पर्नुभएको छैन दिदी ?’ उनको आँगनमा चमेली टुप्लुक्क आइपुगिन् । अरू दिन भने उनी चमेलीलाई बोलाउन पुग्थिन् । आज भने आफँैलाई बोलाउन आएको देखेपछि उनले चकित पर्दै भनिन्, ‘आज त तिमी नै आएछौ त । म नै ढिलो भएँ क्या । के गर्नु, रातभरि सञ्चो भएको हैन । बिहान पनि बल्लतल्ल उठेँ ।’
‘के भो ? उही समस्या हो कि, क्या हो दिदी ?’ अनिदोपनले बिथोलेका मनमायाको अनुहारतिर एक नजर डुलाउँदै चमेलीले सोधिन् र भनिन्, ‘तपैंलाई त यो समस्याले निकै पिरोल्ने भो ।’
‘अँ, राति धेरै नै च्याप्यो । पहिला–पहिला यस्तो हुँदैनथ्यो । आज राति भने आँखा नै झिम्क्याउन पाएको छैन ।’ मनमायाले उद्विग्न अनुहार पार्दै भनिन् ।
‘एकपटक सहर गएर महिला डक्टरलाई देखाउनुस् भन्दा मान्नुहुन्न । अलिअलि पैसा त खर्च भइहाल्छ नि । यस्तो रोग पालेर बस्नु हुँदैन है, दिदी । चाँडै नै देखाउन जानुस् ।’ चमेलीले सुझाव दिँदै भनिन् ।
मनमायाले मौन बस्ने रुचि देखाइन् । पात्लेको विशाल जङ्गल उनीहरूको जीवन धान्ने आधार बन्दै आएको छ, वर्षौंदेखि । त्यो जङ्गलमा असाध्यै पाइन्छन्, टुसा । त्यही टुसा भाँचेर केही टाढाको सहरमा लगेर बेच्छन्, उनीहरू । सहरमा शनिबारको दिन भव्य मेला लाग्छ । सहरमा अरू दिन पनि किनमेल नहुने त होइन । तर शनिबार भने टुसाको बिक्री असाध्यै हुन्छ । मनमाया, चमेली, सन्ध्या, बाटुली, टुल्की, बाबरी...त्यो गाउँका थुप्रै महिलाको नित्य चर्या नै टुसा टिप्ने र हटियामा लगेर बेच्नमा बित्दै आएको छ । टुसाको मौसम नभएको बेला भने उनीहरू निगुरोजस्ता जङ्गली तरकारी टिपेर बेच्नमा आफूलाई व्यस्त राख्छन् । त्यही टुसा, निगुरो बेचेर नै उनीहरूले घर–परिवारका आवश्यकता टार्दै आएका छन् । यद्यपि, टुसाबाट भने अपेक्षाकृत नाफा हुने भएको हुँदा उनीहरू अनकन्टार झाडी, खोल्सा र सिमसारमा डुलेर टुसा भाँच्ने गर्छन् ।
‘सहरका मानिसले कति मन पराएका होलान्, यो टुसा पनि । हामीलाई भने केही न केही...।’ बाटुलीले मुख लेप्य्राउँदै भनिन् । ‘यो जति पोसिलो त अरू के नै होला र ? स्वादिलो पनि उत्तिकै हुन्छ ।’ मनमायाले भनिन् ।
‘अचेल सहरका मानिसहरू जङ्गली चिजहरू खान धेरै नै मन पराउँछन् रे । उनीहरू अर्गानिक तरकारी, फलफूल, अन्नपात भनेपछि त भुतुक्कै हुन्छन् रे ।’ टुल्कीले भनिन् ।
००
तीन वर्षअघि मनमायाको जीवनमा भयङ्कर वज्रपात प¥यो । एकैछिनको बेथा लागेर उनका पति बिते । बिहान चिया पिएर आँगन छेउको पेटीमा बस्नै लागेका बेला उनका पति एक्कासि ढल्न पुगेका थिए र ढल्नेबित्तिकै आँखा पर्लक्कै पल्टाएका थिए । मनमाया पानी लिन हतारहतार घरभित्र छिरेकी थिइन् तर पानी लिएर बाहिर आउँदा उनका पतिले भौतिक देह त्याग गरिसकेका थिए । त्यसयता उनले एकल जीवन बिताउँदै आएकी छन् । सन्तानको नाममा भएका दुइटी छोरीमध्ये जेठीको केही वर्षपूर्व नै घरजम भइसकेको थियो भने उनीसँग कान्छी छोरी बस्दै आएकी छन् । तिनै छोरीको अनुहार हेर्दै उनको जीवनचर्या बितिरहेको छ ।
हिउँदको समय । बिहान सबेरै उठेर मनमाया जङ्गल जाने तर्खरमा जुटेकी थिइन् । उनी साथीको पर्खाइमा थिइन् । त्यतिबेलै बाटुलीले रङ्गीचङ्गी कागजको मुठा लिएर आइन् र भनिन्, ‘दिदी, आज जङ्गल नजाऔँ होला ।’
‘किन ?’ मनमाया उत्सुक देखिइन् ।
‘यी हेर्नुस् न ।’ बाटुलीले हातले समाइरहेको कागजको मुठा देखाउँदै भनिन्, ‘आज हामीकहाँ भोट माग्न मान्छेहरू आउँदैछन् । गाउँमा कार्यक्रम पनि राख्ने रे । सप्पैलाई कार्यक्रममा बोला’छ । अँ, साँच्ची तपैंले विधवा भत्ता त पाउँदै आउनुभएको छ नि, हैन र ?’ ‘छु, किन र ?’ मनमाया झनै उत्सुक देखिइन् ।
‘अब त विधवा भत्ता पनि बढाउने रे । अब त गाउँमा चुनिएर आउने मान्छेलाई सप्पै अधिकार हुन्छ रे । उसले चाह्यो भने वृद्ध भत्ता, विधवा भत्ता आफैँले बढाउन सक्छ रे । पहिलाजस्तो माथिबाट बढाउने निर्णय कुर्नुपर्दैन रे अब । गाउँमा चुनिने मानिस नै शक्तिशाली हुन्छन् रे ।’ बाटुलीले अनुहारभरि चमक उमार्दै भनिन् ।
मनमायाको अनुहार पनि केही उज्यालो देखियो । उनले भनिन्, ‘अँ, रेडियोले त सिंहदरबारको अधिकार अब गाउँमा पुग्छ भनेर बारम्बार फलाकिरहेको सुनेको थिएँ । ए, त्यस्तो हो र ? गाउँमा चुनिने मानिस आफैँले जे पनि निर्णय गर्न सक्छन् र ?’ ‘हो, दिदी । यो सङ्घीयता भन्ने कुरा त फाइदाजनक चिज पो रहेछ । पहिला–पहिला सिंहदरबारमा बस्नेहरूले जे निर्णय गथ्र्यो, त्यो गाउँका मानिसहरूले स्वीकार्नुपथ्र्यो तर अहिले त गाउँका प्रतिनिधिले आफूखुसी निर्णय गर्न पाउने भए । योजति राम्रो र खुसीको कुरा अरू के हुनसक्छ र, हैन त दिदी ?’ निकै समयदेखि हातमै च्यापिरहेको पोस्टर फुकाउँदै बाटुलीले भनिन् । अनि उनीहरू त्यो पोस्टर हेर्न थाले । मनमायाले रमाउँदै भनिन्, ‘ओहो, यो पोस्टरमा पनि सप्पै कुरा लेखेको रहेछ । मलाई त खुसी लाग्यो ।’
‘म अरूलाई पनि खबर गर्न जान्छु । खाना खाएर आउनुस् है, दिदी ।’ बाटुलीले मनमायाको घरभन्दा मुनिको डगरमा छिटो–छिटो पाइला लम्काउन थालिन् र केही क्षणमा नै अलप भइन् ।
‘गाउँको सर्कारले हामीजस्ता दुःखी र गरिबको कल्यान गर्ने भो, अब ।’ मनमायाले आफूभित्र फैलिइरहेका खुसीका तरङ्गहरू सम्हाल्न थालिन् ।
दिउँसोको माहोल निकै उत्साहजनक थियो । पानतले गाउँका सबै मानिस ओइरिएका थिए, गाउँभन्दा केही तलको ठूलो चौरमा । रङ्गीबिरङ्गी झन्डा बोक्ने मानिसको लर्को नै लागेको थियो । मनमाया भने चौरको एउटा छेउमा उभिएर ती सबै दृश्य÷परिदृश्य नियालिरहेकी थिइन् । उनमा कताकता उत्सुकता र कताकता डर त थियो नै, उनी कताकता लघुताभासको सनासोले पनि च्यापिएकी थिइन् र मनमनै सोचिरहेकी थिइन्, ‘आम्मोइ, यति धेरै मानिसहरू भएको ठाउँमा म कसरी बस्ने होला ?’
पहिला–पहिला चुनाव हुँदा गाउँमा यस्ता सभाहरू हुन्थे, टन्नै । कहिले कसले सभा गथ्र्यो, कहिले कसले । तर मनमायाको चासोको सीमाभित्र ती सभाहरू कहिल्यै परेनन् । उनको चासोमा पर्दथ्यो– केवल उही घाँस, उही दाउरा, उही पँधेरो, उही मेलापात । त्यस्ता सभामा उनका पतिले भाग लिन्थे । जे गर्थे, पतिले नै गर्थे । झन्डा बोक्ने, पोस्टर टाँस्ने, गाउँका मानिसलाई बटुल्ने, सप्पै काम उनका पतिले नै गर्दथे ।
आज भने मनमायाले आफ्नै आँखाले देखिन्– सयौँ मान्छे, सयौँ रङ्गीबिरङ्गी झन्डा, सयौँ पदचाप । आफ्नै आँखाले देखिन्, प्रत्यक्षतः । कसले के भने, कसले के भने । उनका दिमागले ती सबै कुरा टिप्न सकेनन् । तर उनले अघाउँजी नै अरूका मीठा र नम्र कुरा सुनिन्, गाउँको कायापलट गर्ने भाषण सुनिन्, बाटो बनाउने कुरा सुनिन्, वृद्ध र एकल महिलाको भत्ता बढाउने कुरा पनि सुनिन् । नयाँ, नौलो र मन नै गद्गद् पार्ने कुरा सुनिन् ।
घर फर्किंदा पनि उनको कानमा दिउँसोका भाषण प्रतिध्वनित भइरहेको थियो । ती मानिसले बोलेका कुरा भँवराको गुनगुनझैँ अप्रतिम रूपमा गुन्जिरहेको थियो ।
००
मनमायामा निस्सीम क्षोभ व्याप्त छ आज ।
मनमाया मात्र होइनन्, गाउँका सबै महिलाहरू क्षुब्ध छन् । उनीहरू सीमाहीन क्षुब्धता बोकेर गाउँको सानो चौतारीमा उभिएका छन् । कसैका अनुहारमा पनि खुसीको लेप मात्र पनि मौजूद छैनन् ।
‘तिम्ले त अब गाउँमा बन्ने सर्कारले...।’ मनमायाले कुराकानीको बिट उप्काउँदै भनिन् ।
‘भन्या हुँ, दिदी । मैले नै भन्या हुँ । गाउँमा बन्ने सर्कारले राम्रो काम गर्छ भनेर मैले नै भनेकी हुँ । तर भएन त्यस्तो । हामीले सोचेजस्तो ।’ बाटुलीले निन्याउरो अनुहार पार्दै र क्षमाप्रार्थीको भाव–भङ्गीमा प्रदर्शन गर्दै भनिन् ।
‘त्यो मान्छे त कस्तो लाज पचेको रहेछ ।’ टुल्की क्रुद्ध देखिन्थी । उनले आफूमा सल्बलाइरहेको क्रुद्धता प्रदर्शन गर्दै भनिन्, ‘अबदेखि हामीले जङ्गलबाट टिपेर बेच्न लैजाने टुसाको पनि कर तिर्नुपर्ने रे । कस्तो अचम्मको नियम ? कस्तो कानुन ? धेरै नै अचाक्ली गर्न थाल्यो अब त ।’
‘हो, हामीले अहिलेसम्म टुसा बेच्दा कसैलाई कर तिर्नुपरेको थिएन । झन् नयाँ सर्कार, नयाँ व्यवस्था आउँदा हामीले अझ सहुलियत पाउँला भनेको त उल्टै हामीले बेच्दै आएको टुसामा नै कर पो लगाउने रे ।’ चमेलीले हावामा हात उज्याउँदै भनिन् । ‘टुसा टिप्न कति दुःख गर्नुपर्छ, हामी सप्पैलाई थाहा छ । जङ्गल–जङ्गल चहारेर खोज्नुपर्छ, घन्टौँ हिँडेर बजारमा लगेर बेच्नुपर्छ । हामीले त्यत्रो मेहनत गरेर, पसिना चुहाएर बजारमा लगेर बेचेको टुसाको पनि अब कर तिर्नुपर्ने रे । हामीलाई त रैती नै ठान्या हुन् कि क्या हो ?’ कहिल्यै नबोल्ने बाबरी पनि आज भने च्याँठ्ठिइन् ।
‘अब अरू केही नगरौँ । भोलि हामी सप्पै त्यो गाउँपालिकाको अफिस घेर्न जाऔँ । हाम्ले भोट दिएर जिताएर पठा’का मान्छे त हुन् नि । हाम्रो कुरा पनि तिनेरुले सुन्नुपर्छ । सुनेनन् भने देखा जाएगा । तिनेरुलाई यहीँ गाउँमा त बस्नुपर्ला नि, यहीँ त बाँच्नुपर्ला नि ।’ बाटुलीले अझ चर्को स्वरमा आफ्नो कुरा राखिन् । ‘हो, त्यसै गरौँ । भोलि बिहानै जाऔँ । हामी कुनै पनि हालतमा टुसाको कर तिर्दैनौँ । यही कुरा राखौँ ।’ चौतारोको सीमित परिधिमा समवेत नारी स्वर गुञ्जायमान भयो ।
‘जेमा पनि कर । हुँदाहुँदा अब त टुसामा पनि कर ।’ मनमायाको मन आक्रोशले हुँडलिइरहेको थियो । अरू महिला पनि आक्रोशको मुद्रा बोकेर उभिएका थिए, चौतारा वरिपरि ।
घाम, आकाशको मध्यवृत्ततिर उक्लिँदै थियो र चौतारामा उभिएको शमीको पात र हाँगाको चेप–चेपबाट घामको किरणले एकोहोरो चियाइरहेको थियो ।