दीपक गुप्ता
परजीवी विज्ञ
विश्वले कोरोना भाइरस (कोभिड–१९)को कहर झेलिरहेको बेला हरियो वनस्पति तथा खाद्यबाली सखाप पारिदिने सलहको प्रकोप (लोकस्ट प्लेग) पनि आइलागेको छ । यो प्रकोप अफ्रिकी मुलुकबाट पाकिस्तान हुँदै भारतमा देखिन थालेको छ । केही वर्षयता अमेरिकी फौजी कीराले नेपालमा मकै तथा तरकारी बाली नष्ट पारेको पीडा नहट्दै अर्को प्रजातिको झन् छिटो बाली नष्ट गर्ने सलहको प्रकोप बढ्न सक्ने खतरा देखिएको छ । हाम्रो मुलुकमा केही वर्षयता मिचाहा कीराबाट हुने प्रकोप तथा विपत्ति बढिरहेको छ ।
बीसौँ शताब्दीमा मरुभूमि सलहले सन् १९२६ देखि १९३४ सम्म, १९४० देखि १९४८ सम्म, १९४९ देखि १९६३ सम्म, १९६७ देखि १९६९ सम्म, १९८६ देखि १९८९ सम्म, २००३ देखि २००५ सम्म र २०१३ देखि २०१६ सम्ममा सलह विपत्ति (लोकस्ट प्लेग) निम्त्याएको थियो । त्यसपछि सन् २०१९ देखि २०२० सम्ममा विश्वको लगभग ६० वटा देशमा सलहको विपत्ति फैलने सम्भावना छ । यही वर्ष अफ्रिकी मुलुकहरू सुडान, सोमालिया, केन्या, युगान्डा, इथियोपियाबाट इरान, साउदी अरब तथा पाकिस्तान हुँदै भारतको पञ्जाव, हरियाणा, राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्यप्रदेश हुँदै महाराष्ट्रको दिल्लीसम्म सलह देखापरेको छ । भारतमा सलहले ठूलो क्षेत्रफलमा लगाइएको अन्नबाली, कपास तथा मसला बालीमा नोक्सानी पु्¥याइसकेको छ । नेपालका केही ठाउँहरूमा मरुभूमि सलहले सन् १९३० मा झुण्ड आक्रमण (स्वार्म इनभेजन) गरेको थियो । यसैगरी, सन् १९६० मा सलहको समूह आक्रमण (गु्रप इनभेजन)का रूपमा धादिङ, काठमाडौँ, नुवाकोट, काभ्रेपलाञ्चोकलगायत जिल्लामा यसको प्रकोप देखिएको थियो । यस्तै सन् १९८६ र १९८९ लाई सतर्क हुने वर्षका रूपमा घोषणा गरिएको थियो । तत्पश्चात् सलह नेपालमा आइपुगेको थिएन । तसर्थ, यसबारे नेपालमा थप अध्ययन अनुसन्धान पनि भएन । अहिले भारतको उत्तराखण्ड र उत्तर प्रदेशमा सलहको उच्च प्रकोप रहेको हुँदा नेपालको पश्चिम वा पश्चिम दक्षिण भागका क्षेत्र उच्च जोखिममा पर्ने देखिएको छ । दिल्लीसँग नजिक रहेको नेपालको सुदूरपश्चिम प्रदेश र प्रदेश ५ बाट सलह कीरा प्रवेश गर्ने सम्भावना भने नकार्न सकिँदैन ।
अरू कीरा फट्याङ्ग्राजस्तै जलवायु परिवर्तनसँगै यसको पनि प्रजनन तथा जीवनचक्रमा परिवर्तन भई अनुवांशिक गुणमा पनि परिवर्तन भएको मानिन्छ । तसर्थ, यो कीरा हावाको गतिसँगै उड्ने भएकाले मौसमी हावासँगै नेपालमा प्रवेश गर्न सक्ने उच्च जोखिम छ । नेपालमा सलह कीरा भित्रियो भने यसले धान, मकै, उखुलगायत हरियो वनस्पति, तरकारी, फलफूल तथा खाद्यबाली नष्ट गर्न सक्ने अनुमान गरिएको छ । यो वर्ष विगतका वर्षभन्दा एक÷दुई महिनाअघि नै यसको प्रकोप भारतमा देखिएको छ । त्यसैले नेपालमा पनि सलह विपत्ति आउन सक्छ भनेर सतर्क रहनुपर्छ । वायुमण्डलको तापक्रम ३५÷४० डिग्रीभन्दा माथि बढ्यो भने सलहको बसाइँ–सराइ (माइग्रेसन)को गति बढ्नुका साथै यसको प्रजनन क्षमता बढेर जोखिम झन् बढ्छ । तर, असारको पहिलो सातादेखि मनसुन सक्रिय भएर वर्षा भयो भने नेपालमा सलह भित्रिने सम्भावना न्यून छ ।
के हो सलह कीरा ?
सलह एकप्रकारको फट्याङ्ग्रा वर्गको प्रजाति हो । मरुभूमि सलह (डिजर्ट लोकस्ट)को वैज्ञानिक नाम सिस्टोसरका ग्रगेरिया हो । संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ)ले यसलाई सलह विपत्ति (लोकस्ट प्लेग)को नाम दिएको छ । विश्वमा विभिन्नप्रकारको सलहले सलह विपत्ति निम्त्याइरहेको छ । जस्तै ः मरुभूमि सलह, घुमन्ते सलह, बोम्बे सलह, अस्ट्रेलियाली प्लेग सलह, अमेरिकाली सलह र रूख सलह । यो वर्ष देखिएको मरुभूमि सलहको रङ परिवर्तन भई ठूलो आकारको भएको छ । यसले धेरै ठाउँमा हरियो वनस्पति तथा अन्नबाली विनाश गरेर डुलिरहेकोे छ ।
सलहले अत्यधिक तापक्रम तथा मरुभूमि भएको ठाउँमा आफ्नो जीवनचक्र सञ्चालन गर्छ । यसले आफ्नो जीवनचक्र तीन अवस्थामा पूरा गर्दछ– अण्डा, निम्फ र वयस्क । जमिनमु्नि बालुवामा एकपटकमा ६० देखि ७५ वटासम्मको समूहमा यसले अण्डा पार्छ । आफ्नो जीवनकालमा तीनपटकसम्म अण्डा पार्ने गर्छ । हरेकपटकको प्रजननमा सलहको सङ्ख्या २० देखि ३० गुणा बढी हुन्छ र यसको जीवनकाल करिब चार÷पाँच महिनाको हुन्छ । जुन प्रायः यसको वासस्थानको वातावरण तथा खानपानमा भर पर्दछ । ३० देखि ४० दिनसम्मको अवस्थामा पखेटा नभएको निम्फ वा होपरको रङ हरियो हुन्छ । यो कीराको नियन्त्रण गर्न निम्फ अवस्थालाई उपयुक्त बेला मानिन्छ । निम्फको रङ हरियोबाट खैरो हँुदै अन्त्यमा पहेँलो रङ भई वयस्क हुन्छ । वयस्क अवस्थामा यसको नियन्त्रण गर्न साह्रै कठिन हुन्छ । वयस्क अवस्थामा यसले फौजी कीराभन्दा कैयौँ गुणा बढी र छिटो बालीमा क्षति गर्न सक्ने क्षमता राख्छ ।
सलह चारैतिर पाउने एकप्रकारको फट्याङ्ग्रा हो । प्रायः यो कीरा छुट्टाछुट्टै बस्ने गर्छ । तापक्रम वृद्धि भएको अवस्था, सुख्खायामसँगै पानी पर्दा र हरियो वनस्पति तथा अन्न बालीको वृद्धि भएको बेला यस कीराका लागि उपयुक्त वातावरण मानिन्छ । उपयुक्त मौसममा सलहको स्नायु प्रणालीको मस्तिष्कमा रहेको सेरोटोनिनले उत्तेजित गरी सलह कीरामा नाटकीय रूपले विभिन्न किसिमका गुण तथा बानी बेहोरामा परिवर्तन भई प्रजनन गरी पर्याप्त सङ्ख्यामा तीव्र रूपमा वृद्धि गराउँछ । करोडौँको सङ्ख्यामा रहेको सलहको झुण्ड बनिसकेपछि यिनीहरू घुमन्ते (नोमेडिक) स्वभावको हुन पुग्दछ । त्यसपश्चात् सलह कीरा झुण्ड बनाई हरियो वनस्पति तथा खाद्य बालीतिर लाग्दछ र करोडौँ सङ्ख्याको झुण्डमा हुने हँुदा यो कीराले छिनभरमै बाली तथा वनस्पतिलाई सखाप पार्छ ।
संयुक्त राष्ट्रसङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ)को तथ्याङ्कअनुसार सलहले प्रतिदिन दुई ग्राम खान सक्छ । एक किलोमिटरमा रहेको सलह करिब चारदेखि आठ करोड सङ्ख्यामा हुन्छन् । यी सलहले ३५ हजारजनालाई पुग्ने खाना एकै दिनमा नष्ट गर्न सक्छन् । वयस्क सलह शक्तिशाली उड्न सक्ने कीरा हो । यसले हावाको दिशा पछ्याएर एक दिनमा करिब १०० देखि १४४ किमिसम्म झुण्ड बनाएर खानाको खोजमा हिँड्न सक्छ । बसोवास गरेको ठाउँमा बाली सखाप भएपछि अर्को नयाँ ठाउँमा बसाइ सर्दै हिँड्छ । सलह उड्दै जाँदा बाटोमा पर्ने अन्नबालीमात्र नभई रूखबिरुवा, झाडी, डाँठ तथा बोक्रा सबै सखाप पार्दै अगाडि बढ्छ । सलहको सङ्ख्या करोडौँमा वृद्धि भई घुमन्ते स्वभावको भयो भने यसको नियन्त्रण गर्न धेरै गाह्रो हुन्छ । सलहले प्रायः सबै किसिमको हरियो वनस्पति तथा बोटबिरुवाका पात, डाँठ, फूल, फलफूल, बीउ तथा बोक्रासमेत खाएर नष्ट गरिदिन्छ । यस्तै कोरोनाले कृषि क्षेत्रमा ठूलो प्रभाव पर्ने आँकलन गरिरहेको बेला सलहले कृषि प्रणालीलाई नष्ट पार्ने एफएओले उल्लेख गरेको छ । सलह कीराको नियन्त्रण उपयुक्त प्रविधिविना गर्न धेरै गाह्रो हुन्छ । नेपालमा सलह भित्रियो भने यसको असर तराईमा धेरै पर्ने आँकलन पनि गरिएको छ ।
नियन्त्रण कसरी ?
सलहको झुण्ड करोडौँमा धेरै क्षेत्रफल ढाकेर बस्ने र उड्ने भएकाले यसलाई नियन्त्रण गर्नु विश्वव्यापी चुनौती भएकाले एफएओले यसलाई सलह विपत्ति
(लोकस्ट प्लेग)को नाम दिएको छ । यसको नियन्त्रणका लागि अफ्रिकी देशहरूमा विभिन्न किसिमका कीटनाशक औषधि मेसिन तथा हेलिकोप्टरबाट छर्कने काम भइरहेको छ । भारतका विभिन्न स्थानमा पनि सलह नियन्त्रण गर्न रासायनिक कीटनाशक विषादी छर्कने काम भइरहेको छ । साथै, अन्य उपायको अध्ययन अनुसन्धान पनि भइरहेको छ ।
यो कीराले अन्नबाली तथा हरियो वनस्पतिलाई खाएर सखाप पार्ने भएकाले नेपालमा खाद्य सङ्कट निम्त्याउन सक्ने सम्भावना पनि छ । त्यसैले यस विनाशकारी सलहलाई नेपालमा भित्रिन नदिन र नियन्त्रण तथा यसबाट हुन सक्ने क्षतिको न्यूनीकरण गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ठोस कदम चाल्नुपर्छ । सलह नेपालमा भित्रिएको अवस्थामा यसलाई नियन्त्रण तथा स्थानीयस्तरमा क्षति घटाउनका लागि विभिन्न किसिमका आधारभूत उपाय अपनाउन सकिन्छ । सलहको झुण्डलाई आगो बालेर, धूवाँ उडाएर वा हावाको बहावलाई परिवर्तन गरेर तितरबितर पार्न सकिन्छ ।
उच्च ध्वनिको प्रयोग गरेर पनि यसको सङ्कटलाई टार्न सकिन्छ । जस्तै ः ड्रम बजाएर र स्पिकर बजाएर पनि केही हदसम्म सलहको झुन्डलाई टार्न सकिन्छ । प्राकृतिक सिकारीको प्रयोग गरेर । जस्तै ः हाँस, भ्यागुतो, माकुरा तथा छेपारो प्रयोग गरेर । जैविक कीटनाशक औषधि छर्केर । जस्त ः मेटारहिजियम र एकरिडियम छर्केर । रासायनिक कीटनाशक औषधि छर्केर । जस्तै ः मालाथियोन, डाइजिनन, फिप्रोनिल वा बोरिक एसिड उचित मात्रामा छर्केर ।
केही घरेलु विधि प्रयोग गरेर । जस्तै ः लसुनपानी छर्केर, पातमा पीठो छर्केर वा झुल र जालको प्रयोग गरेर । सलहको प्रजनन (ब्रिडिङ) गर्ने ठाउँलाई नष्ट गरेर ।
हालसालै वैज्ञानिकहरूले प्रयोगशालामा सलहको फेरोमोन्स संश्लेषण गरी रासायनिक सङ्केतका रूपमा यसको विनाशकारी प्रभावविरुद्ध प्रयोग गरी नियन्त्रण गरेको पाइन्छ ।
त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र विभाग सलहको सम्भावनाबारे अध्ययन अनुसन्धानमा जुट्ने तयारीमा छ । कीरा प्रजातिमा विद्यावारधि गर्नुभएका विभागका सहप्राध्यापक डा. दयाराम भुसालले गरेको अध्ययन अनुसन्धानमा केही मिचाहा झार नियन्त्रणका लागि म्याक्सिकन खपटे कीरा लाभकारी भएको हँुदा, सलहजस्ता मिचाहा कीराको उचित व्यवस्थापन तथा नियन्त्रणका लागि मिचाहा कीरा व्यवस्थापन केन्द्रको स्थापना गर्न नेपाल सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने देखिन्छ ।
अझै पनि यसको प्रभावकारी नियन्त्रण गर्न र सलह विपत्तिबाट बच्नका लागि अध्ययन अनुसन्धान महŒवपूर्ण विषय हो । त्यसैले नेपालमा रहेका सलहसँग सम्बन्धित कृषि वैज्ञानिक, कीराविज्ञ, परजीवीविज्ञ तथा प्राणीशास्त्रीहरूलाई यसबारे थप अध्ययन अनुसन्धान गर्न नेपाल सरकारका तीनै तहका सरकार सक्रिय भई आवश्यक दीर्घकालीन परियोजना अगाडि बढाउनुपर्छ ।