प्रा.डा. कपिल लामिछाने
आँगन, पिँढी या मझेरीभरि मकैका खात । खातका वरिपरि बूढाबूढी, युवकयुवती र केटाकेटीको घेरो । सबैका हातमा मकैका घोगा या पुड्का । मकै खोस्ल्याउन या झोली पार्न प्रायः फुर्सदको समय रोजिन्छ । त्यस्तो फुर्सद हुन्छ, बेलुकाको खाना र धन्धापछि । निद्रा लाग्ने बेलामा काममा लाग्नुपर्ने । यस्तैमा एकातर्फबाट फुत्त प्रश्न झर्छ– सानोसानो रूख चढ्नाको दुःख, के हो ? झटपट उत्तर आउँछ– यो त मलाई थाहा छ, सिस्नो हो ।
एउटा रोटीमा चारवटा प्वाल के हो नि ? सुरु भयो, गाउँखानेको रमाइलो । सबै मुखामुख गर्छन् । यता सोच्छन्, उता सोच्छन् । एउटाले झटारो हान्छ– फिनी । होइन, प्रश्न गर्ने (पहिलो पक्ष) भन्छ । दोस्रो पक्ष भन्छ– त्यसो भए के हो बताऊ । पहिलो पक्ष भन्छ– गाउँ देऊ । दोस्रो पक्ष भन्छ– लौ अमूक गाउँ दिएँ । अनि ऊ (पहिलो पक्ष) फलाक्छ– त्यो गाउँको सेरोफेरो जम्मै मेरो । त्यहाँका राम्रा–राम्रा घर जम्मै मेरा । बालीबिरुवा, फलफूल सबै मेरा । नाच्ने, गाउने राम्रा कलाकार मेरा । दुधालु गाई–भैँसी मेरा । बढालु भेडा–बाख्रा मेरा । त्यहाँका गाँडा–गर्चा सबै तेरा । लुरे, लाम्रे, राले, सिँगाने सबै तेरा । ठिटा–थारा गाई–भैँसी तेरा । दाम्रा–सेप्रा भेडा, बाख्रा तेरा । मीठो–मीठो सबै मलाई । तीतो–तीतो सबै तँलाई । मैले जानँे तैँले जानिनस्, के हो ? दोस्रो पक्ष प्रतिप्रश्न गर्छ– के हो ? पहिलो पक्ष बताउँछ– लौ सुन, सबैले सुन, राम्ररी सुन, कान थापेर सुन । यसको अर्थ हो– टाँक । दोस्रो पक्ष जिल्लिन्छ– ए ! यति पनि बुझ्न सकिएनछ, सजिलै त रहेछ नि !
यसरी सम्पादन हुन्छ, गाउँखाने कथा । सुरु भएदेखि उपस्थितले जानेसम्मका गाउँखाने कथा हाल्छन् । कसले हाल्ने भन्ने केही छैन । जसले सोधे पनि हुने जसले भने पनि हुने । मकै खोस्ल्याउने या झोली पार्ने कामको मेलो धेरै अघि बढ्छ । गाउँ खाई उत्तर बताइदिने यसको सम्पादन प्रक्रियाले गर्दा यसलाई गाउँखाने कथा भनिँदै आएको छ ।
मकैको खेती गर्ने, मकै खोस्ल्याउने, झोली पार्ने, सुली वा उरिममा राख्ने, मकैको आँटो खाने, भुटेर खाने, नेपाली संस्कृति हो, परम्परा हो । गाउँखाने कथा हाल्नु पनि नेपाली लोकसंस्कृति हो भने यसले संस्कृतिको संवहन पनि गरी आएको छ ।
हो, यही हो गाउँखाने कथा । धार्नी न बिसौली, दुई हातले उचाली, के हो ? भन्दै छोटोछरितो अड्को थापिन्छ । उत्तरको अपेक्षा राखिन्छ । यही सोध्ने र भन्ने सिलसिलामा मनोविनोद हुन्छ । एउटाले समस्या राख्छ, अर्कोले फुकाउँछ, फुकाउन नसके गाउँ दिन्छ र समस्या राख्नेले नै गाउँ खाएर गाँठो फुकाइदिन्छ । प्रश्न वा समस्यामा केन्द्रित हुने यसको प्रवृत्ति र प्रकृतिले गर्दा केही गूढ र रहस्यात्मक लाग्ने गाउँखाने कथा नबुझ्दासम्म जति कठिन र समस्यामूलक हुन्छ, बुझेपछि त्यसबाट त्यत्तिकै हर्ष र आनन्दानुभूति हुन्छ ।
गाउँखाने कथाको प्रचलन भिन्न नाम र स्वरूपमा संसारका हरेक जाति, भाषा र संस्कृतिमा पाइन्छ । नेपालीमा अड्को, झ्याँगा, झिट्टा, गौँडे गीत र घाउटा कतै गाउँखाने कथाका पर्यायका रूपमा रहेका छन् भने कतै गाउँखाने कथाको प्रकारका रूपमा छन् । कूटपद्य वा कूटसिलोक पनि गाउँखाने कथाको एकप्रकारका रूपमा देखिन आउँछ । लयात्मकता रहे पनि प्रायः अड्को गद्यात्मक हुन्छ भने झ्याँगा, झिट्टा र घाउटाचाहिँ गी(त्यात्मक छन् । गाउँ माग्ने, गाउँ दिने र गाउँ खाने प्रावधान गाउँखाने कथामा मात्र हुँदा वस्तुतः यही नै गाउँखाने कथा हो ।
श्रोतालाई रनभुल्लमा पार्न सक्नु यसको खुबी हो । एलान इन्डेसका अनुसार उखानले कथनलाई स्पष्ट पार्छन् भने गाउँखाने कथाले भ्रमित पार्छन् । जानेकै कुरा पनि नजान्दा श्रोता आफैँ दङ्ग पर्छ । यहीँनेरबाट मन रमाउँछ । मनोरञ्जन प्राप्त हुन्छ ।
यो केटाकेटीको खेल वा रमाइलोको विषयमात्र होइन । यसले समाजविशेषको मनोज्ञतालाई प्रकट गर्दछ र उसको अभिरुचिमाथि प्रकाश पार्दछ । त्यसैले यो बालबालिकाका साथै किशोरकिशोरी, युवकयुवती, वृद्धवृद्धा हरेक आयुवर्गका पठित–अपठित समग्र लोकसमुदायको अभिरुचिको विषय हो । यो गाउँ र गाउँले जीवनको अङ्गमात्र होइन, सहर–बजारका बासिन्दाको रुचिको विषय पनि हो । यो वैदिक ऋषिमुनिहरू, कविलेखक, काव्यशास्त्री, दार्शनिक–चिन्तकहरूदेखि लिएर उच्च शिक्षा आर्जन गरेका आधुनिक शिक्षाविद् समेतको चासो र चिन्तनको विषय हो । बा(लबालिका र अपठित गाउँखाने कथाको प्रयोग–उपयोगद्वारा मनोरञ्जन र ज्ञानार्जन गर्दछन् भने पठितहरू त्यसबारे सोच्ने र चिन्तन–मनन गर्ने गर्दछन् । कुनै बेला यो साँस्कृतिक अनुष्ठान सम्पादनका लागि पनि प्रयुक्त हुन्थ्यो । अहिले भने यसको उपयोग मनोरञ्जन र बुद्धिपरीक्षाका लागि गरिन्छ ।
नेपाली गाउँखाने कथाले नेपाली सामाजिक–साँस्कृतिक मूल्य–मान्यता तथा सन्दर्भ र परिस्थितिलाई आत्मसात् गरिआएका छन् र यस्ता सन्दर्भ गाउँखाने कथाका कथ्यविषय पनि छन् । चौँठी लिएर घर–माइत गर्नु, अछेताको टीको लगाउनु, ढाकाटोपी लगाउनु, चुरा–पोते र सिन्दुर लगाउनु, नाकमा फुली र बुलाकी लगाउनु, शिरमा जमरा र ढाकाटोपी लगाउनु, खुर्पेटो भिर्नु, पटुका बाँध्नु, पिङ खेल्नु, ढुङ्गो र माटोको घर बनाउनु आदि नेपाली सामाजिक–साँस्कृतिक सन्दर्भका परिचायक हुन् । यस्तै सेलरोटी पकाउनु, गोबरले जुठो लोटाउनु, घर लिपपोत गर्नु, आग्लो लगाउनु, बलि दिनु, पूजापाठ गर्नु, शिव–गणेश र लक्ष्मी आदि देवीदेवताको पूजाअर्चना गर्नु पनि नेपाली सामाजिक र साँस्कृतिक सन्दर्भ हुन्, जुन सन्दर्भहरू नेपाली गाउँखाने कथामा व्यापक रूपमा प्रकट भएका छन् । हिँड् काली माइत जाम् । के हो ? (चौँठी), अग्लो पहरामा गुराँस फुलेको, के हो ? (अछेताको टीको), धार्नी न बिसौली दुई हातले उचाली, के हो ? (टोपी), नौ दिनसम्म कुनामा बस्छ, दसौँ दिन टाउकामा चढ्छ, के हो ? (जमरा), ओल्ट्याङ पल्ट्याङ खोस्¥याङ, के हो ? (जुठो लोटाएको), रातो घोडामाथि सेतो घोडा, के हो ? (घर), जाने जान नजाने नजान, दुईजना सुत्दा बाइसवटा कान, के हो ? (रावण र मन्दोदरी), पारिबाट लास आयो, तँलाई कल्ले भन्यो ? जसका पेटमा आन्द्रा छैन त्यल्ले मलाई भन्यो, के हो ? (शङ्ख फुकेको), खोलाखाली पाखुरे, भैँमा नझरे बाबा ठाकुरे, के हो ? (रोटी पकाएको) आदि यस्तै केही उदाहरण हुन् । बज्छ बाजा होइन, कम्मरमा बस्छ, इँजार होइन । के हो ?
(खुर्पेटो) । यस गाउँखाने कथाले खुर्पेटो भिरेर घाँस–दाउरा गर्ने ग्रामीण नेपाली प्रचलनलाई देखाउँछ । उकालो–ओरालो, भीर–पहरा, डाँडाकाँडा सबैतिर घाँस र दाउराका लागि धाउनुपर्दा हातमा खुर्पा, हँसिया लिएर हिँड्नु सुविधाजनक हुँदैन । त्यसैले मानिस कम्मरमा खुर्पेटो भिर्छन् र खुर्पेटोमा खुर्पा राख्छन् अनि काममा हिँड्छन् । खुर्पेटोमा खुर्पा राखेर हिँड्दा ‘टुन्टी पुटुङ टुङ’ आवाज आइरहन्छ, जसलाई यहाँ ‘बज्छ बाजा होइन’ भनी अभिलक्षण प्रस्तुत गरिएको छ । कम्मरमा बाँध्न मसिनो डोरीको प्रयोग गरिएको हुन्छ, जसलाई यहाँ ‘कम्मरमा बस्छ, इँजार होइन’ भनी थप अभिलक्षण प्रस्तुत गरिएको छ । यी दुवै अभिलक्षणबाट यसको उत्तर खुर्पेटो हो भनी बुझ्न सकिन्छ ।
आयो नाठो, छिरायो गाँठो, मलाई भइहाल्यो, ऊ गइहाल्यो, के हो ? (चुरा लाएको) । यस गाउँखाने कथामा चुरेटो आउने र चुरा लगाउने सामाजिक–साँस्कृतिक सन्दर्भ प्रकट भएको छ । यहाँ चुरेटालाई नाठो, हातमा चुरा छिराउनुलाई गाँठो छिरायो, आपूmलाई चुरा लगाउने कार्य पुग्नुलाई मलाई भइहाल्यो र चुरेटो जानुलाई ऊ गइहाल्यो भनी चुरा लगाउने कार्यलाई बुझाइएको छ । चुरालाई नेपाली नारीहरू शौभाग्यको सूचक मानेर लगाउँछन् । प्रस्तुत गाउँखाने कथाले यही सामाजिक–साँस्कृतिक मूल्य–मान्यता र सन्दर्भलाई प्रकट गरेको छ । यस्तो दृष्टिकोण नेपाली सामाजिक–साँस्कृतिक सन्दर्भबाट विकसित भएको हो ।
दुई हातको काँकरीको तीन हातको बियाँ, राम–लछ्मनको लडाइँमा म पनि थियाँ, के हो ? (ठेकी र मदानी) । यस गाउँखाने कथाले एकातिर कृषि र पशुपालन गर्ने, दही मथ्ने सामाजिक परम्परालाई र अर्कातिर रामायणका प्रसङ्गको समुल्लेख भएबाट साँस्कृतिक परम्परालाई प्रकट गरेको छ । काँक्रो र बियाँले कृषिकार्यलाई वा कृषि–उत्पादनलाई जाहेर गरेको छ, दही मथ्ने प्रसङ्गले पशुपालनलाई जाहेर गरेको छ, ठेकी र मदानीले काठका भाँडाकुँडाको निर्माण र उपयोग गर्ने परम्परालाई व्यक्त गरेको छ भने राम–लक्ष्मणको प्रसङ्गले पौराणिक संस्कृतिलाई प्रकट गरेको छ ।
यसैगरी ढिकीजाँतो गर्नु, गुन्द्री बुन्नु, आँखीझ्याल राख्नु, जुम्रा मार्नु, खनजोत गर्नु, टपरी खुट्नु, गुन्द्रुक हाल्नु, दूध दुहुनु, मही मथ्नु, गाउँबेँसी गर्नु, पूजापाठ गर्नु, शिव, गणेश र लक्ष्मी आदि देवीदेवताको पूजाअर्चना गर्नु, खास किसिमको कृषिकर्म गर्नु पनि नेपालीका सामाजिक–साँस्कृतिक प्रकार्य रहेका छन्, जसलाई नेपाली गाउँखाने कथाले प्रकट गरिआएका छन् । यसरी नेपाली गाउँखाने कथाहरूले व्यापक साँस्कृतिक परिस्थिति र सन्दर्भलाई प्रकट गरेका छन् । वास्तवमा नेपाली गाउँखाने कथा नेपाली सामाजिक–साँस्कृतिक परम्पराका संवाहक हुन् । तसर्थ, नेपाली सामाजिक–सांस्कृतिक परिस्थिति र सन्दर्भलाई राम्रोसँग नबुझेसम्म यस्ता गाउँखाने कथाको अर्थ लगाउन सकिँदैन भने भिन्न सामाजिक–साँस्कृतिक परिवेशको अर्को कुनै भाषामा अनुवाद गर्न पनि सकिँदैन । कथंकदाचित् अनुवाद भइहाले त्यसले यस्ता गाउँखानेकथाको मूल मर्म र अभिप्राय सम्प्रेषण गर्न सक्दैन । माथि उदाहरणमा आएका वस्तु, विषय र कार्यव्यापार नेपाली साँस्कृतिक सन्दर्भ, परिस्थिति र परिवेशका उपज हुन् । यिनले खास नेपाली सामाजिक–साँस्कृतिक मूल्य–मान्यता र विश्वासलाई प्रकट गरेका छन् ।
काने कसौँडीमा दुई रङ पानी, के हो ?, टाले चुहुन्छ, फाटे चुहुन्न, के हो ?, तीन भाइको एउटै पगरी, के हो ?, फलेको कताकति, नफलेको बाक्लै, के हो ?, जाँदा पनि उकालो आउँदा पनि उकालो, के हो ? आदि यस्ता गाउँखाने कथाले मनोरञ्जन, बुद्धिपरीक्षा र नवज्ञान एकसाथ प्रस्तुत गरिरहेका हुन्छन् ।
गाउँखाने कथाले मथिङ्गल खियाउन लगाउँछ । जुम्रासम्बन्धी गाउँखाने कथा (रिडल्स) को उत्तर जान्न–बुझ्न नसकेको तनावका कारणबाट प्रसिद्ध कवि होमरको मृत्यु भएको हो भन्ने भनाइ छ । यसले प्राचीन ग्रीसमा गाउँखाने कथा व्यापक रहेको थाहा हुन्छ । प्राचीन काव्यशास्त्री अरिस्टोटलले गाउँखाने कथाको रूपकात्मक स्वरूपको चर्चा गरेका छन् । यसबाट त्यतिबेलासम्ममा पश्चिममा पनि गाउँखाने कथा प्रयोगमा आइसकेको पुष्टि हुन्छ ।
अन्त्यमा के भन्न सकिन्छ भने गाउँखाने कथामा रमाइलो नै रमाइलो छ । विभिन्न कारणले यति रमाइला गाउँखाने कथाको प्रचलन घट्दो छ । एउटा जीवन्त साँस्कृतिक परम्परा इतिहासका गर्त या गर्भमा लुक्न जाँदै छ । तीन÷चार हजारजति नेपाली गाउँखाने कथा लोकबाट सँगालिएका छन् भने अझै यस्ता कति गाउँखाने कथा होलान् यसै भन्न सकिँदैन ।