कृष्णप्रकाश श्रेष्ठ
आज, २२ अप्रिल २०२० (बुधबार), सोभियत सङ्घका संस्थापक भ्लादिमिर लेनिनको १५०औँ जन्मजयन्ती । मलाई सन् १९७० मा सोभियत सङ्घमा विशेष सजधजका साथ मनाइएको लेनिन जन्मशताब्दीको सम्झना भयो । त्यतिखेर लेनिनको नेतृत्वमा सम्पन्न अक्टोबर समाजवादी क्रान्तिको केन्द्र लेनिनग्राद (हाल ः सेन्ट पिटर्सबुर्ग) र लेनिनको जन्मस्थल भोल्गा नदी तटवर्ती उल्यानोभ्स्क सहरको अवलोकन गर्ने सुअवसर पाएको थिएँ । समाजवादी क्रान्तिको सञ्चालन केन्द्रका रूपमा रहेको स्मोल्नी भवन (हाल ः सेन्ट पिटर्सबुर्गका मेयरको कार्यालय) र लेनिनको जन्मथलोमा पुगेर लेनिन जन्मेको घरलाई बीचमा पारेर बनाइएको भव्य स्मारक आदिको अवलोकन गर्दा निकै हर्षको अनुभव भएको थियो । सन् १८७० को २२ अप्रिलका दिन जुन घरमा लेनिनको जन्म भएको थियो, त्यो घर र जुन स्कुलमा लेनिन पढेका थिए, त्यो स्कुलमा पस्दा विचित्रको भाव अनुभूत हुनु स्वाभाविकै थियो । पहिले सिम्बिर्सक भनिने लेनिन जन्मेको सहरलाई लेनिनको देहान्तपश्चात् सन् १९२४ मा उनको थर–नामबाट उल्यानोभ्स्क नामकरण गरिएको थियो ।
मस्कोमा यसपटक कोरोनाका कारणले मात्र नभई, नयाँ रूसमा लेनिनको उति चर्चा पनि नहुने भएकाले लेनिनको १५०औँ जन्मजयन्तीमा कुनै चहलपहल अनुभव नहुनु स्वाभाविकै हो । तैपनि रूसका रेडियो र टेलिभिजनबाट लेनिनसित सम्बन्धित केही विवेचनात्मक प्रसारणहरू सुन्न पाइएको थियो ।
मस्कोको केन्द्रमा अवस्थित लालमैदानको क्रेमलिन पर्खालनेर सन् १९१७ को २५ अक्टोबर (नयाँ शैलीको पात्रोअनुसार ७ नोभेम्बर) का दिन रूस साम्राज्यको तत्कालीन राजधानी पेत्रोग्राद (हाल ः सेन्ट पिटर्सबुर्ग) मा संसारमै सर्वप्रथम रूसमा समाजवादी क्रान्ति सम्पन्न गर्ने विश्वविख्यात नेता भ्लादिमिर इल्यिच लेनिनको समाधिगृह (मब्जोलियम) छ । गाढा रातो सिङ्गमर्मरबाट निर्मित चारपाटे भव्य समाधिगृहभित्र तीन मिटरको गहिराइमा सन् १९२४ को २५ जनवरीदेखि सोभियत राष्ट्रका प्रवर्तक लेनिनको पार्थिक शव सुरक्षित राखिएको छ । यदि मस्को पनि विश्वव्यापी कोरोना भाइरसको महामारीमा नपरेको हुँदो हो त विश्वमा पहिलो समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनको १५०औँ जन्मजयन्तीको उपलक्ष्यमा २२ अप्रिल २०२० का दिन समाधिगृहको द्वारनेर वर्तमान रूस कम्युनिस्ट पार्टीका नेता उपस्थित भई पुष्पाञ्जली अर्पण गर्नुका साथै समाधिगृहभित्र पसेर गोलीले पनि छेड्न नसक्ने ऐनाको ठूलो शवपात्रभित्र विगत ९६ वर्षदेखि चीरनिद्रामा सुतिरहेका नेताको दर्शन गरी मौनतापूर्वक झुकेर श्रद्धाञ्जली अर्पण गर्ने थिए ।
सन् १९२४ को २१ जनवरीका दिन चौवन्न वर्षकै उमेरमा भ्लादिमिर लेनिनको देहान्त भएको थियो । विशाल रूसकै विभिन्न इलाका र देश–विदेशका पनि कैयौँ गन्यमान्य व्यक्तिले लेनिनसँग अन्तिम बिदाइ लिने इच्छा जनाएको हुँदा र औपचारिक कथनानुसार रूसका लाखौँ मजदुर र किसानले आफ्ना नेता लेनिनको शव सामान्य मानिसको जस्तै जमिनमुनि नगाडेर भावी पुस्ताका लागि समेत सुरक्षित राख्ने आग्रह गरेका थिए । यही आग्रहबमोजिम सोभियत सरकारको नाममा पत्र र टेलिग्रामहरू आएको हुँदा लेनिनको शव सुरक्षित राख्ने निर्णय लिइएको थियो । यसका लागि लेनिनकी पत्नी नादेज्दा क्रुप्स्कायाबाट समेत स्वीकृति लिइएको थियो । तत्कालै प्राज्ञद्वय भ्लादिमिर भोरोभ्योभ र बोरिस ज्बार्सकीको नेतृत्वमा वैज्ञानिकहरूले लेनिनको शव लामो समयसम्म सुरक्षित राख्ने विधिको उपयोग गरे भने वास्तुकार अलेक्सेई स्युसेभले चाहिँ समाधिगृहको निर्माण गर्ने अभिभारा पाए । पहिले काठको समाधिगृहमा लेनिनको शव राखिएको थियो । पछि सन् १९२९÷३० मा वर्तमान समाधिगृहको निर्माण सम्पन्न भयो । यो २४ मिटर लम्बाइ र चौडाइ भएको र १२ मिटर अग्लो भव्य लेनिन समाधिगृह रूसको साँस्कृतिक निधि बन्न पुगेको छ । जमिनमुनि र माथि समेत गरी कङ्क्रिट र इँटाले पाँचतले पिरामिडका रूपमा जब्बर तरिकाले यो स्थल बनाइएको छ । बाहिरपट्टि जमिनमाथि देखिने भागचाहिँ गाढा रातो सिङ्गमर्मरबाट निर्मित छ । सोभियत सङ्घउपर सन् १९४१ को जुन महिनामा अप्रत्याशित ढङ्गले आक्रमण गर्ने जर्मनी सेना मस्कोको छेउसम्मै आइपुग्दा सन् १९४१ देखि १९४५ सम्म लेनिनको शव साइबेरियाको त्युमेन सहरमा सुरक्षित राख्न लगिएको थियो । त्यो बेला लेनिन समाधिगृहलाई बमबारीबाट बचाउने उद्देश्यले सामान्य घरको रूप दिइएको थियो । लेनिनको शवको परीक्षण हरेक साता नियमित रूपमा गरिन्छ र यस उद्देश्यले समाधिगृहको दुवैतिर निर्मित सिँढीदार दर्शकदीर्घाको मुन्तिर भूमिगत प्रयोगशाला छ । सोभियतकालमा यस समाधिगृहको माथिल्लो हिस्सामा रहेको मञ्चमा उत्सवको बेला सोभियत नेताहरू लहरै उभिएर लालमैदानमा सम्पन्न गरिने उत्सवीय जुलुस, सैनिक परेड, विभिन्न झाँकीको अवलोकन गर्दथे र जुलुसका सहभागीलाई हात हल्लाएर उत्साहित गर्दथे । वृद्ध सोभियत नेताहरूलाई मञ्चमा उक्लन सहज होस् भनेर पछिल्तिर लिफ्टसमेत राखिएको थियो भनिन्छ । तर, सन् १९९६ पछि हाल यस उद्देश्यका लागि समाधिगृहमाथि रहेको स्थायी मञ्चमा नचढेर नजिकै अस्थायी मञ्च बनाइने गरिएको छ र यो उचित पनि छ । हाल समाधिगृहमा राजकीय गारथको सैनिक पनि राखिँदैन । तर, सुरक्षार्थ प्रहरी राखिएका छन् र लेनिनको शवको अवलोकन गर्न र श्रद्धाञ्जली अर्पण गर्न चाहनेहरूका लागि निश्चित दिनमा बिहानदेखि मध्याह्नसम्म समाधिगृहको द्वार खुला राख्ने गरिएको छ । सोभियतकालमा चीरनिद्रामा रहेका लेनिनको दर्शनार्थ अलेक्सान्द्रोभ्स्की बगैँचामा रहेको अखण्ड ज्योति दिन–रात बलिरहने अज्ञात सैनिकको स्मारकदेखि लालमैदानसम्म मानिसको निकै लामो लाम लागेको हुन्थ्यो । त्यसताका रेडियो मस्कोबाट प्रसारित गरिएको मेरो एउटा लेखमा मैले यस लामलाई नदीकै उपमा दिएर लेनिन समाधिगृह तीन नदीको त्रिवेणीमा अवस्थित छ भनी लेखेको थिएँ । लालमैदानको दुईतिर बग्ने दुई प्राकृतिक नदीमध्ये एउटाले रूसको राजधानीलाई नै आफ्नो नाउँ दिएको छ भने याउजा नाउँको अर्को नदीचाहिँ मस्कोको विकासका साथै जमिनमुनि बग्न बाध्य छ । त्यसमाथि अग्ला घर र क्रेमलिन पर्खालको हाराहारी रहेको अलेक्सान्द्रोभ्स्की बगैँचा छ । अनि लेनिन समाधिगृह हेर्न चाहने मानिसको लामलाई मैले तेस्रो नदीका रूपमा कल्पना गरेको थिएँ । हाल यो लाम केही छोटो देखिन्छ । तर, देश–विदेशबाट रूसको राजधानी पुगेका मानिस लेनिन समाधिगृह नहेरी स्वदेश फर्कंदैनन् भन्न सकिन्छ । मस्कोको केन्द्रमा रहेको लालमैदान भनिने ढुङ्गा बिछ्याइएको सुन्दर चोकमा क्रेमलिन पर्खालको आडमा रहेको चिटिक्क परेको लेनिन समाधिगृहभित्र पस्नेबित्तिकै अँध्यारोमा छामछुम गरेर हिँड्नुपर्छ । प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै देब्रेतिर अँध्यारोमा बिस्तारै सिँढीहरूबाट ओर्लेर तीन मिटर तल रहेको शोक कक्षमा पुगिन्छ । जहाँ मध्यभागमा ऐनादार ठूलो शवपात्र राखिएको छ । त्यहाँ मधुरो उज्यालोमा लेनिनको उज्ज्वल शवपात्र देखिन्छ । त्यसलाई देब्रेतिर पार्दै केही सिँढी उक्लेर चीरनिद्रामा पल्टिरहेका लेनिनको मुहार सामुन्ने एकछिन रोकिएर अगाडि बढेर फेरि सिँढीबाट तल ओर्लनुपर्छ । तल पुगेपछि लेनिनको शवलाई अन्तिमपल्ट अवलोकन गरी बाहिर निस्कने ढोकाबाट उज्यालो ठाउँका सिँढी उक्लँदै समाधिगृहबाट निस्केर बाहिर समाधिगृहको पछिल्तिर रहेका सोभियत नेताहरूको सालिक र क्रेमलिन पर्खालमा कालो पत्थरमा सुनौला अक्षरमा लेखिएका नाउँ नियाल्दै रूसको केन्द्रीय समाधिस्थलको अवलोकन समाप्त गरिन्छ ।
सोभियतकालमा लेनिन समाधिगृहको मूलद्वारमा दुवैतिर बन्दुकधारी सैनिकले हरेक घण्टामा (हिउँदमा चाहिँ हरेक आधा घण्टामा) पालो फेर्दै हलचल नै नगरेर उभिइरहेको दृश्य देख्न सकिन्थ्यो । क्रेमलिनको स्पास्की बुर्जामा चारैतिर रहेका घडीले समयको सङ्केत दिने बेला तरवारधारी एक अधिकृतको साथमा बन्दुकधारी दुईजना सैनिकले पालो फेर्दाको रमाइलो दृश्य हेर्न मानिस झुम्मिने गर्दथे । लेनिन जयन्तीका दिनमात्र नभई, अन्य राजकीय उत्सवका दिनमा पनि सोभियत नेताहरूले लेनिनप्रति समर्पित पुष्पगुच्छाहरू मूलद्वारनेर चढाउँथे । सोभियत सङ्घको राजकीय भ्रमणमा आउने विदेशी राजनेता र राजाले पनि त्यहाँ पुष्पाञ्जलि चढाउने रीति थियो । सन् १९५८ मा नेपालका राजा महेन्द्रबाट त्यहाँ पुष्पाञ्जली अर्पण गरेको देख्न नपाए पनि सन् १९७१ को जुनमा राजा महेन्द्र तथा सन् १९७६ नभेम्बरमा राजा वीरेन्द्रबाट लेनिन समाधिमा माल्यार्पण गरिएको समाचार रेडियो मस्कोबाट नेपाली भाषामा प्रसारित गर्न पाएको थिएँ । सन् १९६१ मा पहिलोपटक समाधिगृहको अवलोकन गर्न जाँदा भित्रको शोककक्षमा लेनिन र स्टालिन दुवै सोभियत नेताको शव सँगसँगै राखिएको देखेको थिएँ । पछि सोभियत नेता, प्रधानमन्त्री निकिता ख्रुश्चेभले स्टालिनको व्यक्तिपूजाको घोर विरोध जनाएपश्चात् सन् १९६४ मा लेनिन समाधिकै पछिल्तिर अन्य सोभियत नेताहरूको शव दफनाइयो । सालिक स्थापना गरिएको ठाउँमै स्टालिनको शव समाधिगृहबाट झिकेर दफनाइएको थियो र समाधिगृहको मूल प्रवेशद्वारमाथि ठुल्ठूला अक्षरमा लेखिएको स्टालिनको नाउँ पनि मेटिएको थियो । हाल त्यस ठाउँमा नेता निकिता ख्रुश्चेभबाहेक लहरै अन्य नेताहरूको साथै स्टालिनको सालिक पनि राखिएको छ ।
नयाँ प्रजातान्त्रिक रूसमा लेनिनको मानमर्यादा पहिलेजस्तो गरिँदैन र नयाँ पुस्ताका युवालाई लेनिन को थिए भन्ने पनि थाहा नभएको पाइन्छ । सोभियतकालमा बालबालिकाले पनि लेनिनलाई हजुरबाका रूपमा चिन्दथे । अहिले यदाकदा लेनिनको शव समाधिगृहबाट हटाउनुपर्छ, अर्थाडक्स क्रिश्चियन धर्मअनुसार शव जमिनमा दफनाइनुपर्छ, यसरी प्रदर्शन गरेर राख्न हुँदैन भन्ने आवाज पनि सुनिन्छ । रूस कम्युनिस्ट पार्टीले चाहिँ पुराना पुस्ताको धारणामा आघात पुग्ने काम गर्नु मनासिब हुँदैन । सबै कुरा नश्वर हुनाले मानिसको शव कतिञ्जेलसम्म सुरक्षित राख्न सकिन्छ भन्ने वैज्ञानिकहरूले गरिरहेको प्रयोगमा पनि बाधा हाल्नु उचित हुन्न भन्ने तर्क प्रस्तुत गर्ने गरेको छ । मस्को आउने देश–विदेशका मानिसले पनि लेनिनको सुरक्षित शवको अवलोकन गर्ने चाहना राख्ने गरेको पनि सर्वविदितै छ ।
समाजवादी क्रान्तिका नेता भ्लादिमिर लेनिनले आफ्नो समयमा श्रमजीवी जनताको व्यापक समर्थन प्राप्त गरेर विशाल देश रूसलाई छिन्नभिन्न हुनबाट बचाएका थिए । उनलाई भेट्न रूसका विभिन्न इलाकाहरूबाट मात्र नभई, भारतलगायत विभिन्न देशहरूबाट पनि मानिस लुकीछिपीसमेत भेट्न आउने गरेका थिए । भारतबाट आएको प्रतिनिधिमण्डलमा नेपालका एक राजा पनि थिए भनिन्छ । ती नेपालका राजा भनिएका व्यक्ति बझाङी राजा तथा मानवतावादी साहित्यकार जयपृथ्वीबहादुर सिंह नै थिए भन्न सकिन्छ । सन् १९०८ मै सोभियत सङ्घ अस्तित्वमा आउनुभन्दा पहिले सर्वप्रथम तत्कालीन रूसको राजधानी सेन्टपिटर्सबुर्ग पुग्ने पहिलो नेपाली पनि उनी नै थिए । तर, उनले स्टालिनको पालामा सन् १९२९ मा भने अनेक कोसिस गर्दासमेत ‘राजा भएका कारणले’ सोभियत सङ्घको यात्रा गर्न प्रवेशाज्ञा पाउन सकेनन् । हाल समाजवाद ग्रहण गर्ने पहिलेका पूर्वी युरोपेली देशहरू र युक्रेनमा समेत लेनिनका सालिकहरू नष्ट गर्ने अभियान नै चलेको पाइन्छ । लेनिनका सालिकहरू ढाल्ने यस अभियानले ‘लेनिनापाद’ भन्ने नाउँसमेत पाएको छ । अवश्य पनि लेनिन मानिस नै हुन् र उनले गल्ती गर्दै नगर्ने भन्ने पनि होइन । उनको एउटा अदूरदर्शी गल्ती थियो जातीय आधारमा सङ्घात्मक सोभियत सङ्घको संरचना गर्नु । सम्भवतः उनको समयमा विशाल देशलाई एकबद्ध पार्न यसको आवश्यकता नै थियो कि ? राष्ट्रको आत्मनिर्णयको अधिकारलाई स्वीकार गर्ने लेनिनको नीतिअनुरूप पहिले रूस साम्राज्यका अधीनस्थ पोल्यान्ड र फिनल्यान्डको स्वाधीनता स्वीकार गरिएको थियो र युक्रेनलगायत सोभियत सङ्घअन्तर्गतका विभिन्न गणराज्यहरूको राष्ट्रिय सबलीकरण र पहिले आफ्नो लिपिसमेत नभएका विभिन्न जातिहरूको भाषासाहित्यको विकासमा पनि जोड दिइएको थियो । सोभियत सङ्घमा अन्तर्राष्ट्रियतावादको सिद्धान्तको जतिसुकै प्रचार गरिए तापनि राष्ट्रवादको तुषले गर्दा सोभियत सङ्घजस्तो विशाल देश सन् १९९० मा पन्ध्र टुक्रामा विभाजित भयो ।
लेनिनले सोभियत सङ्घको स्थापनापश्चात् ६ वर्षमात्र शासन गर्ने सम्भावना पाए । त्यो निकै जटिल समयावधि थियो । एकातिर भिन्न राष्ट्रहरूले यस नवोदित विशाल देशको अस्तित्व मेटाउन हमला गरेका थिए भने अर्कातिर देश गृहयुद्धको आन्तरिक द्वन्द्वको धापमा फसेको थियो । यस्तो जटिल स्थितिमा पनि देशको विद्युतीकरणको योजना साकार तुल्याउनुजस्ता विकास योजनाहरूको जग हालियो र विकासका आधारका लागि नयाँ आर्थिक नीति लागू गरियो । लेनिन एक रूसी उच्च घरानाका उपज भए पनि लाखौँ निमुखा जनताको पक्षपोषक व्यक्तित्व थिए । छोटकरीमा भन्नुपर्दा कैयौँ ठेलीमा प्रकाशित लेनिनका कृतिहरूका आधारमा के भन्न सकिन्छ भने उनी आफ्नो समयका एक अतुलनीय विभूति थिए, आफ्नो देशको मात्र होइन कि विश्वकै उज्ज्वल भविष्यको सपना देख्ने एक द्रष्टा र विचारक थिए ।
लेनिनका सालिकहरू प्रायः यथावत् रहेका छन् । लेनिनको नामबाट विभूषित लेनिन पुस्तकालयको नाम परिवर्तन गरी राजकीय पुस्तकालय भनिए पनि त्यसको मुनि रहेको भूमिगत रेल–मेट्रो बिसौनीको नाम यथावत् छ । सोभियत सङ्घका प्रायः सबै सहरको प्रमुख सडकको नाम लेनिनकै नामबाट राखिएका छन् ।