logo
२०८१ मंसिर ९ आईतवार



कोरोना (कविता)

शनिवार |


कोरोना (कविता)


प्रह्लाद पोख्रेल


‘कोरोना’ कतिसम्म हुन्छ तगडा आतङ्ककारी कडा
कोही ख्वाक्क ग¥यो भने नजिकमा हुन्छन् सबै रौँ खडा !
आआफ्नै घरभित्र इज्जतसितै बन्दी बनेछन् बडा
हेर्दै काल गुजार्नुपर्दछ हरे ! अस्वस्थका आँकडा !

हेर्दा रूपविहीन, जीवन–जगत् सिध्याउने तैपनि
‘कोरोना’ छ अजीव जीवसरिको निर्जीवजस्तै पनि
भेटे मानिस–जीवकोष सजिलै फैलिन्छ चौतर्फ नै
प्राणी–घातक जीव जीवन लिने यो सूक्ष्म जीवाणु भै

लाई ‘क्राउन’ हिँड्छ ताज शिरमा राजा बनी गम्किँदै
‘कोरोना’ जसबाट नाम हुन गो पुर्खा चमेरो हुँदै
भन्छन् सर्पसमेतमा त यसको सम्बन्ध गाढा छ रे !
भेटे पस्न शरीरमा मनुजको घाँटी निमोठ्ने अरे !

हुन्छन् हर्दम आत्मकेन्द्रित कुरा वक्ता बनी बेसुरा
आयो झट्ट कुनै नयाँ खबर ता लाग्ने चलेझैँ छुरा !
यस्तो लाग्दछ– कष्टचिन्तनसितै सर्वाङ्ग सारा गले
‘कोरोना’ जतिसम्मकै कहर होस् भोग्नै छ सङ्कष्टले

अप्रत्याशित कष्टपूर्ण घटना खेपी चुनौती पनि
गर्नै पर्दछ सामना हरघडी सन्त्रासको जीवनी
यो सन्त्रस्तपना बनोस् न सपनाजस्तै कहानीसरि
‘कोरोना’ इतिहास बन्नु छ छिटै अस्तित्व टाढा गरी

राखी स्वास्थ्य सचेतना समयमै छाडी नकारात्मक
अत्यावश्यक धीरतासित बसे बन्दै सकारात्मक
गर्दै निर्भय सामना दढ बनी आतङ्कको त्रासदी
बग्ला निश्चय शान्त शीतल बनी यो जिन्दगीको नदी ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?