मेरो हातमा ‘सप्तरङ्गी यात्रा’ छ । ‘यात्रा’ शब्दको व्यापकता, सन्दर्भमा निहित हुन्छ । ‘जीवनयात्रा’ ‘भूगोल यात्रा’ ‘भावना यात्रा’ आदि । जुन सन्दर्भमा पनि यसमा मानवजीवनको रहस्यमयता प्रतिविम्बित हुन्छ । भर्खरै दिवङ्गत हुनुभएका प्राध्यापक, दार्शनिक चिन्तक दुर्गाप्रसाद भण्डारीको यो भनाइ यस परिवेशमा अत्यन्त मननीय छ—‘मान्छे आफूलाई निकै ठूलो जाति सम्झन्छ, ज्ञानी, ध्यानी, तपस्वी आदि विशेषणले युक्त महामानव पनि सम्झन्छ तर आफू कहाँबाट आयो र कहाँ जान्छ भन्ने कुरा थाहा पाउँदैन !’ त्यसैले भन्न सकिन्छ, रहस्यमय यात्रामा हिँडेको मान्छे, जसलाई गन्तव्य पनि थाहा छैन, कहाँबाट आयो त्यो पनि थाहा छैन । हाम्रा ऋषिमुनिहरूले ‘चरैवेति चरैवेति’ अर्थात् तिमी घुमिरहू, घुमिरहू भनेको कारण पनि शायद यही हुनसक्छ । आफूमा भएको उत्कण्ठालाई प्रत्यक्ष हेर्ने चाहनामा यात्राको निरन्तरतालाई विराम दिन चाहँदैन । सामान्य रूपमा एउटा जिज्ञासा उत्पन्न हुन्छ । यो ब्रह्माण्डमा पहिलो व्यक्ति को हो ? कोलम्बस आदि त पछिका भए । हाम्रो हिन्दु पुराणमा तीन त्रिलोक चौध भुवनको यात्रामा निरन्तर लाग्ने कोही छ भने ती हुन् नारदमुनि । उनी क्षणभरमा नै स्वर्ग पुगेका हुन्छन् भने तत्क्षणमा नै मत्र्य र पाताललोकमा पुगेको कुरा पुराणमा हामी यत्रतत्र उल्लेख भएको पाउँछौँ । त्यसैले नारद मुनि नै पहिलो यात्री हुन् कि !
वर्तमान युग विज्ञानको युग हो । अब यात्रा गर्न पहिले झैँ महिना, दिन लगाएर यात्रा गर्ने अवस्था छैन । पैदल कष्टकर यात्रामा धेरैको रुचि कम हुँदै गएको पाउँछौँ । हजारौँ कोस टाढाको यात्रा विमानमा छोटो समयमा पुग्न सकिन्छ । यस बाहेक रेल, बस, पानीजहाज आदि अनेकौँ विकल्प छन् यात्राका । यति हुँदाहुँदै पनि यात्राको वास्तविक आनन्द पैदल यात्रामा नै हुन्छ । पहाडी नागबेली गोरेटोमा उकालो चढेर, पसिना काढेर भञ्ज्याङको चौतारीमा आफूलाई बिसाएको आनन्द जो कोहीलाई बोलेर, लेखेर व्यक्त गर्न अप्ठ्यारो पार्छ तर पनि आफ्ना भावना व्यक्त गर्छ मान्छेले, आफू पुगेको परिवेशमा रमाएको कुरा बोलेर लेखेर सुनाउँछ । यो प्रवृत्ति पनि पुरानो हो । आफू जान नसके पनि अरूको यात्रावृत्तान्त पढेर रमाउनेहरू प्रशस्तै छन् ।
अब मुख्य कुराको उठान गरौँ । नेपाली साहित्यको वर्तमान परिवेशमा विगत चार दशकदेखि लेखनमा रमाउने व्यक्तित्वका रूपमा रामप्रसाद पन्त हुनुहुन्छ । उहाँले साहित्यका धेरै विधामा कलम चलाउनुभएको छ । अहिले ती सबैको बेलिबिस्तार नगरेर उहाँको ‘यात्रालेखन’ मा केन्द्रित हुनु समीचीन हुनु हो । उहाँ स्वभावैले स्वदेश र विदेशमा पनि नयाँ नयाँ भौगोलिक राजनीतिक आदि परिवेशमा अति रमाउने व्यक्तित्व हुनुहुन्छ । जुन भूगोलको यात्रामा उहाँ प्रस्थान गर्नुहुन्छ, त्यहाँको समग्र वृत्तान्त (भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक व्यापारिक आदि) लाई सकेसम्म पाठकसमक्ष सुन्दर चित्र प्रस्तुत गर्नु उहाँको प्रवृत्तिगत विशेषता नै हो भन्दा अत्युक्ति नहोला । असङ्ख्य यात्रावृत्तान्त पुस्तकाकारका रूपमा प्रकाशित भइसकेका छन् रामप्रसाद पन्तका । यो ‘सप्तरङ्गी यात्रा’ सद्यः प्रकाशित यात्रावृत्तान्त हो । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित यो कृतिमा प्रा.डा. भागवत ढकालको भूमिकामय अग्रलेख छ । यसमा उहाँले कृतिमा महत्वपूर्ण ठानेका विषयहरू उठान गर्दै समग्र कृतिको सिंहावलोकन गर्नुभएको छ । कृतिको मूल पाठकको गहिराइमा जान नचाहने पाठकका लागि यो अग्रलेखले केही सघाउला । यस कृतिमा नियात्राकार पन्तका पूर्वी नेपालको भौगोलिक परिवेश र वातावरणमा आधारित आठवटा मध्यम आकारका विभिन्न शीर्षकका यात्रावृत्तान्त समावेश छन् । नियात्राकारले पाठकलाई पनि आफूसँगै यात्रामा समाविष्ट गरेको अनुभूति पाठकले गर्न सकेको खण्डमा नै लेखनको सफलता निहित हुन्छ । तसर्थ रामप्रसाद पन्त यस अर्थमा निकै सफल पनि हुनुभएको छ ।
‘यात्रामा भेटिएका बीए, झमक र हिले सुन्दरीहरू’ यस कृतिको दोस्रो यात्रावृत्तान्त हो । अघि भनेझैँ यहाँ भूगोल, समाजमात्र हैन, आफूले देखेका, सुनेका, भोगेका अनेकौँ महत्वपूर्ण कुरा पनि उल्लेख छन् । जस्तै— धनकुटाक्षेत्रकी परिचित साहित्यकार झमककुमारी, २०१० मा धरानबाट बी.ए.पास गर्ने पहिलो व्यक्ति कृष्णप्रसाद श्रेष्ठ । तीर्थस्थल पिण्डेश्वर महादेवको पौराणिक वृत्तान्त, इमानसिंह चेम्जोङको शालिक, देवसमशेरलाई चन्द्रसमशेरले लखेटेर धनकुटा पु¥याएको प्रसङ्ग । हिलेको परिकार कोदोको तोङ्बा आदि ।
यसप्रकार सरल शैलीमा पन्तजीले आफूले भ्याएसम्मका, जानेसम्मका कुरा यस यात्रावृत्तान्तमा समावेश गर्नुभएको छ । यो नै उहाँको अर्काे प्रवृत्तिगत विशेषता हो । ‘चुनौतीपूर्ण थियो पाथिभरा दर्शन’ मा यात्रामा कसरी पाथिभरा माताको दर्शन गर्ने कठिन चुनौतीको सामना गर्नुप¥यो भन्ने कुराको वर्णन पढ्न पाउँदा म आफैँलाई पनि माता अवस्थित त्यो विकट पहाडले चुनौती दिएजस्तो लाग्यो । तर पन्तजीले हिम्मत जुटाउँदै सफलता प्राप्त गरेको कुराले पाठकलाई नयाँ जोश र जाँगर प्रदान गर्छ ।
आठैवटा यात्रावृत्तान्तले पूर्वी नेपालको अझ भनौँ पहाडी क्षेत्रको समग्र परिचय दिएर पाठकलाई उहाँले ठूलो गुन लगाउनुभएको छ । साहित्यका जुनसुकै विधाको लेखनमा ‘आफ्नो प्रियतमले मीठो बोलीमा प्रेमीसँग कुरा गरेजस्तै शैली हुनुपर्छ’ भन्ने पूर्वीय साहित्यका मनीषीहरूले प्रकट गरेको भावना अनुरूप रामप्रसाद पन्तको लेखनशैलीले पाठकलाई मोहित पार्छ भन्दा अत्युक्ति नहोला ।
प्रा. माधव घिमिरे