logo
२०८१ मंसिर ९ आईतवार



‘उक्लिएको मान्छे’को जीवनगाथा

शनिवार |


‘उक्लिएको मान्छे’को जीवनगाथा


‘उक्लिएको मान्छे’ भक्तराज रञ्जितको संस्मरणात्मक कृति हो । कृतिमा रञ्जितको जीवनका विभिन्न कालखण्डका घटनालाई विषय बन(ाइएको छ । एक हिसाबले भन्ने हो भने यो रञ्जितको जीवन इतिहासको गाथा हो । जीवन इतिहासको सबैभन्दा नजिकको भोक्ता स्वयं आफू हुने भएकाले उहाँले जीवनका घटना र ती घटनासँग जोडिएर आएका जीवन अनुभूतिलाई सजीव किसिमले प्रस्तुत गर्नुभएको छ । कृतिका प्रकाशक कमल ढकालले आफ्नो संस्थाले विभिन्न व्यक्तित्वको जीवनी प्रकाशित गरेको र यसभन्दा अघि तीन सय पचपन्न जनाको इतिहास लेखेको बत(ाउनुभएको छ । यसरी आज नेपाली समाजको विभिन्न क्षेत्रमा रहेका व्यक्तित्वहरूको जीवनलाई समाजसामु ल्याउने र समाजलाई सकारात्मक चेतना दिने कार्यमा विभिन्न संस्था क्रियाशील छन् । यसै सन्दर्भमा घोस्ट राइटिङ नेपालले भक्तराज रञ्जितको जीवनकथालाई प्रकाशित गरेको पाइन्छ ।
यस कृतिमा भूमिकाबाहेक नौ खण्ड र दुई अनुसूची छन् । नौ खण्डमा लेखकको जीवनको विभिन्न पक्षका साथै पुख्र्यौली इतिहासका सन्दर्भ पनि जोडिएका छन् । अनुुसूचीमा पारिवारिक वंशावली एवं फोटाहरू छन् । कृतिको पहिलो खण्ड पुख्र्यौली इतिहाससँग सम्बन्धित छ । यसमा नेवार समाज, रञ्जितकार थर र लाखे नाचलाई विषय बनाइएको छ । नेवार जाति मूलतः बन्दव्यापार, सीप कौशलका आधारमा आफूलाई परिचित बनाउँदै ल्याएको सन्दर्भ यहाँ उल्लेख गरिएको छ । लेखकले आफ्नो थरसँग सम्बन्धित पक्षका साथै लाखे नाचको परम्पराका बारेमा समेत प्रकाश पारेका छन् । यस खण्डले नेवार समुदाय बाहेकका मानिसलाई पनि सूचना प्रदान गरेको छ । कृतिको दोस्रो खण्डमा लेखकले आफ्नो बाल्यकालको बारेमा चर्चा गरेका छन् । आफ्नो प्रारम्भिक अध्ययन, पारिवारिक अवस्था, अध्ययनका साथै घरपरिवारलाई काममा सघाउनुपर्ने स्थिति, कठोर मेहनत र सङ्घर्षका बलले अध्ययन राम्रो पार्न सकेको कुरा यस खण्डमा आएको छ । यस अवधिका पारिवारिक घटना र साथीभाइसँगका रमाइला अनुभूति व्यक्त भएका छन् । तेस्रो खण्डमा युवा अवस्थाका घटना प्रस्तुत भएका छन् । मेहनतपूर्वक गरिएको अध्ययन, अध्ययनका बेला पर्वतमा राविसेका लागि गएको, त्यहाँ प्रेम र विवाहका घटनालगायत महिलाहरूका प्रसङ्ग एवं घोडाबाट लडेको आदि घटना आएका छन् । खण्ड चार र पाँचमा जागिर पेशा, आयआर्जन, एनजीओ र समाजसेवाका प्रसङ्ग आएका छन् । गोरखापत्र संस्थानमा सामान्य टाइपिष्टबाट प्रारम्भ भएको यात्रा उच्च तहसम्म पुगेको घटनाका साथै जागिर खाँदाका तीतामिठा अनुभूति यसमा समाविष्ट छन् । यसबाहेक गोरखापत्रको जागिरपछि विभिन्न एनजीओ, आइएनजीओमा रहेर काम गरेका प्रसङ्ग र त्यस क्रममा देखिएका उतारचढावको चर्चा छ ।
यस्तै भ्रमणका क्रममा देशका विभिन्न ठाउँ पुगेको र त्यहाँको समाज, जीवन र संस्कृतिलाई बुझ्न पाएको सन्दर्भलाई सरल भाषामा व्यक्त गरिएको छ । गोरखापत्रको जागिर, त्यसपछि गैरसरकारी संस्थाको जागिर एवं पारिवारिक भेटघाटका क्रममा विदेशका विभिन्न देश पुगेको र त्यहाँ पुगेर विभिन्न कुरा थाहा पाएको, सम्पर्क बढेको र कतिपय अवस्थामा सहयोग पनि मिलेको कुरा कृतिमा व्यक्त भएको छ । खण्ड सात मिसमास भएर आएको छ । लेखकका निजी अनुभूतिका साथै उनकी श्रीमतीको कथा पनि जोडिएर यस कृतिमा आएको छ । यसलाई यस कृतिमा नराखेर छुट्टै प्रकाशित गरेको भए राम्रो हुन्थ्यो वा लेखककै अनुभूतिका रूपमा आए पनि हुन्थ्यो । यस अंशले पुस्तकको क्रमिकतामा अवरोध ल्याएको र पाठकलाई अन्योल थपेको छ । खण्ड आठमा मृत्युसँगका सङ्घर्षका घटना एवं खण्ड नौमा आफ्ना निजी विचार, दृष्टिकोण एवं मान्यता प्रस्तुत गरेका छन् ।
राजधानीको एउटा सामान्य परिवारमा जन्मेको मानिस बाल्यकालदेखि विभिन्न सङ्घर्ष गर्दै आफ्नो जीवनलाई नयाँ बाटोमा डो¥याउन सकेको घटना कृतिको मूलपक्ष बनेको छ । पारिवारिक अन्तर्विरोध, सङ्घर्ष एवं प्रेमका घटना मात्र नभएर आफ्नो पेशागत कार्यका सन्दर्भमा भोग्नुपरेका अनेकन कठिनाइलाई लेखकले स्पष्ट राखेको पाइन्छ । आफूले परिवारका सदस्यका लागि गरेका कार्य, घरपरिवारका लागि गरेको योगदान, भाइबहिनीका लागि गरेको सहयोग, अन्तर्जातीय विवाह, फरक सांस्कृतिक परिवेशको महिलासँगको विवाहपछि परिवार भित्र उब्जिएको असन्तोष र उपेक्षा, अत्यन्त प्रतिकूल परिस्थितिका बीच पनि अध्ययन र कामलाई निरन्तरता दिनु, परिवारलाई आर्थिक एवम् सामाजिक हिसाबले बलियो अवस्थामा पु¥याउनु, आफ्नो पेशागत इमानदारीका कारण प्रशंसित बन्नु, राजनीतिकरणको शिकार बन्नु जस्ता घटना यसमा समावेश छ । प्रेम, विवाह, एकअर्काप्रतिको समर्पण भावका साथै नयाँ पुस्तालाई सही मार्गनिर्देशन दिएर शैक्षिक एवं पेशागत हिसाबले बलियो बनाउनु उनको जीवनको विशिष्ट पक्ष बनेको छ । गैरसरकारी संस्थामा कार्य गर्दा लक्षित समूदायको आर्थिक, बौद्धिक स्तर उकास्न गरिएका कार्यक्रमले धेरै जनताको जीवनस्तर सुधार्न सकिएकोमा सन्तोष व्यक्त गरिएको छ भने कतिपय अवस्थामा सोचे जस्तो नगर्दा खिन्नता बोध भएको छ ।
कमजोर पारिवारिक अवस्था, पिताको बहुविवाह, ठूलो परिवार, परिवारको आर्थिक अवस्था कमजोर हुँदा हुने गरेका कचिङ्गल आदिका बावजुद आफू र आफ्नो परिवेशलाई सकारात्मक दिशामा लग्नुका साथै आफू पछिका घरपरिवारका सदस्यको अवस्था सुधारका लागि गरिएका कार्यले लेखकले आफ्नो जीवनका सन्तोष मान्नुपर्ने अवस्था आएको विचार व्यक्त गरेको पाइन्छ । पुस्तकमा प्रयुक्त भाषा सरल छ । ससाना वाक्यले कृतिको पठनमा सहजता ल्याएको छ । विभिन्न उपशीर्षकले तत्कालीन परिवेश र पात्रको मनस्थिति चित्रण गरेको छ । यति हुँदाहुँदै पनि कृतिमा केही कमजोरी छन् । लेखकका कतिपय कुरा पाठभित्र आउनुपर्नेमा पहिल्यै भनाइमा आएको छ । त्यसमा पनि कुनै शृङ्खला मिल्न सकेको छैन । पहिलो खण्ड पूरक रूपमा आएको छ । त्यसलाई पछिल्लो खण्डमा राखे पनि हुन्थ्यो । त्यसबाहेक जीवनचक्रका घटना एक निश्चित शृङ्खलामा नआएर अघिपछि भएर आउनु, कतिपय कुरा पुनरावृत्ति हुनु, लेखकले पहिल्यै आफ्नो भनाइमा पाठमा आउनुपर्ने कुरा भनिसक्नु, कृतिको मूल पाठपछि पनि आफ्ना कुरा राख्नु, एउटा पाठमा श्रीमतीका अनुभूतिको प्रस्तुतिका कारण अन्योल थपिनु, पाठमा संवादको अभाव हुनु जस्ता कमजोरी देखापरेका छन् । कृति पठनीय छ, राजधानीको एक विपन्न परिवारमा जन्मेर मुलुकको प्रतिष्ठित व्यक्ति बन्न पुगेका भक्तराज रञ्जितको जीवनकथाले हरेक सङ्घर्ष गर्दै अघि बढिरहेका नवपुस्तालाई प्रेरणा दिने देखिन्छ ।
डा. पुष्करराज भट्ट
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?