साहित्यका विधामा निबन्ध, आख्यान र नाटकमध्ये आख्यानको उपभेद उपन्यास हो । उपन्यास विश्व साहित्यमा कान्छो विधा मानिएको छ । उपन्यास महाकाव्य निकट विधाका रूपमा पनि मानिन्छ । नेपाली उपन्यास आधुनिकतामा प्रवेश गरिसकेको छ । आधुनिकताको यहीे जगमा आज धेरै स्रष्टा यस विधालाई अगाडि बढाइरहेका छन् । यी स्रष्टामध्ये ममता श्रेष्ठ पनि सक्रिय भएर देखापर्नुभएको छ । उहाँको हालै ‘अञ्जुलीको पानी’ उपन्यास बजारमा आएको छ ।
उपन्यासकार श्रेष्ठको कथा, कविताका समेत गरी पाँच कृति प्रकाशित भइसेकका छन् । उहाँको यो दोस्रो औपन्यासिक कृति हो । लामा छोटा गरी कुल चवालीसवटा परिच्छेदमा संरचित यो उपन्यास विराटनगर, चितवन, काठमाडौँका सेरोफेरोका ठाउँलाई परिवेश बनाएर बगेको देखिन्छ । सामाजिक र सांस्कृतिक जनजीवनका पाटालाई समेटेर यो उपन्यासमा मुख्यपात्र प्रतिमा (परी) र मनीष देखिन्छन् भने मीरा र किरण, अम्बिका र सिरिश सहायक पात्रका रुपमा देखिन्छन् । गौण पात्रहरूले उपन्यासको कथानकलाई पूर्णरूप दिन सहयोग गरेका छन् । सामाजिक जनजीवनको चित्र छ । पोखरिया विराटनगरका किरण र मीराको घर परिवेशबाट सुरु भएको घटनाक्रम किरणको हत्यापछि उनको अन्त्येष्टिसँगै सकिन्छ । देवघाटमा किरणले अञ्जुलीको पानी लिएर ध्यान गर्दै गर्दा भेटिएकी प्रतिमाले किरणलाई एक अञ्जुली खल्को पानी दिएसँगै उपन्यास सकिएको छ । जसले गर्दा अञ्जुलीको पानी उपन्यासको शीर्षक निकै सार्थक बनेको छ । प्रयोग गरिएको भाषा सरल र सहज छ ।
उपन्यास उत्सुकताले भरिपूर्ण छ । पढ्दा पट्यार लाग्दैन । हाम्रो समाजका कथा उपकथालाई चित्रित गरेको छ । तसर्थ उपन्यासको परिवेश र विषयवस्तु उपन्यास यथार्थ, स्वैरकल्पना र रागात्मक अनुभूतिको संयोग भए झैँ देखिन्छ । आरम्भ, विकास, उत्कर्ष र ह्रासको क्रमलाई उपन्यासले पछ्याएको छ । उपन्यासमा अलिअलि रागात्मकता छ भने अलिअलि समाजिक यथार्थता छ । समग्रमा भन्दा वर्तमान सामाजिक घटना, दुर्घटना, बेथिति र विसङ्गति यस उपन्यासले बोकेको छ ।
नारी स्रष्टा भएका नाताले पनि नारी मनोविज्ञानलाई नजिकैबाट अध्ययन गरेर लेखिएको आभास हुने यो उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो । मनीषको अधुरो वैवाहिक जीवन, नारी विकृति र त्यसबाट सिर्जिना हुने पारिवारिक एवं सामाजिक समस्या पनि यसमा छ । पात्र अनुसार कथ्य र लेख्य दुवै भाषाको प्रयोग रहेको यस उपन्यासका संवाद पात्र र परिवेश अनुकूल नै छन् । राम्रो वर्णनात्मकता रहेको उपन्यासमा एउटै घरमा डेरा बसेर पनि परीले आमा नचिन्नु, जसको हत्या किरणले ग¥यो उसैकी पत्नीलाई किरणले नचिनी कोठा दिनु, बदलाका निम्ति त्यति लामो समयसम्म पर्खेर वैवाहिक सम्बन्ध कायम गराएर किरणको हत्या गरिएको घटना छ । तैपनि उपन्यास पठनीय नै छ ।
पढ्दै जाँदा उपन्यास जासुसी तिलस्मी बने जस्तो पनि छ । कुनै ठाउँमा विसङ्गतिवादी अस्तित्ववादी भएको जस्तो पनि छ । समग्रमा उपन्यासले हाम्रो समाजको मर्यादालाई नाघेको छैन । न त उपन्यासलाई ती एकाध घटनाले सामाजिक यथार्थभन्दा धेरै टाढा नै लान सकेका छन् । पढ्दै जाँदा यसमा अझै कलात्मकता भर्न सके अझै सुन्दर हुन्थ्यो भन्ने आभास पाठकले गर्नु अस्वाभाविक लाग्दैन । उपन्यासमा कतै अस्तित्वका लागि सङ्घर्ष छ भने कतै जीवन सङ्घर्षको चित्र छ । दुईवटा परिवारको कथा छ यसमा । जीवनका र पे्रमका धेरै स्वाभाविक अस्वाभाविक कथाहरू छन् । ती कथालाई यो आख्यानले धेरथोर समेट्न खोजेको छ । उपन्यास पढदै जाँदा पाठकलाई आफ्नै समाज र जीवनको यथार्थताको नजिकै पुगेको अनुभव हुन्छ । यही नै उपन्यासकारको सफलता हो भन्न्न सकिन्छ ।
भवानीप्रसाद पोखरेल