logo
२०८१ मंसिर ९ आईतवार



अलबिदा रानुदेवी !

शनिवार |


अलबिदा रानुदेवी !


नगेन्द्रराज रेग्मी

रानुदेवी अधिकारी नेपालकी प्रथम गायिकामात्र होइन, २००७ सालको जहानियाँ राणा शासनविरुद्ध आन्दोलनमा संलग्न हुने केही अग्रणी महिलामध्ये पनि पर्नुहुन्थ्यो । मनमा अदम्य शक्ति, सामथ्र्य, उत्साह र ऊर्जा त थियो नै, त्योबाहेक रानुदेवीमा अरूभन्दा पृथक तथा थप चिनारी पनि रहेको थियो– गीत, सङ्गीत र कलाको । २००७ सालको क्रान्तिमा उहाँ १४ वर्षको कलिलो वयमा हिँड्दै हुनुहुन्थ्यो । ‘सानी नानी तिमी बन्दुक बोक्न सक्दिनौँ, बन्दुक हामी बोक्छौँ, तिमी क्रान्ति गीत गाऊ ।’ यसरी रानुदेवीलाई प्रेरणा र प्रोत्साहन प्रदान गर्ने त्यतिखेरका युद्धनायक तथा गीतकार थिए– तारिणीप्रसाद कोइराला । कोइरालाले रानुदेवीलाई बन्दुकभन्दा शक्तिशाली अर्काे अस्त्र प्रयोग गर्न प्रेरित गरे– गीत–सङ्गीतको । रानुदेवीको यही सुरिलो आवाजको अस्त्र प्रयोग गरेर राणा शासनविरुद्ध विद्रोहको ज्वाला दन्काइदिए; प्रजातन्त्र रेडियोमार्फत तारिणीप्रसाद कोइरालाले ।
नेपाली अघि बढ...
हातमा क्रान्ति झण्डा लिई
हे नेपाली...
आमाबाबु, दिदीबहिनी, दाजुभाइ
सब मिली उद्धार गरौँ
हाम्रो नेपाललाई....।
सुरिलो र कोकिल कण्ठ भएकी रानुदेवीको आवाजमा गाइएको यो गीतको रचनाकार स्वयम् तारिणीप्रसाद कोइराला हुनुहुन्थ्यो । यो गीतले नेपालीलाई मन्त्रमुग्ध त पारेकै थियो तर त्योभन्दा बढी जनताको सुतेको चेतनालाई व्युझाउन अझ ठूलो मद्दत पु¥यायो । त्यतिखेर रेडियोमार्फत क्रान्तिको विगुल फुकिएको थियो । विराटनगरको रघुपति जुट मिल्सको एउटा कोठाबाट रेडियो सेटको व्यवस्था मिलाई प्रजातन्त्र रेडियोको नामले जनतामा यस्ता चेतनामूलक र क्रान्तिकारी गीतहरू प्रसारण गर्न थालिएको थियो । रानुदेवीले यही माध्यमलाई अख्तियार गर्दै आफ्नो सुरिलो कोकिल कण्ठमा गीतहरू गाउन सुरु गर्नुभयो ।
त्यो समयमा यस्ता गीतहरू रेडियोबाट सुन्दा जोकोहीको आङ जिरिङ जिरिङ त हुन्थ्यो नै । उनीहरूमा हौसलासमेत प्राप्त भएको कुरा अहिले पनि पुराना पुस्ताका अग्रज बताउँछन् । नेपाली काँग्रेसले रेडियोमार्फत सङ्गीतको सहारा लिएर यसरी राणा शासनविरुद्ध सङ्घर्ष चर्काउँदै थियो । ‘मेरो नेतृत्वमा रहेको गायन समूहले एकाबिहानैबाट क्रान्ति गीत घन्काएर प्रजातन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीलाई क्रान्तिमा होम्ने काम ग¥यो । क्रान्ति सफल भयो, देशमा पहिलोपटक २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भयो, प्रजातन्त्र भनेको के हो भन्ने थाहै थिएन । पछि बुझ्दै गएँ, भोग्दै गएँ ।’ हो, उहाँले प्रजातन्त्र भनेको के हो राम्ररी नबुझीकनै यस क्षेत्रमा धेरै काम गरिसक्नुभएको थियो ।
आज देशको क्रान्ति युद्धमा
हाम्रो एक पुकारा होस्
लड्दालड्दै मरे मरौँला...
यो एउटा नै नारा होस्...।
रानुदेवीको एउटा तीरले दुईवटा सिकार मारिरहेको थियो । एउटा राजनीति र दोस्रो थियो– गीत–सङ्गीतको । त्यसबेलाको निरङ्कुश जहानियाँ शासनको चरम बोलवाला भएको समयमा उनीहरूको विरोध गर्दा जिब्रो थुतिने समयमा त्यसको पर्वाह नगरी जनतालाई मुक्तिको मार्गमा हिँडाउनका लागि अभिप्रेरित हुनु उहाँको कम जोखिमपूर्ण काम थिएन । एक किसिमले भन्नुपर्दा उहाँहरूको शिरमा कफन बाँधिएको थियो । नेपालीलाई रैतीबाट जनतामा परिणत गराउने एकमात्र उहाँहरूको उद्देश्य सन्निहित हुनु कुनै चानचुने कुरा पनि होइन । रानुदेवीले तत्कालीन समाजले नपचाउने मार्गमा आफ्ना पाइला अगाडि बढाउने साहस देखाउनुलाई अर्काे क्रान्तिकारी कदम मान्न सकिन्छ । त्यो समयमा गीत गाउने, नाच्नेजस्ता कार्यलाई हेयका दृष्टिले हेर्ने प्रचलन थियो । यस्तो काम दुःखी, गरिब, माग्ने वा तल्लो वर्गका व्यक्तिले मात्र गर्छन् भन्नेखालको दरिद्र मानसिकताले जरा गाडिरहेको समयमा सम्भ्रान्त वर्गकी एउटी युवतीले यसरी गीत गाउनुलाई विद्रोह नै गरेको मानियो ।
चरी भुर्र उडी
घरमा मेरो जा,
लिएर सन्देश....।
महिलाहरू घरको चार दिवारभन्दा बाहिर निस्कनु नै हुँदैन भन्ने जमानामा यसरी यस्ता गीतहरू गाउने रानुदेवी साँच्चिकै रानो माहुरी नै थिइन् भन्दा फरक पर्दैन । माथिल्लो वा सम्भ्रान्त वर्गले गीत–सङ्गीत र नाचगानलाई उपभोग गर्ने वस्तुमात्र ठान्थ्यो । यस परिस्थितिमा उहाँले तत्कालीन समाजबाट पाउने अवहेलना, लाञ्छना, हेय, तिक्तता र तिरस्कारका विषहरू पिउँदै अनवरत हिँड्नुभयो, हिँडिरहनुभयो । त्यो समयमा यसो गरेबापत उहाँलाई समाजले कति धारेहात लगायो होला ? तर, यी सब कुरातर्फ उहाँले ध्यान नदिई आफ्नो कार्यमा अग्रसर भइरहनुभयो । यसरी गीत–सङ्गीतको माध्यमबाट प्रजातन्त्र प्राप्तिका लागि लड्दा उहाँ पटक–पटक जेलजीवन व्यतीत गर्न बाध्य हुनुपरेको थियो । उहाँ शिक्षक आन्दोलनमा सहभागी भएर हक–अधिकार दिलाउन पनि उत्तिकै सक्रिय रहनुभयो भने महिला सङ्घको नेतृत्व लिएर जिल्ला सभापतिको पदमा समेत केही समय आसिन हुन पुग्नुभएको थियो ।
रानुदेवीको जन्म एउटा चेतनशील परिवारभित्र भएको थियो । उहाँको पिताजी पनि गीत–सङ्गीतको पारखी हुनुहन्थ्यो । आफ्नी छोरीको कोकिल कण्ठले पिताजीलाई समेत प्रभाव पारेको थियो । यसमा उनको भविष्य छ भन्ने चेतपारखी पिताजीलाई थाहा नहुने कुरै भएन । त्यसैले रानुदेवीलाई सङ्गीत क्षेत्रमा लाग्न पिताजीले मलजल प्रदान गरिरहनुभयो । अझ पिताजीमात्र होइन, स्वयम् उहाँका पतिले पनि उहाँलाई प्रेरित गरिरहनुभयो । उहाँका श्रीमान् तीर्थप्रसाद अधिकारीले त झन् बढी उहाँलाई होस्टेमा हैँसे नै गरिरहनुभयो । प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहेको कोइराला परिवारसँग रानुदेवीको निकट सम्बन्धका कारण यसले अझ झाँगिने मौका पायो । आफ्नै दिदी नोना कोइराला स्वयम् राणाशाहीका विरुद्धमा र प्रजातान्त्रिक आन्दोलनमा होमिनुभएको थियो । यता, विश्वेश्वरप्रसाद कोइरालाका भाइ तारिणीप्रसाद कोइरालाले रेडियोको प्रसारण सुरु गरिसक्नुभएको थियो । यी सम्पूर्ण कुराले गीतिक्षेत्रमा लाग्न रानुदेवीलाई सहज वातावरण मिलेको थियो । यसले देशको राजनीति र साङ्गीतिक दुवै क्षेत्रलाई मनग्गे फाइदा पुग्न गयो ।
जूनेली रात हजुर
गम्कन्छ वास हुजुर
फागुनको शीतल बतास....।
नेपालमा रानुदेवीले गीत गाउने समयमा रेकर्डिङको कुनै व्यवस्था थिएन, प्रत्यक्ष प्रसारण हुन्थ्यो । गीत रेकर्डिङ गर्न भारतको कलकत्ता वा बम्बईसम्म पुग्नुपर्दथ्यो । ‘म सिधै माइक्रोफोन समातेर गीत गाउन थाल्थेँ, हार्माेनियम, बाँसुरी, तबला र भ्वाइलिन बजाउने चार÷पाँचजनाले मलाई साथ दिनुहुन्थ्यो । म पनि उत्तिकै उत्साहपूर्वक गीत गाउने गर्थें ।’ प्रजातन्त्र रेडियो विराटनगरबाट प्रथमपटक गीत गाउँदाका यस्ता अनुभवहरू थिए उहाँसँग । यसरी नारी आवाजलाई रेडियोमा भिœयाउने श्रेय तारिणीप्रसाद कोइरालालाई गयो भने प्रथम महिला गायिका भनेर रानुदेवीलाई आमश्रोताले चिन्ने मौका पाए । कतिपय सर्जक आफ्नो उचित सम्मान भएन, देश र समाजले यथोचित मूल्याङ्कन गरेन भनेर गुनासो गरिरहेको सुनिन्छ । तर, रानुदेवी यसमा अपवाद हुनुहन्थ्यो । उहाँले कहिल्यै आफ्नो अहम् प्रदर्शन गर्नु भएन, उहाँबाट कुनै गुनासो आएन । उहाँका गीतले २००७ सालदेखि २०१७ सालसम्म राम्ररी बज्ने मौका पाए । त्यतिखेर उहाँहरूले नै लडेर ल्याएको प्रजातन्त्रले जनतामा उत्साह र उमङ्ग छाउने तर्खर गर्दा–नगर्दै पुनः २०१७ साल पुस १ गते राजा महेन्द्रबाट पञ्चायती व्यवस्थाको सूत्रपात्र भयो । एकदलीय पञ्चायती व्यवस्थामा फेरि उहाँका गीत एककिसिमले भन्नुपर्दा प्रतिबन्धितजस्तै बने । जब २०४६ सालको जनआन्दोलनले फेरि नेपालमा प्रजातन्त्र ल्यायो तब रेडियोले उहाँको नामलाई पुनः सम्झन पुगेको थियो । सायद यही बीचमा उहाँलाई रेडियो नेपालले सम्मान पनि ग¥यो । एउटा रमाइलो प्रसङ्ग यसमा के देखिन्छ भने राजा महेन्द्रले सूत्रपात गरेको २०१७ सालको कदमले उहाँका गीतलाई रेडियोले बजाएन । तर, तिनै राजा मवीवी शाहका दुईवटा गीत ‘महेन्द्र सङ्गीत’ नामक संस्थाको सङ्गीतमा रानुदेवी अधिकारीले गाउन पुग्नुभयो । राजनीति र कला, साहित्य दुई छुट्टाछुट्टै विषय हुन्, यिनको बीचमा बन्ने लक्ष्मणरेखा सायद यही हुँदो हो, जुन रानुदेवीले प्रत्यक्ष देखाइदिनुभएको थियो । त्यसो त रानुदेवीले रत्नदास प्रकाशसँग पनि दुईवटा गीत गाउनुभएको कुरा सङ्गीतकार बुलु मुकारुङ भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘उहाँले कोलकाता गएर रेकर्ड गरेको गीतको डिस्क रेकर्ड त मसँगै छ ।’
रानुदेवी २०२२÷०२३ सालदेखि गायन क्षेत्रबाट टाढिनुभएको देखिन्छ । यसपछि एकैचोटि उहाँले २०६४÷०६५ सालतिर ‘जाग नेपाली, उठ नेपाली’ नामक शङ्कर खरेलको शब्द र सुमित खड्काको सङ्गीतमा गीत गाउनुभयो । यो गीत नै उहाँको अन्तिम गीत हुन पुग्यो । ‘दूरदेशका परदेशी तिमी जाऊ’, ‘चरी भुर्र उडी मनमा मेरो आ’, ‘जूनेली रात हजुर, गम्किन्छ बास हजुर’, ‘मेरो मुटुको माझमा कसको तस्बिर झल्कियो’, ‘आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस्’लगायत उहाँका गीतहरू रेकर्ड भएका छन् । उहाँका प्रायः सम्पूर्ण गीतको सङ्गीतचाहिँ हिया(लाल मण्डल र कालुरामको छ भने शब्द तारिणीप्रसाद कोइरालाको रहेको देखिन्छ । उहाँका पुराना गीतहरूमा शान्ति मास्के र शिलाले पनि सहगायन गर्नुभएको छ । २०६३ सालमा उहाँका बारेमा ‘५६ वर्षपछि.’ नामक साङ्गीतिक वृत्तचित्र समेत निर्माण भएको छ ।
रानुदेवीको जन्म विक्रम संवत् १९९३ साल मङ्सिर ११ गते वीरगन्जमा भएको थियो । उहाँका पिता ईश्वरीप्रसाद उपाध्याय पौडेल र माता इन्दिरा पौडेलकी उहाँ पाँचाँै सन्तान हुनुहुन्थ्यो । सानै उमेरमा विवाह भएपछि पौडेलबाट उहाँ रानुदेवी अधिकारीका रूपमा परिचित हुनुभयो । विवाहपछि उहाँले आफ्नो अध्ययनलाई पनि बढाउँदै इतिहास विषयमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गर्नुभएको थियो । विवाहपछि आफ्ना बालबच्चाको उचित रेखदेख, पालनपोषण र शिक्षादीक्षा आदिका थप जिम्मेवारीका कारणले पनि हुन सक्छ उहाँले गायनको क्षेत्रलाई छाडेर विराटनगरको आदर्श बालिका विद्यालयमा शिक्षण पेसामा आबद्ध हुन थाल्नुभयो ।
उहाँका एक छोरा र दुई छोरी छन् । जन्म वीरगन्ज, कर्म विराटनगर र निधन काठमाडौँमा भयो । ८४ वर्षको उमेरमा २०७७ साल वैशाख १८ गते राति उहाँको निधन भएको थियो । उहाँको भौतिक शरीर हामीबीच नभए पनि उहाँले छाडेर गएका अमूल्य सिर्जना र कर्महरू सदासर्वदा हाम्रा स्मृतिमा बसिरहेका छन्, बसिरहनेछन् कहिल्यै नमेटिनेगरी ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?