कृसु क्षेत्री
एकाएक सल्कियो
जङ्गलमा डढेलो–
ह्वारह्वार्ती बल्न थाले
सुकेका पत्करहरू
झाडी–बुट्ट्यानहरू
सुकेका मुढाहरू
र सँगसँगै सल्किए
हरिया रूखहरू ।
चकमन्न भयो जङ्गल
सुनिन छाडे
चराका चिरिबिरी
देखिन छाडे
मृगका बथान ।
तर
चर्को स्वरमा सुनिए
हुँडारका गीत
बढ्दै गए
लासका थुप्रा
आकाशभरि उडे
भोका गिद्ध ।
खै सिंहको पञ्जा
खै हात्तीको हञ्जा
खै चिसो चिसो सिर्सिरे बतास
खै रूखहरूबाट चियाउने मिर्मिरे प्रकाश
खै चराहरूका लागि श्वेतधवल आकाश !
अनियन्त्रित विषालु ग्याँस फैलिएर
आफ्नै गुँडमा
दुलोमा
गुफामा
ओढारमा
कैद हुनेहरूलाई थाहा छ–
डढेलो सल्कने पनि
विषालु हुरी चलेसम्म हो
पानी नपरेसम्म हो
एकदिन
बर्सनेछ कालो बादल
उघ्रनेछ आकाश
स्पर्श गर्नेछ सूर्यको प्रकाश
हराउनेछ अन्धकारको भय
डढेका पातहरूको खरानीकै थुप्रोबाट
उम्रनेछ आशाको दूबो
फेरि हरियो हुनेछ जङ्गल
चिरबिराउँदै उड्नेछन् चरा
र
निस्फिक्रीका साथ
चरनमा निस्कनेछन् जनावरका बथान ।