बद्रीप्रसाद दाहाल
मान्छेमै समता घुलेर ममता वात्सल्य फक्रिन्छ रे ।
मान्छेकै क्षमता खुलेर धरती भूस्वर्ग पक्रन्छ रे ।।
मान्छे नै करुणा उदार सुमना, सद्भावना सार हुन् ।
मान्छे नै हिमशैल स्वच्छ छहरा सङ्गीतका तार हुन् ।। १।।
मान्छे शान्ति र सौम्य ता भुवनका हुन् सभ्यता संस्कृति ।
मान्छे सिर्जन रङ्गका रस—सुधा हुन् काव्यका झङ्कृति ।।
साझा हो अवनी भनिन् प्रकृतिले मातृत्व धारा छुँदै ।
ताजा हो नर चेतना जगतमा फत्रूmन् विवेकी हुँदै ।।२।।
मान्छे दम्भ घमण्ड खण्ड नबनून् शालीन हुन् भद्र हुन् ।
हात्ती बाघ किरा हिरा जतनले चिन्ने तिखा नेत्र हुन् ।।
जो कौतूहल गुह्यता प्रकृतिको खोज्ने दिमागी चुरो ।
मान्छेमै छ अथाह ज्ञान सरिता जोख्ने र रोक्ने तुलो ।।३।।
आत्मा निर्मल हुन्छ इन्द्रिय भने रछ्यानझैँ गन्धिला ।
त्यै दुर्गन्ध हटाउने प्रण गरी मान्छे बनौँ गर्विला ।।
‘काँडा’ द्वेष र क्लेश मोह रिस हुन् आवेग संवेग हुन् ।
मान्छे प्रेम सुधा उदार समता सौहार्दका भेग हुन् ।। ४।।
माटो औ जल तेज वायु नभले प्राणी बने आखिर ।
साथी हौँ जति छन् चराचर जुटौँ आदेशकै खातिर ।।
मान्छे हुन् भरिला विवेक रसिला हुन् सृष्टिका नायक ।
मान्छे चिन्तनकै चुरो शिर हुँदा बन्दैन नालायक ।। ५।।