सूर्यप्रसाद लाकोजू काभ्रेपलाञ्चोकको सुन्दर तथा ऐतिहासिक नगरी पनौतीमा बसोबास गर्नुहुन्छ । उहाँ नेपाली साहित्यमा समर्पित भएर लाग्नुभएको छ । उहाँका सिर्जना पनि त्यत्तिकै राम्रा छन् । ऐतिहासिक नगर पनौती र यहाँका चाडपर्वबारे पुस्तक प्रकाशन गर्नुभएको छ । शिक्षाक्षेत्रमा पनि उहाँ लामो समयदेखि समर्पित हुनुहुन्छ । शिक्षा, साहित्य र इतिहासमा रुचि राख्ने लाकोजू यी तिनै क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँका बालसाहित्य, कविता, मुक्तक, इतिहास, गीत र हाइकुलगायत दुई दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । लाकोजू अक्षरमार्ग साहित्यिक पत्रिकाको प्रधान सम्पादक पनि हुनुहुन्छ ।
उहाँको पछिल्लो कविता सङ्ग्रह ‘मेरो घाम’ हो । विधागत हिसाबले उहाँको यो चौथो कविता कृति हो । कविताको चौथोे कृतिसम्म पुग्दा उहाँको दृष्टिकोण र प्रभाव निकै सुन्दर रूपमा पोखिएको देखिन्छ । उहाँका कविता सुन्दर, सरल रूपमा समाजका विविधतासँगै रमाइरहेको देखिन्छ । कविता लेख्नु एउटा कुरा हो र त्यसलाई व्यवहारमा उतार्न सक्नु अर्को कुरा हो । लाकोजूको गुण भनेकै यही हो, आफूले गर्नुपर्ने कर्तव्यबाट टाढा नभएर समाजको श्रीवृद्धिमा लाग्न सकिन्छ भन्ने कुरा उहाँका कविताले व्यक्त गरेका छन् । जसरी सूर्यका किरणले आफू दुर्गन्धित नभईकन संसारका फोहोरलाई सुकाइदिन्छ । लाकोजूको कवितासङ्ग्रह ‘मेरो घाम’ ले पनि तिनै सूर्यको किरण जस्तै काम गरिरहेको छ ।
उहाँका कवितामा समाजको यथार्थता भेटिन्छ । यस्तै राष्ट्रवादी, प्रकृतिप्रेमी र सांस्कृतिक चेतना कवितामार्फत उद्घोष गरेको पाइन्छ । मनोरम सुन्दर नगरी पनौतीमा बसेर नै होला प्राकृतिक मोह उहाँमा देखिन्छ । पर्यावरण कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता छ उहाँलाई । आफ्नो ऐतिहासिक नगरी पनौतीलाई विश्वसामु कसरी चिनाउने भन्ने चिन्ता छ उहाँलाई । आमाबुबाले आफूलाई देखाएको घाम र आमाबाबुको ऋण कसरी चुक्ता गर्ने भन्ने चिन्ता पनि छ उहाँलाई । यो नै एउटा सच्चा कविको चिन्तन हो । आफू उभिएको मातृभूमिको रक्षार्थ उहाँ जस्तोसुकै गर्न पनि तयार भएको प्रमाण हो ‘मेरो घाम’का कविता ।
अग्रज स्रष्टाहरूको सम्मान गर्ने, समकालीन र नवस्रष्टाहरूलाई सत्मार्गमा लाग्न प्रेरित गरिरहेका छन् । मेरो घाममार्फत प्रेमिल कविताहरू लेखिरहेका छन् । समाजमा बाटो बिराएकाहरूलाई पनि कवितामार्फत सचेत गराइरहेका छन् । स्नेही, विनम्र स्वभावका लाकोजूका कविता पनि त्यस्तै स्नेही, विनम्री र प्रेमिल छन् जसलाई पढ्दा आनन्द आउँछ । लाकोजू मानवीय संवेदनाका कविता लेख्न अत्यन्त खप्पिस देखिन्छन् । सरल भाषामा गम्भीर सम्प्रेषण गर्नु कविको विशेषता हो । मान्छेले जहाँ गए पनि दुःखमात्र पाउनुपर्ने पीडाले कविलाई नराम्ररी चिमोटेको छ । यस्तै चिमोटाइको पीडा कम गराउने माध्यम उहाँले कवितालाई बनाएका छन् ।
आफ्नो जन्मभूमिको सेरोफेरोमा पर्यावरणका प्रतीकका रूपमा लेखिएका कविता पनि यस सङ्ग्रहमा समावेश भएको छ । साथै ऐतिहासिक, सांस्कृतिक विम्ब पनि यस सङ्ग्रहमा भेट्न सकिन्छ । राष्ट्रिय स्वाभिमानका साथ विकसित मुलुकका उपदानको विम्बरचनामा कवि चुकेका छैनन्, यसलाई पनि कविले आफ्नो कवितामा समावेश गर्न सफल भएका छन् । राजनीतिक विकृतिलाई पनि छेडेका छन् । मूलतः कविले राष्ट्रिय, जीवनमूलक मानवीय भावनाको प्रस्तावमा धेरै ध्यान दिएर कविता लेखेका छन् । यो कविधर्म पनि हो । यही कविधर्मको दायराभित्र रहेर जीवनको शाश्वत मूल्यको खोजी गर्दै जीवनका यिनै मूल्यहरू भाव, आक्रोश अनि संवेदनालाई सरल र कलात्मक ढङ्गले कँुद्न सफल भएका छन् लाकोजू यो कविता सङ्ग्रह मार्फत ।
केही लामो र केही लघु आकारका कविता रहेको यस सङ्ग्रहमा निकै चोटिला कविता पढ्न सकिन्छ । वर्तमान परिवेशसँगै युद्धले दिएका चोटिला घाउले कविको हृदयलाई निकै आहत तुल्याएको छ । कवि आफैँमा द्रष्टा पनि भएका नाताले यस समाजबाट टाढा रहन सक्दैनन् । त्यसकारण समयले दिएका सबै उपहार सम्झेर ग्रहण गर्नुपरेको छ । तसर्थ ती नमिठा क्षणहरूलाई पनि कविले काव्यमार्फत पुस्तकमा सजाएका छन् । यथार्थपरक, प्रगतिवादी हुनुका साथै मानवीय मूल्यको खोजी गर्दै अगाडि बढेको लाकोजूको काव्ययात्रा पनौतीको त्रिवेणी धामझैँ निर्मल र शीतल जलजस्तै निरन्तर बगिरहोस् ।
मेरो घाम कविता सङ्ग्रहभित्र डा.गीता त्रिपाठी लेख्नुहुन्छ– ‘सौम्य, शालिनता, सकारात्मक जीवनदृष्टि, आदर्श चेतना यी कविताका केन्द्रीय सन्दर्भ हुन् भने परिधीय रूपमा अन्य धेरै पक्ष आएका छन् । आफ्नो देश, माटो, प्रकृति, संस्कृति, स्वत्व आदिप्रति उनको अनुराग छ भन्ने कुरा यी कविता पढ्दा थाहा हुन्छ । उज्यालोको खोजी उनका कविताको केन्द्रीय कथ्य भएकाले धेरैजसो कविताले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा ‘तमसो मा ज्योतिर्गमय’ को सन्देश दिन्छन् । सरल भाषा, गम्भीर भाव र हृदयको पठनीयता सूर्य लाकोजूको ‘मेरो घाम’ कविता सङ्ग्रह भित्रका कविताको विशेषता हो ।’
छविरमण सिलवाल