रत्न प्रजापति
‘मेरो हरेक काममा खोट लाउनैपर्छ तपाईंलाई ?’ यत्ति भनेकी थिइन् उनले । रिसाएर भनेकी थिइनन् । हाँसेर पनि भनेकी थिइनन् । उसलाई बिझायो यो कुराले । किन बिझायो उसैलाई थाहा होला । ऊ सन्केर सरासर त्यहाँबाट हिँड्यो । ऊ ओर्लंदा फलामको भ¥याङमा ढङ्ढङ्ढङ् आवाज आयो । ऊ त्यसरी सन्केर हिँडेको सायद वरपरबाट अरूले पनि हेरिरहेका थिए । किनभने उनीहरू घरको सबैभन्दा माथिल्लो तल्लामा थिए अर्थात् कौसीमा । हालसालै घरमा सोलार जडान गरेका थिए । फुर्रफुर्र तातो बाफ निस्कुनपर्ने सोलारको पाइपबाट पानी नै पो बग्न थाल्यो । यसरी पाइपबाट पानी बगिरह्यो भने त ट्याङ्कीको पानी सकिन्छ । तातो पानीजति यहीँबाट निस्केपछि धारामा तातो पानी नै आउँदैन । के गर्ने होला ?
‘बूढेसकालमा पा’को छोरो, त्यही पनि लठेब्रो’ भनेजस्तो । बल्लबल्ल जोडेको सोलार । यस्तो पो भयो । छिमेकीले कुरा काट्ने भए । उनले मनमनै सोचिन् ।
समस्या समाधानका लागि उसले प्लम्बरलाई फोन ग¥यो । प्लम्बरले भन्यो, ‘सोलारको बाफ जाने पाइप तातेर भुइँतिर लत्रिएको होला । त्यसलाई सीधा ठाडो पारेर अर्को एउटा पाइपले सपोर्ट दिएर बाँधिदिनू ।’
प्लम्बरले भनेजस्तै गरे । दुवैजना मिलेर पाइपलाई सीधा पारेर बाँध्न खोजे । उसले पाइप समात्यो र उनले चाहिँ पाइपलाई बाँधिन् । तर उनको बाँध्ने ढङ्ग पुगेन । उसले अलि रुखो स्वरमा प्रतिक्रिया जनाइहाल्यो, ‘के गरी बाँधेको ?’ हो, उसको यही प्रश्नको जवाफमा उनले भनेकी थिइन्, ‘मेरो हरेक काममा खोट लाउनैपर्छ तपाईंलाई ?’ उनले त्यसो भन्दा पल्लोघरकी साइँली भाउजु हाँसिरहेकी थिइन् । सायद उसलाई अपमा(नबोध भयो । त्यही अपमानबोधले रन्थनिएर ऊ सन्केर हिँडेको थियो ।
खाजा खाने बेलामा आमाले सोध्नुभयो, ‘छोरा
खोइ ?’ कहाँ गयो भन्नु ? आपत् प¥यो उनलाई । रिसाएर गयो भनुँ भने किन रिसायो भनेर आमाले सोधिहाल्नुहुन्छ । थाहा छैन भनुँ भने आफ्नो लोग्नेको मतलब नराख्ने कस्ती आइमाई भन्नुहोला । यस्तै धर्मसङ्कटमा उनले भनिन्, ‘माथि सोलारको पाइप बाँध्दै थियौँ । एक्कासि सन्केर खोइ कता जानुभयो ।’
‘ए, रिसाएरै पो गयो ? किन रिसाएको नि ?’ आमाले अचम्म मानेर सोध्नुभयो । ‘रिस त नाकको टुप्पामै छ नि तपाईंको छोराको । कारण चाहिन्छ र रिसाउनलाई ।’ उनले यतिमात्रै भनिन् । आमाले दोहो¥याएर केही सोध्नुभएन । आमालाई पनि थाहा थियो उसको बानी । सानैदेखिको बानी । झडङ्ग रिसाउने बानी । रिसाएर घरबाट निस्किने बानी । अनि साँझ परेपछि फेरि लुरुलुरु घर आउने बानी । आमाले मनमनै सोच्नुभयो, साँझ परेपछि त आइहाल्ला नि तर यतिखेर परिस्थिति अर्कै छ । त्यसैले उहाँले पीर मानेर भन्नुभयो, ‘कहाँ गयो होला त यस्तो बेलामा ? घरबाहिर ननिस्कनू भनेको छ क्यार ?’
संसारभरि कोरोना भाइरस सङ्क्रमणको आतङ्क छ । मानिसहरू भटाभट मर्न थालेका छन् कुकुर–बिरालो मरेजसरी । न कसैको माया । न कसैको हेरचाह । न कसैको सहानुभूति । एक्लै । नितान्त एक्लै । एक्लो भएर मर्नुपर्छ यो भाइरस लागेपछि । उपचारै छैन रे । मृत्यु कुर्नुबाहेक अर्को उपाय छैन रे । यो कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने एउटै मात्र उपाय घरभित्रै बस्नु हो भनेर देशैभरि लकडाउन गरिएको छ । लकडाउनमा सहरका मानिस घरभित्रै छन् । अरूबेला मानिसहरू एकान्त खोज्दै हिँड्थे । अहिले कोरोनाले त्यो एकान्त दिएको छ । एकान्तमा के–के गर्दै होलान् मानिसहरू ? कोही लेख्दै होलान् । कोही किताब पढ्दै होलान् । कोही मनपरेको सिनेमा हेर्दै होलान् । कोही गफगाफ गर्दै होलान् । घरभित्रको काम गर्दै होलान् । घरमा लोग्ने–स्वास्नी मात्रै भए दिउँसै हल्का रमाइलो पनि गर्दै होलान् तर उसको भने अत्तोपत्तो छैन ।
लकडाउनका बेला खाद्यान्न र औषधि किनेर फर्किरहेका युवालाई सप्तरीमा प्रहरीले निर्घात कुटपिट गरेको भिडियो उनले अस्ति भर्खर फेसबुकमा हेरेकी थिइन् । कतै उसले पनि त्यसैगरी प्रहरीको कुटाइ त खाएको छैन ? घाइते भएर अस्पताल त पुगेको छैन ? अब उनलाई चिन्ता लाग्न थाल्यो ।
‘म पनि उस्तै । किन प्याच्च बोल्नुपरेको होला, उसको त्यस्तै बानी छ भन्ने थाहा हुँदाहुँदै ।’ उनी पछुतो मान्न थालिन् ।
मोरङको पथरीशनिश्चरेमा लकडाउन उल्लङ्घन रोक्न खोज्दा स्थानीय एक युवाले नेतामाथि छुरा प्रहार गरेका थिए । यस्तै भक्तपुरको सूर्यविनायकमा पनि लकडाउन उल्लङ्घन गरेको भन्दै रोक्न खोज्दा एक युवकले उल्टै ड्युटीमा रहेका प्रहरीलाई चक्कु प्रहार गरेको समाचार पनि उनले सुनेकी थिइन् । कतै उसले पनि त्यस्तै घटनामा परेर रिसको झोँकमा प्रहरीलाई नै छुरासुरा त हानेन ? रिस उठेपछि आँखा देख्ने मान्छे होइन
क्यारे ! झन् घरबाटै रिसाएर निस्केको छ ! चौकीमा लगेर प्रहरीले मर्नेगरी कुटी पो राखेको छ कि ? उनलाई पीर पर्न थाल्यो । ‘आ, जहाँसुकै जाओस् । रिसाउनै पर्नेगरी मैले के नै भनेकी थिएँ र त्यसरी रिसाएर हिँड्नुपरेको ? ठूलोमान्छे भइपल्टेको ।’ अर्को मनले यस्तो सोच्न थालिन् ।
तीन–चार घण्टा बित्यो । झमक्क साँझ पनि प¥यो तर ऊ आएन । उसको केही खबर पनि आएन । मुटुमा सिरिङ्ग हुनेगरी चिसो हावाको झोँकामात्रै आयो । उनको मनमा चिसो पस्यो । आमा नबोली धुम्धुम्ती बसिरहनुभयो । केटाकेटी मोबाइलमा गेम खेल्न मस्त थिए ।
उनले टिभी खोलिन् । ‘...कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ । यो भाइरसको सङ्क्रमणबाट अहिलेसम्म लाखभन्दा बढीको मृत्यु भइसक्यो ।’ टिभीमा आइरहेको यो कुरा उनले मनमनै दोहो¥याइन् । कतै उसले बाहिरबाट यो भाइरस बोकेर आउने त होइन ? उनलाई डर लाग्न थाल्यो । मन आत्तिन थाल्यो । के गर्ने ? कसो गर्ने ?
प्रायः ऊ गइरहने एकजना छिमेकी दाइको घरमा फोन गरिन् । फोन दाइले होइन भाउजुले उठाइन् । उनले लोग्ने घरमा नभएको कुरा बताइन् । उनको कुरा सुनेर भाउजुले भनिन्, ‘होश गर्नूस् है नानी । कोरोना लिएर आउलान् ।’ भाउजुको कुरा सुनेर उनलाई झन् डर लाग्न थाल्यो । साँच्चै कोरोना लिएर आयो भने ? सबभन्दा पहिला मलाई सर्छ । त्यसपछि केटाकेटीलाई । त्यसपछि आमालाई.... । सबैलाई कोरोना सर्छ । त्यसपछि त हामी सबैजना मर्छौं । नाइँ.... । उनी अत्तालिएर चिच्याइन् ।
‘के भयो बुहारी ?’ आमा अत्तालिँदै आउनुभयो । उनी अकमकिइन् । सहज हुन खोज्दै भनिन् ‘केही होइन आमा । उहाँलाई सम्झिरहेकी थिएँ । मनमा के–के तर्कना आएछ ।’ आमाले नबोली उनलाई हेरिरहनुभयो । उनलाई अप्ठ्यारो महसुस भयो । ‘त्यसको बानी नै त्यस्तै हो । कहीँ जाँदैन । आइहाल्छ नि । धेरै चिन्ता नगर ।’ यसो भनेर आमा आफ्नै कोठामा जानुभयो । चिन्ता नगर भनेर हुन्छ र । उनले चिन्ता गर्दिन भन्दा पनि भएन । चिन्ता लागिरह्यो । जे भए नि लोग्ने त हो नि । लोग्ने जस्तो भए नि माया त लागिहाल्दो रहेछ । यसो त उनको लोग्ने कहाँ यस्तो–उस्तो हो र । अलिकति झडङ्ग रिसाउने बानी मात्रै त हो नि । अरू लोग्ने जाँड–रक्सी खाएर स्वास्नी कुट्छन् । उनको लोग्ने त्यस्तो छैन । उनले आफ्नै मनलाई सान्त्वना दिइन् ।
रात प¥यो । अबचाहिँ उनलाई असह्य नै हुन थाल्यो । आमा पनि बेचैन हुन थाल्नुभयो । अब के गर्ने होला ? छटपटी बढ्दै गयो । चिन्ता, भय र आतङ्कले हातगोडा नै गल्न थाले । थचक्क कतै बसूँजस्तो । बस्दा पनि मनमा शान्ति नहुने । छटपटी... खालि छटपटी ।
उनले एउटा अर्को समाचार सुनेकी थिइन् । हनुमन्ते खोलामा महिलाको टाउकोबिनाको शव भेटिएको थियो । त्यसबारेमा प्रहरीले अनुसन्धान गर्दैछ । उसलाई पनि कसैले त्यसैगरी हत्या गरेर खोलामा फालिदियो भने ? यस्तो कुरा मनमा आउँदा उनलाई कहाली लाग्यो । मनमनै भनिन्, ‘हे भगवान् ! सानो कुराले कति ठूलो आपत् आइलागेको ?’ ‘अब कहाँ खोज्न जाने होला ? कस्तो दुःख दिएको यो मान्छेले ?’ मनमनै यस्तो सोच्दै उनी घरबाट निस्कन खोजिन् । ढोकैमा पुगेपछि उनी टक्क अडिन् । कुनै अदृश्य चेतनाले उनलाई रोक्यो । ‘रातको समय । म स्वास्नीमान्छे एक्लै कसरी हिँड्ने ? सुनसान सडकमा एक्लै हिँड्दा जे पनि हुनसक्छ । अरूले मेरोबारे जे पनि सोच्न सक्छन् । म त्यस्तो जे पनि होइन । केही नभए कोरोना लागेको मान्छेले मलाई छुनसक्छ । मलाई कोरोना सर्नसक्छ । त्यसपछि मबाट उसलाई सर्नसक्छ । केटाकेटीलाई सर्नसक्छ । घरका सबैलाई सर्नसक्छ । त्यसपछि हामी सबै मर्छौं । मेरै कारणले सबैले मर्नुपर्ने काम म कदापि गर्दिन । नाइँ, म बाहिर जान्न ।’ यस्तो सोच्दै उनी ढोकामै उभिइराखिन् ।
त्यसैबेला ऊ टुप्लुक्क आइपुग्यो । उसको रिस मरिसकेको थियो अथवा उसलाई रात परेपछि घर फर्कनैपर्ने बाध्यता थियो । त्यसैले ऊ घर फक्र्यो । ढोकैमा उनलाई उभिरहेकी देख्यो । उनकै सामुन्ने टक्क अड्यो र हेर्न थाल्यो उनको अनुहार । यतिखेर उनको अनुहार निकै मायालाग्दो लाग्यो उसलाई । ‘कहाँ जानुभा’थ्यो ? हामीलाई पीर पारेर ? हामीलाई आतङ्कित बनाएर ?’ यतिखेरको उनको बोलीमा रिस पटक्कै थिएन । बरु माया नै माया थियो ।
ऊ केही नबोली उभिइरह्यो । उसले भन्न सकेन चोकमा गएको कुरा । चोकमा ड्युटीमा खटिएका प्रहरीसँग दोस्ती गरेको कुरा । उनीहरूसँगै दिन बिताएको कुरा । अन्यत्र कहाँ जान सक्थ्यो र ऊ । रिसको झोँकमा घुक्र्याएको मात्रै त थियो उसले तर उसको त्यो घुर्कीले आतङ्कको बेलामा घरमा थप आतङ्क मच्चिएको थियो । ऊ नबोली उभिइरहेको थियो । उनले एक्कासि उसलाई गम्लङ्ग अँगालो हालिन् । अब त्यहाँ कुनै कुराको निषेध थिएन । कुनै दूरी पनि थिएन । कुनै डर थिएन । कुनै त्रास पनि थिएन । विशुद्ध मायाको आवेगमात्रै थियो । उनले उसको छातीमा मुख लुकाउँदै दिउँसोको कुरा सम्झेर भनिन्, ‘सरी बाबा ।’
अब उसले पनि दिउँसोको रिस बिस्र्यो । घुर्की पनि बिस्र्यो । बरु उनको मायाले अभिभूत भयो । त्यसपछि उसले प्रेमपूर्वक उनलाई अँगालोमा बे¥यो ।
उनले आतङ्कमुक्त भएको महसुस गरिन् ।