logo
२०८१ मंसिर ९ आईतवार



परदेशीको पीडा

शनिवार |


परदेशीको पीडा



हरिकुमार श्रेष्ठ

कोरोना महामारीका कारण अहिले सम्पूर्ण विश्व सन्त्रस्त छ । लाखौँ मानिसले ज्यान गुमाइसकेका छन् । कतिको घरबार उजाड भएको छ । ज्यान गुमाउनेमा विश्वका विभिन्न ठाउँमा बसोवास गरिरहेका नेपाली पनि छन् । तीमध्ये केही ब्रिटिस गोर्खाबाट अवकाशप्राप्त र हाल बेलायतमा बसोवास गरिरहेका नेपाली तथा तिनका आश्रित परिवार पनि छन् भन्ने सुनिन्छ । इतिहासको विभिन्न कालखण्डमा युद्धमोर्चाबाट मत्युलाई नजिकैबाट देखेका ती वीर नेपाली योद्धाहरूको कोरोना सङ्क्रमणका कारण मत्यु भएको समाचार पढ्दा मन चसक्क बिझाउने नै भयो । त्यसमाथि परदेशमा मर्नु पर्दाको पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।
केही वर्षअघिको कुरा हो, कोरोना सङ्क्रमणको त्रासदी हामीले कल्पनासम्म पनि गरेका थिएनौँ । मैले परराष्ट्रको जागिरबाट भर्खर अवकाश लिएको थिएँ । अवकाश जीवनमा देश–विदेश घुम्ने, साथीभाइ, इष्टमित्र भेट्ने, सुख–दुःख साट्ने, रमाइलो गर्ने, यही त हो हामीले पाल्ने सपना । त्यस्तैमा हामीलाई बेलायत जाने साइत जु¥यो । आजकाल नेपालमा ‘तेलभिसा’ भन्छन् नि, हामी पनि ‘पास्नी भिसा’कै सिलसिलामा बेलायत जाँदै थियौँ । लन्डनसम्मको यात्राका लागि हामीले जेट एयरवेजको उडान रोजेका थियौँ ।
हामीसँगै यात्रा गर्नेमा अरू पनि धेरै नेपाली थिए । हामी ट्रान्जिटको लाइनमा उभिइरहेका थियौँ । त्यहाँ ह्वीलचेयरमा बसेका वद्धवद्धा यात्रु पनि आइपुगे । उनीहरू ब्रिटिस गोर्खामा सेवारत वा अवकाशप्राप्त नेपालीका आश्रित बाबुआमा थिए भन्ने बुझ्न गाह्रो थिएन । कारण, विगत केही वर्षयता त्यसरी बेलायत पलायन हुने नेपालीको सङ्ख्या बढ्दै थियो ।
त्यसरी बेलायतमा लर्को लाग्नुको पछाडि एउटा दुःखान्त घटनाले पनि काम गरेको थियो । पूर्वी युगोस्लाभियामा भएको नशंस गहयुद्धको समयमा ब्रिटिस गोर्खाको एक युनिट कोसोभोमा बारुदी सुरुङ हटाउने कार्यमा संलग्न थियो । त्यसमध्येकै एक थिए– गोर्खा इन्जिनियर्सका सार्जेन्ट बलराम राई । कोसोभोको राजधानी प्रिस्टिना नजिकैको एक गाउँमा बारुदी सुरुङ हटाउने जोखिमपूर्ण काममा रहेकै बेला बम पड्केर उनी र उनीसँगै एक ब्रिटिस लेफ्टिनेन्टले सन् १९९९ को जुन महिनामा ज्यान गुमाएका थिए ।
सार्जेन्ट राईको शहादत त्यत्तिमै टुङ्गिएन । केही महिनापछि बमगोलाले क्षतविक्षत उनको पार्थिव शरीर अन्तिम संस्कारका लागि जब नेपाल पठाइयो, शोकमा डुबेकी उनकी श्रीमती र आश्रित परिवारले पाएको क्षतिपूर्ति रकम उनीसँगै ज्यान गुमाएका ब्रिटिस अफिसरको तुलनामा नगन्य थियो । एउटै युनिटका र एउटै काममा खटिँदा शहादत पाएका ती सैनिकका परिवारले पाएको क्षतिपूर्तिको रकमको विभेदले नेपालमा मात्र होइन, बेलायतमा पनि मानवीय प्रश्न उब्जायो । लन्डनबाट प्रकाशित हुने एक प्रसिद्ध ट्याब्लोइड समाचारपत्र ‘द मिरर’ले त त्यो अमानवीय विभेदलाई ठूलो मुद्दा नै बनायो । जसलाई ‘द मिरर क्याम्पेन’का नामले समेत चिनायो ।
बेलायती सेनामा कार्यरत ब्रिटिस गोर्खाको तलब, पेन्सन र अन्य सुविधामा भएको विभेद अन्त्यका लागि नेपालमा सरकारीस्तर र ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्गठनबाट पहल नभएका होइनन् । तर, सार्जेन्ट राईको शहादतले त्यस मुद्दालाई अझ बढी संवेदनशील बनायो । बेलायती सञ्चारमाध्यम, जनस्तर तथा संसद्मा समेत त्यस विषयले प्रवेश पाएपछि बेलायती सरकारले ब्रिटिस गोर्खाको तलब, पेन्सन तथा अन्य सुविधासम्बन्धमा क्रमिक पुनरावलोकनको कार्यलाई ठोस रूपमा अघि बढाएको हो ।
पुनरावलोकनको सिलसिलामा ब्रिटिस गोर्खाको चाहनालाई ध्यानमा राखी ब्रिटिस सेनामा कार्यरत नेपाली तथा तिनका आश्रित परिवारलाई बेलायतमा स्थायी बसोवास गराउन ब्रिटिस सरकार राजी भयो । त्यसको तत्कालीन र दूरगामी परिणाम बिस्तारै देखिन थालेका छन् । ह्वीलचेयरमा बसेर बेलायत पलायन हुने नेपालीको सङ्ख्या बढ्नु त्यसको एक नतिजा थियो । ब्रिटिस गोर्खाले तलब र पेन्सनबापत बर्सेनि अर्बौं रुपियाँ नेपाल पठाउने क्रम पनि बिस्तारै कम हुँदै गयो । त्यसको ठीक उल्टो ब्रिटिस लाहुरेका कारण गुल्जार गाउँबस्ती, सहरबजार उजाडिनेक्रम सुरु भयो । यहाँसम्म कि धरान, पोखराजस्ता ब्रिटिस लाहुरेको सहर भनी कहलिएका ठाउँबाट समेत घर–जग्गा बेच्दै बेलायत पलायन हुनेक्रम ह्वात्तै बढ्यो ।
म परराष्ट्र सेवामा रहँदा सन् १९९९ मा लन्डन पोस्टिङ भएको थिएँ । त्यसबेला बेलायतको विभिन्न ठाउँमा बसोवास गरिरहेका नेपालीको सङ्ख्या ५० हजारको हाराहारीमा थियो होला । त्यतिखेरको नेपाली समुदाय विभिन्न पेसामा आबद्ध, विद्यार्थी र अलि–अलि व्यापार व्यवसायजस्तै होटेल, रेष्टुराँ चलाउने थिए । बाँकी भिसा यकिन नभएकाहरू थिए । अवकाशप्राप्त ब्रिटिस गोर्खा र तिनका जहान परिवारको बेलायतमा खासै उपस्थिति थिएन । अहिले त्यहाँ नेपाली डायस्पोराको सङ्ख्या डेढ लाख नाघिसक्यो भन्छन् । यसरी बेलायतमा यति ठूलो सङ्ख्यामा नेपाली बढ्नुमा ब्रिटिस गोर्खा र तिनका आश्रित परिवारमा श्रेय जान्छ ।
अहिले लन्डनमा मात्र होइन, लन्डनबाहिर ब्रिटिस गोर्खा युनिट रहेका ठाउँहरू जस्तो– क्याम्बर्ली, फार्नब्रो, अल्डरसट, फोकस्टोनजस्ता ठाउँमा गोर्खालीको बाक्लो उपस्थिति छ । कतिपय ठाउँमा त त्यहाँको स्थानीय निकायको निर्वाचित जनप्रतिनिधिका रूपमा नेपाली डायस्पोराले सेवा गरिरहेका छन् । डायस्पोराको सङ्ख्या जति ठूलो भयो उसको उपस्थिति र बल पनि त्यहीअनुसार वद्धि हुँदोरहेछ भन्ने यो एक उदाहरण हो ।
डायस्पोराको उपस्थितिसँगै उसको इज्जत र प्रतिष्ठा पनि जोडिएको हुन्छ । ब्रिटिस गोर्खाको सन्दर्भ यहीँनेर जोड्न प्रासङ्गिक हुनेछ । बेलायती जनमानसमा ब्रिटिस गोर्खाको उच्च छवि र मूल्याङ्कन छ । तर, सेनाबाट अवकाश भएपछि त्यहाँ बसोवास गरिरहेका ब्रिटिस गोर्खा र तिनका आश्रित परिवारको छवि धुमिल हुँदै गएकोमा भने खिन्न लाग्छ । अवकाशपछि धेरैजसो ब्रिटिस गोर्खाले अपनाउने पेसा भनेको सुरक्षागार्ड, लरी ड्राइभर, बस ड्राइभरजस्ता काम हुन् । पेसाले कोही ठूलो सानो भइने त होइन तर ब्रिटिस गोर्खाले सेवामा छँदा आर्जन गरेको इज्जत र साख उनीहरूको वर्तमान पेसाले जोगाउन सकेको देखिँदैन । ब्रिटिस गोर्खाको आश्रित परिवार बेलायतमा लर्को लाग्नुको पछाडि त्यहाँको उदार सामाजिक सुरक्षा पनि एक हो भनिन्छ । तर, हप्ता–हप्तामा थोरै पेन्सनका लागि पोस्ट अफिस धाउने बाध्यता, निःशुल्क बस टिकट र स्थानीय सरकारले उपलब्ध गराएको एककोठे सुलभ फ्ल्याटले नेपालीको आत्मसम्मान जोगाउन सकेजस्तो लाग्दैन । केही महिनाको बेलायत बसाइमा मैले उनीहरूका तीतामीठा अनुभवहरू र भावनालाई नजिकबाट हेर्न पाएँ, थोरै भए पनि बुझ्न पाएँ ।
हामी बसेको ठाउँ सेन्ट्रल लन्डनबाट केही टाढा हिथ्रो विमानस्थलनजिक थियो । जसलाई सबर्ब अर्थात् देहात भन्दा फरक पर्दैन । त्यतातिर सडकमा मानिस हिँडेको देख्न त रहर नै हुन्थ्यो । तर, आकाशमा भने उडान र अवतरण गर्न लागेको विमानको ताँतीचाहिँ निकै देखिन्थ्यो । नजिकै कञ्चन पानी बगिरहेको अनि दुवैतिर हरियालीले ढाकेको नहर पनि थियो । बिहानको सिर्सिरे हावामा मलाई त्यो नहरको तीरैतीर गोरेटो बाटोमा टाढा–टाढासम्म हिँड्न मन लाग्थ्यो । त्यसरी हिँड्दा सानो छँदा घरनजिकै खोलाको तीरैतीर हिँडेको सम्झना आँखाअगाडि आउँथ्यो ।
बिहानको मन्दमन्द हावामा हामी बूढाबूढीलाई नहरकिनारको गोरेटो बाटोमा हिँड्ने दैनिकीजस्तै भयो । त्यसरी हिँड्दा हामीलाई अर्को पनि फाइदा भयो । जङ्गलको बाक्लो ऐँसेलुघारीमा लुङ्गी बेरेका महिला प्लास्टिकको झोलामा ऐँसेलु भर्न व्यस्त देखिन्थे । त्यसरी ऐँसेलु टिप्ने त बेलायतमा फुर्सदिलो जीवन बिताइरहेका उनै पेन्सनवाला ब्रिटिस गोर्खाका जहान पो रहेछन् । मेरी श्रीमती पनि उनीहरूसँग ऐँसेलु टिप्न रमाइन् । मलाई भने एउटा प्रश्नले लखेटिरह्यो । नेपालमा पोखरा, धरानको सोखको जिन्दगी बिताउन छाडेर उनीहरूलाई यो सुनसान जङ्गलमा ऐँसेलु टिप्न के रहर लाग्यो कुन्नि ?
आइतबारको दिनचाहिँ हामी बूढाबूढी दिल बहलाउन बस चढेर हन्स्लो टाउन सेन्टरतिर घुम्न जान्थ्यौँ । बिदाको दिन त्यहाँ अलि धेरै चहलपहल हुन्थ्यो । टाउन सेन्टरमा पैदलयात्री हिँड्ने एक किलोमिटर लामो सडकको बीचमा एक शीतल चौतारी छ, जसले नेपाली चौताराको नामले प्रसिद्धि कमाइसकेछ । यो ठाउँ पनि उही लुङ्गी बेरेका र ढाका टोपी लगाएका ब्रिटिस गोर्खाका आश्रित वद्धवद्धा जम्मा हुने ठाउँ रहेछ । जहाँ उनीहरू दिनभर सुस्ताएर साँझमा अल्छी मान्दै एककोठे काउन्सिल फ्ल्याटमा फर्कंदा रहेछन् ।त्यो दश्य देखेपछि मलाई फेरि एकपटक नराम्ररी घोच्यो ।
आखिर उनीहरूले के पाए त ? विदेशमा पाउने भनेको हन्डर, सास्ती र आत्मग्लानि नै त हो । न आफ्नो गाउँठाउँ, न नातागोता, न इष्टमित्र ती सबै उनीहरूले गुमाउने नै भए । नेपालमा भए पेन्सनको पैसाले उनीहरूको सोखको जिन्दगी चल्थ्यो । त्यहाँ एउटा सुत्ने कोठा र साझा भान्छाकोठाको सानो फ्ल्याटमा गुजारा चलाउनुपर्ने बाध्यता छ । तर त्यो बाध्यता अरूले थोपरेका हैनन्, उनीहरू आफैँले रोजेका हुन् । तैपनि बेलायतको हिथ्रो विमानस्थलमा उत्रने नेपालीको ताँती उस्तै छ ।
अहिले यी हरफ लेखिरहँदा त्यसबेला हामीसँगै ह्वीलचेयरमा यात्रा गरेका पाँच÷सातजना वद्ध नेपालीको अनुहार झलझली सम्झँदै छु । अनि कोरोना सङ्क्रमणका कारण जीवन गुमाएका तिनै अवकाशप्राप्त ब्रिटिस लाहुरे र तिनका आश्रितलाई पनि सम्झँदै छु । मगतष्णामा अल्झिएर विदेश पलायन भएका तीमध्ये केहीले विदेशी भूमिमा अन्तिम सास बिसाउनुप¥यो । उनीहरूले स्वदेशको मुख देख्न पाएनन्, आफन्त भेट्न पाएनन् र आफ्नो माटो छुन पाएनन् । परदेशमा नेपालीले भोग्नुपरेको मत्युको पीडाबोध केवल कल्पनामात्र गर्न सकिन्छ । अहिलेको विषम परिस्थितिमा परदेशमा ज्यान गुमाउने समस्त नेपालीको आत्मालाई शान्ति मिलोस् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?