प्रा.डा. दिनबहादुर थापा
मिति : कोभिड नाइन्टिन ।
प्यारी छोरी जेनी,
हृदयको अन्तस्करणबाटै धेरैधेरै माया ।
म यहाँ सन्त्रासमै भए पनि सकुशल छु । तिमीलाई त्यहाँ के कस्तो छ ? पत्रमार्फत अवगत गराउँदै जानू । कोरोनाको त्रासले रातमा निद्रा, दिनमा भोक र गोजीमा पैसा भएर पनि बजारमा सामान किन्न नसक्दा भोकभोकै मर्नुपर्ने परिस्थिति छ भन्ने तिम्रा ती पीडादायी खबरले मलाई यहाँ मर्माहत बनाएको छ । आफ्ना सन्तानप्रतिको माया कति हुन्छ भन्ने यथार्थ ज्ञान त उही दस महिना कोखमा पाल्ने, दस धारा दूध पिलाउने र दस नङ्ग्रा खियाएर बच्चा हुर्काउने आमालाई मात्र थाहा हुन्छ । दुःखको यो घडीमा एकले अर्कालाई सान्त्वना दिनुबाहेक अरू बढी के पो दिन सकिन्छ र ? तैपनि स्वास्थ्यकर्मीले दिएको सुझावको पालना गर्नू, सरकारले अवलम्बन गरेको नियमको उल्लङ्घन नगर्नू र सङ्कटको घडीमा आत्मबल उँचो बनाउनू छोरी ।
छोरी, मेरा रङ्गीन सपनाहरू कुहिरोमा काग रुमल्लिए भैmँ भएका छन् । तिम्रो ठूल्दाइ राजनीति गर्छु भन्दै हिँड्यो । माल्दाइ स्वदेशमै बन्दव्यापार गर्न थाल्योे । तिम्रो कान्छो भाइ मुक्तिका लागि सङ्घर्ष गर्छु भन्दै हिँड्यो । तिमी परदेशतिर, तिम्रा तीन दाजुभाइ तीनतिर लागे । आपसमा झगडा गरे । एउटाले बनाउने अर्काले भत्काउन थाले । सम्झाइबुझाइ गर्दा पनि मेरो केही लागेन । अहिले पनि कोभिड–१९ को सन्त्रास दिनानुदिन बढ्दै गएको छ । तिम्रा दाजुहरू आपसमा मिलेर समस्याको समाधान गर्ने होइन कि एकले अर्कालाई हिलो छ्याप्ने प्रतिस्पर्धामा लागिरहेका छन् । सत्ता र शक्तिको होड र उन्मादमा छन् । छोरी यो दुःखको क्षणमा आफ्नै घरको भेद खोल्दा तिमीलाई दुःख त लाग्ला तर आफ्ना मनका पीडा पोख्दा मन केही हल्का हुन्छ कि भनेर तिमीलाई सुनाउँदैछु । मेरा मनका यी पीडा तिम्रा सन्तानलाई पनि सुनाउँदै जानु है ।
छोरी, तिम्रो जेठो दाजुले बाबुबाजेले जोडेका र साँचेर राखेका उद्योगधन्दा र खोलानाला कौडीको मूल्यमा बेच्यो । आफैँ जुत्ता सिलाउने र कारखाना चलाएर घरभेटी बस्ने होइन, बरु बिचौलियालाई ठेक्कामा दिई घरमूली त मुनाफा बुझेर बस्ने हो भन्दै हिँड्यो । छिमेकीको उक्साहटमा लागेरै होला ‘उदारवाद, बहुलवाद, मानवता, स्वतन्त्रता, भूमण्डलीकरण’ केके भन्दै हिँड्यो । मैले केही बुझिनँ । रातारात खर्बपति पनि बन्यो रे । उसका पैसा युरोप र अमेरिकी बैङ्कमा छन् रे भन्ने पनि सुन्छु तर यो दुःखको घडीमा तीे पैसाले कसलाई के काम दिन्छ ? मलाई केही थाहा छैन छोरी । तिम्रो दाजुको ‘गाउँमा होइन सहरमा बसौँ, स्वदेशको साग र सिस्नो होइन, विदेशका भिजा र पिज्जामा रमाउँ’ भन्ने उदारवादी शिक्षाको फल तिमी आफैँ भोग्दै छौ । तिम्रो आधुनिक शिक्षाले तिमीलाई कहाँ पु¥याउने हो ? देशलाई के फाइदा ? के घाटा हुने हो ? मैले केही बुझेको छैन छोरी । अहिले तिम्रो ठुल्दाइ व्यापारमा लकडाउन भयो भन्दै गाउँ फर्केेको छ । मैले उसको लक्ष्य, उद्देश्य र दूरदृष्टि केही पनि बुझेकी छैन ।
छोरी, तिम्रो माल्दाइ पनि ठूल्दाइकै सिको गर्दै सहरमा शिक्षा, स्वास्थ्य, असरकारी सेवा र जग्गा प्लटिङको नयाँँ व्यवसाय सुरु ग¥यो । व्यापार पनि निक्कै फस्टाएको थियो । तर छोरी, अहिले कोरोनाको कहरले उसको स्वास्थ्यको व्यापार त चौपट भइसक्यो । अन्य व्यवसाय पनि के हुने हो चिन्ताको विषय बनेको छ । अहिले ऊ पनि सहरमा बस्नसक्ने अवस्था नभएर गाउँघरतिरै बस्न थालेको छ । हिजोसम्म मलाई केही गर्न सकिनस्÷दिइनस् भन्ने छोराहरू आज आफैँ एउटाले अर्को भाइलाई दोषारोपण गर्दै कोरोनाको चपेटामा पर्दैछन् । उनीहरूको सद्बुद्धि कहिले फिर्ने हो ? हेर्न अझै बाँकी छ ।
छोरी, तिम्रो कान्छो भाइ दाजुहरूको अकर्मण्यता र अरूकै बहकाउमा लागेर नजा नजा भन्दाभन्दै ‘मुक्ति, सङ्घर्ष, बलिदान, ध्वंस, छलाङ, न्याय, समानता, राष्ट्रियता’ केके भन्दै घर छाडेर हिँड्यो । आज २४ वर्ष पूरा भइसक्ता पनि उसको हालत पनि उस्तै छ । विध्वंस मच्चाउनसम्म त उसले सक्यो तर नयाँ सिर्जना भने केही गर्न सकेन । बरु आफैँ विकलाङ्ग बन्न पुग्यो । अहिले ऊ न गाउँ, न सहर, न शक्ति, न सत्ता, न सिद्धान्त, न त व्यवहार भएको छ । छोरी तिमीलाई पनि मैले घरदेशमै बसेर केही काम गर त भनेकै हो । घरको अराजक परिस्थिति देखेर परदेशतिर लाग्यौ । परिस्थिति कस्तो आउने हो ? मलाई त चिन्तैचिन्ताले सताएको छ । आफ्नो कपाल कन्याई आफैँमाथि छारो भन्छन् । विगतलाई भुलेर भविष्यलाई सोच्नुपर्छ । अब कुनै वाद–विवाद, पक्ष–प्रतिपक्ष र घरदेश–परदेशकोे बहसमा नलागी आपूm बचेर मानवलाई बचाउँ भन्ने परिस्थिति सिर्जना भएको छ ।
छोरी, तिमीलाई कहिलेकाहीँ गाउँघर र आफ्नो बाल्यकालको याद आउँछ होला । तिमीलाई रुघाखोकी लाग्दा नुनबेसार, लसुन, अदुवा, तुलसी, रुदेलो पकाएर खाएको, ज्वरो आउँदा रुवाउँदै तितेझार (चिराइतो) कुटेर खुवाएको, घाँटी खसखसाउँदा जेठीमधु, बोझो, गुर्जो मुखमा च्यापेर हिँडेको अनि एकपटक तिमीलाई पिनास पर्दा बेसारको टुक्रा तेलमा भिजाएर आगोमा बाल्दा निस्केको धुवाँ र मरिच पोलेको बास्ना सुँघेको, तुलसी र असुराको पात पकाएर महसँग हत्केलामा चाटेको अवश्य बिर्सेकी छैनौ होला । तिम्रो छिमेकी दाजुको तिम्रै आँखा अगाडि बाल्यकालमै गाईले कुल्चेर बायाँ खुट्टाको नलीहाड थिलथिलो पर्दा फुटेका हड्डी निकालेर तिम्रै काकाले तत्कालै स्थानीय जडीबुटी मिलाई काम्रो बाँधेर निको बनाएको घटना अझै तिम्रो मस्तिष्कमा ताजै छ होला । यी घटना तिमीले अवश्य भुलेकी पनि छैनौ र भुल्ने पनि छैनौ ।
छोरी, मैले तिमीलाई हाम्रो चिकित्सापद्धति असाध्यै राम्रो प्रविधियुक्त थियो भन्न खोजेकी होइन । त्यो अभावमा पनि कति सरल, सुलभ, सहृदयी र निःशुल्क उपचार पद्धति थियो भन्न खोजेकी हुँ । यही हाम्रो परम्परित उपचार पद्धति आज कति दुर्लभ, महँगो र अप्राकृत–विकृत भइसकेको छ ? गरिब र असहायका निम्ति कति पहुँचभित्र छ ? त्यो त तिमीलाई नै थाहा छ । ‘विचार विज्ञान’ लेख्ने स्वामी खप्तडबाबा आधुनिक चिकित्सा पेसा छोडेर किन योग, ध्यान र प्राकृतिक चिकित्सा पद्धतिमा फर्केका हुन् ? अब अध्ययन गर्नुपर्ने बेला आएको छ । यो मात्र होइन छोरी, धन्वन्तरिको चिकित्सापद्धति, पतञ्जलिको महाभाष्य र आयुर्वेद (पौर्वात्य चिकित्सापद्धति) विद्याको गहन अध्ययन गरेर आफ्नो उपचार व्यवस्था आफैँ गर्नुपर्ने बाध्यताको पाठ कोरोनाले मानवजातिलाई नै सिकाइरहेको छ ।
छोरी, मेरो भित्री चाहना त तिमीलाई आफ्नै मातृभाषामा बोलाउने, संस्कृति सिकाउने र प्रकृतिलाई चिनाउने थियो । तिमीलाई पूर्वीय ज्ञानभन्दा पश्चिमी विज्ञानमा रम्ने चाहना बढी भयो । तिम्रो इच्छाविपरीत मैले केही भन्न सकिनँ । माफ गर छोरी, मैले तिमीलाई हाम्रो भाषा, संस्कृति र प्रकृति चिनाउन सकिनँ । खप्तडबाबाको ‘विचार विज्ञान’ पढ्न लगाइनँ, चाणक्यको कूटनीति सुनाउन सकिनँ, गीताको ‘कर्म गर फलको आशा नगर’ भन्ने दर्शन बुझाउन सकिनँ । अनि त सङ्कट निम्तिँदैछ ।
हो छोरी, मैले तिमीलाई बालकृष्ण समको ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ’ भन्ने सूक्तिसमेत सुनाउन पाइनँ । मसँग पर्याप्त ज्ञान, सीप, अनुभव र मौलिक दर्शन भएर पनि मसँग भाषिक सामथ्र्य र सम्प्रेषण सामथ्र्य भएन । पाणिनिको व्याकरणलाई मैले नि अनुसरण गर्न सकिनँ । नोम चोम्स्की, डेल हाइम्स, सपिर र होर्फले बुझेको आफ्नो मातृभाषाको महत्वलाई मैले बुझिनँ वा तिमीलाई बुझाउन सकिनँ । तिमी अरूको भाषा, संस्कृति, सभ्यता र भूगोलको विचरणमा रम्यौ । तिमी मसँग सधैँ अणु, परमाणु, जीवाणु र वैयक्तिक सुखभोगका विषयमा मात्र कुरा गरिरह्यौ । वस्तुलाई मात्र महत्व दियौ । विज्ञानमा बहस ग¥यौ । भौतिक सुखभोगमा रमायौ । तर छोरी, तिमीलाई आत्मा, परमात्मा, अध्यात्म, विचार, ज्ञान, स्वाभिमान र अभिमान कुन चराको नाम हो थाहा भएन ।
छोरी, तिमीले सूक्ष्माणु वा पदार्थ त चिन्यौ तर सूक्ष्माकार परमात्मालाई चिनेकी छैनौ । पदार्थको नियमानुसार पनि ढुङ्गोभन्दा माटो, माटोभन्दा पानी, पान(ीभन्दा बाफ, बाफभन्दा पनि वायुको गति सूक्ष्म र बलवान् हुन्छ । सूक्ष्म भइकन पनि वायुको भन्दा शब्दको, शब्दको भन्दा प्रकाशको र प्रकाशको भन्दा विद्युतको क्षमता बढी हुन्छ । विद्युतको भन्दा पनि सूक्ष्म शक्ति र गति त छोरी विचारको हुन्छ । यही विचारको गति र क्षमताको अध्ययन नै पूर्वीय अध्यात्म हो । पूर्वीय ज्ञानमा इन्द्रिय, मन, प्रकृति र पुरुषको गहन अध्ययन भएको छ । पश्चिमी भौतिकवादी दर्शनको राम्रो अध्ययन भएका खप्तडबाबाले त्यसै ‘विचार विज्ञान’ लेखेनन् । अनि समले त्यसै ‘रोएर विज्ञान मर्दछ’ भनेका होइनन् छोरी ।
छोरी, पूर्वीय सभ्यता सबै राम्रै राम्रो गुणले भरिपूर्ण थियो पनि भन्न खोजेकोे होइन । त्यहाँ पनि युद्ध÷द्वन्द्व, भेदभाव, अहंकार, फट्याइँ, धुत्र्याइँ, निरङ्कुशता आदि नभएको त कहाँ हो र ? पूर्वको यही कमजोरीबाट पश्चिमाले फाइदा उठाएकै हुन् । पूर्वीय ज्ञान पश्चिमी विज्ञान भयो । यो विज्ञान कहिलेसम्म कसरी टिक्छ भन्ने मात्र हो । पश्चिममा विज्ञानसँगै अनेक महामारी (प्लेग, बिफर, विभिन्न फ्लु, एचआईभी एड्स, हैजा, स्वाइन फ्लु, सार्स कोरोना, इबोला कोरोना, मर्स कोरोना, कोभिड नाइन्टिन), पहिलो र दोस्रो विश्वयुद्ध, अनेक दैवी प्रकोप नआएका त कहाँ हुन् र ? यिनै समस्याको समाधानबाट सम्भावनाको खोजी उनीहरूले गरेका मात्र हुन् । यिनै समस्यासँग जुधेर नै उनीहरुले साम्राज्य, एकाधिकार, प्रगति र दादागिरी हासिल गरेका हुन् । नेपालले पनि जनयुद्ध, जनआन्दोलन, भूकम्प, नाकाबन्दी आदि समस्यासँग जुध्नाले गणतन्त्र, नयाँ संविधान, सङ्घीयता, पुनर्निर्माण आदि उपलब्धि हासिल गर्न सफल भएको हो ।
हरेक समस्यासँग सम्भावना पनि हुन्छ । कविलेखकहरूले ‘कालो बादलमा एउटा चाँदीको घेरा हुन्छ’ त्यसै भनेका होइनन् । अहिले नेपाली शब्दकोशमा ‘लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, कोरोना (कोभिड नाइन्टिन), पीपीई (वैयक्तिक सुरक्षा कबच)’ जस्ता नयाँ शब्द थपिएका छन् । यी पारिभाषिक शब्दले स्वास्थ्य, शिक्षा, सुरक्षा र खाद्यान्नलाई पूर्ण राज्यको नियन्त्रणमा राख्नुपर्दछ भन्ने अर्थलाई द्योतन गरिरहेका छन् । आशा गारौँ छोरी, कोरोनाको कहरसँगै राज्यले शिक्षा, स्वास्थ्य र खाद्यान्नलाई मात्र भए पनि संविधानको मर्मानुसार नै नागरिकको मौलिक हकअन्तर्गत पूर्णरुपेण आफ्नो नियन्त्रणमा लिन सक्यो भने पनि ‘माफिया, दलाल, दलाली, तस्कर, कालोबजारी, कमिसन, बिचौलिया’ जस्ता अप्रिय शब्द कानले सुन्नुपर्ने छैन । तिमी पनि बच्चाको शिक्षा, स्वास्थ्य र पेट पाल्न भन्दै अर्काको देशमा ‘आप्रवासी, प्रवासी, परदेशी, डायस्फोरा, पराश्रित, श्रमिक, बहादुर, गोर्खे’ जस्ता शब्दले सम्बोधित हुनुपर्ने छैन छोरी । तिमीलाई यी शब्दले सम्बोधन गरेको सुन्दा मेरो मुटुमा सियोले च्वास्स घोचे जस्तो हुन्छ ।
कोभिडको त्रास, निराश र हतासमा बस्ने होइन छोरी । ढिलै भए पनि अब त घर फर्क । सास रहेसम्म आस बाँकी नै रहन्छ । ती तिम्रा दाजुभाइलाई शान्ति, समृद्धि, भ्रातृत्व र राष्ट्रियताको पाठ सिकाऊ । मुलुकलाई लकडाउन, क्वारेन्टाइन र आइसोलेसनबाट छिट्टै मुक्त गर । म तिम्रै प्रतीक्षामा छु । तिमी परदेशी जेनी होइन छोरी, अब नेपाली लक्ष्मी (धन), सरस्वती (विद्या) र दुर्गा (शक्ति) बन । नेपाल र नेपालीले कुनै प्रकारको अभाव, प्रभाव र दबाब भोग्नुपर्ने छैन ।
तिम्री प्यारी आमा नेपाल