logo
२०८१ मंसिर ९ आईतवार



फरासिला गोविन्द दाइ

शनिवार |


फरासिला गोविन्द दाइ


शीतल गिरी

बिहानको पाँच बजेको हुँदो हो, ‘गोरखापत्र’ पढ्नेबित्तिकै झस्किएँ र मेरो स्कुले कक्षासाथी विमल भट्टलाई फोन गरेँ, “दाजुलाई प्रज्ञाको प्राङ्गणमा ल्याउने कार्यक्रम छ ? कति बजे ल्याइन्छ ?” “नौ बजे ।” “त्यहाँ आउनुपर्छ कि ? दाजुलाई श्रद्धा गर्नेहरू त पुगिसके होलान् । तिमी अहिले कहाँ छौं ? घरमा कि अस्पतालमा ।’’ “अस्पताल”
“म प्रज्ञामै पुग्छु ।”
भन्दै मोबाइल बन्द गरेँ । काठमाडौँ बस्दै गरेका गौरकाहरूलाई गोविन्द भट्टको मृत्यु भएको जानकारी गराएँ । सञ्चारमाध्यमले गर्दा खबर फैलिसकेको थियो । पत्रिका पढ्न पनि मन लागेन ।
लम्किँदै १०.१५ बजेतिर प्रज्ञा पुगेँ ।
स्वर्गीय जनकप्रसाद हुमागाईंको साथमा सम्भवतः २०५८ सालमा गोविन्द भट्टज्यूलाई पहिलोपटक भेटेको हुँ । २०६६ असोजपछि काठमाडौँ बस्न थालेपछि कार्यक्रमहरूमा बाक्लै भेटघाट भयो । गोविन्द दाइसँग फोनमा कुराकानी भने उहाँ चीनबाट फर्केपछि हुन थालेको हो ।
गौरकै भए पनि मैले होस सम्हालेदेखि, अझ यसो भनौँ रचनाबाट, प्रतिभाबाट बुझ्न थालेदेखि दाजु गौर जानुभएको मलाई थाहा नभएर पनि भेट हुन नसकेको हुनसक्छ । प्रज्ञा–प्राङ्गणमा रहेको खुलामञ्चमा प्रख्यात माक्र्सवादी चिन्तक, सौन्दर्यशास्त्री, चीन विशेषज्ञ, यथार्थवादी निडर समालोचक, साहित्यकार गोविन्द भट्टलाई श्रद्धाञ्जलि प्रकट गरेँ । देखेँ, खुला प्राङ्गणमा फूल र अबिरले छोपिएको गोविन्द भट्टको शरीर स्ट्रेचरमा थियो । सेतो दाह्री सुस्तरी चलेको हावाले हल्लाउँदैथ्यो । भाउजु प्लास्टिकको कुर्सीमा प्राङ्गणको एक छेउमा जीवनको बाजी हारेर थकित भई बस्नुभएको थियो । आफन्तजन बेहाल थिए, छोरीका आँखा आँसुले ढाकेको थियो । साहित्यकारहरू, राजनीतिकर्मीहरू, गौर–पुरेन्वाका छिमेकी आफन्तहरू मलिन मुहारमा सहभागी थिए । दाजु गोविन्द भट्टले बाल्यकालको सम्झना गर्दा २००७ सालको राणविरोधी आन्दोलनमा सहभागी हुँदा सरकारी सेनाले गोली चलाएर मच्चाएको गौर हत्याकाण्ड प्रत्यक्ष भोगेको अनुभव उहाँले कतै उल्लेख गर्नु भएको थियो, मलाई त्यो सम्झना भयो ।
राणाशासनविरुद्ध २००७ सालको प्रजातान्त्रिक आन्दोलनमा रौतहटले निकै ठूलो बलिदान दिएको छ । सदरमुकाम गौरको सीमावर्ती सहर बैरगनिया (बिहार, भारत) मा रामपुर खापको छलिया मस्जिदको व्यवस्थापनमा सम्पन्न नेपाली काँग्रेसको सम्मेलनले रौतहटमा राजनीतिक चेतना बढाएको थियो । जनचेतना अभिवृद्धिमा २००४ सालमा स्थापना भएको शारदा (हालको कलाकुञ्ज) पुस्तकालयको पनि महत्वपूर्ण भूमिका छ । पिता मालपोतमा जागिरे हुनुहुन्थ्यो । उहाँबाट दिनहुँ मुक्तियोद्धाका क्रियाकलापबारे गोविन्द भट्टले थाहा पाउनु हुँदोरहेछ । यसैक्रममा मुक्तियोद्धाद्वारा विभिन्न ठाउँ कब्जा गर्न थालियो । सदरमुकाम गौरमा मङ्सिर ७ गते विशाल प्रदर्शन भयो । जुलुसमा मानिसको सहभागिता देखेर तत्कालीन प्रशासन थर्कमान भएको थियो । जुलुसको नेतृत्व नेपाली काँग्रेसका चुनचुन बाबुको नाउँले जनतामा प्रसिद्ध गुलाबनारायण झाले गरेका थिए । अर्का नेतृत्वकर्ता सुवंश राय (कुर्मी) आर्य थिए, जसले नेपाली काँग्रेसको बैरगनिया सम्मेलनमा एक दिनको कार्यक्रमको सभापतित्व पनि गरेका थिए । यो जुलुसमा गोविन्द भट्टको पनि सहभागिता थियो । जुलुस निर्बाध अदालततिर अगाडि बढिरहेको अवस्थामा सेनाका कमाण्डर गगनशमशेर आएपछि जुलुसमाथि निर्मम गोली तथा लाठी प्रहार भयो । चारैतिरबाट जुलुसलाई घेरेर सेनाले निरन्तर गोली बर्साइरह्यो ।
कटरवन इलाका अदालतमा झण्डा फहराउने क्रममा शिवप्रसाद कुँवरले सहादत प्राप्त गरे । त्यसपछि नन्दु साह, रति गिरीलगायत मानिसको रगतले गौरको माटो रङ्गियो ।
बरहवापारिको धानखेतमा कति मानिसको लास कुहियो, यस कुराको अनुमान लगाउन सजिलो छैन । कलिलै उमेरमा गोविन्द भट्टले यो गोलीकाण्ड देखेका, भोगेका थिए र गौरको कुरा चल्दा प्रायः बताउने गर्नुहुन्थ्यो ।
राणाशासनको अँध्यारो समयमा गौरका केही उत्साही नवयुवकहरू— लीलाराज उपाध्याय, जगदीशप्रसाद श्रीवास्तव, पं. मङ्गलकुमार उपाध्याय, शङ्करकुमार उपाध्यायहरू मिली २००४ सालको वसन्तपञ्चमीका दिन गौरमा पुस्तकालय स्थापना गरे । राणाशासनमा पुस्तकालय खोल्नु पनि अपराध थियो । त्यस्तो कठिन परिस्थितिमा स्थापना गरेको सार्वजनिक पुस्तकालयको नामकरण भयो— शारदा पुस्तकालय । संस्थापकहरूले २००७ सालअघिको देशको सारै नै विषम र नाजुक राजनीतिक अवस्थामा पनि पुस्तकालय स्थापना गरी नियमित सञ्चालन गर्नु कम आश्चर्यको कुरा हैन । संस्थापकहरू क्रियाशील थिए । सामाजिक क्रियाकलापमा सहभागी हुन्थे । समाजमा छाएको अँध्यारोमा अलिकति भए पनि प्रकाश छर्न सक्नेछ भन्ने विश्वाससाथ अथक प्रयत्नद्वारा विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरेको अभिलेख छ । संस्थापकहरूको सक्रियता र नागरिकको माया पाएर उन्नति पथमा लम्कँदै गयो शारदा पुस्तकालय । २००९ सालमा सञ्चालन गरेको प्रौढ शिक्षामा किशोर गोविन्द भट्टको पनि सहभागिता थियो । रौतहटमा ज्ञानको ज्योति प्रज्वलित गर्न सक्रिय योगदान छ शारदा पुस्तकालयको । अज्ञानरूपी अन्धकारले ढाकेको समयमा पुस्तकालय स्थापना हुनु नै गौरवको कुरा हो । प्रौढ शिक्षा सञ्चालन गरी स्वच्छ ज्योति छर्न सक्यो । सो ज्योतिले गर्दा चारैतिर शारदा पुस्तकालय परिचित भयो । संस्थापकहरू पुस्तकालयलाई शारदाको प्रसाद बनाउन चाहन्थे, सुन्दर बनाउन चाहन्थे, सम्पन्न बनाउन चाहन्थे अनि चाहन्थे लोककल्याणकारी बनाउन । यही उद्देश्य लिएर संस्थापकहरू लागिपरेका थिए । राणाशासनमा स्वावलम्बनकै आधारमा खडा गरिएको थियो शारदा पुस्तकालय । यस पुस्तकालयले स्वतन्त्र रूपले रचनात्मक कार्यद्वारा आफ्नो गौरव, इज्जत र इतिहासलाई उच्च गराउँदै थियो । कटरवन अपिल अड्डाका हाकिम मीरसुब्बा तथा प्रथम आधुनिक नेपाली कथाकार गुरूप्रसाद मैनालीले शारदा पुस्तकालयमार्फत पत्रिका प्रकाशन गर्न संस्थापकहरूलाई प्रोत्साहन दिनुभएको थियो । उहाँको प्रोत्साहन पाएर २००९ साल साउन २४ गतेको बैठकले मासिक पत्रिका ‘वाणी’ प्रकाशन गर्ने निर्णय ग¥यो ।
पुस्तकालयबाट निस्किएको हस्तलिखित पत्रिका ‘वाणी’ मा गोविन्द भट्टको कविता छापिएको थियो । “मैनालीको पुस्तकालय प्रेमले गर्दा महिनामा दुई पटक साहित्य गोष्ठी हुने गरेको थियो” भनी भट्टज्यूले एकपटक मलाई भन्नुभएको थियो । २००९ साल भदौ २ गते आइतबार भएको साहित्य गोष्ठीमा गोविन्द दाइले पनि भावपूर्ण तथा सुरुचिपूर्ण कविता पाठ गरी साहित्यप्रेमी श्रोताहरूको भावुक हृदयको तार झङ्कृत पार्नुभएको थियो ।
गोविन्द दाइको समयको शारदा पुस्तकालय जसको नाम परिवर्तन गरी कलाकुञ्ज पुस्तकालय राखियो । यो पुस्तकालयको कार्यसमितिमा सचिवको रूपमा सेवा गर्ने अवसर प्राप्त गरेको थिएँ मैले पनि कुनै समय । पुराना कागजात सुरक्षित पार्ने प्रयत्न गर्दा गोविन्द भट्टको बारेमा थाहा पाएको हुँ । थाहा पाए अनुसार २००९ भदौ २ गतेको साहित्य गोष्ठी नै रौतहटको पहिलो साहित्य गोष्ठी रहेछ । उक्त साहित्य गोष्ठीको कुरो चलाउँदा गोविन्द दाइले हाँस्दै भन्नुभएको थियो, “उक्त साहित्य गोष्ठीमा सभापतिको आसनबाट बोल्दै गुरूप्रसाद मैनालीले साहित्य मानव जीवनको अङ्ग भन्नुभएको थियो ।” उहाँलाई कथाकार मैनालीको पहलमा गौरमा पहिलोपल्ट बृहद् साहित्यिक समारोह २०१० साल चैत २३ गते सम्पन्न भएको राम्रै सम्झना थियो ।
यस समारोहमा भारतीय कवि रामदेव द्विवेदी ‘अलमस्त’, महाकवि लक्ष्मीप्रसाद देवकोटा, प्रगतिशील लेखक श्यामप्रसाद शर्मा, देवनाथप्रसाद वर्मा समेतको सहभागिता रहेका सम्झिनुहुन्थ्यो उहाँ । उक्त कार्यक्रमको सम्झना ताजै छ भनी मसँग एकपटक भन्नुभएको थियो । महाकविले गौरको ऐतिहासिक कार्यक्रममा ‘प्रभुजी मलाई भेडो बनाऊ’ भन्ने कविता सुनाउनुभएको रहेछ । बालकृष्ण समको पनि सो कार्यक्रममा सहभागिता रहेको जनाउनुभएको थियो । केही युवकको साथमा गोविन्द भट्टले महाकवि देवकोटासँग ‘परोपकार’ पत्रिकामा प्रकाशित उहाँको कविताको बारेमा कुराकानी गर्नुभएको रहेछ ।
म आज गोविन्द दाइलाई सम्झँदैछु, म्याट्रिक पास गरेपछि उच्चशिक्षा अध्ययन गर्न बनारस लाग्नुभएपछि गौरसँगको सम्पर्क पातलिँदै गयो । म त कान्छो भाइ विमलको साथी, मैले उहाँको बाल्यकालको कुरो कसरी थाहा पाउने ? भौतिक रूपमा निकै पछि र खासमा भन्ने हो भने कार्यक्रमसम्म मात्र सीमित थियो उहाँसँगको मेरो सम्बन्ध । गौरसँग उहाँको परिचय बिलाउँदै गए पनि देश र विदेशका माझ माक्र्सवादी प्रखर चिन्तक, सौन्दर्यशास्त्रीका रूपमा परिचित हुनुभएको थियो । मैले माक्र्सवादी चिन्तक, सौन्दर्यशास्त्री र समालोचकका रूपमा गोविन्द दाइलाई पहिले चिनेको हुँ, गौर पुरेन्वाको भनेर, मेरो साथी विमल भट्टको दाजु भनेर पछि चिनेको हुँ । छुट्टीको बेलामा दाजु अरविन्द भट्ट, दाजु अच्युत भट्ट गौर आउनुहुँदा ब्यारेक छेउको कोर्टमा भलिबल खेल्नुहुन्थ्यो, त्योसम्म देखेको हुँ ।
मैले जब थाहा पाएँ प्रख्यात माक्र्सवादी चिन्तक गोविन्द भट्ट गौरकै हुनुहुन्छ भन्ने कुरा तब कलाकुञ्ज पुस्तकालयको तर्फबाट अभिनन्दन गर्ने सोच बनाएँ । पुस्तकालयका अध्यक्ष धरखनप्रसाद केशरी गोविन्द दाइकै कक्षासाथी रहेको हुँदा मेरो प्रस्ताव स्वीकृत भयो । गोविन्द भट्ट र धुस्वाँ सायमीलाई अभिनन्दन गर्ने टुङ्गो लागेको हुँदा सम्पर्क गरेँ तर घुँडाको जोर्नी दुख्ने रोगले आउन नसक्ने भनी क्षमा माग्नुभयो भट्ट दाजुले र भन्नुभयो स्वास्थ्यलाभ गर्नेबित्तिकै एकपटक गौर आइपुग्छु । म करिब आठ वर्ष पुस्तकालयको जिम्मेवार पदमा बसेँ । २०६० सालसम्म प्रत्येक वर्ष साहित्यिक कार्यक्रम पनि गरियो तर भट्ट दाइलाई गौरमा स्वागत गर्न पाइनँ । उहाँलाई अभिनन्दन गर्ने धोको पूरा हुनसकेन, त्यही याद गर्दै सम्झनाका शब्दहरू कोर्दैछु ।
म मृत्युलाई स्वीकार गर्छु । जीवनभन्दा धेरै मृत्युलाई स्वीकार गर्छु । जो जन्मन्छ उसको मृत्यु हुन्छ । म मृत्युलाई पन्छाउन चाहन्नँ । जन्मिने जतिको मृत्यु नहुँदो हो त जीवन असहज हुने थियो । क्षण मरिरहन्छ, यसर्थ समय बाँचेको छ । गोविन्द भट्ट आज नरहे पनि उहाँका विचार बाँचेकै छ । मानिस मरेन भने त निरन्तरता कुनै पनि अवस्थामा रहन सक्दैन । यसकारण जीवनसँग हरेस खाने र मृत्युसँग डराउनेलाई कायर भन्न मन लाग्छ । मृत्युसँग डराउनेहरू वैराग्य प्राप्त गर्न उद्यत हुन्छन् । निराशा र उदासीनता प्राप्त हुनसक्छ । त्यस उपलब्धिलाई पनि म मूल्यवान मान्दछु । मृत्यु धर्म हो । मृत्यु अनिवार्य छ, यसै त्रासले नै धर्मको आचरण सहज हुने गर्दछ । यसरी विचार गर्दा मृत्यु धर्मको साथमा पनि छ । यसो त जीवनमा गोविन्द भट्टका केही सहपाठीले धेरै कमाए तर तिनीहरूले कमाएको सम्पत्तिले जीवित राख्न सकेन । मृत्युले राजा होस् या रङ्क सबैसँग एकैनासको व्यवहार गर्छ । मानवमा केही कुरो समान छ भने त्यो हो मृत्यु । धन र धर्मको कारण दीर्घायु हुँदैन, व्यक्तिको प्रतिभाले दीर्घायु गराउँछ । प्रतिभाले आर्जन गरेको कुरो स्नेह हो । गोविन्द भट्टको मृत्यु भइसक्यो, यो सत्य हो । उहाँको प्रतिभाको कारण स्नेहले जीवित रहनुभएको छ ।
केही मानिस यसर्थ मरेर पनि अमर बन्छन् । मृत्युलाई जित्छन् । गोविन्द भट्टले आफ्नो जीवनकालमा स्वेच्छाले धन्यभावले त्यस मृत्युलाई आफ्नो अन्तरङ्गमा धारण गरेका थिए । उदार हृदय भएका, सहिष्णु, क्षमाशील र रसिक थिए । करुणामयी, फरासिला थिए । उहाँले मृत्युवरण गरे पनि आफ्नो व्यवहारको कारण सम्झनामा आइरहनु हुन्छ र रचनामा बाँचिरहनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?