निनाम कुलुङ ‘मङ्गले’
हाल विश्वभरि नै ‘गो ग्रीन’,
‘गो नेचर’,
‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदि नारासहित विभिन्न अभियान चलेको पाइन्छ । आधुनिक जमानाको नाममा आफूखुसी गर्नेभन्दा पनि प्रकृतिको नियमअनुसार चल्नुपर्छ भन्ने दृष्टिकोणले यी अभियान चलेका हुन् । चाहे त्यो खाने कुरामा होस् वा पिउने कुरामा होस् वा शरीर ढाक्ने कपडामै किन नहोस्, यस अभियानलाई सघाउनुपर्छ भन्ने चेतना पनि सबैतिर बढिरहेको छ । यही मेसोमा लत्ता–कपडा, जुत्ता–चप्पल, पैसा बोक्ने पर्स, बाहिरफेर जाँदा बोक्ने ठूलो झोला आदिका लागि पनि मानिसले हातले बुनेका ढाका कपडा, अल्लो (सिस्नोको रेसा)को कपडा, राडीपाखी, खाँडी (घरबुना) आदि प्रयोग गर्ने प्रचलन पुनः बढेको छ । यस प्रसङ्गमा ‘तेह्रथुमे ढाका’ लाई पनि लिन सकिन्छ ।
तेह्रथुममा व्यावसायिक रूपमा ढाका बुन्न÷उत्पादन गर्न कसले सुरु ग¥यो भनी खोज्ने हो भने ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्ज्वलता तुम्बाहाङ्फेलाई पनि लिन सकिन्छ । उहाँले तेह्रथुमको सदरमुकाम मेयङलुङ बजारमा आजभन्दा झन्डै ३०÷३१ वर्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर यो उद्योग सुरु गर्नुभएको थियो । एक्लैले एउटा तानबाट उहाँले यो उद्योग सुरु गर्नुभएको थियो । अहिले भने ५५० जनासम्म कामदारले उहाँको उद्योगमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् । अहिले ‘तेह्रथुमे ढाका’ उद्योग एउटा मझौला घरेलु उद्योगका रूपमा स्थापित भइसकेको छ । अहिले उद्योग सञ्चलान भएको त सबैले देख्छन् तर उद्योग सुरु गर्दाताका उहाँले भोगेको सकारात्मकभन्दा नकारात्मक टीका–टिप्पणी, असहयोग र दुःखका पोका त कति छन् कति ? ‘कुकुर भुक्दै गर्छ हात्ती हिंँड्दै गर्छ’ भनेझैँ यस्ता नकारात्मकता र दुःखलाई कुनै पर्वाह नगरी उहाँ आफ्नो कर्ममा लागिरहनुभयो । अनि त उहाँको यो ढाका उद्योगले तेह्रथुमको नाम नेपालभरमात्रै नभएर विश्वभरि नै चम्काउन मद्दत ग¥यो ।
उहाँ भन्नुहुन्छ, ‘अहिले यस उद्योगमा लाग्नेहरूका लागि धेरै सजिलो छ । त्यति बेला कृषि र घरेलु उद्योगमा गएर ऋण माग्दा ऋण दिनु त कता हो, कता, कर्मचारीहरू बोल्नसम्म पनि मान्दैन थिए ।’ आफूले प्रगति गर्दै जाँदा त्यही कृषि र घरेलु उद्योगको तेह्रथुम शाखाले विनाधितो ऋण दिन थालेको पनि उहाँ यतिबेला सम्झनुहुन्छ । उहाँ थप्नुहुन्छ, ‘उत्पादित ढाका राम्रोसँग बिक्री हुन र विदेशीहरूले समेत मगाउन थालेपछि सर–सापट र ऋणको आवश्यकता परेन ।’
उहाँको ढाका उद्योगमा काम गर्ने थुप्रै मजदुरमध्ये एक पाँचथर रविका दिलमान विश्वकर्मा भन्नुहुन्छ, ‘दिनमा आठ सय रुपियाँसम्म कमाइ हुन्छ । कमाइ राम्रै छ भन्नुप¥यो ।’ यस्तै तेह्रथुम पिप्ले घर भएकी लक्ष्मी विश्वकर्माचाहिँ ढाका बुन्न पोख्त वा भनौँ जान्ने भइसकेका मजदुरहरूले ठेक्कामा बुन्दा पोसाउने (बढी कमाइ हुने) बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘के गर्नु, जिन्दगीभर साथ दिने कसम खाएर मरिहत्ते गरेर बिहे गरेका बूढोले धोका दिएर गयो । दुई लालाबाला पालेर बसेकी छु । कमाइ ठिकै छ । अरू त के गर्नु र ? ज्यान पालेकी छु । केटाकेटी पालेकी छु, त्यत्ति हो ।’
ढाका उद्योगमा काम गर्ने मजदुरहरूलाई सकेसम्म राम्रो सेवासुविधा दिने गरेको उज्ज्वलता बताउनुहुन्छ । हाल तीन करोड रुपियाँसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुमबाट निकासी हुने गरेकाले रोजगारका लागि यो उद्योग यहाँ महŒवपूर्ण साबित भएको छ ।
त्यस्तै पाँचथरको थर्पु गाउँकी कल्पना योङहाङ पनि २०६२ सालदेखि मेयङलुङ बजार आएर ढाका कपडा र ढाकाजन्य उत्पादनमा लाग्नुभएको छ । हाल उहाँले काठमाडौँको गोकर्णमा पनि ढाका उद्योग खोल्नुभएको छ । नेपाली ढाका र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा पु¥याउने र चिनाउने काममा उहाँ पनि जुटिरहनुभएकोे छ । यसका लागि उहाँले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्थासमेत खोल्नुभएको छ भने ढाकाको प्रचार–प्रसार र बजार व्यवस्थापन गर्नका लागि विश्वका ३८ वटा देश पुगिसक्नुभएको छ । उहाँले सुरुमा १५ हजार रुपियाँ लगानी गरेर ढाका र ढाकाजन्य उत्पादन सुरु गर्नुभएको हो । स्मरणीय के छ भने, यसरी तेह्रथुमे (समग्र नेपाली ढाका) ढाका उत्पादन, बजार प्रवद्र्धन र बिक्री गर्नका लागि उहाँले कुनै शोरुम, कार्यालय खोल्नुभएको छैन । उहाँ यी सबै काम फेसबुकबाटै गर्नुहुन्छ । हाल तेह्रथुमे ढाकाअन्तर्गत के–के उत्पादन हुन्छ त ? कल्पना भन्नुहुन्छ, ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, स्कर्ट, मिनिस्कर्ट, ओभरकोट, सल, इस्टकोट, मेख्ली, कोट, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि बनाउने गरिएको छ ।’ विदेशमा रहेका आफन्तलाई कोसेली पठाउन र आफैँ पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रममा लगाउनका लागि ढाकाका उत्पादन किन्ने धेरै छन् । त्यस्तै गीत–सङ्गीतको भिडियो तथा चलचित्र बनाउँदा कालकारहरूलाई प्रयोग गर्न पनि खरिद गर्ने गरिएको एक ढाका व्यापारीको भनाइ छ । नेपाल सरकारका कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरीलगायत आन्तरिक पर्यटकहरूले पनि तेह्रथुम छाडेर जाने बेलामा कोसेलीका रूपमा टाई, साडी, सर्ट, टोपी, स्कर्ट, मिनिस्कर्ट, रुमाल, पर्स, ओभरकोट, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । उज्ज्वलता, कल्पनालगायत धेरैले संस्थागत रूपमै ढाका र ढाकाजन्य सामग्री उत्पादन गरिरहेको भए पनि व्यक्तिगत रूपमा पनि यसको उत्पादन गर्नेहरू छन् ।
यतिखेर विश्वलाई नै कोरोनाले आक्रान्त पारेको छ । अधिकांश देशमा बन्दाबन्दी र सङ्कटकाल लागू भएको छ । यो बन्दाबन्दीको समयमा भने ढाकाको उत्पादन गर्ने (बुन्ने) काममात्रै भइरहेको यसका उद्यमी बताउँछन् ।