हिरण्यकुमारी पाठक
जीवन त यात्रा नै हो । बाल्यकालदेखि हालसम्मको जीवन अविरल यात्रामा नै गुज्रिरहेको छ । यस्तै एउटा यात्रा हो– कपिलधाम साहित्य चौतारीतर्पm स्रष्टाका साथमा लागेको यात्रा । कवि वासु शशी र समालोचक कुमारबहादुर जोशीको सालिकलाई कपिलवस्तु साहित्य चौतारीमा स्थापना गर्ने उद्देश्यले २०७६ साल फागुन २४ का दिन हामी त्यसतर्पm लाग्यौँ । चालकसहित एउटा गाडीमा यादव भट्टराई, प्रद्मुम्न जोशीका जोडी, प्रदेश ३ का सांसद नरोत्तम वैद्य र म हुइँकियौँ । श्याम प्रधानले आफ्नो गाडी आपैmँ हाँक्नुभयो । उहाँको गाडीमा उहाँकी श्रीमती, वासु शशी प्रतिष्ठानका अध्यक्ष गणेश रसिक र साहित्यकार ध्रुव मधिकर्मी सवार हुनुभयो ।
धेरैपल्ट हिंँडिरहेको लमतन्न र घुमाउरे बाटो उही तर साथीहरू र उद्देश्य फरक हुँदा नौलो–नौलो लाग्ने । उही अविचल भई खडा भएका अग्ला–अग्ला पहाड । छपक्कै हरिया रुखहरूले संरक्षण गरी सुन्दर बनाएका दृश्य र त्यसमाथि पनि फाट्टफुट्ट देखिने ससाना चिटिक्क परेका घर । यस्तै लोभ लाग्ने दृश्य आँखाभरि कैद गर्दै अघि बढ्यौँ । अनेक कुरामा हामी गफिँदै पनि थियौँ । कहिले देशको अवस्थाबारे । कहिले समसामयिक साहित्यबारे । आ–आफ्ना मनका कुरा पोख्दै बाटो छोट्याउँदै थियौँ । एक बजेतिर मलेखु पुग्यौँ । त्यहीँ खाना खाने सल्लाह भयो ।
एउटा होेटलमा हामी सबै एकत्रित भयौँ । हात धुन थाल्यौँ । हुन त खानुभन्दा अघि सधैँ हात धोइन्थ्यो तर कोरोना भाइरसका कारण जतिखेर पनि हात धोइरहन सञ्चारमाध्यमले पनि प्रचार गरिरहेको थियो । खाना आउन अलि ढिला भयो । हामीले अलि चाँडै गर्न साहुजीलाई अनुरोध ग¥यौँ । उहाँको दुःख अर्कै रहेछ । काम गर्ने मानिसको अभावमा आफैँ खटिनुपर्दो रहेछ । छोराहरू सबै विदेश गएका रहेछन् । प्रौढ अवस्थाका श्रीमान्, श्रीमतीबाट होटल सञ्चानल गरिएको रहेछ । हुन त यो आम नेपालीको घरघरको कथा हो तर यहाँ यो देख्दा र सुन्दा मन कटक्क भयो । जे होस् मीठो खाना खुवाए होटल साहुजीले । खाना खाएपछि हामी गन्तव्यतिर लाग्यौँ । बाटोभरि पहाडी दृश्य हेर्दै त्यसको सौन्दर्यभित्र हराउँदै गयौँ । हृदयमा प्रत्येक डाँडाकाँडाले चिने जस्तै, माया गरे जस्तै, हरिया रुखले हामीलाई साउती गर्दै रमाउन बोलाए जस्तै भावना सञ्चार भइरह्यो । ‘नारानघाट पुग्न लाग्यौँ है’ भन्दै हाम्रो पाइलटले सुनाए । प्रद्मुम्नजी तात्नुभयो, ‘ए हो ! त्यसो भए हामी एकछिन यतातिर अर्को गाडीलाई कुर्नुपर्छ । यहाँका साहित्यकारले हाम्रो डफ्फालाई सत्कार गर्ने योजना छ रे ।’ हाम्रो गाडी अर्को गाडी कुरेर बस्यो । एकछिनपछि गाडी आइपुग्यो । अनि गणेश रसिकसँगै नारायणघाटका पुस्तक पसलतिर लाग्यौँ । त्यहाँ थुप्रै साहित्यकार हामीलाई पर्खी बस्नुभएको रहेछ । त्यस भेगका प्रसिद्ध साहित्यकार एल.बी.क्षेत्रीलगायत सबैले हाम्रो स्वागत गर्नुभयो । औपचारिक परिचयपछि कार्यक्रम सुरु भयो । गणेश रसिकको हालै निस्केको पुस्तक ‘छपक्कै मनमा बसेकाहरू’ बारे चर्चा गर्नेे योजना रहेछ । साहित्यकार सुरेन्द्र अस्तफलले गणेश रसिकको सङ्गीतका साथै लेखनीबारे प्रश्न गर्नुभयो । रसिकले पनि अत्यन्तै सरल तरिकाले सबै प्रश्नको जवाफ दिनुभयो । झण्डै एक डेढ घण्टा हामी त्यहाँ रह्यौँ ।
नारायणघाटको चौतर्फी विकास, सफा र स्तरीय सडक तथा चहलपहल हेर्दै हामी हाम्रो गन्तव्यतर्पm लाग्यौँ । साहित्यिक कुराकानीका साथै हामी अघि बढ्यौँ । सूर्यले पनि हामीसँग बिदा माग्न लागिसकेका थिए । हामी बुटवल हुँदै कपिलधामतर्फ लागेका थियौँ । बेलुकाको नौ–साढे नौ बजेतिर बास बस्ने होटल पुग्यौँ ।
भोलिपल्ट फागुन २५ गते नारी दिवस । काठमाडौँमा भए धेरै कार्यक्रम भ्याउनुपर्ने । तर यता त्यस्तो कुनै चहलपहल छैन । शान्त छ । बिहानीको सिरसिर हावाले नौलो ठाउँको आभास दिइरहेको छ । प्रद्मुम्न जोशी, गणेश रसिक, श्याम प्रधान र म साहित्यकारहरूको शालिक स्थापना गर्ने थलो हेर्न गयौँ । हामी बसेको ठाउँबाट दुई किलोमिटर मात्र रहेछ कपिलधाम साहित्य चौतारी । लहरै लामबद्धरूपमा स्थापना भएका मूर्धन्य साहित्यकारहरू सडकबाटै देखिन्छन् । यो देख्दा मन साहित्यक भावनाले ओतप्रोत भयो । अलि माथि कपिलधाम कार्यालयतर्फ लाग्यौँ । ढोकाबाट पस्नेबित्तिकै बजरङ्गबलीले हामीलाई दर्शन दिनुभयो । पर एउटा योगगृह बनाइएको छ भन्दै त्यहाँका अध्यक्षले हामीलाई लानुभयो । हल भव्य र ठूलो रहेछ । चारैतिर ठूला–ठूला रुखबाट सिरसिर हावा आइरहेको थियो । हावाको स्पर्शले नयाँ जीवन पाए झैँ अनुभूत भइरहेको थियो । जङ्गलभित्र अनेक देवीदेवताका मूर्ति स्थापना भइसकेका थिए । शौचालय, यात्रु बस्ने ससाना भवन र खाना बनाउने ठाउँ सबै बनिसकेको रहेछ । व्यवस्थित रूपले सजाउन चाहिँ बाँकी रहेछ । त्यहीँ वरिपरि एकछिन बस्यौँ । स्वच्छ वातावरणले मन तानिरहेको थियो । सामुन्ने सिमलका ठूला–ठूला रुखका राता फूल मनमोहक देखिए । चराको चिरबिर आवाज पनि सुनियो । यो वातावरणले गणेश रसिक मोहित हुनुभयो र सङ्गीतको सुरमा हल्लिन थाल्नुभयो । मलाई पनि कविता फुर्याे । हामी विस्तारै होटलतर्फ लाग्यौँ । ११ बजे यही स्थलमा कार्यक्रम गर्न फर्कनु छ भन्दै ।
साहित्यकारद्वयको सालिक अनावरण कार्यक्रमका लागि हामी पुनः साहित्य चौतारी पुग्यौँ । साहित्यकार, गण्यमान्य व्यक्ति र नारी दिवस परेकाले त्यस भेगका आमा समूहका महिला कार्यक्रमको शोभा बढाउन उपस्थित भइसक्नुभएको रहेछ । त्यहाँ राखिएका साहित्यकारको मूर्तिलाई सम्मान गर्दै माला पहिराउँदै वासु शशी र कुमारबहादुर जोशीको सालिकमा आएर श्रद्धाले नतमस्तक भयौँ । कुमारबहादुर जोशीको सालिक गणेश रसिकले र वासु शशीको सालिक नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति रमेश ढकालले अनावरण गर्नुभयो । अत्यन्त रमाइलो र साहित्यिक वातावरणमा दुई स्रष्टालाई अन्य स्रष्टाका माझमा लामबद्ध भएको देख्दा मन कहिले खुसी भयो भने कहिले भावविभोर ।
यसपछि वासु शशीबारे साहित्यकार ध्रुव मधिकर्मीले र कुमारबहादुर जोशीबारे मैले बोलँे । अनि लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले साहित्य चौतारीबारे र उहाँले नै त्यहाँ स्थापना गरेको पुस्तकालयबारे जानकारी दिनुभयो । पुस्तकालयलाई हामीले चन्दा पनि दियौँ । कार्यक्रम यादव भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
दिन ढल्किसकेको थियो । हामी होटल फक्र्यौं र आ–आफ्ना झोला बोकेर नारायणघाटतर्फ लाग्यौँ । नारायणघाटमा एउटा साहित्य कार्यक्रममा हामीलाई निमन्त्रणा थियो २८ गते बिहान । बाटोभरि कहिले लेखनाथ त कहिले वासु शशीका कविता हाम्रा सहयात्री यादव भट्टराईले सुनाइरहनुभयो । कविता जति सुने पनि नौलो लाग्ने मन रमाउने । साहित्यिक चर्चाले बाटो कटेको पत्तै भएन । झिलीमिली बत्तीले चम्किरहेको नारानघाट आइपुगिसकेछौँ । एक होटलमा बास बस्यौँ ।
भोलिपल्ट बिहान नारायणी होटलतर्पm लाग्यौँ । हामी भित्र पस्दा कार्यक्रम सुरु भइसकेको रहेछ । कार्यक्रमको मुख्य अतिथि श्रीओम श्रेष्ठ हुनुहँुदोरहेछ । भित्तामा टाँगिएको ब्यानर हेरेँ ‘कुमाता’ कथासङ्ग्रहको विमोचन रहेछ । कति नमिल्दो शीर्षक पुस्तकको । माता पनि कहिले कुमाता हुन्छिन् र । कति कष्ट सहेर र सङ्घर्ष गरेर आफ्नो सन्तानलाई आमाले उज्ज्वल बनाएकी हुन्छिन् । किन कुमाता भनेको होला भनेर नमीठो लाग्यो । पुस्तकका लेखक वसन्त पराजुलीसँग पनि यसबारे आफ्नो धारणा पोखेँ । कार्यक्रम सकिएपछि हामी काठमाडौँतर्पm लाग्यौँ ।
जे होस् कपिलधाम, साहित्य चौतारीको यसपल्टको यात्रा अत्यन्त सुखद तथा बिर्सनै नसकिने भयो । यो कार्यक्रम गर्न सल्लाह र सुझाव विष्णुराज आत्रेयले दिनुभएको हो । उहाँको लगनशीलता र मेहनतले अहिलेसम्म साहित्य चौतारीमा १७ जना साहित्यकारको प्रतिमा स्थापित भइसकेको छ । अरू साहित्यकारको प्रतिमा स्थापना गर्न उहाँ लागिरहनुभएको छ । आफू अस्वस्थ भएको अवस्थामा पनि उहाँलाई कपिलधाम साहित्य चौतारीकै चिन्ता छ । उहाँको योजना सफल होस्, शुभकामना छ ।