राजन रावत
विश्वलाई कोरोना महामारीले आक्रान्त पारिरहेको बेला माथिल्लो हुम्लाका किसानलाई भने मार्सी धान रोपाइँको चटारो छ । यहाँका किसानका लागि गरिखाने महिना पनि यही हो । यही भएर उनीहरू सकेसम्म सामाजिक दूरी पनि कायम राख्दै बिहानदेखि बेलुकासम्म अहिले खेतमा हुन्छन् । धान रोपाइँका लागि सबै कुराको बन्दोबस्तीसहित बिहानै खेतमा पुग्नु यहाँका किसानको अहिलेको दिनचर्या भने पनि हुन्छ । केही वर्ष अघिसम्म रोपाइँको दिन गोरुमात्र जोतिन्थ्यो तर अहिले झोपा (चौँरीको बाछो) पनि जोत्न प्रयोग हुन थालिएको छ । रोपाइँमा खेतको क्षेत्रफल हेरी १५ देखि २० जनासम्म कामदारको सहभागिता रहने गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ का तीर्थराज बुमीले बताउनुभयो । रोपाइँमा हली, बाउसे, खेतालालगायतले आफ्नो काम निकै मिहिनेतसाथ गनुपर्छ । त्यसैले यो एक किसिमले सामूहिक कार्य पनि हो । भलै खेत व्यक्तिको भए पनि रोपाइँमा पर्म (बाहुरे) जानु गाउँलेको अनिवार्यताजस्तै हुने गरेको उहाँले जानकारी दिनुभयो ।
यतिखेर एक महिनाअघि छरेको बीउ रोपाइँका लागि तयार भएको छ । पर्याप्त सिञ्चाइको व्यवस्था नहुँदा रोपाइँ भने पालो पालो गरिन्छ । यसो नगर्ने हो भने धान रोपाइँका बेला किसानहरू राति सुत्न पनि पाउँदैनन् । रातभरि खेतमा पानी चोर्नुपर्ने हुन्छ । यसरी रोपाइँ गर्दा हप्तौँ दिन पनि लाग्न सक्छ । रोपाइँमा साना नानीदेखि वृद्धसम्मको सहभागिता हुने गरेको छ । यो बेला खेतमा एक–आपसमा हिलो छ्याप्नु त सामान्यजस्तै भए पनि देउडा गाएको रौनक हेर्दा कुनै चाडपर्वको झल्को दिने गर्छ । रोपाइँको दिन सम्भव भएसम्म मार्सी चामलकै खाना खाने चलन छ । योसँगै स्थानीय खानाका अन्य परिकार पनि यस दिन बनाइन्छ । जेठासी बाली दक्षिणबाट उत्तरतर्फ लगाउने गरिन्छ । कात्तिके बालीमा पर्ने धानखेती माथिबाट तल लगाउन सुरु हुन्छ । अब असार महिनासम्म दक्षिणी हुम्लामा धान रोपाइँ कार्य हुन्छ । धानखेतीका लागि निकै ख्याति कमाएका र बढी उब्जनी पनि हुने जिल्लाका सर्केगार्ड, चङ्खेली, अदानचुली र ताँजाकोटमा रोपाइँ सुरु भएको छैन । बीउ भने सबैतिर राखी सकिएको छ । दार्मा गाउँ हुम्लाको सबैभन्दा स्वादिलो धान फल्ने क्षेत्र हो ।
प्रविधि पुरानै
मार्सी धानको चर्चा अहिले गाउँभन्दा सहरमा बढी छ । तर, हिमाली जिल्ला हुम्लामा यसको रोपाइँ भने परम्परागत रूपमै गरिन्छ । कुनै नयाँ प्रविधि रोपाइँका लागि भित्रिएको छैन । परम्परागत औजारहरूबाट नै धान रोपाइँ हुँदै आएको छ । रोपाइँमा प्रयोग हुने हलो, जुवा, हल्लँुडो, फालो, खेत सम्याउने भाडे, मोही, बाउसे गोरु, झोपा, कुटो, कोदालो, डालो, नाम्लोलगायत नै प्रयोग भइरहेका छन् । मल पनि गाईबस्तुको मात्र प्रयोग भइरहेको छ ।
खेती कति उचाइसम्म ?
माथिल्लो हुम्लाको जमिनमा समुद्र सतहदेखि दुई हजार मिटरदेखि दुई हजार चार सय मिटरसम्म मार्सी धान फल्दै आएको छ । तर, सिँचाइ सुविधा भएका तीन हजार मिटर अग्ला क्षेत्रमा पनि यो धान फल्ने सिमकोट गाउँपालिका कृषि शाखाका प्रमुख नेत्रबहादुर शाही बताउनुहुन्छ । यी क्षेत्रमा सिमकोट गाउँपालिकाका डाडाँफया, टुलिङ, धारापोरी, खोल्सी, स्याँडा, याङ्गु, ग्याग्रु पर्छन् भने खार्पुनाथ गाउँपालिकाको नल्न, छिप्रा, माझा, राया, लाली, पिउस, याङ्चु, पिमाथाङ्मा मार्सी धान फल्ने गर्छन् । जेठमा लगाएको धान कात्तिक अन्तिम वा मङ्सिर पहिलो हप्तासम्म फल्ने भएका कारण पनि छिटो लगाउनुपरेको स्थानीयको अनुभव छ । हुम्लामा ढिलो पाक्ने बालीमा धान बाली पनि पर्छ ।
कर्णालीका जुम्लालगायतका अरू जिल्लामा स्थानीय मार्सीलाई परिमार्जन गरी विभिन्न थरिका बीउ बनाएको भए पनि हुम्लामा भने अहिलेसम्म स्थानीय बीउको मात्र प्रयोग हुँदै आएको छ । यद्यपि कृषि क्षेत्रमा काम गर्ने केही गैरसरकारी संस्थाहरूले उन्नत जातका बीउ ल्याएर किसानहरूलाई बितरण गरेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन । किसानहरू स्थानीय मार्सी धानकै बीउ प्रयोग गरिरहेका छन् ।
पछिल्लो समय देशभर नाम कमाएको मार्सी धान हुम्लाको मुख्य बालीमा पर्छ । तर, मार्सी भन्नेबित्तिकै जुम्लाको मात्रनाम जोडिन्छ । यहाँमात्र नभएर, समग्र कर्णाली क्षेत्रमा नै फल्ने धान हो मार्सी । जुम्लाको मात्र जस्तो गरेर प्रचार हुनु कर्णालीका अन्य जिल्लालाई ठेस पुग्ने कुरो भएको हुम्लाका स्थानीयवासी तीर्थराज रोकायाको भनाइ छ । मार्सी धान नफल्ने भए एउटा कुरो तर सबैतिर फल्ने भएका कारण मार्सीको नाम आउनेबित्तिकै समग्र कर्णालीको नाम जोड्न उपयुक्त हुने सुझाव उहाँले दिनुभयो । ‘कतै थोरै त कतै धेरै यो धान खेती होला । कुरो यतिमात्र फरक हो । कर्णालीका माथिल्लो क्षेत्रका सबै जिल्ला हिमाली क्षेत्रमा पर्ने भएको कारण मार्सीसँग सबै जिल्लाको नाम जोड्नुपर्छ,’ उहाँले भन्नुभयो ।