कृष्णप्रकाश श्रेष्ठ
अलेक्सान्द्र सेर्गेएभिच पुस्किन आधुनिक रूसी साहित्यिक भाषाका प्रवर्तक तथा रूसी महाकवि हुन् । उनको २२१औँ जन्मजयन्ती जुन ६ अर्थात् आज शनिबार मनाइँदै छ । यस अवसरमा काठमाडौँमा पुस्किनको प्रतिमा स्थापना र रूसी भाषाबाट नेपालीमा सर्वप्रथम अनूदित र प्रकाशित उनको काव्य ‘जिप्सी’सहित केही कविताहरूको सँगालो ‘रुसाल्का’ को लोकार्पण गर्न पाइएको सम्झना यतिखेर भएको छ । रूस विज्ञान तथा साँस्कतिक केन्द्रको परिसरमा पुस्किनको प्रतिमा अनावरण कार्यक्रमपश्चात् पुस्तक विमोचन भएको थियो । प्रतिमा नेपाल पठाइनुभन्दा पहिले सन् २०१६ को पुस्किन जन्मजयन्तीकै दिन गैरआवासीय नेपाली सङ्घ रूस राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूसहित कार्यशाला आयोजना गरिएको थियो । कार्यशाला काव्यात्मक र सङ्गीतमय वातावरणमा सम्पन्न भएको थियो ।
केही वर्षअघिसम्म नेपालको राजधानीमा अलेक्सान्द्र पुस्किनको प्रतिमा राखिनेछ भन्ने कसले सोचेको थियो र ? न त हाम्रा आदिकवि भानुभक्त आचार्यको प्रतिमा नै कुनै दिन रूसी भूमिमा रहनेछ भन्ने कल्पना गरिएको थियो । तर, आदिकविको द्विशताब्दीय जन्मजयन्ती समारोहको अवसरमा रूसमा बसोवास गरिरहेका नेपालीको सहयोगमा नेपाल र भारतबाहेक विश्वकै तेस्रो देशमा पहिलोपटक रूसको भूमिमा अर्थात् कालुगा अञ्चलमा अवस्थित ‘एत्नोमिर’अन्तर्गत नेपाली सामग्रीहरूबाट नेपाली शैलीमै निर्मित ‘नेपाली घर’ को सभाकक्षमा सन् २०१४ को भानुजयन्तीकै अवसरमा हाम्रा आदिकविको प्रतिमा स्थापना गरियो । तत्पश्चात् काठमाडौँमा विश्वका प्रथम अन्तरीक्षयात्री युरी गागरिनको प्रतिमा स्थापना गरियो भने नगरकोटमा नेपालबारे दुई काव्यकति ‘जीवनचक्र’ र ‘जीवित देवी कुमारी’ का रचनाकार रूसी दागेस्तानका कवि रासुल हाम्जातोभको प्रतिमाको पनि अनावरण भयो । त्यहाँ राखिएको शिलापत्रमा नेपालीमा अनुवाद गरिएका उनकै काव्यको दुई पङ्ति कुँदेर राखिएको छ । भविष्यमा बुद्ध धर्मको अध्ययन–भ्रमणको क्रममा नेपालको यात्रा गर्ने पहिलो रूसी विद्वान् इभान मिनाएभको प्रतिमा पनि अनावरण हुने नै छ भन्ने आशा यतिखेर गर्न सकिन्छ ।
रूसी महाकविको द्विशताब्दीय जन्मजयन्तीको सन्दर्भमा नेपालीमा अनूदित भई प्रकाशनार्थ तयार पारिएको काव्यसङ्ग्रह ‘रुसाल्का’ निकै वर्ष अप्रकाशित रूपमै थन्किरहेको थियो । तर, अनुवाद गर्ने यस पङ्तिकारको श्रम भने खेर गएन । पुस्किनको प्रतिमा स्थापना गरिएको बेला प्रकाशित हुन पुग्यो । मेरो सानो श्रमले मूर्त रूप पाएकोमा निकै हर्षित पनि भएँ । पुस्किन जन्मजयन्तीको सन्दर्भमा आज यसै सङ्ग्रहबाट ‘स्मारक’ शीर्षकको उनको प्रसिद्ध कविताका केही पङ्ति यहाँ प्रस्तुत गर्न चाहन्छु ः
रचेँ स्मारक आफ्नो नै, हैन यो हस्तनिर्मित ।
लाग्नेछ लोकको लाम त्यस्तर्फ पथमा नितः ।।
ठाडै माथि उठाएको छ उस्ले शिर गर्विलो ।
गिराई नूर त्यो भव्य अलेक्सान्द्रीय स्तम्भको ।।
अहँ, मर्दिनँ पूरै म, आत्मा बाँच्नेछ पावन
वीणाको स्वरमा नित्य, चाहे होस् भष्म यो तन ।
सर्वत्र फैलिँदै जाला मेरो संसारमा छवि,
रहेसम्म यहाँ ज्युँदो यौटा मात्र कुनै कवि ।।
.........................................................
निरपेक्ष रहूँ नित्य, प्रशंसा होस् कि भत्र्सना,
मूर्खको तर्कको कैले नपरोस् गर्न सामना ।।
ई.सं. १८३६
अनु. कष्णप्रकाश श्रेष्ठ (१९ जुन २००१)
अहिले एउटा संस्कत कविताको सम्झना भएर आयो । संस्कत भाषामा रचित पूरै कविता त याद रहेन तर त्यसको दुई पङ्ति यस्तो छ ः
‘अरसिकेसु कवित्व निवेदनम्
शिरसि मा लिख मा लिख मा लिख ।
(अर्थ– अरसिक अर्थात् काव्यको सार बुझ्न नसक्नेलाई कवित्वको निवेदनम् अर्थात् निवेदन या वर्णन गर्ने काम मेरो शिरसि अर्थात् निधारमा लिख अर्थात् नलेख, नलेख, नलेख !)
संस्कत कविको यो चाहना पुस्किनको कविताको अन्तिम पङ्तिमा उल्लिखित ‘मूर्खको तर्कको कैले नपरोस् गर्न सामना’ भन्ने वाक्यसित ठ्याक्कै मिल्दछ भन्नु अर्घेल्याइँ हुने छैन । यदाकदा दुई विभिन्न स्थानमा रहेका कविहरूको चिन्तनमा पाइने समानताबाट अचम्ममा पर्न सकिन्छ र मानव जातिको चिन्तनमा समान प्रक्रिया चल्दो रहेछ भन्ने पनि बोध हुन्छ । मस्कोमा रूसी महाकवि पुस्किनको जन्मजयन्तीका दिन राजधानीको केन्द्रीय सडक त्वेसर््कायास्थित पुस्किन चोकमा रहेको उनको सालिकनेर रसियाली कविहरूले आ–आफ्नो कविता पाठ गर्ने अनुकरणीय परम्परा रहेको छ । यस साल कोरोनाको कहरले गर्दा यसमा क्रमभङ्ग हुने भए पनि आधुनिक अत्यन्त विकसित सञ्चार–प्रविधिको उपयोग गरेर परम्पराको अनुशरण गर्दै कविता वाचन सम्पन्न हुने सुनिश्चित छ ।