उपेन्द्र अधिकारी
विश्व शान्तिको मुहान भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी, नेपालको मात्र नभई, विश्वकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । बौद्ध धर्मावलम्बीमात्र नभई, विश्वभर रहेका नेपालीका लागि श्रद्धाले नतमस्तक हुने यो तपस्थल यतिबेला साँच्चिकै सुन्दर अनि शान्त छ ।
कुहुकुहु सुर तानी कोइली गीत गाई
सरर पवन बग्ने फूल नाना नचाई
कति सुखद छ शालोद्यानको माझ गाउँ
टहलिन मन लागे लुम्बिनी घुम्न जाऊँ
प्रस्तुत श्लोक लक्ष्मीनाथ अधिकारीको शान्तिदूत महाकाव्यबाट लिइएको हो । श्लोकमा भनिएझैँ अहिले हरेक दृष्टिकोणले लुम्बिनी घुम्ने मौसम हो । तर, विश्वभर फैलिएको कोरोना भाइरसका कारण गरिएको बन्दाबन्दीले लुम्बिनी सुनसान छ । हजारौँ मनिसको भीडभाडमा आफ्नो सौन्दर्य पस्कने यहाँको प्रकृति अहिले आफ्नो सौन्दर्य आफैँ हेरिबस्न बाध्य छ ।
अघिपछि भए लुम्बिनीमा पर्यटक भरिभराउ हुने समय हो यो । तर, गत चैत ११ गतेबाट यसको सौन्दर्यपान गर्न कोही नआउँदा सायद यहाँको प्राकृति अनि बौद्ध प्रतिमाहरू पनि मानिसलाई देख्न व्याकुल छन् । न त अहिले यहाँ मानिसको चहलपहल छ न त बौद्ध, चैत्य तथा गुम्बाहरूमा हुने मन्त्रोच्चारणको ‘ॐ मणि पद्मे हुँ’ को अनन्त ध्वनि गुञ्जायमान छ ।
प्रकृतिले धित मारेर सौन्दर्य पोखिरहेको बेला यहाँ वसन्त स्नान गर्नेहरू नदेख्दा यहाँका चराचुरुङ्गी, वन्यजन्तु, शान्तिदीप तथा ध्यानमग्न बौद्ध प्रतिमासमेत आश्चर्यमा परेका छन् । पर्यटकको कमीले यहाँको वातावरण पनि सफा भएको छ । केन्द्रीय नहरमा मोटरबोट नचल्दा यहाँको पानी सफा तथा स्वच्छ भएको छ । कोरोना भाइरसका कारण विश्व शान्त छ । यसको असर नेपालका सबै धार्मिक तथा पर्यटकीय स्थानमा पर्नु स्वाभाविक नै हो । यहाँका लुम्बिनी उद्यान, पुष्करणी कुण्ड, विश्वशान्ति स्तूप, केन्द्रीय नहर, मायादेवी मन्दिर, शान्तिदीप, बेबीबुद्ध गार्डेन, पीप(लबोट, अशोक स्तम्भ तथा विश्वभर फैलेर रहेका बौद्ध अनुयायीहरूले आफ्नो देशको प्रतिनिधि मन्दिरका रूपमा बनाएका आकर्षक बौद्ध मन्दिरहरू सबै पर्यटकलाई कुरिरहेका छन् । यहाँका मन्दिरहरूमा ताला लगाइएको छ । मन्दिर ताला खुल्ने समयको प्रतीक्षामा छन् । वसन्त ऋतुको साथमा यो वातावरणीय शुद्धता र यो मौनताले बुद्ध जन्मिँदाको समयको परिकल्पना गर्छन्, यहाँका बौद्ध भिक्षुहरू । गौतम बुद्ध जन्मिँदाको बेलाको शान्ति अहिले अनुभव गर्न सकिन्छ भन्नुहुन्छ भिक्षु मैत्री ।
अहिले मानव स्वास्थ्यको ख्याल गर्दै सामाजिक दूरी कायम गर्ने भनिएकाले यहाँ आयोजना हुने सबै कार्यक्रममात्र होइन, बुद्ध जयन्तीका अवसरमा देशभर हुने कार्यक्रम पनि स्थगित भएको बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष तथा नेपाल बौद्ध भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले जानकारी दिनुभयो । बौद्ध धर्मावलम्बीहरूलाई आ–आफ्नो घरमा, विहारमा सप्ताहव्यापी दीप प्रज्ज्वलन गरी मनाउन अनुरोध भने गरिएको थियो । बन्दाबन्दीले धेरै कुरा इतिहासमा पहिलोपटक भएका छन् । बुद्ध जयन्ती मनाउने कार्यक्रम पनि इतिहासमा पहिलोपटक स्थगित भएको बताउनुहुन्छ लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय । यस दिनलाई सामाजिक दूरी कायम गर्दै ध्यान दिवसका रूपमा मनाउन आह्वान गरिएको थियो ।
छटपटी ज्ञान तिर्खाको जब जाग्दछ चित्तमा
बिलास भोगको तिर्खा कहाँ लाग्दछ चित्तमा ।
(सोही महाकाव्यबाट)
प्रकृति आफँैमा अतुलनीय छिन् । उनले आफ्नो सन्तुलनका लागि जनुसुकै कदम पनि चाल्न सक्छिन् । मानव जगत्ले जस्तो व्यवहार अपनाए पनि प्रकृतिले आफ्नो धर्म छाडेकी छैनन् । विश्व जतिसुकै अशान्त होस्, आफ्नो ऋतु चक्रमा रहेको प्रकृतिले आफूलाई सिँगार्न कति पनि कसर छोडेकी छैनन् । मानिसले सायद प्रकृतिसँग गरेको दुव्र्यवहारको सजाय पाउँदै छ ।
लुम्बिनीमात्र होइन, देशका अन्य क्षेत्रहरू जस्तै पशुपति, गुह्येश्वरी, मुक्तिनाथ, पोखराको फेवाताल, विध्यवासिनी स्थलहरूको वातावरण पनि स्वच्छ र सफा बनेकोे छ । चितवन राष्ट्रिय निकुञ्जमा बाघ, भालु अनि त्यहाँका जङ्गली जनावरहरू मानिस नआउँदा निष्फिक्री कुद्न पाएका छन् । यहाँका हात्ती आफ्नो चालमा हिँड्न पाएका छन् । न त माउतेले कर्तव्य देखाउन पानीमा डुबुल्की मार्न लगाएको छ, न त मानिस बोक्न काठको खटियाले ढाड घोटाउनुपरेको छ ।
त्यो सौन्दर्य के सौन्दर्य जसलाई हेरेर रमाउने अनि खुसी हुने कोही हँुदैन । त्यो ध्वनिको के महŒव जुन सुनेर कोही मन्त्रमुग्ध भएको अनुभव गर्दैन । कामना गरौँ यस सौन्दर्यमा रमाउने अवस्थाको सिर्जना चाँडै होेस् । बौद्ध प्रतिमाहरू मानिसको सामिप्यताले अझै गतिवान बनून् । चराचुरुङ्गीहरू आफ्नो कला देखाउन सकून् । हात्तीहरूको कलाबाजीमा मानिस रमाउन सकून् । तालतलैयाहरूमा मानिस सयर गर्न थालून् । पुनः भगवान्प्रतिको आस्था सुचारु भई मन्दिरका घण्ट बजून् ।
धेरै छन् यस विश्वमा मतहरू सिद्धान्तवादीहरू
हिन्दु बौद्ध इसाई मुस्लिम अनि सिख्खादी धर्मै अरू
आफ्ना जीवनमा प्रयोग गरिँदा छर्लङ्ग जो सत्य छ
ताजा हुन्छ सबैतिर भने सिद्धान्त त्यो सत्य छ । (सोही महाकाव्यबाट)
अहिले यस श्लोकको औचित्य बढेको छ । जुनसुकै धर्मका मानिस आफ्नै घरमा थुनिनुपरेको छ । प्रकृतिले कुनै धर्मका मानिसलाई यस चपेटाबाट छुट्टै राखेकी छैनन् । धर्म कुनै मत, वाद वा सम्प्रदाय होइन रहेछ, केही पुरोहितहरूको ठगिखाने भाँडो पनि होइन रहेछ, तँ–तँ र म–मको खिचातानी पनि होइन रहेनछ । यो त मानवको दुःख विनाश गर्ने उपाय पो रहेछ । मानवतालाई परस्पर एकतामा आबद्ध गर्ने तथा शान्ति र समृद्धि कायम गर्ने व्यवहारको समष्टि पो रहेछ । यी सबै धर्मावलम्बीका चैत्य, मन्दिर, गुम्बा, देवालयमा मन्त्रोच्चारण सुन्न पाइयोस् । मस्जिदमा माथा टेक्नेहरूको भीड लागोस् । चाँडै यस महामारीबाट छुट्कारा पाइयोस् । यही छ अहिलेलाई कामना ।