logo
२०८१ मंसिर ९ आईतवार



नक्कली फिया (कथा)

शनिवार |


नक्कली फिया (कथा)


केदार सङ्केत

तपाईं प्रतापलाई चिन्नुहुन्छ नि हैन कपिल दाइ ? मेसेन्जरमा फिया नामक व्यक्तिले पठाएका हरफमा कपिलका जाडोले ओसिएका आँखा पर्छन् । बिना चिनजानका मान्छेका एक्कासि आउने यस्ता मेसेज वास्ता गर्दैन कपिल । त्यसमाथि यसमा त न फोटो छ न कुनै हुलिया । अरू पनि मेसेज आउन थालेपछि उसले जवाफ नदिई बस्न सकेन र लेख्यो,
‘पहिला तिमीले मेरो आईडी कसरी पायौ त्यो भन, अनिमात्र कुरा गर्नेछु । एक्कासि अरूको बारेमा सोध्ने तिम्रो बानी मलाई मन परेन । को हो प्रतापदाइ भनेको ? यहाँ प्रताप नाम गरेका तीनजना छन्, कुन दाइ हो तिम्रो प्रताप भन्ने !’
यति मेसेज लेखेपछि कपिल आफ्नो काममा लाग्यो । तर फेरि उताबाट मेसेज आयो, ‘उहाँ कता हुनुहुन्छ दाइ भन्नु न । एकदम पीरमा छु ।’
‘कस्तो पीरमा ? किन पीर गरेको ? प्रतापजीको को हौ तिमी ?’ कपिलले फेरि मेसेज लेख्यो । ‘म उहाँकी बहिनी । मेसेज नपठाएको चार दिन भइसक्यो, त्यसैले पीर लागेर सोधेको ।’ फियाको उत्तर दिँदै कपिलले मेसेज लेख्यो, ‘कता बस्ने बहिनी हो ? म प्रतापका बहिनी मात्र हैन, साली, भदैनी त सबै नजिकबाट चिन्छु ।’
फियाले नालीबेली सबै बताई । प्रतापलाई फोनबाट भिडियो कल गर्दा बाठी फियाले कुनै बेला काम लाग्छ भनेर कपिलको नाम टिपेर राखेकी रे । पुस्तक प्रकाशनको कामले काठमाडौँ जान केवल केही महिना मात्र बाँकी थियो । उनले मलाई साक्षात् भेट्ने कुरो पो पोखिन् । तर यस्तो कुरोमा भेट्नैपर्ने के नै छ र ? कपिलले अलिक झस्किएर सोधी पठायो । तर फियाले किनकिन भेट्न खोजिन् । एकदिन उनीहरू सोह्रखुट्टेको ओरालोमा भेट्ने भए । राजधानीमा पर्यटकको आवतजावत बढेको थियो । हरेक पब र रेस्टुरेन्ट व्यापारको हिसावले रामै्र चलेको आभास हुन्थ्यो । आकाशमा भने कालो बादलका धब्बा उत्तरतर्फ सर्दै थिए । केही दिनका लागि कपिल सोह्रखुट्टे नजिकैको होटेलमा बसेको थियो । उनी ट्याक्सीमा निर्धारित समयभन्दा एक घण्टापछि मात्र आइपुगिन् र फोन गरिन् । आउन त आइन्, तर कता आइन् ? चिन्न गाह्रो भयो कपिललाई । फोटोमा देखे जस्तो केटी कतै पनि देखेनन् उनले । फेरि फोन घुमाए । बल्ल एउटा ट्याक्सीबाट फोनमा बोल्दै झरिन् । फोटोको भन्दा पातली र अग्ली लाग्यो कपिललाई । ऊ नजिकै गएर सोध्यो ।
‘तिमी नै हौ फिया ?’ ‘हो त मै हुँ, किन
र ?’ फियाले भनिन् । ‘फोटोको जस्तो त तिमीलाई देखिन्न त । त्यही भएर सोधेको । जे होस् भेटेर खुसी लाग्यो’, कपिलले भने । ‘मलाई पनि’, फियाले प्रत्युत्तर दिइन् ।
‘ल भन्नुस् खासमा कुरा के हो र यत्ति साह्रो भेट्नैपरेको मलाई ?’, कपिलको प्रश्नले फियाको अनुहार सडकको धुलोजस्तै फुङ्ग उड्यो । कपिलले आँखामा परेको चाउरी पनि नियालेर हे¥यो । चौबीसवर्षे फियाको गालामा चाउरी परेका धर्सा धेरै थिए ।
‘चिया पिउन जाउँ न, म त्यहीँ भन्छु’, फिया बोलिन् । उनीहरू दुवैजना चिया पिउन नजिकैको होटेलमा पसे । होटेलमा फियाका कुरा सुनेर कपिल भाबुक बन्यो । कपिललाई आफू पुरुष भएकोमा धिक्कार लाग्यो । अनि लोग्नेमानिसले कस्ता कस्ता आचरण देखाउँदारहेछन् भनेर एकछिन टोलायो पनि । त्यसो त जमानामा ऊ पनि ढाँट्थ्यो तर मेरी बुढी मरिसकिन् भनेर कहिल्यै उसले आफ्नो इच्छापूर्ति गरेन । हुन त यस्ता केसमा के नर के नारी दुवै माहिर हुन्छन् ।
फियाले त कथा होइन, जीवनी नै भन्लिन् जस्तो लाग्यो कपिललाई । ठट्यौलो पारामा कपिलले सबै कथा आजै नभन्नु अरू दिनमा पनि भन्नु भने तर उनी फतफताइरहिन् । खाजा खाइसकेपछि प्रेसको कामले शान्तिनगर साथी भेट्न जाने कुरो कपिलले गरे । कपिल शान्तिनगर जाने भएपछि फिया पनि पछिपछि लागिन् । बाटोमा जाँदाजाँदै जाडो भएकोले बसेको होटेल फर्केर ज्याकेट लगाउन जाने कुरा गरे कपिलले । फियाले पनि सहमति जनाइन् र दुवैजना
होटेलतर्पm लागे ।
होटेलमा कोठाको साँचो मागेर लिफ्टबाट कपिल जान लागेका थिए तर फिया पनि पछिपछि आएको देखेर रिसेप्सनिस्ट बहिनीले नाम नलेखीकन कोठामा जान नमिल्ने बताइन् । तिमी यहीँ नै बस म पाँच मिनेटमा ज्याकेट लगाएर आउँछु भनेर कपिलले भन्यो तर फियाले मान्दै मनिनन् ।
‘म नि जाने दाइको कोठा हेर्न । बरु म नाम लेखाउँछु’, भन्दै काउन्टरतर्फ लागिन् । म पनि पछिपछि लागँे । कार्ड भिरेर आइन् । मेरो आँखा उनको कार्डमा परिहाल्यो । कार्डमा नाम त फिया थिएन ।
कपिलले उनकै लागि भनेर सानो गिफ्ट किनेर झोलामा बोकेको थियो । जाने बेला दिउँला भन्ने उसको सोच थियो तर उनी यहीँ आएकोले यही मौका छोपेर उसले दियो । कपिलबाट उपहार पाएर फिया खुसी भइन् । खुसी भएको उनको अनुहारको गहिरो मुस्कानलाई कपिलले राम्रोसँग पढ्न भ्यायो ।
केही क्षणमा नै दुवैजना होटेलबाट निस्किए । शान्तिनगरसम्म सँगै गए । प्रतापदाइको बारेमा बाटामा अरू धेरै कुरा गरिन् फियाले । कपिलले पनि फर्कने बेलामा झोलामा खाजा खानु भनेर हल्का खर्च दिन भ्याए । अब भने कपिललले पूरै चाल पायो कि यथार्थमा यो फिया नाम गरेकी केटी होइन । पे्रसको काम सकेर कपिल पनि बेलैमा होटेलतर्फ लाग्यो । बाटामा जाँदाजाँदै कपिललाई फोन आयो । ‘कपिलदाइ धन्यवाद, समयका लागि । आज तपाईंले खुवाउनुभयो खाजा, मेरो पालो भोलि है’, फियाले भनिन् । कपिलले भोलि बेलुका त फुर्सद नभएको बतायो तर फियाले पटक्कै मानिन । ऊ भोलिपल्ट पनि आउने भई ।
कपिल बिहान उठेर खाजा खाँदै थियो होटेलमा । बेलुका हुनु त कहाँ हो कहाँ बिहानै आइपुगी फिया । त्यो पनि बिना फोनकल । ऊ मज्जाले झस्कियो । कोठाभित्र पस्नासाथ फिया ओछ्यानमा पल्टिई । कपिललाई भने कताकता अनौठो लाग्यो । कपिल ट्वाइलेट भित्र पस्यो । ऊ निस्कँदासम्म फिया ओछ्यानको सिरकभित्र पसिसकेकी थिई ।
‘यो के पारा हो तिम्रो ? म त विवाहित पुरुष । मबाट यस्तो हुन्न । जेजे गर्नु छ पछि प्रतापदाइसँग गर्ने हो’, कपिलले रिसाउँदै भन्यो । फिया भने निदाइन् या निदाएको जस्तो नाटक गर्न थालिन् । सबै लुगा फुकालेर ओछ्यानमै देखिने गरी राखेकी पनि थिइन् । कपिल भने हिजो बेलुकी आधा पिएर राखेको रमको केही प्याक लगाएर टी.भी. हेर्न थाले ओछ्यानको छेउमा बसेर । फियाले एक्कासि पछाडिबाट तानेर सिरकभित्र हुलिन् कपिललाई । उनीहरू तातो सिरकभित्र मडारिन थाले । कपिलले केही याद नगरे पनि फियाको नाइटोनेर तेर्साे चिरेको पुरानो दाग देखे । अविवाहित केटीको तल्लो पेटमा यस्तो दाग भनेर सोच्दै ओछ्यानबाट उठेर कपिल नुहाउन पस्यो । तर पानीले जिउ पखालेर मात्र ऊ बाहिर निस्क्यो ।
फियाको हातमा मोबाइल फोन थियो । अब भने पथ्वीले आफ्नो आकार लिने बेला चिसो भए जसरी कक्रन थाल्यो कपिल । ‘तिमीले भिडियो त खिचेनौ नि हैन ?’ कपिलले सशङ्कित हुँदै प्रश्न ग¥यो । ‘म पागल हो र !’ मोबाइल फोन लुकाउन खोज्दै फियाले भनिन् । फियाको चाला देखेर कपिलको आङ झन् फुल्न थाल्यो । कपिलले फोन हेर्न खोज्यो तर फियाले दिइनँ । उसले भनी, ‘म एउटा कुरा भन्छु, अनि मात्र देखाउँछु हुन्न दादा ?’ ‘हुन्छ’, कपिलको अर्को उपाय पनि त केही थिएन । कपिललाई पहिलोपटक झरेको यो दादा सम्बोधनले विश्वासमा आघात परे जस्तै भयो । फियाले फेरि रातो झोलाबाट अर्काे फोन झिकेर अनेक फोटो देखाउन थाली । ती फोटा सुनका गहनाका थिए ।
‘यी सब फोटो मलाइ किन ?’ कपिलको प्रश्न भुइँमा खस्न नपाएँदै फिया बोलिन्, ‘पर्सि साथीको बिहे छ, त्यसैले मलाई पार्टीमा लगाउने यो नेकलेस किनिदिनुस् न दादा प्लिज ।’ ‘सरी, म यस्ता सुनका गहना किन्न सक्ने मान्छे परिन फिया । मलाई माफ गरिदेऊ । केही रकम त दिन्छु नै तिमीलाई, त्यसपछि तिमी घर जान सक्छौ । बेला पनि त भयो’, कपिलले भन्यो । मैले ब्ल्याक मेल गरेको हैन दादा । मलाई रहर लागेर भनेको मात्र हो । नकिन्ने भए ठिकै छ । म जान्छु भन्दै अघि उतारेका लुगा पातलो ज्यानमा बेर्न थालिन् फियाले पनि ।
त्यो दिन केही रकम दिएर फियालाई पन्छाउन सोच्दै कपिल पर्स खोतल्न थाले । धन्न हिजो बैंकबाट निकालेको केही हजार रहेछ । उनलाई त्यो रकमको साथमा केही अमेरिकन डलर पनि थपिदिए । मानेकी थिइन, अरू भोलि थपिदिनु है दादा भन्दै अँगालोले बाँधिन् । मनमनै तँलाई थपँुला भन्दै टाउको हल्लाउँदै लिफ्टमा तलसम्म झारिदिए कपिलले । अब यहाँ बसे भोलि पनि आउनसक्ने भएकाले बेलैमा होटेल सर्नु उत्तम ठाने कपिलले ।
भोलिपल्ट बिहान कपिलको फोन बज्न थाल्यो । ‘दादा कता हो आउनु न यता’, फियाले भनी । ‘कता ?’, कपिलले सोध्यो । ‘होटेलमा नि ? सबुत साथमा लिएर म पुलिस रिपोर्टका लागि तयार छु ।’
फियाको कुरो सुनेर कपिल झसङ्ग भयो । यो आपत आइलाग्छ भनेर उसले पहिले नै लख काटेको थियो । उसले पनि भन्यो, ‘मैले पनि सबुत जम्मा पारेर राखेको छु । हिजोको भिडियो क्लिप मसँग पनि छ । के गर्नुपर्छ मैलै पनि जानेको छु ।’ कपिलले अगाडि भन्यो, ‘म त्यो होटेलबाट अन्त सरिसकेँ । फेरि तिमी सक्कली फिया पनि त हैनौ । मैले हिजो तिम्रो कार्डमा फोटो हेरिसकेँ । तिमी रिया हौ रिया, बौद्धको नयाँ बस्तीमा बस्ने । अब कसरी रिपोर्ट गर्दिरहिछौ हेरौँला म पनि ?’
कपिलको कुरो सुनेर नक्कली फियाले चुपचाप फोन राखिन् ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?