गीता पौडेल
कोरोना भाइरस पैmलिन नदिन गरिएको बन्दाबन्दी (लकडाउन) मा काठमाडौँ, सतुङ्गलका सन्दीप पाण्डेको जीवनशैली पूरै फेरिएको छ । कार्यालयको काम, बैठक, भेटघाट, सभा, समारोह र पारिवारिक दायित्वलगायतले उहाँलाई बिहानदेखि बेलुकासम्म फुर्सद नै हुँदैनथ्यो । समय पु¥याउन नै धौधौ हुन्थ्यो । बन्दाबन्दीले कार्यालयको सानोतिनो कामसमेत घरबाटै हुने र अरू समय घरमै बस्नुपर्दा उहाँलाई यतिखेर फुर्सद नै फुर्सद मिलेको छ । यो फुर्सदलाई उहाँले ध्यानमा लगाउनुभएको छ ।
दुई वर्ष अगाडि गरेको विपश्यना ध्यानलाई सम्झँदै सन्दीप भन्नुहुन्छ– ‘व्यस्तता भनौँ या अनुकूलता नभएर हो यो ध्यानलाई नवीकरण गर्न सकेको थिइनँ । बन्दाबन्दीको यो समयलाई यही ध्यान गरेर भरपुर सदुपयोग गरिरहेको छु । बिहान र बेलुका कम्तीमा पनि एक घण्टा मैले ध्यानका लागि छुट्याएको छु ।’
‘कोरोनाले सबै नकारात्मक कुरा मात्र ल्याएको छैन । मलाई त सकारात्मक कुरा पनि ल्याएको छ । त्यो हो, पहिले सिकेको आफ्नो ध्यानलाई नवीकरण गर्ने अवसर’ उहाँ भन्नुहुन्छ, ‘आपूmले आपैmँलाई अनुभूति गर्न पाएको छु । यद्यपि शिविरमै बसेर गर्ने कुरा घरमा बसेर त सम्भव हुँदैन । ध्यानको आधारभूत कुरामा अभ्यस्त भएको छु । जुन समय अभावका कारण रोकिएको थियो ।’
धेरै पटक विपश्यना ध्यानमा भाग लिइसक्नुभएका पाटनका विकेश महर्जनको दैनिक जीवन पनि अहिले ध्यानमा नै बित्ने गरेको छ । उहाँको ध्यान बिहान बेलुकामात्रै सीमित छैन । दिउँसो पनि उहाँको यसमै बित्ने गर्छ । ललितपुरको अल्काटोलस्थित लिटिल फ्लावर पब्लिक स्कुलका प्रधानाध्यापकसमेत रहनुभएका महर्जनले विद्यालयमा पनि ध्यानलाई प्रवेश गराउनुभएको छ ।
‘यो बेला घरमा बसेर दिक्क मान्नुको सट्टा ध्यान गर्दा राम्रो हुन्छ । ध्यानमा अभ्यस्त भइयो भने पछि काममा फर्कन शरीरमा नयाँ ऊर्जा मिल्छ’, सुझाव दिँदै विकेश भन्नुहुन्छ ।
इच्छा भए इन्टरनेट गुरु
‘विपश्यना ध्यान एकपटक गरिसकेकाले त घरमा आफैँ गर्न सक्छन् तर कसैलाई सामान्य ध्यान गर्न इच्छा भए कुनै प्रशिक्षक या गुरुकै चरणमा पुग्नुपर्छ भन्ने छैन । सामान्य ध्यानको तरिका, विधि, मार्गदर्शन, प्रवचन प्रशस्तै पाइन्छन् इन्टरनेटमा ।’ विकेश भन्नुहुन्छ– ‘ध्यान गर्दै नगरेकाहरूले पनि इन्टरनेटको सहयोगले आफूलाई अभ्यस्त बनाउन सक्छन् । के कति लिन सकिन्छ लिँदै जाने हो । ध्यानको प्रक्रियामा जान्दै नजानेकाहरूले पनि लाभ लिन सक्छन् । अहिलेको परिस्थितिसँग जुध्न पनि ध्यान उपयुक्त माध्यम हो । यस्तै दिनरात व्यस्त जीवनशैली अपनाउने मानिसलाई पनि ध्यानले ऊर्जा भर्ने काम गर्ने विकेश बताउनुहुन्छ । विपश्यना ध्यानमा भाग लिएपछि मन चङ्गा हुने, ससाना कुरामा पनि तनाव लिने बानी हट्ने, कहालीलाग्दो भविष्य र दिग्दारलाग्दो वर्तमान सम्झेर झनक्क रिसाउने जस्ता शैलीमा परिवर्तन आउने बताउँदै विकेश आफ्नो अनुभव सुनाउनुहुन्छ– ‘ध्यानले मनलाई शान्त र स्थिर रहन बल प्रदान गर्छ । काम या अध्ययनमा एकाग्रता ल्याउनुका साथै आत्मविश्वास बढाउँछ । यसमा निरन्तर अभ्यासको भने जरुरी छ ।’
विपश्यना ध्यान के हो ?
विपश्यना एक सरल र उपयोगी ध्यान विधि हो । यसको शाब्दिक अर्थ ‘वि’ भनेको राम्ररी र ‘पश्यना’ भनेको हेर्नु हो । यसरी विपश्यना ध्यान भन्नाले आफँैभित्र राम्ररी हेर्नु भन्ने बुझिन्छ । यसको प्रयोगबाट मनलाई वास्तविक शान्ति प्राप्त हुन्छ । यसको अभिप्राय जुन स्थिति जस्तो छ त्यसलाई उस्तै जान्नु हो । अभ्यासका क्रममा आत्मनिरीक्षणद्वारा मन निर्मल गर्दागर्दै हामी के जान्दछौँ भने हाम्रो मन कहिले विचलित हुन्छ, कहिले हताश त कहिले असन्तुलित । यी कारणले जब हामी व्यथित हुन्छौँ, तब आफ्नो व्यथा आफूमै सीमित नराखी अरूलाई पनि बाँड्न थाल्दछौँ । स्वयं सुखशान्तिको जीवन बाँच्न र अरूलाई पनि यस्तो जीवन दिन खोज्छौंँ तर त्यस्तो गर्न सक्दैनौँ । अतः प्रश्न उठ्छ कसरी सन्तुलित जीवन बाँच्ने ? विपश्यनाको निरन्तर अभ्यासले हामीलाई यसैमा योग्य बनाउँछ कि आफूभित्र शान्ति र सामञ्जस्य अनुभव गर्नुका साथै यसले चित्तलाई निर्मल बनाउँछ । चित्तको व्याकुलता र त्यसको कारणलाई हटाउँदै लैजान्छ । यसको अभ्यास गरिरहेमा क्रमशः अगाडि बढ्दै आफ्नो मनलाई विकारबाट मुक्त बनाउनुका साथै नितान्त विमुक्त अवस्थाको साक्षात्कार गर्न सकिन्छ । मानिसको दुःखको प्रमुख कारण राग, द्वेष र मोह हो । मानिसमा शारीरिक र चेतनामय गरी दुई खालका संवेदना पैदा हुन्छन् । यी संवेदना अस्थायी र अनित्य छन् । यी अस्थायी र अनित्य संवेदनाको कारण मानिस दुःखी हुन्छ । अतः यस अवस्थालाई हटाएर आफ्नो यथार्थ अवस्थामा रहनका लागि यसको अभ्यास गरिन्छ । बुद्धको अत्यन्त महत्वपूर्ण खोज छ– वस्तुलाई जे जस्तो छ त्यसै रूपमा जान्ने शिक्षा । अर्थात् यो दुनियाँ परिवर्तनशील छ । मानिसको जीवन पनि परिवर्तनशील र अनित्य छ । जन्मपछि मृत्यु अनिवार्य छ । यस दुनियाँमा कोही पनि अजर अमर छैन । प्रत्येक जीव र निर्जीव वस्तु निरन्तर परिवर्तनशील अवस्थामा छन् । भनिन्छ ठीकसँग ११ दिवसीय शिविरमा बसेको र नियमित विपश्यनाको अभ्यास गर्ने विद्यार्थी कहिल्यै दोस्रो हुँदैन सधैँ प्रथम हुन्छ । भारत र विश्वकै ठूला कम्पनीले आफ्ना प्रबन्धकलाई कार्यक्षमता वृद्धि, रचनात्मक र सकारात्मक पहलको विकासका लागि समय समयमा विपश्यना शिविरमा पठाउने गर्दछन् ।
विपश्यनाको अभ्यास
विपश्यना ध्यान सिक्नका लागि योग्यता प्राप्त शिक्षक (आचार्य) को सान्निध्यमा दशदिने आवासीय शिविरमा सामेल हुन आवश्यक छ । शिविरको अवधिमा साधक बाहिरी सम्पर्कबाट अलग तथा ध्यान अवधिभर शिविर स्थलभित्र रहनुपर्दछ । पटक–पटक गरी दिनमा दश घण्टा ध्यान गर्नुपर्दछ । ध्यान अवधिभर पढाइलेखाइ, पूजापाठ तथा अन्य क्रियाकलाप गर्नहुँदैन । शिविर व्यवस्थापन र ध्यानसम्बन्धी कुनै जिज्ञासा भए व्यवस्थापक र आचार्यसँग कुराकानी गर्न भने सकिन्छ ।
प्रशिक्षणका तीन खुड्किला छन् । पहिलो खुड्किलो– साधक आफ्नो हानि हुने कार्यबाट पर रहनुपर्दछ । यसका लागि उसले पाँच शील– जीव हिंसा नगर्ने, चोरी नगर्ने, सत्य बोल्ने, ब्रह्मचर्य पालना गर्ने तथा नशालु पदार्थको सेवन नगर्ने अठोट गर्नुपर्दछ । यी शील पालना गर्नाले मन शान्त हुनुका साथै अगाडि काम गर्न सरल हुन्छ । दोस्रो खुड्किलो– शिविरको शुरुका साढे तीन दिन श्वासमा ध्यान केन्द्रित गर्ने अभ्यास गरिन्छ । यस विधिलाई ‘आनापान’ भनिन्छ । शुद्ध जीवन बाँच्न र मनलाई नियन्त्रण गर्न यी दुई कुरा आवश्यक र लाभदायी छन् । यसकै निरन्तरतास्वरूप तेस्रो सिँढी शिविरको पछिल्ला साढे छ दिन विपश्यनाको अभ्यासका रूपमा आचार्यको निर्देशन अनुसार गरिन्छ ।
अहिले विभिन्न देशमा विपश्यना शिविर स्थायी केन्द्रहरूमा लाग्दै आएको छ । सामान्य दश–दिवसीय शिविरको आयोजना त भइरहन्छ । यसबाहेक साधनामा अघि बढेका साधकहरूका लागि समय–समयमा विशिष्ट शिविर र बीस, तीस, पैँतालीस तथा साठी दिनको दीर्घ शिविर पनि लगाइन्छ । नेपाल र भारतमा बा(लबालिकाका लागि लघु शिविर नियमित रूपमा सञ्चालन हुन्छ ।
परिवर्तन र विपश्यना
विपश्यना ध्यान बुझ्नेलाई श्रीखण्ड र नबुझ्नेलाई खुर्पाको बिँड भनेजस्तै हो । यो ध्यानविधि एउटा यस्तो बाटो हो, जसले सबै तनाव र दुःखबाट छुटकारा दिन्छ । राग, द्वेष र मोह हटाउँछ । यसको अभ्यास गर्नेहरू अलि–अलि गरेर आफ्नो दुःखबाट पर हुँदै जान्छन् र दृढताका साथ मानसिक तनावबाट बाहिर निस्केर सुखी, स्वस्थ र सार्थक जीवन बाँच्न थाल्छन् ।
भारतका विभिन्न कारागार, सैनिक केन्द्र तथा प्रहरी विभागहरूमा सत्यनारायण गोयन्काले सञ्चालन गरेको विपश्यनाको प्रयोगले परिवर्तनका उदाहरण प्रशस्त देखाएको थियो । केन्द्रीय कारागार जयपुरमा १२० बन्दीमा गोयन्काले सञ्चालन गरेको ऐतिहासिक शिविर भारतकै दण्ड व्यवस्थाको इतिहासमा पहिलो प्रयोग बनेको थियो । उहाँले सन् १९९४ मा दिल्लीको तिहाड कारागारमा हजारभन्दा बढी मानिसका लागि शिविर सञ्चालन गर्नुभएको थियो । यस प्रसङ्गबाट के सङ्केत मिल्छ भने विपश्यना ध्यान सकारात्मक सुधार ल्याउने एक यस्तो उपाय हो, जसले अपराधीलाई पनि समाजको असल सदस्य बनाउन मद्दत गर्छ । सरकारीतन्त्रमा यस विधिले कस्तो सुधार आउन सक्छ भन्ने कुराको प्रमाण गोयन्कालाई विपश्यना ध्यान सिकाउने आचार्य सयाजी ऊ बा खिन स्वयंको सेवाकाललाई पनि लिन सकिन्छ । सयाजी अनेक सरकारी विभागका अध्यक्ष हुनुहुन्थ्यो । आफ्नो मातहतका कर्मचारीलाई यो ध्यान सिकाएर उनीहरूमा कर्म, निष्ठा, अनुशासन तथा नैतिकताको अझ बढी विकास गर्न उहाँ सफल हुनुभएको थियो ।
विपश्यना अभियानका सारथि
विश्वका करोडौँ मानिससम्म विपश्यना ध्यान पु¥याउने सत्यनारायण गोयन्काको ९० वर्षको उमेरमा तीन वर्षअघि भारतको मुम्बईमा निधन भयो । सन् १९२४ जनवरी ३० मा बर्माको उद्योगी परिवारमा उहाँको जन्म भएको थियो । कुनैबेला त्यहाँको ‘उत्कृष्ट १०’ धनीमध्ये उहाँ छैटौँ स्थानमा हुनुहुन्थ्यो । विपश्यना आचार्य सयाजी ऊ बा खिनलाई नभेटेसम्म उहाँको अर्को परिचय हिन्दु नेताका रूपमा रह्यो । २५ वर्षको उमेरमा माइग्रेन रोगले गाँज्नुअघि नै उहाँ गीता र वेदमा पारङ्गत भइसक्नुभएको थियो । घातक माइग्रेन रोग अमेरिकाका विख्यात चिकित्सकले समेत निको पार्न नसकेपछि बर्मेली धनाढ्यका पाइला विपश्यनातर्फ लम्किए । मस्तिष्कको अभ्यास गराउने साधनाको असरले उहाँ स्वस्थ हुनुभयो । तत्कालीन बर्माका प्रभावशाली आचार्य सयाजी ऊ बा खिनको सान्निध्यमा १४ वर्ष साधना सिकेपछि सन् १९६९ मा उहाँ पुर्खाको मुलुक भारत फर्कनुभयो । त्यसपछि व्यापारको जिम्मेवारी छोराहरूलाई सुम्पिएर गोयन्का ध्यानविद्या बाँड्न श्रीमती इल(ाइचीदेवीका साथ १० वर्ष भारतयात्रामा निस्कनुभयो । दोस्रो चरणमा उहाँको यात्रा युरोप र अमेरिकामा भयो ।
बुद्धविद्या बोकेर सन् १९८१ मा आचार्य गोयन्का बुद्धको जन्मभूमि नेपाल प्रवेश गर्दा यहाँको वास्तविकता फरक थियो । नेपालले बुद्धलाई जन्माएको थियो तर बुद्धको विद्या के हो, कसरी अभ्यास गरिन्छ, यसको असर के हुन्छ, कसैलाई पत्तो थिएन । एकादुई भिक्षुका विहारबाहेक अन्यत्रबाट यो पहिल्यै लोप भइसकेको थियो । बुद्धविद्या गृहस्थहरूका लागि होइन, केवल भिक्षुहरूका लागि हो भन्ने भ्रम व्याप्त थियो तर गोयन्काले स्वयम्भूको आनन्दकुटी बिवहारमा पहिलोचोटि १० दिने शिविर सञ्चालन गर्दा २५० जनाको सहभागिता थियो । उहाँलाई यो शिविर सञ्चालन गर्न नेपाल निम्तो गर्नेमा दुई उद्यमी मणिहर्ष ज्योति र यदुकुमार सिद्धि हुनुहुन्थ्यो । सन् २००० मा राष्ट्रसङ्घको ‘सहस्राब्दी विश्व शान्ति सम्मेलन’मा आचार्य गोयन्काले दिएको वक्तव्यले पनि विश्व समुदायमा तरङ्ग ल्याएको थियो । उहाँले विश्वमञ्चमा वक्तव्य मात्र दिनुभएन करोडौँ मान्छेलाई १० दिने शिविरमार्फत विपश्यनाको अनुभव नै गराइदिनुभयो । यो कार्यक्रमपछि धेरैले उहाँलाई नोबेल शान्ति पुरस्कार दिन अभियान नै चलाएका थिए ।
नेपालमा विपश्यना
नेपालमा सन् १९८१ मा काठमाडौँस्थित आनन्दकुटी विहारमा सत्यनारायण गोयन्काले सर्वप्रथम विपश्यना शिविर सञ्चालन गर्नुभएको माथि नै उल्लेख गरियो । यसकै निरन्तरतास्वरूप नेपाल विपश्यना केन्द्र, धम्मशृङ्गको स्थापना भएको हो । धम्मशृङ्गमा हाल प्रत्येक अङ्ग्रेजी महिनाको १ र १४ तारिख दुईपटक शिविर सञ्चालन भइरहेको छ । केन्द्रमा २५४ जना साधकसाधिकाका लागि ध्यान गर्ने तथा आवासको व्यवस्था छ ।
नेपालका अन्य केन्द्रमध्ये वीरगञ्ज, इटहरी, लुम्बिनी, कीर्तिपुर, पोखरा, सुर्खेत, चितवन, इलाम, लुक्ला, ललितपुरको गोदावरी लगायत ठाउँमा ध्यान शिविरको आयोजना हुँदै आएको छ । राजधानीमा विपश्यना केन्द्रका अतिरिक्त पुनर्ताजगीका लागि विभिन्न संस्था क्रियाशील छन् । मुलुक हाँक्नेदेखि सर्वसाधारण जनतासमेत हजारौँ विपश्यनाको ऊर्जाबाट प्रत्यक्ष लाभान्वित भइसकेका छन् । विपश्यनाको हरेक शिविरमा ४० प्रतिशतभन्दा बढी विदेशी नागरिक हुने गर्दछन् । राजधानीमा मात्र नभएर उपत्यका बाहिरका केन्द्रमा समेत विदेशी नागरिकको उल्लेख्य सहभागिता रहने गरेको छ । शिविरमा मन्त्री, सभासद्, चिकित्सक, कर्मचारी, उद्योगी÷व्यवसायी, कलाकार, पत्रकार, विद्यार्थीलगायत सर्वसाधारणको सहभागिता रहने गर्दछ ।
ऐतिहासिक पृष्ठभूमि
विपश्यना एक अत्यन्त पुरानो विधि हो । लगभग २५ सय वर्षपूर्व गौतम बुद्धले यस विद्यालाई प्रकाशमा ल्याएको बताइन्छ । बुद्धले आफूले अनुभव गरेको ज्ञान पैँतालीस वर्षसम्म अरूलाई बाँड्नुभएको थियो । बुद्धकै समयमा धेरै सङ्ख्यामा उत्तर भारतका मानिस विपश्यनाको अभ्यासले आ–आफ्नो दुःखबाट मुक्त भए र जनजीवनका प्रत्येक क्षेत्रमा उच्च उपलब्धि हासिल गरे । समयका साथै यो विधि छिमेकी देशहरू बर्मा, श्रीलङ्का, थाइल्यान्डलगायत देशमा फैलियो । त्यहाँ पनि कल्याणकारी सिद्ध भएको यो विद्या बुद्धको महापरिनिर्वाणको लगभग पाँच सय वर्षपछि भारतबाट लुप्त भएको थियो । अरू देशमा पनि यसको शुद्धता नष्ट भयो । केवल बर्मा (म्यानमार)मा मात्र यस विधिप्रति समर्पित शिक्षकहरूको एक समूहले गुरु शिष्य परम्पराबाट यस विधिलार्ई अक्षुण्ण राख्न सफल भए ।
यही परम्पराका प्रख्यात आचार्य सयाजी उ बा खिनले सन् १९६९ मा सत्यनारायण गोयन्कालाई विपश्यना सिकाएका थिए । गोयन्काको अथक प्रयासले हाल यो विद्या भारत र नेपालमा मात्र होइन, विश्वका ८१ भन्दा बढी मुलुकमा पुगेको छ र ती देशका मानिसले यसको लाभ उठाइरहेका छन् । भारतमा जुलाई १९६९ देखि विपश्यना शिविर सञ्चालन भएको थियो । यसको दश वर्षपछि विदेशमा पनि यसको प्रशिक्षण दिन गोयन्काले सुरु गर्नुभयो । विगत २५ वर्षमा उहाँले चार सयभन्दा बढी दशदिवसीय विपश्यना शिविर सञ्चालन गरी सक्नुभएको छ । उहाँले पाँच सयभन्दा बढी सहायक (शिक्षक)आचार्यहरूलाई नियुक्त गर्नुभएको छ । उनीहरूले विश्वभरमा हजारौँ शिविर सञ्चालन गरिसकेका छन् । यसका अतिरिक्त विपश्यना अभ्यासका लागि सयौँ केन्द्र स्थापना भइसकेका छन् । जसमध्ये नेपालमा ११ शिविर केन्द्र छन् ।