रमेश तूफान
तिमी आयौ
आउनु एउटा प्रक्रिया नै हो
धेरै प्रश्न उठ्न सक्छन्
तिम्रो उपस्थितिको
अथवा
आतङ्क,
संहारको बिल्ला
तिमीमा लाग्न सक्छ
तर
तिम्रो उपस्थिति
मान
हाम्रो आफ्नै
मानसिकताको उपज हो
मलाई थाहा छ
तिमीसँगको सामीप्य
मेरो
र मसँग जोडिएका
मेरा
आफन्तहरूको पनि अन्त्य हो
तिमी आयौ
म यतिबेला
निरीहतापूर्वक
तिम्रो स्वागत गरिरहेको छु– विवश
लाग्छ
तिम्रो उपस्थिति
कुनै हिसाब किताबबाट निर्देशित छ
हामीले
के मात्र चाहिँ गरेनौँ
सभ्यताको नाममा
कैयौँ नरसंहार र
मानवताको बलि दियौँ
वातावरणको अर्थमा
पर्यावरणमाथि प्रहार ग¥यौँ
आसक्तिले
निष्कामलाई दास बनायौँ
यस्तो लाग्छ
यही तिम्रो उपस्थितिको आधार हो
तिमी
यतिबेला रणक्षेत्रमा
आफन्तविरुद्ध
संहारमा उत्रिएका छौ भने
मैले
यसलाई
धर्मयुद्ध भन्नैपर्छ
र तिम्रो स्वागतमा म
उभिएको छु ठिङ्ग
कृष्ण सङ्कोच नमान
र फेरि संहार गर
एउटा नयाँ युगका लागि ।