प्रकाश सायमी
पीपलबोटदेखि बैङ्ग्लोर कफी हाउससम्मको यात्रामा मैले धेरैपटक देखेको, धेरैपटक भेटेको तर नचिनेर नबोलेको स्रष्टा थियो, रत्न थापा । एउटा पुस्तकमा उहाँको नाम मैले रत्न थापा देखेर त्यही नामले सुरुमा चिनेँ तर गीतकारका रूपमा रत्नशम्शेर थापाको नाम पनि सुनेको थिएँ । ती कुनै युधीर शम्शेर थापाका भाइ वा कोही होलान् भन्ने मेरो अनुमान थियो तर होइन रहेछ, ‘चकलाभरिको घाम’ लेख्ने रत्न थापा नै गीतकार रत्नशम्शेर थापा रहेछन् । पछि सन्देशगहका विश्व मास्केले चिनाइदिनुभयो । सन्देशगह हाम्रो परिचय भएको पहिलो थलो हो । पीपलबोट र बैङ्ग्लोर कफी हाउसबीचको हाम्रो यात्रा वा भनौँ हिँडाइ २०३६ साल देखि २०३९ सालसम्म चल्यो । पीपलबोटमुनि उभिने उहाँका सबै समकालीन उपेन्द्र श्रेष्ठ, द्वारिका श्रेष्ठ, कष्णभक्त श्रेष्ठ, नगेन्द्र थापा सबैलाई म चिन्थेँ, निकट थिएँ तर रत्नदाइसित परिचय हुन चार वर्ष लाग्यो ।
चार वर्षमा हामीले धेरैपटक बैङ्ग्लोर कफी हाउसमा चिया खाँदा आँखा जुधाजुध भए पनि बोलचाल पनि विरलै भयो । त्यतिबेला कहिलेकाहीँ मित्र दिनेश सत्याल (सौरभ) ले उहाँसित ढोकामा उभिएर बोलेको देखेपछि मैले पनि यदाकदा नमस्ते रत्नदाइ भन्न थालेँ तर परिचय भएर होइन । परिचय त चालीस सालपछि नै भयो, नाम र पहिचानले ।
तिमी के गर्छौ ?
फिल्म बनाउने सोचमा छु ।
मैले फिल्म बनाउने कुरा गरेको चर्चा गर्नेबित्तिकै उहाँले बडो नम्र तरिकाले ठीक छ, तिम्रो फिल्ममा कुनै ‘सिचुएसन’ मिल्यो भने भन न भनेर भन्नुभएको थियो । सिनेमा त मैले धेरै पछि मात्र बनाएँ तर यसअघि हाम्रो भेट त्यही बैङ्ग्लोर कफी हाउसमा भइरहन्थ्यो । अनि त्यसभन्दा अघि ‘न्यूज डिपो’ सन्देशगहमा । सन्देशगहमा पस्ने दुई ढोका थिए । म एउटाबाट पस्थेँ । उहाँ अर्कोबाट । दुवै ढोकाबाट पसेर भेट हुने विश्वप्रकाश मास्के नै हो । उहाँ पहिले नै विश्वसित कुरा गरेर बस्नुहुन्थ्यो, टाइम्स् अफ इन्डिया हातमा लिएर । म गङ्गाबहादुर मानन्धरसित फिल्मफेअर, टाइम, धर्मयुग लिएर बिदा भइहाल्थेँ ।
सन्देशगहबाट बैङ्ग्लोर कफी हाउस पुगेपछि फेरि रत्नदाइ भेट हुन्थ्यो । हामी झ्यालछेउ कुनाको नौ नम्बर टेबुलमा बस्थ्यौँ । जहाँबाट रत्नदाइको उन्मुक्त हाँसो र चास्नीदार गफ सुन्न पाइन्थ्यो । त्यो समय भव्य हुन्थ्यो ।
पचास रुपियाँ गोजीमा नभई बैङ्ग्लोर कफी हाउसको उकालो चढ्न सकिन्नथ्यो । कहिलेकाहीँ ‘स्पोन्सर’ चाहिन्थ्यो । कहिलेकाहीँ सौजन्य । कहिलेकाहीँ बैङ्ग्लोर कफी हाउसका स्वामी रामचन्द्रका ज्वाइँले रजिष्टर्डमा नाम चढाइदिन्थे, इगल कपीमा । एकदिन रत्नदाइलाई मैले विनम्रतापूर्वक कफी पिउन अनुरोध गरेँ, उहाँले होइन भैया चिया खाउँ भन्नुभयो । त्यसपछि मेरो कफी र रत्नदाइको चिया नियमित भयो । भेट त हाम्रो अन्यत्र पनि हुन्थ्यो, नेपाल भारत पुस्तकालयको प्रदर्शनी कक्षमा, जीवन आचार्यको चित्रकला प्रदर्शनीमा, टुँडिखेलको रङ् आकाश र रङ् अक्षरमा । त्यस्ता कति प्रायः भेटमा हामी दिनेश सत्याल, जीवन आचार्य, शिव अधिकारी, फणीन्द्र नेपाल, अभि राई, शिव रिन्छिनबुङ्, मीनबहादुर विष्ट, कणाद महर्षि, जनार्दन जोशी वा अरू कोही हुन्थे । कवि, उपन्यासकार शिव अधिकारी रत्नदाइको खुब तारिफ गर्थे तर कोही कोही आलोचना पनि गर्थे ।
त्यस्तै एक समय मधुपर्कमा तानाशले बालकष्ण समको ‘चिसो चिल्हो’लाई झुसिलो डकार भनेको बेला शरच्चन्द्र वस्तीले फिलिङ्गो भएको गीतकार भनेर परिचय दिएर उहाँको कतिको समीक्षा गर्नुभएको थियो । त्यसपछि रत्नदाइका कविताप्रति मधुर आकर्षण बढ्दै गयो ।
रत्नशम्शेरर थापा ‘द पोयट’ ।
रत्नशम्शेर थापा ‘द लिरिस्ट’ ।
यी दुई ‘भर्बल रिलेशन’का पछाडि एउटा ‘ब्याचलर ओल्ड्म्यान’को रूपमा उहाँलाई चिन्न थालेँ । चालीस सालपछि म होटेल बज्रमा काम गर्न थालेँ । मलाई पत्रपत्रिका पढ्ने सुविधा होटेलमै मिल्यो । म सन्देशगह जान छोडेँ । अनि रत्नदाइसित भेट हुन पनि छोड्यो । काठमाडौँको प्रायः रैथानेको राँद्येभू असनको चोक हुन्थ्यो । म मेरा मित्र कवि तथा गीतकार चरण प्रधानको पसलमा हुन्थेँ, बिहान । त्यही समय रत्नदाइ विष्णु श्रेष्ठको मिठाई पसलमा झुल्किन थाल्नुभयो । अब हाम्रो भेट साँझमा नभई बिहान हुन थाल्यो, असनको चोकमा । काठमाडौँमा जन्मे हुर्केकालाई असनको बिहान कस्तो हुन्छ, त्यसको मधुर स्मति अझै होला । असनमा भेट्दा रत्नदाइले गीतकारका रूपमा छिन्नलता पुरस्कार पाइसक्नुभएको थियो । अनि विवाह पनि शायद गरिसक्नुभएको थियो ।
काठमाडौँमा मेंहदी हसन, गुलाम अली, जगजीत सिंह, चित्रा सिंह, अनुप जलोटा, पङ्कज उदास आएर गजल गाएर गइसकेका थिए । अब उहाँसितको यो भेटमा मेंहदी हसनका दुर्लभ गजलबारे कुरा हुन थाले, हामी दुवै उहाँको फ्यान नै थियौँ । उहाँले हरेक भेटमा मेंहदी हसनको ‘तन्हाई से तन्हाई का आलम ..’ को खुब व्याख्या गर्नुहुन्थ्यो । यही समय विदेशमा पढेर अभि सुवेदी नेपाल फर्किसकेका थिए । ‘बुझ्यौ भैया, अभिले भन्थ्यो, नेपाली गीतमा ‘सिमियोटिक्स्’ बढी प्रयोग गर्ने मै हुँ रे ।’ यो कुरो प्रायः हरेक भेटमा उहाँ गर्नुहुन्थ्यो । रमाइलो लाग्थ्यो ।
त्यसपछि मैले सिनेमा बनाएँ । उहाँले लगालग मेरा सबै सिनेमामा गीत लेख्नुभयो तर एउटा सिनेमामा उहाँ छुट्नुभयो, त्यो सिनेमा थियो ‘रानी खोला’ । ‘सिमाना’ सिनेमाका छवटा गीतमा उहाँका दुई गीत हुन्– ‘उकाली ओराली गर्दै आफ्नै गाउँ फर्की आएँ’ र ‘फूलको डाली डालीमा’ ।
सिनेमामा यो उहाँको दोस्रो इनिङ् थियो, ‘जुनी’ पछि । ‘जुनी’मा उहाँले लेखेका सबै गीत त्यति राम्रो नभएको उहाँलाई महसुस भएको थियो । ‘सिमाना’का गीतपछि उहाँ एक्कासि चर्चामा आउन थाल्नुभयो । त्यसपछि मेरो अर्को सिनेमा ‘अवतार’मा उहाँले अर्को दुईटा गीत लेख्नुभयो, ती गीत पनि हिट भए । तर २०५२, २०५३ र २०५४ सालभरि ‘सिमाना’को अल्बमले ‘बेस्ट अल्बम अफ दी इयर’को पुरस्कार पाइरह्यो । त्यसमा उहाँबाहेक गीतकार दिनेश अधिकारी, राजेन्द्र पौडेल तथा सङ्गीतकार शक्तिवल्लभ बधाईका पात्र रहे । सिनेमाको सफलतामा गीत र सङ्गीतको भूमिका नकार्न सकिँदैन तर त्योभन्दा बढी त्यस्ता भव्य कविसँग सिनेमामा सहकार्य गर्न पाएकोमा म गर्व गर्न थालेँ । यो हाम्रो यात्रा २०५६ सालसम्म चल्यो । २०५६ सालमा मैले ‘हतियार’ नामक सिनेमा बनाएँ । यसमा रत्नदाइले एउटा मात्र गीत लेख्नुभयो । संयोगले यस सिनेमामा पहिलोपटक गीतकारको रूपमा कवि विमल कोइरालाले पनि प्रवेश गर्नुभयो ।
‘हतियार’मा गीत लेखेवापत रत्नदाइलाई मेरा निर्माताले सात हजार रुपियाँ दिए । यो नेपाली चलचित्रमा गीत लेखनवापत सबभन्दा उच्च दरको पारिश्रमिक थियो । उहाँ खुशी पनि दुःखी पनि हुनुभयो किनकि यसपछि मैले सिनेमा नबनाउने घोषणा गरेँ । ‘हतियार’भन्दा पहिले पनि उहाँले मेरो सिनेमा ‘जमीन’मा दुइटा गीत लेख्नुभयो, ‘डाँडाकाँडा छाँगालाई गुराँसका हाँगालाई’ र ‘आज म मौसमसँग खेलूँ, नयाँनयाँ रङ्सित खेलूँ’ । यी गीत पनि हिट भए । थुप्देन भुटिया र रीमा गुरुङले उहाँको गीत पहिलोपटक गाएका थिए ।
नेपाली चलचित्रमा धेरै पारिश्रमिक लिने गीतकारका रूपमा उहाँलाई सम्मान दिँदै पहिलो सिनेमामा नै त्यतिबेला चलेको दरभन्दा दोब्बर बढी पारिश्रमिक दिएका थियौँ । मेरा निर्माता राजेन्द्र महर्जन, श्रीकष्ण पुडासैनी र कर्मा थोन्डुप शेर्पाले पनि सम्मानका साथ दिल खोलेर उहाँलाई माया गर्थे ।
‘सिमाना’, ‘पथिवी’, ‘अवतार’, ‘जमीन’, ‘हतियार’ मेरा सबै सिनेमामा उहाँले इज्जतले गीत लेख्नुभयो र त्यही अनुसार गीत पनि हिट भए । म पनि उहाँलाई अल्बमको रिलिजमा, फिल्मको प्रिमियरमा अनि कहिलेकाहीँ सुटिङमा बोलाइरहन्थेँ । म उहाँलाई प्रायःजसो भेटेको बेला हरेक किसिमका पुस्तक वा सीडी उपहार दिइरहन्थेँ । कहिलेकाहीँ दिन्छु भनेको चीज समयमा नदिँदा उहाँ ठुस्किनुहुन्थ्यो, खोइ त्यो किताब ? खोइ त्यो सीडी ? यस्तै प्रश्न उहाँका भइरहन्थे ।
अन्तिमपटक उहाँसित कान्तिपुर एफएमले स्रष्टालाई सम्मान गरेको लाइभ कार्यक्रममा भेट हुँदा मैले यो तपाईंले पढ्नैपर्ने किताब भनेर जाँ निसार अख्तर र निदा फाजलीको गजलसङ्ग्रह उपहार दिएँ । त्यो शायद उहाँको ¥याकमा रहेको मेरो अन्तिम निशानी हुनपुग्यो । गीतकार चेतन कार्की, रत्नशम्शेर थापा, कथाकार माया ठकुरीलाई प्रायः भेटमा म यस्ता उपहार दिइरहन्छु ।
रत्नदाइ त्यस लहरमा अग्रपङ्क्तिमा पर्नुुहुन्छ । उहाँसित मेरो पुस्तक र सीडीको आदानप्रदानको क्रममा धेरैपटक कवि साहिरको, सङ्गीतकार नाशादको अनि सङ्गीत समीक्षक राजु भारतनको चर्चा प्रायः भएको छ । मैले सिनेमा बनाउन छोडेपछि उहाँसित फेरि साहित्यिक सभा सङ्गतमा भेट निरन्तर चलिरह्यो । डिल्लीबजारको देवकोटा सांस्कतिक केन्द्रमा भावक अभियान नेपालको गीत र गजलको परम्पराबारे एक अन्तरक्रियामा उहाँले मेरो आग्रहमा बोल्नुभयो तर उहाँको भनाइ समाचारमा आउँदा यसरी आयो–
गीत रक्सी नखाई लेखिन्छ, गजल रक्सी खाएर लेखिने विधा हो ।
समाचार पढेर उहाँ तीनछक्क पर्नुभयो र मलाई फोन गरेर भन्नुभयो– ए प्रकाश । हेर न त्यो समाचार लेख्ने को हो ? कस्तो वाहियात न्यूज लेखेको ? अब म बोल्दिनँ । तर पनि उहाँ भावक अभियान नेपालका हरेक कार्यक्रममा आएर बोलिरहनुहुन्थ्यो । एकपटक सारांश नेपालले नेपाल राष्ट्र बैङ्कको प्रेक्षालयमा आयोजना गरेको अग्रजहरूको कविता युवापुस्ताले वाचन गर्ने शङ्खलामा माधव घिमिरे, ईश्वरवल्लभ, तुलसी दिवस, मोहन कोइराला आदिको कविता वाचनमा उहाँको कविता परेको थिएन तर उहाँ उपस्थित हुनुुहुन्थ्यो, अतिथिका रूपमा ।
सारांश नेपालकै आयोजनामा भारतबाट आएका कवि गुलजारलाई स्वागत गर्ने क्रममा यलमायामा कार्यक्रम गर्दा उहाँ पनि दर्शकदीर्घामा उपस्थित हुनुहुन्थ्यो, कविका रूपमा । उहाँले अरू कवि मञ्जुल, आभाष, विप्लव, रमण घिमिरेले जस्तै गुलजारका अगाडि प्रेमले एउटा गीत वाचन गर्नुभयो, त्यो गीत मेरै सिनेमाको थियो । पछि सामूहिक फोटो खिच्दा उहाँले गुलजारसित आफ्नो रचनाकारिताको कुरा पनि गर्नुभयो ।
आफ्नो रचनाको रोयल्टी राख्न सक्ने गीतकार रत्नशम्शेर थापाको प्रायः आफ्ना साथीभाइसित लामो घनिष्ठता रहन सकेन । त्यसका केही कारण अवश्य होलान्, शायद उहाँको ‘एक्सपेक्टेसन’ बढी र अरूको ‘रेस्पन्स’ कम । २०५७ सालपछि हामी पीपलबोटमा धेरै भेटिन्थ्यौँ, कवि विमल निभा, पुरुषोत्तम सुवेदी, शैलेन्द्र साकार, उपेन्द्र श्रेष्ठ, नारायण ढकाल आदि । उहाँ पुरुषोत्तम सुवेदीसित निकट हुनुहुन्थ्यो । उहाँका दाइ पुण्यप्रसाद सुवेदीका कारण तर कवि निभासित उहाँको लामो समयदेखि बोलचाल बन्द थियो । उहाँको नारायणगोपालसित जीवनभर नै बोलचाल रहेन । यसका पछाडि उहाँलाई र नारायणगोपाललाई टाढा बनाउने धेरै भए होलान् । उहाँका मनपर्ने तीन गायकमा नारायणगोपाल, प्रेमध्वज प्रधान र माणिकरत्न पर्छन् ।
तर माणिकरत्नलाई उहाँ अति आदर गर्नुहुन्थ्यो । माणिकरत्नले आफ्नो जन्मदिनमा जम्मा तीनजनालाई बोलाउनुहुन्थ्यो– गीतकार किरण खरेल, रत्नदाइ र मलाई । हामी माणिकदाइको ढोलाहिटीको घर पुग्थ्यौँ । अब यसपालिदेखि उहाँ छुट्ने हुनुभयो ।
गत जेठ १५ गते उहाँ बित्नुभयो । हामी (वरिष्ठ गीतकार चेतन कार्की, गीतकार सुवासचन्द्र ढुङ्गेल र म) सुवासकै गाडीमा चालक गोपाल तिमिल्सिनाको सहयोगमा तत्काल नर्भिक अस्पताल पुगेर श्रद्धाञ्जलि अर्पण गर्यौँ । उहाँको स्वाब परीक्षणका कारण त्यो साँझ अन्तिम बिदाइ नहुने भएपछि हामी रित्तै फक्र्यौँ । उहाँ बितेपछि मैले टेलिभिजनमा दिएको अन्तर्वार्ता हेरेर उहाँसँगै साहित्यिक यात्रा सुरु गर्ने उहाँका मामा पर्ने बुद्धिबहादुर बुढाथोकीले मलाई फोन गर्नुभयो र भन्नुभयो, ‘हाम्रा भान्जाबाबु त साह्रै स्वाभिमानी मान्छे । कोहीसित झुक्न नसक्ने, तपाईंले कसरी छवटा फिल्ममा गीत लेख्न लगाउनुभयो ?’ मैले उहाँलाई भनेँ, ‘यो मेरो भाग्य हो, बुढाथोकीजी ।’ उहाँले फेरि सोध्नुभयो, ‘अनि तपाईंको उहाँसित झगडा कहिल्यै भएन ?’ मैले भनेँ, ‘झगडा त कति कति । गीत लेख्दा गीतकै कुरामा झगडा, कार्यक्रममा जाँदा कार्यक्रम लामो भएको कुरामा झगडा तर म उहाँलाई न हार्न दिन्थेँ, न जित्न । न उहाँलाई टाढा
हुन दिन्थेँ न विरक्त हुन दिन्थेँ । ‘क्लोज एन्ड बोल्ड रिलेशन’ थियो मेरो ।
आर एस मधुकर उपनामबाट लेख्न सुरु गरेका रत्नदाइको घरको नाम जानीकाजी रहेछ तर जानीकाजीको ज्यान त सधँै नेपाली साहित्य, सङ्गीतमा जाज्वल्यमान भइरहनेछ । उहाँको मत्युको खबर चाहिँ अझै मलाई झुटजस्तै लाग्छ । वि.सं २०५९ मा नीलिमा सुब्बाले उहाँमाथि शोध गरेको गीतकार रत्नशमशेर थापा र उनको गीति यात्रा पुस्तक विमोचन भएको खबर कान्तिपुर प्रकाशनको साप्ताहिक नेपालमा छापिँदा ‘स्व. रत्नशमशेर थापाको गीतमा शोध ...’ भनेर आएको थियो तर त्यो समाचारसँगैको फोटोमा रत्नदाइ, शोधार्थी नीलिमा, उनका गाइड प्रतापचन्द्र प्रधानका साथ प्रमुख अतिथि माधव घिमिरे अनि कवि वैरागी काइँला उपस्थित हुनुहुन्थ्यो । यो पढेर म छक्क परेँ । म त्यतिबेला पोखरामा थिएँ तत्काल फोन गरेँ ।
‘रत्नदाइ मरेको खबर आफैँले आज पढ्नुभयो होला है ।’ उहाँले निरस स्वरमा भन्नुभयो, ‘त्यही त भैया हेर न । जिउँदैमा मारिदिए । के भन्ने ?’ मैले उहाँलाई हाँस्दै भनेँ, ‘त्यो कम्प्युटरको गल्ती होला दाइ । तर जिउँदैमा तपाईंलाई मारिदिए पनि केही फरक पर्दैन, तपाईं मरेपछि पनि बाँचिरहने स्रष्टा हो । त्यो निरस दिनमा पनि उहाँ फेरि जोडले हाँस्नुभयो । उहाँको हाँसो र लाउडस्पिकर जस्तो आवाज साहित्यिक वत्तमा चर्चित छ । अहिले पनि मेरो कानमा गुञ्जिरहेको छ ... हा हा हा हा ... तिमी पनि के के भन्छौ, भैया ?