रामगोपाल आशुतोष
पब्जीका सैनिकझैँ
रोबोट जिन्दगी मन पराउँछन् मान्छेहरू अचेल
नक्कल्ली प्रतिस्पर्धामा होमिने
एक्लो योद्धा बनेका छन् मान्छेहरू अचेल !
अरूको इसारा र परनियन्त्रित भएका छन्
लत लागेको छ साबरमा युद्धाभ्यास गरेर
आफूलाई महान् योद्धा घोषणा गर्ने लत !
कति चाँडै बिर्सन्छन् मान्छेहरू
आफ्नै सुगन्ध र आफ्नै सौन्दर्य !
अचम्म लाग्छ
कति चाँडै भुल्छन् –
सँगसँगै टाढा टाढा हिँडेको बाटो
कति सजिलै बिर्सन्छन् –
हिँडाइको रमाइलो थकाइपछि
सँगै बसेर
पिएको चिया कफी कति चाँडै सम्झिन छोडिदिन्छन्
दुनियाँ बदल्न कसम खाँदै सँगै बसेर गफिएको समय ।
टिकटकमा
बाफको न्यानोको दुव्र्यसनी बनेका छन् ।
जसले
स्वर्गजस्तो जीवन, सार्वभौम अधिकार गुमाएर
परतन्त्रको पुँजीबजारमा
नर्कजस्तो दुर्गन्धित हिँड्न अभ्यस्त बनिरहेछन् ।
साँच्चै अहिलेको युगका मान्छे
डाइपर लगाएको बालकझैँ भएका छन् ।